+
+

यी हुन् आईपीएल २०२४ का सर्वाधिक १० महँगा खेलाडी

एजेन्सी एजेन्सी
२०८० चैत १ गते १७:१०

१ चैत, काठमाडौं । विश्व क्रिकेटको सर्वाधिक लोकप्रिय फ्रेन्चाइज टी–२० क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) चैत ९ गतेदेखि भारतमा सुरू हुँदैछ । आईपीएल विश्वमा क्रिकेट खेलाडीलाई धेरै पैसा दिने लिगमध्ये पर्दछ ।

चेन्नइ सुपर किंग्स र मुम्बई इन्डियन्सले सर्वाधिक समान पाँच आईपीएल ट्रफी उपाधि जितेका छन् । चेन्नइले महेन्द्रसिंह धोनी र मुम्बईले रोहित शर्माको कप्तानीमा उपाधि जितेका थिए ।

गत डिसेम्बरमा अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कले अक्सनमा झण्डै ४० करोड रुपैयाँ प्राप्त गरे । अक्सनमा खेलाडीले न्यूनतम मूल्य २० लाख भारु र उच्च २ करोड भारु राख्न पाउँछन् । खेलाडी मूल्य अक्सनमा भर पर्छ । कुनै खेलाडी धेरै टोलीलाई आवश्यक परेमा उसको मूल्य उच्च हुने गर्दछ । तीव्र गतिका बलर र अलराउण्डर पहिलो रोजाइमा पर्ने गर्दछन् ।

सन् २०२४ मा विदेशी खेलाडीमा बढी लगानी देख्न सकिन्छ । २०२४ मा सर्वाधिक मूल्य पाउने १० मध्ये ६ विदेशी खेलाडी नै छन् । यी हुन् आईपीएल २०२४ का सर्वाधिक मूल्य पाउने १० खेलाडी ।

१. मिचेल स्टार्क– ३९ करोड ५० लाख रुपैयाँ (कोलकता)

अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्क आईपीएल इतिहासमा सर्वाधिक मूल्य पाउने खेलाडी हुन् । गति र योर्करका लागि माहिर स्टार्क बिग म्याच प्लेयर मानिन्छन् । अस्ट्रेलियालाई दुई एक दिवसीय विश्वकप, एक टी–२० विश्वकप र टेस्ट च्याम्पियनसिपको उपाधि जिताउन उनको योगदान महत्त्वपूर्ण छ ।

स्टार्कले २०१५ पछि परिवार र देशलाई प्राथमिकतामा राख्दा आईपीएल खेलेका छैनन् । अक्सनमा २ करोड न्यूनतम मूल्य राखेका उनलाई किन्न दिल्ली, मुम्बई, कोलकता र गुजरातबीच कडा प्रतिस्पर्धा भएको थियो ।

सुरूवातमा दिल्ली र मुम्बई ९ करोड ६० लाख भारुसम्म भिडेका थिए । कोलकताले ९ करोड ८० लाखबाट अक्सनमा मूल्य लगाउन थालेको थियो । गुजरातले पनि रुची देखाएपछि कोलकाताले २४ करोड ७५ लाख भारु (३९ करोड ५० लाख रुपैयाँ) खर्चेर स्टार्कलाई टोलीमा ल्याउन सफल भएको थियो ।

२. प्याट कमिन्स– ३२ करोड ८० लाख रुपैयाँ (हैदरावाद)

अस्ट्रेलियाका तीव्र गतिका बलर प्याट कमिन्स आईपीएल अक्सनमा २० करोड माथि मूल्य पाउने पहिलो क्रिकेटर हुन् । गत नोभेम्वरमा विश्वकपको फाइनलमा अपराजित भारतलाई उसकै घरेलु मैदानमा हराउन कमिन्सले उत्कृष्ट कप्तानी र प्रदर्शन गरेपछि धनको वर्षा हुन पुगेको थियो ।

कमिन्स तीव्र गतिसँगै तल्लोक्रममा ठूलो सटको क्षमता राख्छन् । न्यूनतम २ करोड भारु मूल्य राखेका उनलाई किन्न चेन्नइ, मुम्बई, बेंग्लोर र हैदराबादबीच अक्सनमा प्रतिस्पर्धा चलेको थियो ।

चेन्नइ ७ करोड ६० लाख भारुबाट पछि हटेको थियो । त्यसपछि अक्सनमा बेंग्लोर र हैदराबादबीच प्रतिस्पर्धा भएको थियो । हैदराबादले २० करोड ५० लाख भारु (३२ करोड ८० लाख रुपैयाँ) मा किनेको थियो । यसअघि कमिन्सले २०२१ र २०२२ को सिजनमा १५ करोड ५० लाख भारुमा कोलकताबाट खेलेका थिए । हैदराबादको कप्तानी कमिन्सले गर्नेछन् ।

३. साम करन– २९ करोड ५३ लाख रुपैयाँ (पञ्जाब)

इंग्ल्यान्डका युवा अलराउन्डर साम करनलाई गत वर्ष पन्जाब किंग्सले १८ करोड ५० लाख भारु (२९ करोड ५३ लाख रुपैयाँ) मा किनेको थियो । इंग्ल्यान्डलाई २०२२ को टी–२० विश्वकप उपाधि जिताउन साम करनले १३ विकेट लिँदै उत्कृष्ट प्रभाव छाडेका थिए । करनले तीव्र गतिसँगै तल्लोक्रममा राम्रो ब्याटिङ गर्दछन् ।

