+
+
बाबुरामसँग वार्ता :

‘केही साथीहरूले माओवादीतिर जान्छु भन्नुभयो, मैले जानुस् भनें’

उहाँहरूलाई माओवादीमा एक्लै जान लाज भयो । केही साथी लैजान खोज्नुभयो । बैठकको अघिल्लो दिन अर्को पार्टीमा गएर पार्टी नै बुझायौं भन्ने ?

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ४ गते २१:१९

४ चैत, काठमाडौं । नयाँ संविधान बनेसँगै नयाँ ढंगको राजनीति गर्ने भन्दै ४ दशक भन्दा बढी ऊर्जा खर्च गरेर बनाएको पार्टी परित्याग गरेका डा. बाबुराम भट्टराई एकपछि अर्को विभाजनको शिकार बनिरहेका छन् ।

नयाँ राजनीतिक कोर्समा अचाक्ली उतारचढाव व्यहोरेका भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीकै अर्का अध्यक्ष महिन्द्र राय यादव समूहले शनिबार नेकपा माओवादी केन्द्रसँग एकता गर्ने सहमति गरेको छ ।

यो विभाजनलाई उनी केही मान्छेको बहिर्गमन भएको दाबी गर्दै उनी भन्छन्, ‘झारपात उम्रे तर गोडमेल गर्दै अघि बढ्ने हो ।’

राजनीतिक सफलता-असफलताको मापन कति सत्तामा बस्यो भन्दा पनि कति सामाजिक रुपान्तरण र परिवर्तनमा योगदान दियो भनेर हिसाब गर्नुपर्ने बताउने भट्टराईसँग अनलाइनखबरका लागि बसन्त बस्नेतसुदर्शन खतिवडाले गरेको कुराकानीको सम्पादित अंश-

८ वर्षअघि तपाईंले माओवादी रातस्टिकर टाँसेको घरजस्तो भनेर नयाँ शक्ति बनाउन लाग्नुभयो । तर तपाईंकै शक्ति पटक पटक फुट्दै आयो । पछिल्लो विभाजनको कारक के होको हो ?

पहिलो कुरा त यो रेड स्टिकर टाँसेको विम्बलाई अतिरञ्जित ढंगले प्रयोग गरियो । मैले माओवादीलाई पार्टी नभई आन्दोलनको अर्थमा बुझेको हुँ । यसले नेपालको इतिहासमा गराएका अविस्मरणीय घटनाप्रति मलाई गर्व छ ।

अलिकति झारपात उम्रे तर गोडमेल गर्दै अघि बढ्ने हो । स्वतन्त्र नाम गरेर वा अरु केही नाम गरेर ती उम्रिरहेका छन् । यसरी आउनेमध्ये कतिपय पुराना र पश्चगामी पनि छन् । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षताविरोधी पनि छन् कतिपय । अग्रगामी हुनुपर्‍यो ।

त्यसले आफ्नो युगको कार्यभार पूरा गरेकाले हामी अब नयाँ युगमा नयाँ ढंगले जानुपर्छ भन्नेमात्रै मेरो भाष्य हो । माओवादीप्रति दूराग्रह छैन ।

दोस्रो, नयाँ शक्ति हुँदै नेपाल समाजवादी पार्टीसम्म आइपुग्दा देशले नयाँ युगको वैकल्पिक शक्ति माग गरेको छ भन्ने मेरो कुरा हो । हाम्रो त्यो विचारमा आजसम्म कुनै विचलन छैन । प्रचण्डजीहरू एमालेबाट पोहोर साल अलग भइसकेपछि उहाँहरू विग्रहको अवस्थामा हुनुहुन्थ्यो ।

त्यस्तो अवस्थामा माओवादीकै दोस्रो, तेस्रो तप्काका साथीहरूले ‘नयाँ ढंगले जाउँ न त’ भनेपछि मैले नयाँ खालको समाजवादी ध्रुवीकरण गरौं भनेको हुँ । कम्युनिस्ट पार्टीमा फर्कने त मैले सपनामा पनि भनेको छैन । चुनावी तालमेल भएकै हो । केही साथीहरूले माओवादीतिर जान्छु भन्नुभयो । मैले भनेँ, ‘जानुस् ।’

तपाईंले हामी वैकल्पिक समाजवादी हौं, कम्युनिस्ट हौइनौं भन्ने विचार चाहिं आफ्नै सहकर्मीहरूलाई पनि बुझाउन सक्नुभएनछ, होइन ?

