+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares
ब्लग :

सीपमूलक शिक्षाबारे ब्याक बेन्चरको गफ !

डा. विष्णुप्रसाद जोशी डा. विष्णुप्रसाद जोशी
२०८० फागुन १४ गते १२:२८

 अहिले सञ्जालमा लास्ट बेन्चमा बसेकै हुनुपर्ने अनुभवलाई मुख्यमन्त्री बन्न चाहिने योग्यताको रूपमा अतिरञ्जनसँगै फर्स्ट बेन्चरहरू खरिदार जस्ता जागिरमा अल्झिएर पेट मात्रै भर्दै बसेको भन्ने अभिव्यक्तिमा कर्मचारी र नेता-कार्यकर्ता बीच भनाभन चल्दै गर्दा आफ्ना स्कुल दिनको स्मरण हुन्छ।

व्यक्ति जीवनमा कत्तिको सफल हुन्छ भन्ने कुरा कक्षामा कुन बेन्चमा बस्थ्यो भन्ने मात्र मापदण्डले निर्धारण गर्ने हैन। तर हाम्रो शिक्षा प्रणालीले स्कुलमा हुँदा घोकन्ते विद्यामा बढी ध्यान दिन्छ। त्यसैले कैयौं फर्स्ट बेन्चरहरू नै जागिर नपाउने अनि आफैं उद्यमी बन्न चाहिने सीप नभएर कैयौं लास्ट बेन्चर कि बेरोजगार कि मुख्यमन्त्री बन्न पुगेका छन् !

म आफैं स्कुल जीवनमा सधैं अन्तिम श्रेणीका बेन्चमा बस्थें। प्रायः लास्ट बेन्चरले गर्ने कारनामा मेरा पनि दिनचर्या हुन्थे। हल्ला गर्ने, जोक सुनाउने, सिठी बजाउने, हाहु गर्दै नानाथरीका आवाज गर्ने, पछाडिबाट चकका टुक्राले या कागजका डल्लाले कक्षाका राम्री र पपुलर केटीहरूलाई हान्ने।

प्रायः सर-मिसहरू पनि अघिल्लो श्रेणीका बेन्चमा बस्ने, चस्मा लगाउने, शिक्षकले भनेका कुरा ध्यान दिएर सुन्ने र प्रश्न गर्ने, हुबहु शिक्षकले सिकाएको या किताबमा भएको पाठ दोहोर्‍याउने ‘पढन्ते’ हरूलाई नै बढी ध्यान दिने हुनाले हामी लास्ट बेन्चर शिक्षकका ‘रेडार’ मा पर्दैनथ्यौं। प्रायः शिक्षकहरूले होमवर्क गरिस् भनेर पनि सोध्न छोडेका थिए किनकि होमवर्क गर्ने ठेक्का ‘पढन्ते’ हरूकै थियो।

हामीलाई लाग्थ्यो कि ‘पढन्ते’ फर्स्ट बेन्चरहरू मास्टर-मास्टर्नीका प्रिय ‘चम्चा’ बन्ने होडमा जीवनको रमाइलो गुमाइरहेका छन्। यी बच्चाहरू कहिले ठूला हुने ? हाम्रो तर्क हुन्थ्यो हात्ती पढेर ठूलो भएको हो? धरहरा पढेर अग्लो भा हो? हामीलाई लाग्थ्यो यी किताबका कीराहरू हाँस्ने–खेल्ने उमेरमा समेत रमाइलो नगरी आफ्नो जवानी बर्बाद गर्दैछन्।

फाँटमा डुल, पहराको झरनामा नुहाएर हेर 

जीवनको सार बुझ्न किताबहरू हटाएर हेर!

