+
+

राजेन्द्र पाण्डेलाई प्रचण्डको जवाफ : ठीक लाग्दैन भने समर्थन नगर्नुस्

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ३० गते १७:५६

३० फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनमा चित्त नबुझ्नेहरु अलग हुन सक्ने बताएका छन् ।

बुधबार प्रतिनिधिसभामा विश्वासको मत माग्ने प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले कसैलाई पनि गठबन्धनमा बाध्य नपारेको बताए ।

प्रधानमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावको समर्थनमा नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले प्रधानमन्त्रीले सत्ता सहयात्री दलहरुसँग छलफल नै गरी अर्को गठबन्धन बनाएको भनी आलोचना गरेका थिए ।

पाण्डेले संविधान रक्षाका लागि आफूले बनाएको पार्टीमा बिद्रोह गरेर प्रचण्डलाई साथ दिएको बताएका थिए । उनको भनाइ थियो, ‘हामीलाई बाटोमा छाडेर हिँड्नुभयो । यो भन्दा अनैतिकता के हुन्छ ?’

उनलाई प्रधानमन्त्रीले गठबन्धनमा बस्न वा नबस्न दलहरु स्वतन्त्र रहेको जवाफ दिँदै कांग्रेससँगको गठबन्धनमा जस्तो यसपटक कचिङ्गल नहुने ठानेको बताए ।

‘आजित भएँ भनेर बिहान एउटा शब्द प्रयोग गरेको छु । त्यहाँ (कांग्रेससहितको गठबन्धन) भित्रका कचिङ्गलहरुको कारणले मलाई हैरान/परेसान पारेको थियो । फेरि त्यस्तै हुने हो भने त्यसले पनि काम गर्न सक्ने वातावरण नबन्ला कि भन्ने चिन्ता पनि मलाई भएको छ’, उनले भने ।

प्रधानमन्त्रीले थपे, ‘हामी आ–आफ्नो राजनीतिक मान्यता अनुसार, राजनीतिक मूल्य अनुसार देशलाई र जनतालाई आफ्नो नीति मार्फत कसरी सेवा गर्न खोजेको हो त्यसमा स्वतन्त्र नै छौं ।’

गठबन्धनमा रहेपछि विरोध गरेजस्तो गरेर समर्थन गर्न नहुने उनको आग्रह छ । ‘समर्थन गरेपछि विरोध गरे जस्तो गरी समर्थन नगरिदिए हुन्थ्यो । समर्थन गरेपछि पूरै समर्थन गरिदिए हुन्थ्यो भन्ने मेरो चाहना छ’, प्रचण्डले भने ।

आफूले नयाँ गठबन्धन बनाउँदा एकीकृत समाजवादीसँगको समन्वयमा कमी भएको र त्यसको कारण समेत नेतृत्वलाई भनेको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले फेरि विरोध गरिरहने विषय उचित नरहेको बताए ।

‘तपाईंको विवेकले, तपाईको राजनीतिक दल, तपाईंको नेतृत्व, तपाईंहरुको नीति र कार्यक्रमले प्रधानमन्त्रलाई एक चोटी मौका दिँदा ठीक लाग्छ दिनुस् लाग्दैन नदिनुस्’, प्रचण्डले भने ।

कतिपय दलहरुले आफूलाई कति पटक गठबन्धन गर्ने भनी प्रश्न सोधेको भन्दै प्रधानमन्त्री प्रचण्डले त्यस्तो सम्भावना जहिले पनि रहने बताए ।

फागुन २४ गतेको बैठकमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले १४ महिनामा प्रधानमन्त्रीले तीन पटक गठबन्धन फेरेको उल्लेख गर्दै यही गतिमा गए प्रतिनिधि सभाको बाँकी अवधिमा बाह्र÷तेह्र पटक गठबन्धन फेरिने बताएका थिए ।

जवाफ दिँदै प्रचण्डले संवैधानिक व्यवस्था, निर्वाचन प्रणाली र प्राप्त जनमतका आधारमा गठबन्धन फेरिरहने सम्भावना रहने बताए ।

‘हो हामीले संविधानमा जे व्यवस्था गरेका छौं, जस्तो निर्वाचन प्रणाली अपनाएका छौं र जनताको परिणाम जस्तो आएको छ । यसले गर्दा गठबन्धन बन्ने भत्किने फेरि नयाँ बन्ने सम्भावना रहिराख्छ, रही नै राख्छ’, प्रधानमन्त्री प्रचण्डको जवाफ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?