+

बदल्न जरुरी छ क्षयरोगविरुद्ध लडाइँको बाटो

२०८० फागुन  २३ गते १३:१० २०८० फागुन २३ गते १३:१०
बदल्न जरुरी छ क्षयरोगविरुद्ध लडाइँको बाटो

मानव इतिहाससँगै करिब २० हजार वर्ष लामो यात्रा गरेको क्षयरोगको जीवाणु ‘माइकोब्याक्टेरियम ट्युबरक्युलोसिस’ आज पनि मानव जातिको निम्ति निरन्तर चुनौती बनिरहेको छ । फ्रान्सेली लेखक एलेक्जेन्डर दुमासले भनेका छन्- ‘क्षयरोगबाट ग्रसित हुनु फेसन जस्तै थियो । सबैजना क्षयरोगबाट संक्रमित थिए । विशेषगरी कविहरू केही भावनात्मक उत्तेजनापछि रगत खोक्ने र ३० वर्षको उमेर नपुग्दै जवानीमै मर्नु सामान्य बनेको थियो ।’

१९ औं शताब्दीको एक समय यस्तो थियो, जतिबेला युरोपमा कविताहरू क्षयरोगको वर्णनमा लेखिएका हुन्थे भने उपन्यासहरु क्षयरोगले संक्रमित पात्रहरूको भावनामा केन्द्रित हुन्थे । समग्र युरोपेली साहित्यमा त्यो स्तरको प्रभाव जमाएको क्षयरोगले समाजलाई कुन हदसम्म प्रभावित पार्‍यो होला भन्ने कुरा आँकलन गर्न सकिन्छ ।

श्वासप्रश्वास प्रणालीको प्रमुख अंग फोक्सोमा असर गर्ने एक संक्रामक रोग हो, क्षयरोग । यसले मुख्यगरी फोक्सोमा असर गर्ने भएपनि शरीरका अन्य अंगमा पनि असर पुर्‍याउँछ । संक्रमित व्यक्तिले खोक्दा, हाछ्यूँ गर्दा, बोल्दाखेरि थुकको छिटा वा अन्य  प्रकारका श्वासप्रश्वासबाट निस्किने तरल पदार्थमार्फत माइकोब्याक्टेरियम ट्युबरक्युलोसिस नामक जीवाणु सरेर लाग्ने यो रोगमा जीवाणुको मात्रा, रोगको प्राकृतिक चरणहरु, लक्षण, निदान, उपचार, जटिलता लगायतका  चिकित्सा विज्ञानले  स्थापित गरेका आफ्नै शर्तहरु छन् ।

विश्व स्वास्थ्य संगठनको प्रतिवेदन अनुसार सन् २०२२ मा मात्रै क्षयरोगका कारण संसारभरि १३ लाख मानिसको मृत्यु भयो। जसमध्ये ८० प्रतिशत मृत्यु निम्न तथा मध्यम आय भएका मुलुकका हुन् । गरिबी, अत्यधिक भीडभाड र सीमान्तीकृत समुदायमा बाँचिरहेका मानिसलाई असमान रूपमा असर गर्ने  यो रोग दरिद्रता, कलंक र पारिवारिक एक्लोपनको पनि कारण बनिरहेको तथ्य छ । तसर्थ, क्षयरोग केवल एक चिकित्सा समस्या मात्र होइन, यो त एक सामाजिक मुद्दा पनि हो जुन रोगको अन्तर्निहित निर्धारकहरूलाई सम्बोधन गर्न बहुपक्षीय प्रयासहरूको आवश्यकता पर्छ ।

यस लेखमा क्षयरोगको जोखिम र बोझलाई प्रभावित गर्ने विभिन्न सामाजिक कारकहरू र संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्य (एसडीजी)को एक लक्ष्यको रूपमा सन् २०३० सम्ममा क्षयरोग अन्त्य गर्न प्रभावित समुदाय र नागरिक समाजलाई संलग्न गराउने महत्वको बारेमा चर्चा गरिन्छ ।

