 
																			२१ फागुन, काठमाडौं । सोमबार बिहानभर सत्ता गठबन्धन जोगाउन र भत्काउन रस्साकस्सी चलिरहेको थियो । सिंहदरबार, बालुवाटार र पार्टी कार्यालयहरुमा नेताहरुको दौडधुप थियो ।
त्यहीबेला गृह मन्त्रालयमा भने ३५ दिनदेखि आन्दोलनरत मिटरब्याज पीडितसँग वार्ता चलिरह्यो । मन्त्रालयको शान्ति सुरक्षा महाशाखाका प्रमुख सह–सचिव नारायणप्रसाद भट्टराई नेतृत्वको वार्ता टोलीले पीडितका तर्फबाट मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहसहितको टोलीसँग संवाद गर्यो ।
‘लामो समयदेखि आन्दोलनरत उहाँहरुसँग सहमति जुटाउने प्रयास स्वरुप छलफलमा बोलाएका थियौं, बिहान साढे ९ बजेदेखि ११ बजेसम्म छलफल गर्यौं’, भट्टराईले अनलाइनखबरसँग भने, ‘कुनै निष्कर्ष ननिस्किए पनि कसरी अघि बढ्न सकिएला भन्ने विषयमा जानकारी गरायौं ।’
उनले कुन कुन बुँदामा सहमत हुन सकिन्छ भन्ने विषयमा पनि खाका पठाएको बताए । संघर्ष समितिका तर्फबाट वार्तामा सहभागीमध्ये एक जनाले भने सत्ता गठबन्धनमा आएको हलचलले राम्रोसँग वार्ता हुन नपाएको बताए ।
‘उहाँहरु आफैं अलमलमा हुनुहुन्थ्यो, पहिलेभन्दा नयाँ कुरा पनि आएन’, उनले भने, ‘फेरि दुवै पक्षको अनुकुलतामा बैठक बस्ने गरी उठ्यौं ।’
संघर्ष समितिका प्रवक्ता नीर्ग नवीन भने सरकारले आफूहरुको माग कार्यान्वयन गर्नेतर्फ गम्भीरता नदेखाएको बताए । ‘यस्तो अडानसहित वार्ता नै पो गरिरहने कि नगर्ने भन्ने छ, २३ फागुनदेखि आन्दोलनलाई थप चर्काउने भन्ने छ’, उनले भने, ‘अहिलेसम्म हामीले वार्तालाई प्रधान बनाएका थियौं, आन्दोलन सहायक थियो, अब रणनीति परिवर्तन गर्ने भन्नेछ ।’
सहसचिव भट्टराईका अनुसार, सरकारका तर्फबाट अहिले भएका संरचनालाई प्रभावकारी रुपमा काम गर्न दिनुपर्ने सरकारी वार्ता टोलीले भनेको थियो । उच्चस्तरीय न्यायिक आयोग बनाउने विषयमा चाहिँ वार्ता टोली सकारात्मक हुन सकेन ।
सरकारी टोलीका सदस्यहरुका अनुसार, गृहमन्त्री समेत जिम्मेवारीमा नरहेका बेला थप छलफल गर्न समेत कठिन छ ।
‘छलफल गर्नलाई त समस्या भएन, तर निष्कर्ष निस्किने बेलामा राजनीतिक नेतृत्वबाट कुरा गरेर मात्र निर्णय हुन्छ’, सरकारी टोलीका एक सदस्यले भने, ‘त्यसैले केही दिन वार्तामा अलमल हुनसक्छ ।’
संघर्ष समितिका प्रवक्ता नीर्ग नवीन भने साहु महजनले बनाएको तमसुक खारेज गर्नुपर्ने, मिटरब्याज पीडितको समस्यालाई समाधान गर्न छुट्टै ऐन बनाउनुपर्ने लगायतका मागहरु आफूहरुको रहेको बताउँछन् ।
मिटरब्याज पीडितका लागि भन्दै पूर्वबाट कुशवाहको नेतृत्वमा ५०० र पश्चिमबाट नीर्ग नवीनको नेतृत्वमा २०० जना पीडित पैदल मार्च गरेर काठमाडौंसम्म आएका थिए । काठमाडौं आएपछि पनि उनीहरुको विरोध प्रदर्शन जारी थियो ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4