अधिकांश साथीहरू चैत ४–५ गतेको कार्यकारिणी बैठकमध्ये आज दुई तिहाई सहभागी हुनुभयो । केन्द्रीय समितिमा पनि आउनु नै हुन्छ ।

केही आउने जाने भइरहन्छ । ती साथीहरूले चलाखी के गर्नुभयो भने, उहाँहरूकै सल्लाहमा यो बैठक राखेको हो । उहाँहरूलाई माओवादीमा एक्लै जान लाज भयो । केही साथी लैजान खोज्नुभयो । बैठककको अघिल्लो दिन अर्को पार्टीमा गएर पार्टी नै बुझायौं भन्ने ?

जे होस्, तपाईंले आफ्नै साथीहरूबाट धोका खानुभयो, झन् बढी एक्लिनुभयो होइन ?

हाम्रो समाजको विमर्शको धरातल देखेर चिन्ता लाग्छ । समग्रतामा जानेभन्दा रूप पक्षलाई लिएर खुच्चिङ गर्ने चलन छ । त्यसमा टिप्पणी गर्न चाहन्नँ । कुनै पनि अग्रगामी नयाँ युगान्तकारी काम गर्दा सुरुमा मान्छे थोरै हुन्छन् ।

तपाईंले न त वैकल्पिक शक्ति नै बनाउन सक्नुभयो, न त माओवादीमा फर्कनुभयो । यो अप्ठेरो अवस्था कसरी आइलाग्यो ?

मैले नेपाल म्यागजिनमा ‘खाँचो नयाँ शक्तिको’ लेख लेख्दै जुन भू-राजनीतिक जटिलताका समस्या औंल्याएको थिएँ, त्यसमा देशभित्रको आन्तरिक जातीय क्षेत्रीय र राष्ट्रिय सन्तुलन निर्माणमा रहेका समस्या औंल्याएँ । ती मैल उठाएका समस्या ज्युँका त्युँ नै छन् । म कसरी असफल भएँ ?

तर तपाईंले रोपेको नयाँ शक्ति र फलेको नयाँ शक्ति अर्कै पर्‍यो होइन ?

हो, अलिकति झारपात उम्रे तर गोडमेल गर्दै अघि बढ्ने हो । स्वतन्त्र नाम गरेर वा अरु केही नाम गरेर ती उम्रिरहेका छन् । यसरी आउनेमध्ये कतिपय पुराना र पश्चगामी पनि छन् । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षताविरोधी पनि छन् कतिपय । अग्रगामी हुनुपर्‍यो ।

तपाईं यति धेरै अग्रगामी भएर पनि किन एक्लो ?

म कसरी एक्लो ? मेरो विचार त झन् झाँगिएको छ । केही समय धैर्य गर्नुस् न । मान्छेको चेतना यस्तै हो । पहिले प्रकाश सिधा रेखामा जान्छ भन्ने थियो । तर पछि थाहा भयो, त्यसमा तलमाथि हुँदै जाने तरङ्ग पनि हुँदोरहेछ । विचार पनि कहिले सिधा, कहिले छालका रूपमा विचार अघि बढ्दो रहेछ ।

तपाईंले छाडिसकेपछि प्रचण्ड झनै कमजोर तर सत्ताको नजिक हुनभयो ?

मानिसहरू कति सत्तामा बस्यो भनेर उसको सफलता असफलता मापन गर्ने होइन । समाज निर्माण गर्ने मानिसहरूले रूपान्तरण र परिवर्तनमा कति योगदान गर्‍यो भनेर हेर्ने हो ।

कतिसम्म सत्तामा बस्यो, कति धन आर्जन गर्‍यो, कति सुन जम्मा गर्‍यो भनेर सफलता नाप्न थाल्नुभयो भने त्यसले समाधान दिंदैन र मुलुकलाई अग्रगमनमा पनि लैजादैंन । हाम्रो अभियान भनेको समाजको रुपान्तरण गर्नु हो । बहुसंख्यक जनताको सुख, समृद्धि अनि सत्य र न्याय हो ।

त्यस्तै मान्छेका लागि पोहोरको चुनावमा गोरखाको निर्वाचन क्षेत्र छाड्नुभएको ?

