+
+

ऋणात्मक प्रतिसेयर आम्दानी रहेका ४ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ९ गते १५:५७

९ फागुन, काठमाडौं । बुधबार समग्र सेयर बजार घट्दा पनि ४ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । बुधबार १० प्रतिशत मूल्य बढेका यी ४ वटै कम्पनी दोस्रो त्रैमाससम्मको अवधिमा नोक्सानीमा छन्, जसले गर्दा ४ वटैको प्रतिसेयर आम्दानी ऋणात्मक छ ।

बोटलर्स नेपाल बालाजु, बोटलर्स नेपाल तराई, हिमालय ऊर्जा विकास कम्पनी र समाज लघुवित्त कम्पनीको मूल्य १० प्रतिशत बढेको हो । बुधबारको मूल्यवृद्धिपछि समाज लघुवित्तको मूल्य प्रतिकित्ता १ हजार ९७८ रुपैयाँ ५० पैसा पुगेको छ । जबकि दोस्रो त्रैमासमा यो कम्पनी १६ लाख ७० हजार नोक्सानीमा छ ।

गत वर्षको यसै अवधिमा कम्पनी ७५ लाख ८२ हजार खुद नाफामा थियो । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी पनि ७ रुपैयाँ ३१ पैसा ऋणात्मक छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १९८ रुपैयाँ २६ पैसा छ ।

त्यस्तै हिमालय ऊर्जा विकास कम्पनीको मूल्य बुधबार १० प्रतिशत बढेर ३३५ रुपैयाँ ५० पैसा पुगेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनी १८ लाख ७३ हजार रुपैयाँ नोक्सानीमा छ । विद्युत् बिक्री गरिरहँदा पनि यो कम्पनी नोक्सानीमा गएको हो । कम्पनीले दोस्रो त्रैमासमा १३ करोड ८२ लाख रुपैयाँको बिजुली बिक्री गरेको छ । प्रतिसेयर आम्दानी (दोस्रो त्रैमासमा) ०.१८९ ऋणात्मक छ । प्रतिसेयर नेटवर्थ जम्मा ८२ रुपैयाँ छ ।

१० प्रतिशत मूल्य बढेपछि बोटलर्स नेपाल तराईको मूल्य १३ हजार १९४ रुपैयाँ पुगेको छ । यो पनि दोस्रो त्रैमासमा नोक्सानीमा छ । बोटलर्स नेपाल तराई साउनदेखि पुस मसान्तसम्म ७ करोड ४१ लाख रुपैयाँ नोक्सानीमा छ । जबकि गत आर्थिक वर्षको यसै अवधिमा १५ करोड ३२ लाख रुपैयाँ नाफामा थियो । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १२३ रुपैयाँ ऋणात्मक छ । प्रतिसेयर नेटवर्थ ३ हजार १७३ रुपैयाँ छ ।

बोटलर्स नेपाल बालाजुको मूल्य बुधबार १० प्रतिशत बढेसँगै प्रतिकित्ता १२ हजार ३९३ रुपैयाँ ८० पैसा पुगेको छ । दोस्रो त्रैमासमा कम्पनी १५ करोड १५ लाख रुपैयाँ नोक्सानीमा गएको छ । गत वर्ष यस अवधिमा कम्पनी २९ करोड २१ लाख रुपैयाँ नाफामा थियो । कम्पनी नोक्सानीमा गएसँगै वार्षिक प्रतिसेयर आम्दानी १४९ रुपैयाँ ऋणात्मक देखिएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ३ हजार १२० रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?