+
+

च्याट जिपिटीमाथि नियन्त्रणको लडाइँ, सीईओ अल्टम्यानमाथि मस्कले हाले मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २५ गते १२:५३
ओपन एआईका सिइओ साम अल्टम्यान (वायाँ) र एलन मस्क

काठमाडौं । अर्बपति एलन मस्क फेरि एकपटक चर्चामा छन् । यसपटक उनी च्याट जिपिटीको मातृ कम्पनी ओपन एआईलाई लिएर चर्चामा छन् ।

वास्तवमा ओपन एआईसँग एलन मस्कको सम्बन्ध निकै पुरानो छ । त्यो सम्बन्ध ओपन एआई कम्पनीको जग राख्नेबेलाकै हो । तर स्टार्टअप स्थापना भएको केही समयपछि उनी ओपएन एआईबाट अलग्गिए । अहिले आएर एलन मस्कले ओपन एआईका सिइओ साम अल्टम्यानमाथि मुद्दा हालेका छन् ।

उनले साममाथि कम्पनीको करार तोडेको र फरक व्यवसायिक अभ्यास अबलम्बन गरेको आरोप लगाएका छन् । ओपन एआईले अहिले मानवताको भलाइभन्दा धेरै माइक्रोसफ्टलाई मुनाफा दिलाउनमा केन्द्रित भएको उनको आरोप छ ।

कुनैबेला थिए असल मित्र

मस्कले आफूविरुद्ध मुद्दा हालेपछि ओपन एआईका सिइओ साम अल्टम्यानले मस्क र आफूबीचका पुराना कुराहरु शेयर गरेका छन् । उनले ट्वीटरमा त्यसबेला भएको आफूहरुको कुराकानी पनि शेयर गरेका छन् जसमा धेरै मानिसहरुले विरोध गरिरहेका बेला पनि सामले टेस्ला र मस्कको समर्थन गरेका थिए । यो सन् २०१९ ताकाको कुरा हो ।

वास्तवमा ओपन एआईको संस्थापक टिममा एलन मस्क पनि थिए । कम्पनीको सुरुवात गर्ने मस्क सन् २०१८ मा अलग भएका थिए ।

मस्कको आरोपमाथि जवाफ

ओपन एआईले पनि मस्कले लगाएका आरोपहरुको बारेमा प्रतिक्रिया दिएको छ । यसबाट दुईबीचको यो लडाइँ अझै गहिरो बन्दै गएको देखिन्छ ।

ओपन एआईले एउटा ब्लगपोस्ट सार्वजनिक गरेको छ जसमा एलन मस्कका पुराना इमेलहरु सामेल छन्, जुन ओपन एआईका संस्थापकहरुलाई पठाइएको थियो । त्यसबेला मस्कले ओपन एआई कम्पनी नाफामूलक कम्पनी बन्ने कुरामा समर्थन गरेका थिए ।

अब प्रश्न उठ्छ कि त्यति धेरै गहिरो मित्रतामा कसरी र कुन कारणले दरार आयो ? मस्क अदालत पुग्नुुपर्ने अवस्था कसरी आयो ? यसका लागि हामीले ओपन एआईको इतिहासमा केही पछाडिसम्म जानुपर्ने हुन्छ।

अहिले के भयो ?

एलन मस्कले ओपन एआईका विरुद्ध मुद्दा दायर गरेको छ, जसमा उनले कम्पनीमाथि करारहरु भंग गरेको आरोप लगाएका छन् । साथै उनले ओपन एआई कम्पनी ओपन सोर्स आर्टिफिसियल जनरल इन्टेलिजेन्स तयार गर्ने आफ्नो वास्तविक मिसनबाट अन्यत्र भड्किएको दाबी गरेका छन् । ओपन एआईले आफ्नो बाचा तथा ओपन सोर्स एजिआईलाई भुलेर माइक्रोसफ्टसँग साझेदारी गरेको उनले बताएका छन् ।

तर मस्कले समर्थन गरेका थिए नाफामूलक कम्पनीको

यो आरोपको जवाफमा ओपन एआईले मस्क र अन्य सहसंस्थापकहरु बीच भएको कुराकानीको इमेल सार्वजनिक गरेको छ । सो इमेलले के प्रष्ट हुन्छ भने मस्कले कम्पनीको नाफामुलक शाखाको समर्थन गरेका छन् ।

