+
+

राजधानीमा अब ‘ई–क्यूआरटी पुलिसिङ’

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २४ गते १९:५१

२४ फागुन, काठमाडौं । अपराध अनुसन्धान र नियन्त्रणका लागि प्रविधिको प्रयोगलाई बढाउँदै लैजाने नीति अनुरुप काठमाडौंमा प्रहरीले ‘ई–क्यूआरटी’ सेवा सुरु गरेको छ ।

कुनै पनि घटना हुनेवित्तिकै परिचालन हुने ‘क्वीक रेस्पोन्स टिम (क्यूआरटी)’ सेवालाई प्रहरीले डिजिटल बनाएको हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी भुपेन्द्र खत्रीका अनुसार, अब प्रहरीको क्यूआरटी टोली घटनास्थलमा पुगे/नपुगेकोसहित उनीहरुको सम्पूर्ण गतिविधि अफिसरहरुले जहाँसुकैबाट निगरानी गर्नसक्छन् ।

‘घटनास्थलको लाइभ तस्वीर र भिडियो पनि सिस्टममा प्राप्त हुन्छ’, एसएसपी खत्रीले भने, ‘यसले अपराध अनुसन्धानलाई प्रभावकारी बनाउने विश्वास छ भने समस्यामा परेका नागरिकसम्म पुग्ने समयलाई घटाउन समेत मद्दत पुग्नेछ ।’

खत्रीका अनुसार, काठमाडौं प्रहरी मातहतका वृत्त र प्रभागहरुबाट जीपीएस (ग्लोबल पोजिसनिङ सिस्टम) मार्फत मोटरसाइकलमा खटिने टोलीको लोकेसन नियमित ट्र्याक हुनेछ ।

‘घटना भएको स्थानमा यथाशीघ्र पुग्ने वातावरण निर्माण गर्न २४सै घन्टा प्रहरी कन्ट्रोल रुमबाट  ट्र्याकिङ गर्न मिल्ने गरी डिजिटल प्रणाली जडान भएको छ’, उनले भने, ‘घटनास्थलमा पुग्नासाथ प्रहरीको काम कारबाही र सेवाग्राहीसँगको व्यवहार समेत स्वतः रेकर्ड हुनेछ । कन्ट्रोल रुमबाट सम्बन्धित कमाण्डरले पनि लाइभ हेर्न सक्नेछन् ।’

राजधानीमा खटिने ६० वटा पुलिस क्यूआरटी टोलीको सदस्यलाई शरीरमा हुने क्यामरासहितको प्रविधि जडान गरिएको उनले बताए । जिल्ला प्रहरी परिसर, टेकुमा बुधबार आयोजित कार्यक्रमका बीच ई–क्यूआरटी सेवा उपत्यका प्रहरी प्रमुख एआईजी दीपक थापाले उद्घाटन गरेका थिए ।

थापाका अनुसार, सूचना प्राप्त भएलगत्तै घटनास्थलमा पुग्ने समय दक्षिण एसियाका अन्य मुलुकको तुलनामा नेपाल प्रहरीको एकदमै कम छ । ‘यद्यपि प्रहरी समयमा पुगेन भन्ने गुनासो अझै पनि सुन्नुपर्छ’, थापाले भने, ‘त्यसलाई अझै कम गर्दै लैजाने नीति अनुरुप यो सेवा सुरु गरेका हौं ।’

उनले यो सेवालाई क्रमशः भक्तपुर र ललितपुरमा पनि विस्तार गरिने बताए । थापाले क्यूआरटी टोली प्रहरी अनुसन्धानमा सबैभन्दा प्रभावकारी देखिएको बताउँदै यसलाई अझ बढी स्रोत, साधनले सम्पन्न बनाउन आफूहरु प्रतिबद्ध रहेको बताए ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले शान्ति सुरक्षा र अपराध नियन्त्रणको सन्दर्भमा काठमाडौं प्रहरीले सुरु गरेको अभियान प्रशंसनीय भएको बताए । ‘शान्ति सुरक्षा कायम गर्ने सन्दर्भमा प्रहरी अझै सक्षम र दक्ष हुनुपर्छ, त्यसका लागि स्रोत, साधन र प्रविधिमैत्री बनाउनु पहिलो सर्त हो’, उनले भने, ‘अनि मात्र सोचे अनुरुपको नतिजा आउँछ ।’

कार्यक्रममा क्यूआरटी टोलीका सदस्यलाई प्रमुख जिल्ला अधिकारी बस्नेत, एआईजी थापा, जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंका सहन्यायाधीवक्ता सन्देश श्रेष्ठ लगायतले जीपीएस ट्र्याकिङ डिभाइस, शरीरमा लगाउन मिल्ने क्यामरा, हेलमेट, नि–गार्ड, रेडियो सेट, साइरन लगायतका सामग्री हस्तान्तरण गरेका थिए ।

लगत्तै अत्याधुनिक सुरक्षा उपकरणयुक्त ‘पुलिस क्लूआरटी परेड’लाई मार्च समेत गराइएको काठमाडौं प्रहरीका एसपी नवराज अधिकारीले बताए । उनले भने, ‘सुरक्षा उपकरणयुक्त क्यूआरटी परिचालनले काठमाडौंको सुरक्षा प्रबन्धमा थप उल्लेखनीय भूमिका बहन गर्ने अपेक्षा छ ।’

फोटो : चन्द्र आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?