फर्स्ट बेन्चरहरूलाई लाग्थ्यो यी ब्याकबेन्चर हाउडेहरू ध्यान दिएर पढ–लेख नगरी जीवन खेर फाल्दैछन्।

शिक्षाका दुई धार छन्- पढेर सिक्ने र परेर सिक्ने। नेपालले पढेर सिकिने शिक्षाका आधारमा जागिर खाने संरचना खडा गरेको छ, तर गरेर अनुभवले सिक्ने शिक्षा नहुँदा उद्यम र व्यवसाय निर्माण गर्न मद्दत गर्ने वातावरण बनेन। पछिल्लो समय देश-विदेशमा सीपमूलक शिक्षालाई प्राथमिकता दिन थालिएको छ।

दैनिकी निर्वाह गर्नुसँगै व्यवहार चलाउन र व्यवसाय बढाउन सीपमूलक तालिम जरूरी भएको छ। विश्वव्यापी रूपमा निरन्तर वृद्धि भइरहेको विज्ञान, प्रविधि र उद्यम बजारले व्यावहारिक सीपयुक्त तालिम नभए एआई र रोबोटले भविष्यमा जागिर खोस्ने चुनौतीको सामना गर्नुपर्ने देखिएको छ।

हामीकहाँ चाहिं अझै शिक्षामा घोकाइ नै बढी छ जसलाई समयानुकूल परिमार्जन गर्नु जरूरी छ। विद्यार्थीलाई किताबको बोझ बोकाउने किसिमको पढाउने तरिका, समग्र स्कुलिङ र पाठ्यक्रम नै बदल्ने बेला भयो। ‘पढ्नु भनेको केवल जागिर खान हो’ भन्दा पनि शिक्षाले सबल बनाई हरेक परिस्थितिको सामना गर्न सक्ने जीवनोपयोगी प्रशिक्षण दिनुपर्छ। पढेर उत्तीर्ण हुनेहरू लोकसेवा धाइरहेका छन्। नपढ्नेहरूले नेता भएर गफ चुट्दै छन्।

नेपालमा विद्यालय शिक्षा (एसईई) पूरा गर्ने पाँच लाखभन्दा बढी विद्यार्थीमध्ये अधिकांश अप्राविधिक शिक्षामा जाने गर्दछन्। सानो सङ्ख्यामा मात्र सीपमुखी या प्राविधिक उच्च शिक्षामा अवसर हुनाले पारिवारिक व्यवसाय र स्वरोजगारीमा जाने बाहेक धेरै युवा या बेरोजगार छन् या विदेश जाँदैछन्।

उच्च शिक्षा आर्जन सँगै जीवनोपयोगी सीप सिकेर आयमूलक गतिविधि र स्वरोजगारमा प्रोत्साहन गर्ने नीति र संरचना भए स्थानीय सम्भावनालाई उपयोग गरी रोजगार सिर्जना गर्न सकिन्छ। सीप सिकेर मात्र मुलुक बाहिर जानेहरूले पनि कम जोखिमयुक्त काम गरी धेरै आएआर्जन गर्न सक्छन्। यी दुवै अवस्थामा अर्थतन्त्र सुदृढ भई देशको विकासमा योगदान पुग्छ।

सीपमूलक व्यावसायिक शिक्षा आजको आवश्यकता हो। आधारभूत शिक्षा र सीपले जीवनयापन गर्न, माध्यमिक शिक्षाले वृत्ति–विकासको सीप दिन र विश्वविद्यालय तहको शिक्षाले जागिरको लागि प्रतिस्पर्धात्मक बजारको सामना गर्ने क्षमतासँगै रोजगारी सिर्जना गर्न तथा नवप्रवर्तनलाई उद्यम र उत्पादनमा जोड्न सक्नुपर्छ। हामीले हाम्रा उच्च शिक्षा संयन्त्र किन उद्यमशीलता हुन सकेन भन्ने विषयमा गम्भीर समीक्षा गर्नुपर्‍यो।

विकसित देशहरूमा खासगरी युरोप र अमेरिकामा स्वतन्त्रता, स्व-अध्ययन र प्रयोगात्मक शिक्षणलाई प्रवर्धन गरिन्छ। क्रियाकलाप, स्थलगत भ्रमण र समस्या समाधान जस्ता पठन-पाठनका विधिमा जोड दिइन्छ। विद्यार्थीलाई कुनै जवाफ उत्तरलाई सही-गलतको श्याम या श्वेत द्वैत उत्तर खोज्ने संकीर्ण मानसिकताबाट मुक्त गरिन्छ।

