+
+
सीतापाइला सामूहिक हत्या प्रकरण :

प्रहरीले भेट्टायो काजीको भिडियो सन्देश, तीन जनाको हत्यापछि छोरालाई गराएका थिए रेकर्ड

गौरव पोखरेल गौरव पोखरेल
२०८० फागुन ९ गते २१:३६

९ फागुन, काठमाडौं । नागार्जुन नगरपालिका–६ भैरव टोलमा श्रीमती, छोरी र नातिनीको हत्या गरेका काजी भनिने राजु विश्वकर्माले आत्महत्या गर्नुअघि भिडियो सन्देश रेकर्ड गरेको भेटिएको छ ।

काजीले आफ्नै छोरालाई खिच्न लगाएका भिडियो घटनाको अनुसन्धान गरिरहेको प्रहरीसम्म पुगेको छ ।

भैरव टोलमा डेरा गरी बस्ने ईश्वरी भन्ने प्रेमकुमारी श्रेष्ठ, उनकी छोरी र नातिनीको बुधबार विहान हत्या भएको थियो ।

परिवारका तीन जनाको हत्या गरेका काजीले घर नजिकै झुण्डिएर आत्महत्या गरेको पाइएको प्रहरीले जनाएको छ ।

ईश्वरी र काजी श्रीमान श्रीमती हुन् । उनीहरुसँगै परिवारमा ६ जना थिए । ईश्वरीको पहिलो श्रीमानतर्फका छोरा विदेशमा छन् भने उनका श्रीमती र छोरीसँगै थिए । ईश्वरी र काजीबाट छोरा (१५ वर्ष) र छोरी (८ वर्ष) थिए ।

बुधबार विहान बुहारी काममा गइसकेकी थिइन् । कक्षा ७ मा पढ्ने छोरालाई बिहान ७ः४० बजेतिर गोलामारी किन्न पठाए । पसलबाट फर्किएर गेटमा पुग्ने वित्तिकै उनलाई बुबाले ‘ममी मरिसकेँ, सबै मारिँसके’ भनेका थिए ।

किन यस्तो गरेको भन्दै कराउन थालेपछि धकेलेर आफूलाई भिडियो खिच्न लगाएको उनले अनलाइनखबरसँग बताए । उनको मोबाइलमा छोटो छोटो भिडियो क्लिप पनि भेटिएको छ, जसमा काजीले श्रीमतीमाथि केही आरोप लगाएका छन् भने आफ्नो सम्पत्तिबारे पनि भनेका छन् ।

उनले विभिन्न बैंकमा बचत रहेको आफ्नो पैसाबारे पनि भिडियो सन्देशमा भनेका छन् ।

‘मैले….लाई कागज पत्र दिइसकेको छु, सुन दराजमा छ’, भिडियोमा उनले भनेका छन्, ‘मलाई माफ गर्नू ।’

विदेशमा रहेका छोरा (श्रीमतीको पहिलो पतितर्फ) लाई सम्बोधन गर्दैै उनले भिडियोमा भाइलाई हेँला गरेको थाहा पाए राम्रो नहुने’ समेत बताएका छन् ।

घटनाको अघिल्लो रात घर झगडा

गत वर्षसम्म होटल व्यवसाय गरेकी श्रीमती ईश्वरीमाथि अनेक लान्छना लगाएर काजीले झगडा गर्ने गरेका थिए ।

हालसालै ईश्वरीले स्थानीय एक युवकविरुद्ध जबर्जस्ती करणीको कसूरमा जाहेरी दिएकी थिइन् । आरोपित युवक १ फागुनमा ५ लाख रुपैयाँ धरौटीमा छुटेका थिए ।

यही विषयलाई लिएर मंगलबार झगडा भएको थियो । झगडाको भोलिपल्ट काजीले तीन जनाको हत्या गरे ।

अनुसन्धान अधिकृतहरुका अनुसार विहान ७ः३० देखि ८ बजेको बीचमा घटना भएको देखिन्छ । हम्मर र कैंचीले हानेर हत्या गरेको प्रहरीको प्रारम्भिक जाँचबाट देखिएको छ ।

परिवारका तीन सदस्यको हत्या गरेका काजीले छोरालाई भिडियो खिच्न लगाए । लगत्तै डोरी लिएर निस्किएका उनले सालीलाई पनि फोन गरेर आफूले सबैलाई मारेर निस्किएको बताएका थिए । त्यसपछि सालीले गलत काम नगर्न सम्झाएकी थिइन् । ‘अरु कुरा छोड्देऊ, अनिशको राम्रो रेखदेख गरिदेऊ’, उनले भनेका छन् ।

छोराले भने नजिकै रहेको मावली हजुरबुबा हजुरआमाकहाँ गएर घरमा भएको घटनाबारे जानकारी गराएका थिए । त्यसपछि उनीहरुले प्रहरीलाई घटनाबारे खबर गरेका थिए । ९ बजेतिर प्रहरी कहाँ घटनाबारे सूचना प्राप्त भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारी बताउँछन् ।

‘सूचना आउनेबित्तिकै प्रहरी वृत्त, स्वयम्भु, जिल्ला प्रहरी परिसर, काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली घटनास्थलमा पुगेको थियो’, उनले भने ।

प्रहरीले काजीलाई गाउँदेखि केही पर रहेको जंगलमा लोकेट गरेर खोजी थालेको थियो । त्यहीबीचमा नागर्जुन जंगल छेऊ घर भएकी सुधा तामाङले ११ः१२ बजे प्रहरी कन्ट्रोल १०० मा फोन गरे एक जना मान्छे झुण्डिरहेको अवस्थामा फेला परेको बताइन् । ‘फोटो जुधाउँदा त्यो काजीको शव भएको देखियो’, प्रहरी स्रोतले भन्यो ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?