+
+

कफी टेबलमा राख्न मिल्ने ‘बा’ को उपहार

एमाले अध्यक्ष केपी ओलीले सार्वजनिक गरेको ‘बा’ पुस्तकमा उनको जीवनका उतारचढावपूर्ण घटना र त्यसबाट मिलेका शिक्षा उल्लिखित छन् । उनले नेपालको मौलिकताबारे चर्चा गर्दै विभिन्न पात्रहरुलाई पनि सम्झेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २० गते १८:३०

२० फागुन, काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले त्यस बेला युट्युब च्यानल ‘बा’ खोले, जुन बेला उनका सत्ता–साझेदार प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धनको काँध फेरेर कांग्रेससँग मिल्दै थिए ।

ओलीको साथ पाएर प्रधानमन्त्री बनेपछि राष्ट्रपतिमा प्रचण्डले ठीक एक वर्षअघि अर्थात् ०७९ माघ अन्तिम साता सघाउँदै थिए ।

त्यसैको अर्को साता ओलीको नाममा युट्युब च्यानल सञ्चालनमा आयो । उनले आफ्नो राजनीतिक क्रियाशीलतालाई दैनन्दिन राजनीतिभन्दा अझै पर तन्काउने विचार गरेको ती युट्युब सामग्रीले प्रतिबिम्बित गर्थे । अर्थात् बा च्यानलमा उनले बाल्यकालदेखिका अनुभव र पुस्तान्तरसम्मलाई काम लाग्ने धारणा पोख्न थाले ।

तीमध्ये कतिपय सामग्री अखबारमा छापिए, कतिपय युट्युबमा ।

ओलीले यसै साता कफी टेबल साइजको किताब बा सार्वजनिक गरेका छन् । १२८ पृष्ठको किताबको गाता कपडाले ढाकिएको छ । त्यसलाई नेपाली कागजको झोलामा हालिएको छ । अनि भित्रपट्टी लेखिएको छ : तपाईंलाई ‘बा’ को तर्फबाट उपहार । त्यसमा ओलीको हस्ताक्षर छ । किताबको बीचमा ओलीको फुल साइज तस्वीर भएको बुकमार्क पनि छ ।

‘यी सामग्री आजको सन्दर्भमा मात्र होइन, आगामी दिनमा पनि सामयिक भइरहने हाम्रो विश्वास छ,’ किताबको भूमिकामा प्रकाशक कथा नेपालले उल्लेख गरेको छ, ‘यो पुस्तक पढेर तपाईंले जीवनमा केही न केही उत्प्रेरणा पाउनुभयो भने ‘बा’ को उद्देश्य सफल हुनेछ ।’

बा किताबमा प्रस्तुत सामग्रीहरु ओलीको बोलीझैं चाम्रो भाषामा छैनन्, बरु नरम भाषामा छन् । उनको जीवनका सर्वाधिक चर्चायोग्य, विवादास्पद कुराहरु यो किताबमा पढ्न पाइँदैन । बरु आफ्नो राजनीतिक चेतलाई निखार्न भूमिका खेल्ने रामनाथ दाहालदेखि विश्वराजनीतिका मनिषीसम्मप्रति उनले कृतज्ञ हुँदै सम्झेका छन् ।

तस्वीरहरुको किताबमा उल्लेख्य सहभागिता छ । पार्टीपंक्तिभित्र एउटा तप्काले बा भनेर आदरभाव देखाउने ओलीका विचार र बाणीसँगै त्यसलाई प्रकट गर्ने खालका तस्वीरहरु समेत त्यहाँ रंगीन कलेवरमा प्रकाशित छन् ।

माओ त्सेतुङको तस्वीरदेखि सुबिन भट्टराईको उपन्यास इजोरियासम्म यो किताबमा उल्लिखित तस्वीरमा समेटिएका छन् । तर ओलीका समकालीनहरु, कार्यकर्ताहरु, नेताहरु यसमा अटाएका छैनन् । बरु पत्नी राधिका, साना बालबालिका, खेलकुद जीवन झल्काउने सामग्री, फोटो खिच्दै गरेका अनौपचारिक क्षणहरु ओलीले समेटेका छन् ।

किताब अरु बेला एमालेको केन्द्रीय प्रचार विभागले छाप्ने खालको छैन । बरु त्यसलाई पर्याप्त कर्पोरेट लुक दिलाइएको छ । किताबको नाम नै लोगोबाट बताइएको छ, जहाँ बा लेख्दा चिरिएका अक्षरको बीचमा चन्द्रसूर्य उल्लेख छन् । ओली पछिल्ला दिनमा पार्टीको झन्डाभन्दा बढ्ता चन्द्रसूर्य झण्डालाई प्राथमिकता दिने गर्छन् । घरमा आउनेहरुले पाउने ब्याजमा समेत चन्द्रसूर्य उल्लेख हुन्छ ।

ओलीले सत्यसँग नलड्ने शक्तिसँग नझुक्ने नारालाई यहाँ पनि ठाउँ ठाउँमा उद्धृत गरेका छन् । उनले रामायण, महाभारतका पात्रहरुलाई विभिन्न ठाउँमा सन्दर्भसहित उल्लेख गरेका छन् । उनले नेपाललाई वीरभूमि, तपोभूमि, ज्ञानभूमि भन्दै प्रशंसा गरेका छन् ।

आयुर्वेद व्यवस्थित शास्त्रका रुपमा यहाँ धेरै पहिले आइसकेको भन्दै औषधि विज्ञानभन्दा नेपाली आविष्कारहरु अगाडि रहेका दाबीहरु समेत किताबमा यथेष्ट गरिएको छ ।

‘सिद्धार्थ गौतम किन अरु ठाउँमा जन्मेनन्, अरु ठाउँमा झगडा भइरहेका बेला यहाँबाट किन शान्तिको सन्देश फैलियो ?’ किताबमा ओलीले लेखेका छन्, ‘यहाँ कसैले बाटो बिराए पनि ती सप्रिएर महापण्डित र महाज्ञानी बन्थे । विश्वामित्र र वाल्मीकि त्यसका दृष्टान्त हुन् ।’

बा किताबको मूल्य भने खुलाइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?