+
+

…अनि टुट्यो बुढेसकालको सहारा

हरि अधिकारी हरि अधिकारी
२०८० फागुन ११ गते २०:४६

११ फागुन, विराटनगर । शुक्रबार बिहान करिब साढे ७ बजे ज्योति अधिकारीका ५ वर्षीय जुम्ल्याहा छोराछोरी घरमै रहेको किराना पसल अगाडि खेलिरहेका थिए । बुढीगंगा गाउँपालिका– ४ प्रगति टोलमा रहेको अधिकारीको घर सुनसरी मोरङ सिंचाइ आयोजनाको नहरको सडकसँगै जोडिएको छ । नहरको सडकमा कालोपत्रे गर्नका लागि गिटी बिछ्याइएको थियो ।

साँघुरो सडकमा २४ सै घण्टा सवारी साधन कुदिरहन्थे । शुक्रबार बिहान करिब साढे ७ बजे आर. जे. २९ जी.बी. १५६१ नम्बरको लरी कोशी राजमार्गको नेमुवाबाट कोयलपुरतर्फ जाँदै थियो । स्तरोन्नति भइरहेको सडकमा अप्ठ्यारो गरी आउँदै गरेको लरी अधिकारीको घर अगाडि आइपुगेपछि एक्कासी पल्टियो

लरी पल्टँदा ढालामा लोड गरिएको ठूला मार्बल ढुंगाले अधिकारीका ५ वर्षीय छोरा निशान अधिकारी र छोरी इसितालाई किच्यो । उनीहरू जुम्ल्याहा हुन् । छिमेकी ७ वर्षीय रिया खवास र ५५ वर्षीय अधिकारीलाई पनि ढुंगाले किच्यो ।

तीन बालबालिकाको घटनास्थलमै मृत्यु भयो । ज्योतिलाई भने करिब ५ घण्टापछि उद्धार गरी विराट मेडिकल कलेजमा भर्ना गरिएको छ । अस्पतालमा उपचार गराइरहेका उनको दाहिने खुट्टामा मार्बलको ठूलो ढुंगाले किचेका कारण काम नलाग्ने अवस्थामा छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालका अनुसार मृतक दाजुबहिनी घरको प्यासेजमा थिए । अर्की बालिका खवास भने पसलमा सामान किन्न पुगेकी थिइन् ।

टुट्यो बुढेसकालको सहारा

निशान र इसिता ज्योतिका दोस्रो श्रीमतीका सन्तान हुन् । सन्तानका लागि उनले पारिवारिक सल्लाहमै दोस्रो विवाह गरेका थिए । आशा पोखरेलसँग दोस्रो विवाह गरेको १५ वर्षपछि जुम्ल्याहा सन्तान जन्मिएका थिए ।

‘बिहे गरेको निकै वर्षपछि उहाँका सन्तान भएका थिए’ दुहबी नगरपालिकाकी उप–प्रमुख समेत रहेकी अधिकारीका आफन्त मेनुका पोखरेल खतिवडाले भनिन्, ‘१५–१६ वर्षपछि जुम्ल्याहा छोरा–छोरी जन्मिएका थिए आज यस्तो घटना भयो ।’ उनका अनुसार अधिकारीको जेठी श्रीमतीबाट एक छोरी छिन् । उनी दुहबीस्थित मूलघरमा बस्छिन् । अधिकारी पसल सञ्चालन गर्दै प्रगति टोलमा बसेका थिए ।

एउटा ठुलो ढुंगाले घाइतेको खुट्टा थिचेको थियो । किराना पसलको डिलमा थिचिएका उनले आफ्नो भन्दा पहिला छोरा छोरीको उद्धार गरिदिन हारगुहार गरिरहेका थिए । करिब पाँच घण्टाको प्रयासपछि अधिकारीलाई प्रहरीले उद्धार गर्‍यो। तर, दुई सन्तान घटनास्थलमै बिते । दुई सन्तान बितेपछि अधिकारी परिवार विक्षिप्त छन् ।

प्रहरीका अनुसार भारतबाट कोलयपुरस्थित अन्नपूर्ण मार्बल उद्योगका लागि कच्चा पदार्थ मार्बल ब्लक लिएर आएको लरी उद्योगबाट करिब २ किलोमिटर टाढा पल्टिएको थियो । लरीमा लोड भएको मार्बल ढुंगाले किचेका कारण अधिकारीको घरमा क्षति पुगेको छ । प्रहरीले क्रेनको सहायताले लरीलाई हटाएर मृतकको शव निकालेको थियो ।

घटनापछि लरी चालक फरार छन् । फरार भएका चालकको खोजी जारी रहेको प्रहरीले जनाएको छ । ओभर लोड भएको लरी साँघुरो र निर्माणाधीन सडक भएका कारण दुर्घटनामा परेको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?