प्रकृतिले, रुखले छहारी त सबैलाई दिन्छ नि ! त्यहाँ डाँका, फटाहा, साधु सन्त सबै बसेका हुन्छन् । म ऋषिमन भएको मान्छे हुँ । मैले अहिले पनि प्रचण्डजीप्रति सदासयता राख्छु । उहाँ मेरो असल मित्र नै हो । तर उहाँका स्वभाव बडा गम्भीर ढंगका र त्रुटिपूर्ण छन् । यो कुरा मैले विगतदेखि भन्दै आएको छु ।

हाम्रो निर्वाचन प्रणाली अनुसार कसैको पनि बहुमत आउँदैन । अस्थिर सरकार हुँदा यही संघीय लोकतान्त्रिक संघीय गणतन्त्र पनि धरापमा पर्छ । मुख्य रूपमा शान्ति प्रक्रियाका कामहरू बाँकी छन् । त्यो पूरा गर्नका निम्ति स्थिरता त चाहिन्छ नै । त्यही भएर मैले प्रचण्डलाई सघाएको हुँ ।

तपाईले प्रचण्डलाई सघाउन हुने, तपाईका साथीहरूले प्रचण्डलाई सघाउन किन नहुने ?

हुन्छ, त्यसमा मैले आपत्ति मानेकै छैन । खाली उहाँले तीन जना गएर पूरै पार्टी नै गयो भनेर भन्नुभयो । ३ जना साथीहरू प्रवेश गर्नुभयो भनेको भए इमान्दारितापूर्ण कुरा हुन्थ्यो । पार्टी नै आयो भनेर गलत कुरा भनिदिनुभयो । यो कुरा मैले मिडियाहरूबाट थाहा पाएँ, अनि हासेँ । उहाँले गुन लगाउनुभएछ, धन्यवाद भनेर हिंडें ।

हाँसे पनि खासमा तपाईं रिसाइरहनुभएको छ होइन ?

किन रिसाउनु र ? मेरो आक्रोश त उहाँको स्खलनप्रति हो । त्यत्रो क्रान्तिकारी आन्दोलनको नेतृत्व गरेको मानिसको क्षणीकरण हुँदै गएको छ । उहाँको वरीपरी भ्रष्टाचार र अनेक खालका मानिसहरूले घेरिंदै गएका छन् । उहाँ त्यसमा नपर्नुभए हुन्थ्यो भन्ने मेरो सदिक्षा छ ।

उहाँले देश र जनताको लागि शासन चलाएको भनिरहनुभएको छ । त्यसैका लागि भनेर नयाँ गठबन्धन बनाउनुभएको छ । तपाईं भने उल्टै सुशासन विरोधी भन्दै हुनुहुन्छ ?

उहाँले जे भन्नुभएको छ, त्यो गरिदिए हुने थियो । कतै आफैं फोहोरको थुप्रोमाथि बसेर अरुलाई फोहोरी भन्ने काम त भइरहेको छैन भन्ने जनतामा आशंका छ । त्यस्तो नहोस् भनेको हुँ ।

अहिले हेर्दा उहाँलाई कस्तो मान्छेको रूपमा देख्दै हुनुहुन्छ ?

उहाँ सामान्य पृष्ठभूमिबाट आएको ऊर्जाशील र गतिशील मानिस नै हो । उहाँ र मेरो सहकार्यमा नै नेपालको त्यत्रो युगान्तकारी परिवर्तन भयो । त्यसमा त म सम्मान नै गर्छु । तर पछिल्लो चरणमा उहाँ सत्तादेखि सत्तामा जसरी रमाउँदै जानुभयो, त्यसले उहाँको व्यक्तिको क्षयीकरण भयो । र त्यसको घाटा समग्र क्रान्तिकारी आन्दोलनलाई पर्छ कि भन्ने मलाई लागेको छ ।

तपाईंले नै बरु क्रान्ति छाड्नुभयो, कम्युनिस्ट पार्टी छाड्नुभयो भन्ने आरोप छ नि ?

क्रान्ति भनेको समाज रुपान्तरण र परिवर्तन हो । पछिल्लो समयसम्म जुन विषय उठाएको छु, ती त परिवर्तनकै एजेण्डा हुन् ।

२०८४ मा तपाईंहरू एकै ठाँउमा मिल्ने स्थिति छैन अब ?