मानव मस्तिष्कमा चिप्स जोड्ने, अंग प्रत्यारोपण गर्ने तहसम्म चिकित्सा विज्ञान पुग्दा पनि क्षयरोगका कारण अझै लाखौं मानिसले ज्यान गुमाइरहनु आजको प्रविधिको विकासको निम्ति चुनौतीको विषय हो । ‘माइकोब्याक्टेरियम’ जिनस करिब १५ करोड वर्षअगाडि नै उत्पत्ति भएको मानिएको छ । प्राचीन ग्रिसमा क्षयरोगलाई ‘फ्थाइसिस’ भनेर भनिन्थ्यो, जसको मतलब हुन्थ्यो क्षय । फ्रान्स र इङ्ल्यान्डमा क्षयरोगलाई ‘किङ्स इभिल’ भनेर भनिन्थ्यो र राजाले छोएपछि निको हुन्छ भन्ने अन्धविश्वास पनि त्यस समयमा थियो । भारतीय उपमहाद्वीपमा पनि क्षयरोगलाई ‘शोष’ भनिन्थ्यो जसको अर्थ हुन्छ ‘शोषण गर्ने’ । क्षयरोगले शरीरको सबै तरल पदार्थ सोस्छ भन्ने चेतना त्यस समयको समाजमा थियो । त्यति मात्र नभएर यसलाई ‘राज्य यक्ष्मा’ भनेर पनि भनिन्थ्यो यसको मतलब हुन्थ्यो राजाको रोग । त्यति मात्र  हैन, क्षयरोगलाई कसैकसैले रोमान्टिक र आदर्श पनि बनाए, जसले यसलाई कलात्मक प्रतिभा, आध्यात्मिक शुद्धता वा महान् दुःखकष्टको संकेतको रूपमा हेरे । क्षयरोगलाई थुप्रै लेखक, कवि, संगीतकार र चित्रकारहरूले सिर्जनशीलता, सुन्दरता वा त्रासदीको स्रोतको रूपमा चित्रण गरे ।

१८ औं शताब्दीमा युरोपमा क्षयरोगको महामारी फैलियो । र, क्षयरोगका कारण वार्षिक एक लाख जनामा ९०० जनासम्मको मृत्युको लहर चल्यो । औद्योगिक क्रान्तिको दौरानमा पनि सामाजिक अवस्थामा आएको परिवर्तन, अव्यवस्थित सहरीकरण, अपर्याप्त स्रोतहरू, अव्यवस्थित कार्यस्थल, कुपोषण र अन्य कारणले गर्दा युरोप क्षयरोगबाट ग्रस्त भयो । वनस्पति विज्ञानका विद्यार्थी हर्मन ब्रेमरले (जो आफैं क्षयरोगबाट संक्रमित थिए) पहिलोपटक क्षयरोग निको हुनसक्ने रोग हो भनेर भने । लामो समय क्षयरोगको संक्रमणको प्रकृति लगायतका विषयमा अध्ययन भयो । सन् १८८२ मार्च २४ मा ‘सोसाइटी अफ फिजियोलोजी’मा वैज्ञानिक रोबर्ट कोचले माइकोब्याक्टेरियम ट्युबरक्युलोसिस पत्ता लगाएको घोषणा गरे । केही दशकको अध्ययनपछि क्षयरोगविरुद्धको बीसीजी खोप पत्ता लाग्यो र क्षयरोगविरुद्धका एन्टिबायोटिक्सहरु पनि बने ।

इतिहासमा शताब्दी बिताए पनि क्षयरोग विगतको रोग भने होइन, यो त वर्तमान र भविष्यको खतरा हो । विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०२२ मा १३ लाख मानिसको मृत्यु भएको क्षयरोग कोभिड १९ पछिको दोस्रो प्रमुख संक्रामक रोग हो ।

