 
																			२७ फागुन, काठमाडौं । राष्ट्रिय सभा नियमावलीमाथिको छलफलमा नेकपा माओवादी केन्दका सांसद भुवनबहादुर सुनारले प्रयोग गरेको शब्द संसदीय अखिलेखबाट हटाइएको छ ।
१८ फागुनको राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय सभा नियमावली २०८० माथिको छलफलमा सांसद सुनारले आफूले दलित सम्बन्धी छुट्टै समिति बनाउने प्रस्ताव गरेको तर, अस्वीकृत भएको भन्दै असन्तुष्टि पोखेका थिए । महिला समन्वय समिति रहँदा दलित सम्बन्धी समिति किन नरहने भन्ने उनको प्रश्न थियो ।
दलितको विषयमा छलफल गर्न संसदीय विषयगत समितिको नाम नियमावलीमै राख्न खोज्दा समेत अस्वीकार भएको भन्दै उनले यस्तो कार्यमा कम्युनिस्ट पार्टीका नेताहरु नै लागेको भनी असन्तुष्टि जनाएका हुन् ।
नियमावलीमाथिको छलफलमा समेत आफूले भाग लिन नपाएको गुनासो गर्दै उनले सभामै नियमावलीमाथि संशोधन प्रस्ताव राखेका थिए ।उक्त प्रस्ताव फिर्ता लिने कि नलिने भन्ने क्रममा उनले प्रयोग गरेको वाक्यांश संसदीय रेकर्डबाट हटाइएको हो ।
‘…यसको विषयमा मैले भनिरहनुपरेन । स्यालको छाला ओढेको ब्वाँसो भन्ने कि के भने जस्तै कम्युनिस्टका नाम बोकेका मान्छेहरुको चरित्र उदांगो भयो’, सांसद सुनारले भनेका थिए ।
त्यतिनै बेला राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले ‘माननीय सदस्य शब्दहरुलाई अलि ख्याल गरिदिनुपर्ला’ भनी सम्झाएका थिए ।
पछि एकीकृत समाजवादीका सांसद उदयबहादुर बोहराले अमर्यादित शब्द प्रयोग भएको भन्दै संसदीय अभिलेखबाट हटाउन माग गरेका थिए । त्यसपछि तिमिल्सनाले अर्को बैठकमा निर्णय सुनाउने बताएका थिए ।
आइतबार बसेको राष्ट्रिय सभाको बैठकको अध्यक्षता उपाध्यक्ष उर्मिला अर्यालले गरेकी थिइन् । उनले १८ फागुनको बैठकमा सुनारले बोलेको शब्दहरुप्रति भएको नियमापत्तिअनुसार संसदीय अभिलेखमा नरहने गरी हटाउन निर्देशन दिएकी छन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4