४. क्यामरन ग्रीन – झण्डै २८ करोड रुपैयाँ (बेंगलोर)

अस्ट्रेलियाका तीव्र गतिका बलिङ अलराउन्डर क्यामरन ग्रीन यस पटक बेंगलोर पुगेका छन् । उनलाई गत वर्ष अक्सनमा मुम्बई इन्डियन्सले १७ करोड ५० लाख भारु (झण्डै २८ करोड रुपैयाँ) मा किनेको थियो । त्यही मूल्य उनले बेंगलोरमा पनि पाउनेछन् । उनले ओपनिङदेखि तल्लोक्रमसम्म ब्याटिङ गर्नुको साथै तीव्र गतिमा बलिङ गर्छन् ।

५. लोकेश राहुल– २७ करोड रुपैयाँ (लखनउ)

भारतीय विकेटकिपर लोकेश राहुललाई २०२३ मा लखनउ सुपर जायन्ट्सले १७ करोड भारु (२७ करोड रुपैयाँ) मा अनुबन्ध गरेको थियो । मेगा अक्सनअघि पञ्जाब छाडेर राहुल लखनउ पुगेका थिए । लखनउले ओपनिङ ब्याटिङमा उत्कृष्ट प्रदर्शन र कप्तानको रूपमा महँगो मूल्य खर्चिएको थियो ।

६. आन्द्रे रसेल– २५ करोड ५५ लाख रुपैयाँ (कोलकता)

वेस्टइन्डिजका आक्रामक फिनिसर आन्द्रे रसेललाई कोलकताले १६ करोड भारु (२५ करोड ५५ लाख रुपैयाँ) मा अनुबन्ध गरेको थियो । कोलकाताबाट तल्लोक्रममा लगातार उत्कृष्ट ब्याटिङ गरेपछि मेगा अक्सनअघि नै उनलाई टोलीमा अनुबन्ध गरिएको थियो ।

७. रवीन्द्र जडेजा– २५ करोड ५४ लाख रुपैयाँ (चेन्नइ)

भारतीय अलराउन्डर रवीन्द्र जडेजालाई चेन्नइले २०२२ देखि १६ करोड भारु (२५ करोड ५५ लाख रुपैयाँ ) दिँदै आएको छ । गत वर्ष फाइनलमा जडेजाले अन्तिम दुई बलमा १० रन चाहिँदा गुजरातका मोहित शर्मालाई छक्का र चौका प्रहार गर्दै चेन्नइलाई उपाधि दिलाएका थिए ।

२०२२ मा धोनीले जडेजालाई कप्तानी सुम्पिएका थिए । तर टोली र आफ्नो खराब प्रदर्शन भएपछि जडेजाले धोनीलाई पुनः कप्तानी गर्न आग्रह गरेका थिए । जडेजा चेन्नइका प्रमुख अलराउन्डर हुन् ।

८. ऋषभ पन्त – २५ करोड ५५ लाख रुपैयाँ (दिल्ली)

भारतीय आक्रामक विकेटकिपर ऋषभ पन्तलाई दिल्ली क्यापिटल्सले २०२२ देखि १६ करोड भारु (२५ करोड ५५ लाख रुपैयाँ ) दिँदै आएको छ । दिल्लीको टोलीबाट पन्तले लगातार राम्रो गर्दै आएका छन् । उनले गत वर्ष कार दुर्घटनाको कारण पूरै सिजन गुमाएका थिए । पन्तले यस पटक आईपीएलमार्फत नै क्रिकेटमा पुनरागमन गर्दैछन् ।

९. रोहित शर्मा – २५ करोड ५५ लाख रुपैयाँ (मुम्बई)

मुम्बईलाई पाँच ट्रफी दिलाउने ओपनर रोहित शर्माले १६ करोड (२५ करोड ५५ लाख रुपैयाँ) पारिश्रमिक पाउनेछन् । रोहित २०११ देखि लगातार मुम्बईमा रहँदै आएका छन् ।

उनको कप्तानीमा मुम्बईले २०१३, २०१५, २०१७, २०१९ र २०२० मा उपाधि जितेको थियो । रोहितले २०१३ देखि २०२३ सम्म मुम्बईको कप्तानी गरे । तर यस पटकदेखि मुम्बईको कप्तानी हार्दिक पान्ड्याले गर्नेछन् ।

१०. निकोलस पुरन – २५ करोड ५५ लाख रुपैयाँ (लखनउ)

वेस्टइन्डिजका युवा विकेटकिपर निकोलस पुरनलाई २०२३ को अक्सनमा लखनउले १६ करोड भारु (२५ करोड ५५ लाख रुपैयाँ) खर्चेको थियो । बायाँ हाते ब्याटर पुरन आक्रामक क्रिकेट र ठूला सटका लागि चर्चित छन् ।

स्पिनरविरुद्ध उत्कृष्ट ब्याटिङ गर्ने हुँदा अक्सनमा महँगो मूल्य पाएका थिए । २०२३ को अक्सनमा उनलाई किन्न चेन्नई, राजस्थान, दिल्ली र लखनउ भिडेका थिए ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?