News Summary
Generated by OK AI. Editorially reviewed.- डोल्पामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहोदर दाजुभाइ धनबहादुर बुढा र कर्णबहादुर बुढा प्रतिस्पर्धामा छन्।
- डोल्पामा पाँच राजनीतिक दलले उम्मेदवार टुङ्गो लगाएका छन् र संगठन विस्तार तथा मतदाता भेटघाटमा सक्रिय छन्।
- जिल्ला सुरक्षा समितिले ६८ मतदानस्थललाई संवेदनशीलता अनुसार वर्गीकरण गरेको छ र मतदाता संख्या २४ हजार १ सय १५ रहेको छ।
५ माघ, डोल्पा ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा डोल्पाको चुनावी प्रतिस्पर्धा रोचक हुने देखिएको छ । एउटै परिवारका सहोदर दाजुभाइ धनबहादुर बुढा नेपाली कम्युनिस्ट पार्टी र कर्णबहादुर बुढा नेपाली कांग्रेसबाट भिड्दै छन् ।
प्रतिनिधिसभा एक मात्र क्षेत्र रहेको डोल्पामा नेकपाबाट उम्मेदवार बनेका धनबहादुर बुढा र नेपाली कांग्रेसका उम्मेदवार कर्णबहादुर बुढा दाजुभाइ हुन्। दुवै लामो समयदेखि डोल्पाको राजनीतिक केन्द्रमा रहँदै आएका प्रभावशाली नेता हुन्।
धनबहादुर बुढा २०७० सालको संविधानसभा निर्वाचन तथा २०७४ र २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा विजयी हुँदै आएका अनुभवी नेता हुन्।
उता कर्णबहादुर बुढा नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट हालै सहमहामन्त्री बनेका केन्द्रीय स्तरका नेता हुन् । डोल्पाको राजनीतिमा यो परिवारको बर्चस्व रहँदै आएको छ ।
कांग्रेसका सहमहामन्त्री कर्णबहादुर बूढा राप्रपा हुँदै नेपाली कांग्रेसमा पुगेका हुन् । धनबहादुर बूढा राप्रपा, एमाले, एकिकृत समाजवादी हुँदै अहिले र नेकपा भएका हुन् । राप्रपाका केन्द्रीय सदस्य रहेका कर्णबहादुर बूढा २०७६ मा एमाले प्रवेश गरेका थिए । उनलाई कांग्रेसले सिधै केन्द्रीय सदस्यका रूपमा पार्टीमा भित्र्याएको थियो ।
उम्मेदवार टुङ्गो, तयारी तीव्र
डोल्पामा हालसम्म पाँच राजनीतिक दलले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार टुङ्गो लगाएका छन्। उम्मेदवार टुङ्गो लगाएका दलहरूले संगठन विस्तार, मतदाता भेटघाट र आन्तरिक तयारीलाई तीव्र बनाएका छन्। निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरू आफ्ना एजेन्डा, प्रतिबद्धता र विकास योजनासहित चुनावी मैदानमा उत्रने तयारीमा छन्।
नेकपा एमालेले जिल्ला पार्टी अध्यक्ष लंक बहादुर रोकायालाई उम्मेदवार बनाउने भएको छ । रोकाया २०७४ र २०७९ का स्थानीय तह निर्वाचनमा मुड्केचुला गाउँपालिकाको अध्यक्ष पदमा पराजित भएका थिए । जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टीबाट विकास बुढा उम्मेदवार बन्दैछन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देवसिंह ऐडीलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवारका रूपमा अघि सार्दै छ ।
उज्यालो नेपाल पार्टी (उनेपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि डोल्पाबाट दिलबहादुर विष्टलाई उम्मेदवार बनाएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत केही दलले भने हालसम्म उम्मेदवार टुङ्गो लगाउन सकेका छैनन्। भोलि माघ ६ गते मनोनयन दर्ताको कार्यतालिका रहेकाले ती दलहरू आन्तरिक छलफल र सहमतिमा व्यस्त छन्।
सुरक्षा र मतदाता अवस्था
जिल्ला सुरक्षा समितिले डोल्पाका कुल ६८ मतदानस्थलमध्ये २६ वटालाई अति संवेदनशील, २४ वटालाई संवेदनशील र १८ वटालाई सामान्य वर्गमा राखेको छ। भौगोलिक विकटता र सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर वर्गीकरण गरिएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ। मतदाता नामावली अध्यावधिकपछि जिल्लामा २४ हजार १ सय १५ जना मतदाता कायम भएको जिल्ला निर्वाचन कार्यालय डोल्पाले जानकारी दिएको छ।
प्रतिक्रिया 4