चुनावको मात्रै कुरा नगरौं न । यो देश अहिले पनि संसारमा गरिब किन छ ? नेपालीहरूको राष्ट्रियता किन बलियो हुन सकेन ? जटिल भू-राजनीतिमा आफ्नो स्वाधीनता, सार्वभौमसत्ताको अभ्यास किन हुन सकेन ? मेरो चिन्ता यतातिर हो ।

हिजो युद्धप्रति तपाईंको जुन प्रतिवद्धता थियो, वैकल्पिक शक्तिमा तपाईंको त्यो प्रतिवद्धता कायम रहेको देखिएन र असाध्यै अस्थिर देखिनुभयो भन्ने आरोप छ तपाईंमाथि ?

त्यो सत्य होइन । युद्ध भनेको राजनीतिक फौजी प्रक्रिया हो । राजनीति चातुर्यपूर्ण हुनुपर्छ र फौजी ढंगले निर्मम पनि हुनुपर्छ । युद्ध त्यस्तो हुन्छ ।

यो फरक ठाउँको युद्ध हो । अहिलेको एजेण्डा सुशासन र समृद्धि केन्द्रित हुनुपर्ने हो । त्यसका लागि कामको शैली फरक हुनुपर्छ । तसर्थ युद्धको बेलामा जति निर्मम भएर विरोधीहरूलाई निषेध गरियो, अहिले दुश्मन कम र मित्र धेरैभन्दा धेरै बनाउनुपर्छ । मार्क्स र गान्धीको फ्युजन बनाउन खोज्दा मानिसहरूलाई के हो के हो भन्ने भयो ।

अहिले सत्यको पक्षमा दृढतापूर्वक उभिने, आम जनताको चेतनास्तरलाई ध्यान दिएर अलि लचिलो पनि हुनुपर्ने अवस्था छ । दृढता र लचिलोपनको सन्तुलन नमिल्दा त्यस्तो देखिएको हो ।

 यो अवधिका सिकाइ र शिक्षा केही छन् ?

गत निर्वाचनमा गोरखामा प्रचण्डजी र म सँगै हिड्यौं । ४५ वटा सभा सँगसँगै गरियो । माओवादी र नयाँ शक्ति अभियानमा लागेका साथीहरूको प्रस्तुती हेर्दा केही फरक देखेँ । माओवादी साथीहरू उही पुरानै शब्दावली प्रयोग गरेर कुरा गर्दा रहेछन् ।

नयाँ शक्ति अभियानमा लागेका साथीहरू मार्क्सवादभन्दा बाहिरका ज्ञानविज्ञानका हाँगाहरूमा अलि अभ्यस्त भएको हुनाले उनीहरूको सोच्ने शैली अलि फरक भएको पाएँ ।

यसबीचमा विभिन्न पक्षसँग सहकार्य र चुनावी तालमेल गर्नु, कतिपयसँग त एकता नै गर्दा हुने पुरानो र नयाँको सम्मीश्रणबाटै प्रदूषित भइयो ।

जस्तो कि एक गाग्री सफा पानीमा एक लोटा फोहोर पानी मिसाइदिनु भयो भने पूरै गाग्री धमिलिन्छ । हाम्रो अभियान त्यसरी धमिलिन पुग्यो ।

यसबाट सिकेर फेरि आफ्नै हाम्रो सुरुको यात्रामै अगाडि बढ्नुपर्छ भन्ने छ ।

आगामी केही वर्षमा मैले रोपेको विचारको बीउको फल लाग्छ भन्नेमा म विश्वस्त छु ।

सहकार्यकै जमाना छ, अब कोसँग सहकार्य वा गठबन्धन गर्नुहुन्छ ? 

होइन । त्यही नै गल्ती हो । पहिले त आफ्नो शक्ति बनाउनुपर्छ । जनतालाई बुझाएर संगठित गर्ने, अभियानहरू सञ्चालन गर्ने ढंगले जानुपर्छ ।

जनता अहिले तपाईंहरूको कुरा सुन्ने मुडमा छन् त ? नयाँ पुस्तामा जानपर्छ भन्ने भाष्य बलियो बनिरहेको छ । तपाईंहरूलाई त नो नट अगेन भनिरहेका छन् नि ? 