मौलिक, स्वच्छन्द र आफ्नै शब्दमा उत्तर लेख्न प्रेरित गरिन्छ। अमेरिकामा कुनै विद्यार्थीको उत्तर ३० प्रतिशत हुबहु भए वा अन्य कुनै प्रकाशित लेखहरूसँग मिल्न गए त्यसलाई बदर गरिन्छ। शिक्षा र सीप आर्जनको यात्रामा लक्ष्य एउटै भए पनि बाटाहरू फरक हुनसक्छन् त्यसैले ‘तिमी आफ्नै बाटो चुनेर लक्ष्य प्राप्ति गर’ भनेर प्रोत्साहन गरिन्छ।

यस्तो प्रवृत्तिले रचनात्मक, सृजनशीलता र मौलिकताको प्रवर्धन गर्छ। यसको विपरीत नेपालमा धेरै शिक्षक, प्राध्यापक आफ्ना १० वर्षअघिको टिपोट (नोट) बाट कालो-सेतो पाटीमा उत्तर लेख्छन् र हुबहु सार्ने र त्यही उत्तर लेख्नेलाई अब्बल नम्बर दिइन्छ। यस्तो अर्काको बनिबनाऊ उत्तरलाई घोकेर हुबहु उत्तरपुस्तिकामा उतार्ने प्रवृत्तिले मौलिकतालाई निरुत्साहित गर्छ। यसको दूरगामी असर उद्यमशीलतामा पर्छ। यसले पराश्रित हुने प्रवृत्तिको प्रवर्धन गर्छ।

यसले आफैं उद्यमशीलतामा (अवसरको पहिचान र सदुपयोग) गर्नुको साटो कसैले दिएको नोकरी (जागिर) खोज्ने प्रवृत्ति प्रतिस्थापित हुन्छ। आफैं गर्न सक्छु भन्ने आत्मविश्वासमा ह्रास आउँछ। यसको फलस्वरूप आज वैदेशिक रोजगारको लागि जानेलाई जसले पनि ऋण दिने तर, आफ्नै गाउँ-ठाउँमा केही उद्यम (फर्म) खोल्छु भन्नेलाई लगानीकर्ता भेट्न गाह्रो पर्छ। त्यस्तै विदेश जाने युवालाई धेरै आफ्नो छोरी-बहिनी दिन तयार हुन्छन् तर, आफ्नै गाउँघरमा गरिखान्छु भन्ने ऊर्जावान् युवा हाँसोको पात्र बन्छ।

त्यसैले त आज नेपालको लाखौंको सङ्ख्यामा दक्ष जनशक्ति विदेशमा छ। हुन पनि किन नहोस् त नेपालमा अनुसन्धान गर्ने न प्रयोगशाला छन् न त्यस्ता अनुसन्धानका निष्कर्षलाई प्रविधि बनाई प्रयोगमा ल्याउनका लागि कम्पनी नै। त्यसैले अहिले पहाडका मान्छे तराई झर्न चाहन्छन्। तराईका काठमाडौं चढ्न चाहन्छन् भने काठमाडौंका विदेश उड्न चाहन्छन्। यो दक्ष जनशक्ति पलायन रोक्न केही दिगो योजनाहरू बनाई तिनको कार्यान्वयन गर्नु आवश्यक छ।

हामीले पनि स्थानीय क्षेत्रको आम जनजीवनमा प्रत्यक्ष असर गर्ने खालको विज्ञान र प्रविधिको त्यही क्षेत्रमा विकास गर्नु आवश्यक छ। उदाहरणको लागि जुम्लामा त्यहींको स्याउ खेती, भण्डारण र जुस प्रशोधन सम्बन्धी अनुसन्धान र प्राविधिक विकासमा जोड दिनुपर्‍यो भने इलाममा चिया सम्बन्धी या कर्णाली, खप्तडमा जडीबुटी सम्बन्धी। यसो गरेदेखि अरू देशका शैक्षिक संस्था र अनुसन्धान केन्द्रहरूसँग सहकार्यका बाटा खुल्छन्। पर्यटनको प्रवर्धन हुन्छ।

 देशविदेशको सहकार्य, नेपालमा अब अनिवार्य 

नेपालीहरू जहाँ भए पनि मन नेपाली नै हुन्छ। भौतिक रूपमा सबै जना नेपाल फर्किन नसके/नचाहे पनि आज विदेशमा रहेका लाखौं नेपाली मनहरू आफ्नो क्षमता र दक्षतालाई प्रयोग गरी नेपालमै केही तालिम केन्द्र, उद्योग-व्यवसाय खोल्ने इच्छा व्यक्त गर्छन्। उनीहरूसँग विज्ञता, साधन–स्रोत छ। तर, आफ्नै गाउँ-ठाउँमा त्यो विज्ञता परिचालन गर्न स्थान र सञ्जाल छैन। अर्कोतिर गाउँघरमै केही गर्न चाहने युवा मित्रहरू छन्। जोसँग समय र जोस-जाँगर त छ तर, अवसर अनि साधन-स्रोत छैन।

यदि आफ्नो गाउँ–ठाउँ आफ्नै पुस्तामा समृद्ध बनाउने साझा सपना बोकेका सबै युवाहरू हातेमालो गरी अघि बढ्ने चौतारी र सञ्जाल बनाउन पाए हाम्रो स्थानीय शैक्षिक, आर्थिक र सीपमूलक विकास दिगो हुनसक्छ। अब परदेशिएका युवा साथीले विदेशमा कमाएको पूँजीलाई आ-आफ्नै गाउँ–ठाउँमा विप्रेषण मात्र नगरी गाउँमै भएका युवालाई रोजगारी समेत सिर्जना गरी लगानी गर्ने वातावरण आवश्यक छ।

शिक्षा प्रणालीलाई गुणस्तरीय र उद्यमशीलता बनाउन पूर्वाधार, सञ्जाल र संरचना निर्माणमा युवा पुस्ताले जुट्नुपर्‍यो। देशमा गुणस्तरीय शिक्षा प्रणालीको विकास, उद्यमशीलता प्रवर्धन, रोजगारी सिर्जना गर्न व्यक्तिगत, सामूहिक प्रयासका साथै सक्षम नेतृत्वको पनि आवश्यकता पर्दछ।

हो, राजनीतिको सोपानमा माथि उक्लिन साम, दाम, दण्ड, भेद सबै चाहिन्छ तर पदमा पुगेपछि भिजन माग्छ, विज्ञता माग्छ। एउटा औपचारिक रूपमा नपढेको नेता त्यो पोजिसनमा पुग्नुहुन्न भन्न खोजेको होइन तर त्यो नेताले कार्य सम्पादन गर्न सक्ने विज्ञहरूलाई हायर गर्न सक्नुपर्‍यो।

विज्ञता भएको मानिसलाई सम्बन्धित काम दिनुपर्‍यो। नेतासँग विज्ञता नहुन सक्ला तर सही निर्णय गर्न सक्ने क्षमता र विज्ञहरूलाई समेटेर काम गराउन सक्ने व्यवस्थापकीय क्षमता चाहिं हुनुपर्‍यो। नत्र फर्स्ट बेञ्चर रवीन्द्र मिश्रहरू अनि लास्ट बेन्चर केदार कार्की अनि क्लासै बंक गर्ने दुर्गा प्रसाईंका अर्थ र औचित्यहीन अभिव्यक्ति माथि वाद-विवाद गर्दै यो पुस्ताको कक्षाको घण्टी बज्ने भयो।

लेखक
डा. विष्णुप्रसाद जोशी

बझाङमा जन्मिएका लेखक हाल अमेरिकामा कार्यरत वैज्ञानिक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?