कम्पनीले सार्वजनिक गरेको ब्लगमा उसले पछिल्लो स्थितिप्रति दुःख व्यक्त गरेको छ र विगतमा मस्कको प्रेरणालाई स्वीकार पनि गरेको छ । त्यसका साथै मस्कको बहिर्गमन र उनका गतिविधिका विषयका साथै आफ्नो मिसन र चुनौतिहरुका बारेमा पनि उल्लेख गरिएको छ ।

सन् २०१८ मा कम्पनीमाथि आफ्नो नियन्त्रण अस्वीकृत भएसँगै मस्कले कम्पनी छाडेको पनि ओपन एआईले प्रष्ट पारेको छ ।

के थियो मस्कको योजना ?

मस्कले एआईको दौडमा टेस्लालाई गुगलको प्रतिस्पर्धामा खडा गर्ने कुरामा जोड दिएका थिए । उनले एआईको मूल्यवान व्यवहारको अन्वेषण गरे । ओपन एआईमा पैसाको समस्याको संकेत देखिएको थियो र त्यसैले मस्कले ओपन एआईलाई टेस्लासँग जोड्ने प्रस्ताव गरेका थिए । तर अन्य सहसंस्थापकहरुले मस्कको उक्त प्रस्तावको विरोध गरे ।

वास्तवमा मस्कले ओपन एआईमाथि आफ्नो पूर्ण नियन्त्रण चाहन्थे । उनले बहुमत इक्विटी शेयर मागेका थिए र कम्पनीको बोर्डमा सुरुवाती नियन्त्रणका साथै सिइओको पद पनि चाहन्थे । तर यसो गर्नु ओपन एआईको मिसनको विरुद्धमा थियो । किनकि यसबाट कम्पनीको पूर्ण नियन्त्रण एकजना व्यक्तिमा जान्थ्यो ।

एलन मस्क र ट्वीटरको कथा

वास्तवमा मस्क र विवाद बीचको नाता पुरानो हो । यसअघि ट्वीटर खरीद गर्ने बेलामा पनि मस्कले ठूलो तमासा देखाएका थिए । मस्कले ४४ अर्ब डलरमा ट्वीटर कम्पनी खरीद गर्ने सम्झौता गरेका थिए तर अन्त्यमा उनी उक्त सम्झौताबाट पछि हट्ने प्रयास गरे । यो मुद्दा जब अदालतसम्म पुग्यो तबमात्र उनी ट्वीटर खरीद गर्ने पुरानो सम्झौतामा फर्किए ।

ट्वीटरलाई आफ्नो स्वामित्वमा ल्याएसँगै उनले कम्पनीमा विभिन्न परिवर्तन गरे । उनले तत्कालीन सिइओ पराग अग्रवाल समेत विभिन्न वरिष्ठ अधिकारीलाई रातारात बर्खास्त गरे । त्यसपछि उनले ट्वीटरको पहिचान अर्थात् भेरिफिकेसन ब्याजलाई पनि सशुल्क बनाइदिए । त्यतिमात्र होइन एलन मस्कले कम्पनीको नाम समेत बदले । अहिले ट्वीटको नाम एक्स बनिसकेको छ ।

वास्तवमा मस्क एक्स प्लाटफर्मलाई नाफामा लैजान चाहन्छन् । उनले केहीअघि मात्रै आफ्नो एआई च्याटबट ग्रोक पनि लञ्च गरेका छन् जुन केवल सशुल्क प्रयोगकर्ताका लागि मात्र उपलब्ध छ ।

मस्कले लगातार एक्सको आम्दानी बढाउने काम गरिरहेका छन् । सोही कारणले उनले एक्सको सब्सक्रिप्सन मोडेल लञ्च गरे । साथै उनले कन्टेन्ट क्रियटरहरुलाई पनि आम्दानीको केही हिस्सा दिन सुरु गरे । मस्कले सन् २०२८ सम्म एक्सको एआरपियु अर्थात् प्रतिप्रयोगकर्ता औसत आम्दानी ३०.२२ डलर पुर्याउन चाहन्छन् जुन गत वर्ष २४.८३ डलर रहेको थियो ।

–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?