७ माघ, काठमाडौं । राजनीतिक दलहरू मुलुकको नेतृत्व गर्ने लक्ष्यका साथ चुनावी मैदानमा उत्रिएका छन् । तर उनीहरूले उम्मेदवार चयनमा जनसांख्यिक बनोटलाई उचित ध्यान दिन सकेको भेटिएन ।
२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार चयन गर्दा नयाँदेखि पुराना दलहरूले जनसांख्यिक बनोटलाई ध्यान नदिने पुरानै प्रवृत्ति दोहोर्याएका छन् ।
महिला आकांक्षीप्रति उदार हुन नसकेका दलहरू कूल जनसंख्याको १३ प्रतिशत संख्या ओगटेको दलित समुदायप्रति झनै अनुदार देखिएका छन् ।
परिवर्तनका लागि पटकपटक लडेको पुरानो प्रजातान्त्रिक दल नेपाली कांग्रेसले आसन्न निर्वाचनका लागि १६५ क्षेत्रमा एक जना मात्र दलित उम्मेदवार उठाएको छ ।
कांग्रेसको १४औं महाधिवेशनका क्रियाशील सदस्यहरूको संख्यामध्ये दलित समुदायको प्रतिनिधित्व ५ दशमलव १८ प्रतिशत छ । तर पार्टीले प्रत्यक्षतर्फ दलित समुदायबाट देशभरमै एक जना मात्रै उम्मेदवार बनाएको छ ।
कांग्रेसले बझाङका प्रकाश रसाइली ‘स्नेही’लाई दलित समुदायबाट प्रत्यक्षतर्फको उम्मेदवार बनाएको हो । कांग्रेसका सहमहामन्त्री रसाइलीले मंगलबार मनोनयन दर्ता गरेका छन् ।
उनी विशेष महाधिवेशनबाट सहमहामन्त्रीमा चयन भएका हुन् । १४औं महाधिवेशनमा रसाइली केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।
रसाइली उम्मेदवार रहेको जिल्ला बझाङबाट गत निर्वाचनमा तत्कालीन नेकपा एकीकृत समाजवादीका नेता भानुभक्त जोशी २८ हजार ४१३ मतका साथ निर्वाचित भएका थिए । तत्कालीन निर्वाचनमा कांग्रेस र नेकपा माओवादी केन्द्रले एकीकृत समाजवादीलाई सघाएका थिए ।
उक्त निर्वाचनमा एमाले उम्मेदवार ऐनबहादुर महरले २७ हजार ४१२ मत पाएका थिए । उनलाई एमालेले यसपालि पनि दोहोर्याएर उम्मेदवार बनाएको छ ।
वामपन्थी दलहरू मजदुर, गरिब, किसान, दलित, महिला, जनजाति, मधेशी आदिको अधिकारका लागि संघर्ष गरिरहेको दाबी गर्छन् ।
उनीहरू शोषित वर्ग मानिने वर्ग–समुदायमा राज्यसत्ताबाट पछाडि पारिएकाहरूको हक–अधिकारको कुरा गर्न कुनै धक मान्दैनन् । तर तिनै वामपन्थी दलहरू यसपालि पनि दलित समुदायप्रति उदार देखिन सकेनन् ।
देशको सबैभन्दा ठूलो वामपन्थी विचारधारा बोक्ने दल नेकपा एमालेले आसन्न निर्वाचनका लागि दुई जनालाई मात्रै उम्मेदवार बनाएको छ । एमालेले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा चक्र स्नेहीलाई टिकट दिएको छ ।
यस्तै, एमालेबाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि टिकट पाउने दलित समुदायका नेतामा विमला विक रहेकी छन् । एमालेले विकलाई बर्दिया–२ बाट प्रत्यक्षतर्फको उम्मेदवार बनाएको छ ।
गत निर्वाचनमा स्नेही उम्मेदवार रहेको डडेल्धुरामा कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा २५ हजार ५३४ मतसहित विजयी भएका थिए । दोस्रो भएका स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत ल्याउँदा नेपाली कांग्रेस बीपीका कर्णबहादुर मल्ल ७ हजार ५३५ मतसहित तेस्रो भएका थिए । यहाँ एमालेले उम्मेदवारी दिएको थिएन ।
एमाले नेतृ विक उम्मेदवार रहेको बर्दिया–२ बाट गत निर्वाचनमा स्वतन्त्र उम्मेदवार लालवीर चौधरी २६ हजार ५२० मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
तत्कालीन माओवादीका उम्मेदवार सुरेश पन्थ २६ हजार ३८४ मत ल्याएर दोस्रो हुँदा विकको पार्टी एमालेले अघि सारेका उम्मेदवार पंकजसिंह राठौर १६ हजार ९० मतसहित तेस्रो बनेका थिए ।
१० वर्ष लामो सशस्त्र द्वन्द्वका क्रममा वर्गीय अधिकारका कुरा चर्कै उठाएको माओवादीका तत्कालीन ‘सुप्रिमो’ पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजकत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पनि दलित समुदायबाट दुई जनालाई मात्रै उम्मेदवार बनाएको छ ।
दुई वामपन्थी विचारधारा बोकेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहित दलहरू मिलेर बनेको नेकपाले कञ्चनपुर–३ बाट मानबहादुर सुनार र स्याङ्जा–२ बाट पदम विश्वकर्मालाई उम्मेदवार बनाएको हो ।
पुराना दलहरूले मुलुकमा जनअपेक्षाअनुसार काम गर्न नसकेको भन्दै वैकल्पिक शक्तिका रूपमा उदाएका नयाँ दलहरू पनि उम्मेदवार छनोटमा जनसांख्यिक बनोटलाई ध्यान दिन चुकेका छन् ।
प्रतिनिधिसभा निर्वाचन–२०७९ मा पुराना दलहरूका कमी–कमजोरी औंल्याएर उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १६५ निर्वाचनक्षेत्रमध्ये दलित समुदायबाट एक जनालाई मात्रै उम्मेदवार बनाएको छ ।
रास्वपाले बाँके–३ बाट खगेन्द्र सुनारलाई टिकट दिएको हो । उनी हाम्रो पार्टी नेपाल नामक दल निर्वाचन आयोगमा दर्ता गरेर राजनीतिमा होमिएका थिए । सुनार केही समयअघि मात्रै रास्वपामा प्रवेश गरेका थिए ।
सुनार उम्मेदवार रहेको बाँके–३ मा गत निर्वाचनमा कांग्रेसका किशोरसिंह राठोर २९ हजार ९७ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए ।
उनका निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार किस्मतकुमार कक्षपतीले २४ हजार ३०५ मत पाएका थिए । यो क्षेत्रमा रास्वपा उम्मेदवार देवेन्द्रनाथ शुक्लाले ७ हजार ४६७ मत पाएका थिए ।
प्रतिक्रिया 4