क्षयरोगले विभिन्न जनसंख्या समूहहरुलाई उनीहरूको जोखिम, संवेदनशीलता र स्वास्थ्य सेवामा पहुँचको आधारमा फरक-फरक प्रभाव पार्छ । सबैभन्दा कमजोर जनसंख्यामा कैदीहरू, आप्रवासीहरू र सामाजिक रूपमा सीमान्तकृत व्यक्ति पर्छन्, जसले प्रायः क्षयरोग रोकथाम, निदान र उपचारमा धेरै जोखिमका कारकहरू र अवरोधहरूको सामना गर्ने गरेका छन् । एक अध्ययन अनुसार कैदीहरूमा क्षयरोगको भार (प्रिभालेन्स) सामान्य जनसंख्याको तुलनामा २३ गुणा बढी थियो । एक मेटा-विश्लेषणले आप्रवासीहरूमा क्षयरोगको नयाँ केस सोही देशमा जन्मिने जनसंख्याको तुलनामा १५ गुणा बढी रहेको पत्ता लगाएको छ । सामाजिक रूपमा सीमान्तकृत व्यक्तिहरू, जस्तै गरिबी, झुपडी वा घरबारविहीन भएका मानिसले पनि क्षयरोगको उच्च जोखिमको सामना गर्नुका साथै कलंक, भेदभाव र सामाजिक बहिष्कारको सामना गरिरहेका छन् । युरोपका १० वटा सहरमा गरिएको एक अध्ययनले घरबारविहीन मानिसमा क्षयरोगको व्यापकता सामान्य जनसंख्याको तुलनामा १७ गुणा बढी रहेको देखाएको छ ।

क्षयरोगको रोकथाम, निदान र उपचारका लागि गुणस्तरीय र किफायती स्वास्थ्य सेवामा पहुँच आवश्यक छ । डब्लुएचओका अनुसार सन् २०२० मा अनुमानित क्षयरोगका बिरामीमध्ये ७१ प्रतिशत मात्र पत्ता लगाएर सूचित गरिएको थियो । नयाँ र पुनरुत्थान भएका बिरामीको उपचार सफलता दर ८५ प्रतिशत थियो ।

चिकित्सा विज्ञानको प्रगति हुँदै जाँदा मानवजातिले  संक्रामक रोगहरूविरुद्ध निरन्तर धावा बोलेको सत्य हो । संसारभरि रोगको ढाँचा बदलिएर सर्ने रोगबाट नसर्ने रोगतर्फ ढल्किसकेको छ ।

हामीसँग क्षयरोगविरुद्धको खोप छ, हामीसँग क्षयरोगविरुद्धका एन्टिबायोटिक्स औषधिहरू छन्, हामीसँग सरकारको उच्च प्राथमिकतामा रहेको डट्स जस्ता कार्यक्रम पनि छन् । तर पनि क्षयरोग हाम्रो निम्ति चुनौती बनिरहेकै छ ।

यो यसकारण भइरहेको छ कि हामीले  क्षयरोग र संक्रमित बिरामीलाई बायोमेडिकल दृष्टिकोणबाट मात्रै हेरिरहेका छौं । जब कुनै बिरामीलाई बायोमेडिकल दृष्टिकोणबाट मात्रै हेरिन्छ तब उसको शरीर एउटा मेसिन बन्छ । अंक र कोडसहितका फाइलहरूमा उसको रोग सीमित हुन्छ । ऊ एउटा जीवाणु बोकेर हिंडिरहेको कच्चा पदार्थ बन्छ ।