त्यस्तो हुँदैन । विज्ञापनमा मानिसलाई आकर्षण गर्न हात्ती र हात्ती छाप चप्पल उस्तै उस्तै हो भन्ने गरिन्छ । वास्तवमा सबै उस्तै हुँदैनन् । समाजमा राम्रा-नराम्रा, ठीक-बेठीक निरन्तर चलिराख्छ । त्यसैले पुरानै सबै बेठीक, नयाँ सबै ठिक पनि होइन । पुराना सबै ठीक, नयाँ सबै बेठीक पनि होइन । ठीक र बेठीक छुट्याउनुपर्छ ।

अहिले म विभिन्न विश्वविद्यालय र कलेजमा गएर विद्यार्थीसँग निरन्तर अन्तर्क्रिया गर्छु । त्यसैले नयाँ अनुभव पनि छन् । मप्रति केही आशंका छ । तर एकाथरिले मिडियामा प्रचारबाजी गरिएजस्तै वा क्रान्तिको भाष्य नबुझेका आम जनता र विरोधीहरूले गरेका दुष्प्रचारबाट अलिअलि भ्रमित भएका छन् । तर मप्रति त्यस्तो नकरात्मक भएको म पाउँदिनँ ।

भनेपछि तपाईं अझै लामै समयसम्म सक्रिय राजनीतिमा रहनुहुन्छ ? 

रूपान्तरणकारी राजनीतिमा त आजीवन लाग्नुपर्छ । म त नोम चोम्स्कीहरू जस्ता मान्छेहरूलाई बढी आदर्श मान्छु । उनीहरू कहिल्यै सत्तामा नभए पनि निरन्तर लागिरहेका छन् । मार्क्स, हाम्रै पुष्पलालहरू कुनै सत्तामा पुगेर होइन, समाजका लागि योगदान गरेर नै महान भएका हुन् ।

मेरा आदर्श तिनीहरू हुन् । गान्धी कहिल्यै मन्त्री, प्रधानमन्त्री भएनन् । परिस्थितिले मलाई प्रधानमन्त्री लगायतका जिम्मेवारीमा पुर्‍यायो । मैले त्यसलाई वहन गरें । आवश्यक पर्दा गरें । तर मेरो निम्ति त्यो प्रधान होइन ।

माओवादी केन्द्रसँग एकता गर्न तपाईंकै नेतृत्वमा समिति पनि बनेको थियो । बीचमा केही काम पनि गर्नुभएको थियो ? 

हाम्रो आधिकारिक दस्तावेजमा माओवादी केन्द्रसँग मात्रै एकता गर्ने भनेर कहीं भनिएको छैन । हामीले त समाजवादी ध्रुवीकरण भनेका हौं ।

हामीले भनेको समुन्नत समाजवाद जुन पुँजीवाद पनि होइन, साम्यवाद पनि होइन, त्यो भन्दा अगाडि बढेको व्यक्तिको निजत्व र सामूहिकताको संयोजन भएको प्रणाली वा विचार जुन भनेका छौं, त्यसमा रुपान्तरित हुन चाहने शक्तिसँग एकता गर्ने भनेको हो ।

किनकि पुराना कम्युनिष्ट पार्टीहरूमा सोलोडोलो रुपान्तरण भएको कहीं देखिएन । यो कुरा मैले गत वर्ष दस्तावेजमै लेखेको छु ।

यसबारे प्रचण्डसँग यसबीचमा केही कुरा भएन ? 

सामान्य कुराकानी भए तर गम्भीर छलफल भएन । गत वर्षदेखि उहाँ त सत्तामा चुर्लुम्मै डुब्नुभयो । चुनावलगत्तै एउटा गठबन्धनबाट अर्को गठबन्धनमा सरकार, फेरि अर्को गठबन्धन र अहिले पुनः अर्को गठबन्धन गर्नुभयो ।

हामी अब केही समय क्वान्टिटीभन्दा क्वालिटीमा लाग्छौं । संगठन र बाह्य अभियानको कार्यक्रम पनि बनाउँदैछौं । विस्तारै तपाईंले परिणाम देख्नुहुन्छ । दश वर्षदेखिको मेरो प्रयत्नले राम्रो आकार लिन्छ र फल दिन थाल्छ ।

उहाँलाई गम्भीर रूपमा छलफल गर्ने मुडमा कहिले पनि देखिनँ । मलाई चिन्ता लागेको कुरा, प्रचण्डको जुन क्षमता र दक्षता डरलाग्दोसँग स्खलित हुँदै गएको छ । त्यसले न उहाँलाई फाइदा गर्छ, न देशलाई फाइदा गर्छ ।

त्यसो भए, ०८४ को चुनावी मोर्चामा अब तपाईं फेरि प्रचण्ड-ओलीहरूको मोर्चामा देखिने सम्भावना छैन ? 

