 
																						२२ फागुन, सुर्खेत । केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै कर्णाली प्रदेशमा नेपाली कांग्रेसका मन्त्रीहरुले राजीनामा दिएका छन् ।
अर्थमन्त्री बेदराज सिंह, सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कृष्णकुमार बीसीले संयुक्त रुपमा मुख्यमन्त्री राजकुमार शर्मालाई राजीनामा बुझाएका हुन् ।
केन्द्रमा कांग्रेस माओवादी गठबन्धन बनेपछि गत वैशाखमा कर्णालीमा कांग्रेस सरकारमा सहभागी भएको थियो । माओवादीले कांग्रेसलाई छाडेर एमालेसँग नयाँ गठबन्धन गरेपछि उनीहरुले राजीनामा दिएका हुन् । राजीनामापछि संयुक्त पत्रकार सम्मेलन गरेका कांग्रेस नेताहरुले ९ महिना सरकारमा रहँदा गरेको काम सम्झिए ।
अर्थमन्त्रीबाट राजीनामा दिएका वेदराज सिंहले सरकारबाट बाहिरिने चाह समयले पूरा गरिदिएको बताएका छन् । ‘मुख्यमन्त्रीज्यूसँग व्यक्तिगत असहमति छैन । तर उहाँको कार्यशैली, कामका हिसाबले भने सरकारले गति लिन सकेन’, उनले भने, ‘हामी अलि पहिले नै राजीनामा दिने परिवेशमा पुुगेका थियौं ।’
जनताको म्यान्डेट अनुसार काम गर्न नसकेपछि आफूहरुले नै राजीनामा दिन तयार रहेको सूचना संसदीय दलका नेता जीवनबहादुर शाहीलाई दिएको उनले बताए । ‘हामीले गर्न खोजेका थुप्रै काम अल्झिए’, उनले भने, ‘हामीले दलका नेतासँग कुरा गरेका थियौं, उहाँले त्यो संकेत गर्नु भएको थियो ।’
त्यसपछि कांग्रेस संसदीय दलका नेता शाहीले सामाजिक सञ्जाल फेसबुकमा अफ्नो दलले सरकार छाड्नसक्ने संकेत गरेका थिए । तर पार्टीका कारण त्यसबेला रोकिएको आफूहरु अहिले समयले सरकार छाड्ने अवस्थामा आएको सिंहले बताए ।
कांग्रेस सरकारबाट बाहिरिएसँगै एमाले र माओवादीका नेताहरु छलफलमा जुटेका छन् । दुई दल मिल्दा बहुमत पुग्छ । ४० सदस्यीय प्रदेशसभामा बहुमतका लागि कम्तीमा २१ सांसद आवश्यक पर्छ । प्रदेशमा माओवादीका १३ र एमालेका १० सांसद छन् । ०७९ पुसमा शर्मा, एमालेकै समर्थनमा मुख्यमन्त्री बनेका थिए ।
केन्द्रमा गठबन्धन भत्किएपछि एमालेले सरकार छाडेको थियो । अब फेरि एमाले सरकारमा जाने छ । एमालेका नेताहरु भने सरकारकै नेतृत्व फेर्न चाहन्छन् ।
एमाले प्रदेश संसदीय दलका नेता यमलाल कँडेलको नेतृत्वमा सरकार गठन गर्नुपर्ने उनीहरुको जोड छ । ‘अहिलेसम्म अन्य सबै दलहरूले प्रदेशको नेतृत्व गर्दै आउनुभएको छ, अब एमालेले नेतृत्व गर्न पाउनुपर्छ’, एमालेका प्रमुख सचेतक टेकराज पछाईं भन्छन्, ‘यहाँ हामीले भनेर मात्र हुँदैन, केन्द्रबाटै एक किसिमको सहमति गरेर कर्णालीको नेतृत्व एमालेलाई दिनुपर्छ ।’
तर माओवादी नेताहरु भने शर्माकै निरन्तरता चाहन्छन् । शर्मा नेतृत्वले निरन्तरता पाउने सरकारका प्रवक्ता एवं आन्तरिक मामिलामन्त्री कृष्ण बहादुर जिसी बताउँछन् । ‘पहिले पनि एमालेसँँग आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको थियो’ प्रवक्ता जिसीले भने, ‘पूर्वसहमति अनुसार नै अगाडि बढ्छौं । माओवादीका मन्त्रीहरु फेरबदल हुन सक्छन्, नेतृत्व परिवर्तन हुँदैन ।’
नयाँ गठबन्धनका केन्द्रीय नेताहरु भने मुख्यमन्त्री आलोपालो गर्ने सहमति भएपनि कुन प्रदेशको नेतृत्व कसले गर्ने भन्ने छलफल भइनसकेको बताउँछन् ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4