२०१८ मा ल्यान्सेटमा प्रकाशित एक अनुसन्धानको रिपोर्टअनुसार गरिबी निवारण मात्र गर्न सकियो भने २०३५ सम्म क्षयरोगको समस्या ८४ प्रतिशतसम्म कम हुनसक्छ । त्यही प्रतिवेदनले क्षयरोगबाट हुने मृत्युको ९५ प्रतिशत मृत्यु निम्न तथा मध्यम आय भएका देशहरुमा भइरहेको पनि दाबी गरेको छ । महामारीको समयमा युरोपमा श्रमिकहरूको मृत्युदर एक तिहाई थियो भने उपल्लो वर्गको मृत्युदर १/६  थियो । यसबाट के प्रष्ट हुन सकिन्छ भने हामीले क्षयरोग जस्ता रोगहरुलाई सामाजिक र आर्थिक दृष्टिकोणले पनि हेर्नुपर्छ, बायोमेडिकल दृष्टिकोणले मात्रै कुनै पनि निकास दिन सक्दैन । किनकि एउटा बिरामी जीवाणुको कारणले मात्रै रोगी हुँदैन, उसको सामाजिक आर्थिक पर्यावरणले उसलाई रोगी बनाइरहेको हुन्छ ।

औद्योगिक क्रान्तिको समयमा युरोपमा जे भयो, त्यो तेस्रो विश्वले आज पनि भोगिरहेकै छ । अव्यवस्थित सहरीकरण, सुकुम्बासी बस्तीहरु, कुपोषण, अव्यवस्थित कार्यस्थल, सरसफाइको अभाव आज पनि हाम्रो समाजका विशेषता बनिरहेका छन् । यी सबैको जड हो आर्थिक असमानता ।

क्षयरोगविरुद्ध बनेका एन्टिबायोटिक्सहरूप्रति पनि बिस्तारै माइकोबक्टेरियम ट्युबरक्युलोसिसले प्रतिरोध देखाउन थालेको छ । हिजो जब युरोप महामारीले ग्रस्त थियो, त्यस समय यसका निम्ति प्रशस्तै काम हुन्थे । आज तेस्रो विश्व चिच्याइरहेको छ तर हामीसँग कुनै नयाँ एन्टिबायोटिक बनेको छैन । यसले गर्दा नै होला आजको विश्व एन्टिबायोटिक प्रतिरोधको विषयमा घोतलिरहेको छ । तर पनि सामाजिक र आर्थिक कारकहरुलाई सम्बोधन नगरिकन क्षयरोग जस्ता रोगहरूको उन्मुलन सम्भव छैन । उपचार र उपचार पद्धतिकै मात्र कुरा यदि गर्ने हो भने हामी सुधार त गर्न सक्छौं तर यो महामारीको अन्त्य गर्न  सक्दैनौं ।

क्षयरोगको उन्मूलन डीएनए सिक्वेन्सिङ वा अन्य छोटो समयका लागि प्रयोग हुने औषधिको विकासबाट मात्रै सम्भव छैन । बायोमेडिकल प्रविधिको विकासको निम्ति दुई अनिवार्य शर्त छन्- पैसा र समय । जुन क्षयरोगका बिरामीसँग छैन । त्यसकारण क्षयरोगसँगको लडाइँ केवल एउटा जीवाणुसँग मात्र होइन, समग्र विचारधारासँग पनि हुनुपर्छ । (कार्टर, २०१८) यसरी समग्रतामा हेर्दा उपचार र उपचार पद्धतिमा मात्रै केन्द्रित रहेर बिरामीको शरीरलाई ध्यानमा राखेर र केवल ‘माइकोबक्टेरियम ट्युबरक्युलोसिस’ विरुद्धको मात्र लडाइँ लड्ने हो भने हाम्रो विजय सम्भव छैन । अब हाम्रो लडाइँ असमानताको अन्त्य गर्नेतर्फ सामाजिक संरचनालाई ध्यानमा राखेर स्वास्थ्यका बृहत सामाजिक निर्धारकहरुतर्फ केन्द्रित हुनुपर्छ ।

क्षयरोग डा. अविनाश पौडेल संक्रामक रोग
लेखक
अविनाश पौडेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय