
१० फागुन, काठमाडौं । महाधिवेशन प्रतिनिधि नभएको व्यक्तिलाई प्रतिवदेनको छलफल माथि बोल्न दिइएपछि नेपाली कांग्रेसको महासमिति बैठकमा विवाद भएको छ ।
बागमती र गण्डकी समूहमा भइरहेको छलफलमा स्याङ्जाका मेखलाल श्रेष्ठलाई बोल्न दिएपछि प्रतिनिधिहरुले आपत्ति जनाएका हुन् । गण्डकीका उपसभापति समेत रहेका श्रेष्ठ प्रदेशका पूर्वमन्त्री समेत हुन् ।
बिहीबार बोल्ने प्रतिनिधिमा उनलाई पनि समय दिइएको थियो । तर, उनी प्रतिनिधि नभएको गोरखाका पार्टी सभापति नन्दु न्यौपानेले जानकारी दिए । ‘महाधिवेशन प्रतिनिधिले बोल्न पाएका छैनन् । प्रतिनिधि नै नभएका व्यक्तिलाई बोल्न समय दिइयो,’ न्यौपानेले भने । विधि मिच्ने काम भएकाले प्रतिनिधिहरुले विरोध गरेको उनले सुनाए ।
महासमिति प्रतिनिधि नभएको जानकारी गराएपछि बागमती प्रदेश सभापति इन्द्र बानियाँले रेकर्डबाट श्रेष्ठ बोलेको कुरा हटाउन निर्देशन दिएको न्यौपानेले जानकारी गराए । श्रेष्ठको कारण केही समय छलफल अवरुद्ध भएर विवाद अन्त्यपछि बोल्ने क्रम सुरु भएको न्यौपानेले बताए ।
चार समूहमा बुधबारदेखि प्रतिवेदन माथि प्रतिनिधिहरुले सुझाव राखिरहेका छन् । बागमती र गण्डकी समूहको लिडरमा सहमहामन्त्री महेन्द्र यादव छन् । प्रदेशको समन्वय बागमतीबाट बानियाँ र गण्डकीबाट प्रदेश सभापति शुक्रराज शर्माले गरेका छन् ।
आज सकिने महासमिति बैठकमा बुधबार ३८५ प्रतिनिधिले सुझाव राखेका छन् ।
प्रतिक्रिया 4