 
																			२३ फागुन, पोखरा । कास्कीमा स्वरुप फेरिएका मोटरसाइकल चलाउन निषेध गरिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले बुधबार एक सूचना जारी गरी स्वरुप फेरेर मोटरसाइकल चलाए कारबाही गरिने जनाएको हो ।
‘स्वरुप परिवर्तन गरी सवारी साधन चलाउँदा दुर्घटना हुने, चर्को आवाजले ध्वनी प्रदुषण हुने, बिरामी, बृद्धबृद्धा, बालबालिका, विद्यार्थीहरु तथा संवेदनशील क्षेत्र (स्कूल तथा अस्पताल) मा प्रत्यक्ष असर गर्ने गर्दछ,’ प्रहरीले सूचनामा भनेको छ ।
अटेरी गरेमा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ बमोजिम कडा कारवाही हुने व्यहोरासमेत कास्की प्रहरीले सूचनामा मार्फत सचेत गराएको छ । कास्की प्रहरीले गत भदौ २५ गतेदेखि स्वरुप फेरिएका मोटरसाइकल नियन्त्रण लिने अभियान चलाएको थियो ।
प्रहरीले हालसम्म ६ सय ८१ वटा स्वरुप फेरेर चर्को ध्वनी प्रदुषण गर्ने मोटरसाइकल नियन्त्रणमा लिइसकेको छ । त्यसरी स्वरुप फेरिएका मोटरसाइकल धनीलाई पहिलो पटक पक्राउ परे अभिभावकको जिम्मा लगाइएको र पटके पक्राउ परेकालाई कारवाहीका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालयको जिम्मा लगाइएको प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिए ।
वास्तविक स्वरुप स्वरुपमा परिवर्तनसँगै होहल्ला मच्चाउँदै हिँड्ने, ध्वनी प्रदुषण गर्ने, साइलेन्सर पाइपबाट आगोको झिल्का निकाल्ने मोटरसाइकलहरु नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार स्वीकृति नलिई सवारी साधनको साईलेन्सर, सिट, रंग, स्वरूप, नम्बर प्लेट, लुकिङ ग्लास, सक, ह्याण्डल, इन्जिन, च्यासिसमा परिवर्तन गर्ने वा ध्वनी हुने खालका पार्टपुर्जा जडान गर्न पाइँदैन ।
मोडिफाइ गर्ने वर्कसप तथा शोरुमलाई पनि कारवाही
जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले मोटरसाइकलको स्वरुप फेर्ने सवारी धनीसँगै उनीहरुलाई सघाउने ग्यारेज वर्कसप सञ्चालकलाई पनि नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक सूर्य रानाका अनुसार मोटरसाइकलको स्वरुप परिवर्तन गर्न सघाउने पोखराका ८ वटा वर्कसपलाई कारवाही गरिएको छ ।
प्रहरी निरीक्षक रानाकाअनुसार कारवाही पर्नेमा पोखरा ८, सिर्जनाचोकको ३६० मोटर्स वर्कसप सञ्चालक २५ वर्षीय सुशील भुजेल, पोखरा ८, सिमलचौरको पोखरा कस्ट्युम्स वर्कसप सञ्चालक ३७ वर्षीय सागर झाँक्री, सोही ठाउँको बुम इन्फिल्ड सर्भिस सेन्टर सञ्चालक २३ वर्षीय मोहम्मद रुस्तम छन् ।
त्यस्तै, पोखरा ९, नयाँबजारको रोयल इन्फिल्ड शोरुम सञ्चालक ३९ वर्षीय शुकबहादुर गुरुङ, पोखरा १६, लामाचौर चौधरी मोटरसाइकल वर्कसप सञ्चालक ३२ वर्षीय महेन्द्र चौधरी, पोखरा ११, रानीपौवाको न्यु दीपज्योति अटो पार्टसका सञ्चालक २१ वर्षीय मन्जर नासिम, सोही ठाउँको दीपक वर्कसप सञ्चालक २९ वर्षीय सन्दीप भगत र पोखरा ५, मालेपाटनको क्लासिक मोटरसाइकलका सञ्चालक ३६ वर्षीय विनोद विक छन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4