पुराना शक्तिहरूसँगको सहकार्यले देशलाई नै नोक्सान भइसक्यो । न उहाँहरू सच्चिनुभयो, उल्टै हामी जस्तो वैकल्पिक, नयाँ गर्छु भन्नेहरूलाई पनि प्रदूषित गरिदिनुभयो । अब हामी त्यसबाट मुक्त हुनुपर्छ ।

उहाँहरूको संसर्ग गर्न हुँदोरहेनछ भनेर मैले नयाँ उदाइरहेका वैकल्पिक नयाँ शक्तिहरूलाई पनि संकेत गरिरहेको छु कि पुराना शक्तिहरूसँग केही निश्चित दूरी कायम राख्नुस् भनिरहेको छु । बढी नजिकिनुभयो भने तपाईंहरू पनि प्रदूषित हुने खतरा हुन्छ भनेर मैले उहाँहरूलाई खुल्लै भनिरहेको छु ।

अब पार्टीका बाँकी साथीहरूलाई एकजुट बनाएर लैजानुहुन्छ ? 

नेपाल समाजवादी पार्टी एकजुट नै छ । केही मानिस जानुभएको हो । यस्तो क्रम चलिरहन्छ । कोही जान्छ, कोही आउँछन् । यो त नदीको प्रवाह हो ।

आउनेहरूको त खबर सुन्न पाइएको छैन नि हिजोआज ? 

पाउनुहुन्छ । छिट्टै यस्तो खबर सुन्न पाउनुहुन्छ । तर हामी अब केही समय क्वान्टिटीभन्दा क्वालिटीमा लाग्छौं । संगठन र बाह्य अभियानको कार्यक्रम पनि बनाउँदैछौं । विस्तारै तपाईंले परिणाम देख्नुहुन्छ । दश वर्षदेखिको मेरो प्रयत्नले राम्रो आकार लिन्छ र फल दिन थाल्छ ।

बितेको १० वर्षको अनुभव र शिक्षाको आधारमा तपाईंले आम मानिसका लागि श्वेतपत्र जस्तो केही भन्दै हुनुहुन्छ ?

पहिले हामी पार्टीलाई अलि लयमा ल्याउँछौं । त्यसपछि आवश्यक परे श्वेतपत्र पनि ल्याउँछौं ।

थकाइ मार्नेतिर लाग्नुहुन्न ? 

मदन भण्डारीले भन्नुहुन्थ्यो राजनीतिमा थकाइ हुन्न भनेर । साँच्चै भन्दा, ७० वर्षको भएँ मलाई अहिलेजस्तो मिठो निद्रा र स्वस्थ अनुभूति कहिले पनि भएको थिएन ।

संसदीय मोर्चाबाट अवकाश लिन्छु भन्ने आशयको अभिव्यक्ति तपाईंले दिनुभएको थियो नि ? 

अवकाश त होइन, मैले भनेको समाज रुपान्तरण र समुन्नत समाजवादको यात्रामा सडक, सदन र सरकार तीनवटै क्षेत्रबाट आलोपालो काम गरिराख्नुपर्छ भन्ने मेरो मान्यता हो ।

माओवादी आन्दोलनमा छँदा पनि २१औं शताब्दीको जनवाद मैले गरेको बहसको क्रममा जन्मिएको थियो । मैले त्यही अभ्यासमा ल्याउन खोजेको हो तर समय अझै आएको रहेनछ भन्ने लागेको छ ।

वैचारिक रूपमा स्पष्ट हुँदाहुँदै सबैभन्दा नजिकका साथीहरूलाई पनि किन साथमा राख्न सक्नुहुन्न, तासका पत्ता थुतेजस्तो थुतिंदै गएका छन् ?

तपाईंहरू चर्चामा आएका, सांसद र मन्त्री भएका मानिसहरूलाई मान्छे भन्नुहुन्छ । भुइँतहका नेता कार्यकर्ता गुमनाम भएर काम गरिरहेका छन् । यो हाम्रो पनि दृष्टिदोष भइदियो ।

मिडियाले पनि वर्षौंदेखि खटिरहेका हजारौंको संख्यामा रहेका तिनीहरू केही पनि होइनन्, तर जता काफल पाक्यो उतै चरी नाँच्यो जस्तो गर्ने प्रवृत्ति भएका सांसद र मन्त्री हुने एकाधलाई हेरेर सबैले छोडे भन्नुहुन्छ, त्यस्तो होइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?