+
+

१६ वर्षअघिको हत्या : भाइ जेल बसेर छुट्दा दिदी बल्ल पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ६ गते १५:१३

६ चैत, काठमाडौं । १६ वर्षअघि मीनभवनस्थित नेपाल कमर्स क्याम्पसका प्राध्यापक धर्मराज विष्टको हत्यामा संलग्नको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।

पक्राउ परेकी धादिङ गंगाजमुना गाउँपालिका–७ घर भई ललितपुर ढोलाहिटी बस्ने ४१ वर्षकी सबिता थापा अधिकारी भनिने सोभिता थापालाई प्रहरीले उक्त घटनाको मुख्य योजनाकार भनेको छ ।

थापालाई ढोलाहिटीस्थित उनकै घरबाटट पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरले बताए । पक्राउ परेकी थापालाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।

१६ वर्षसम्म सोभिता ललितपुरस्थित आफ्नै घरमा बस्दै आएकी थिइन् । उनका श्रीमान भने भारतीय सेनामा कार्यरत छन् ।

के थियो घटना ?

२०६४ असार २६ गते ललितपुर महानगरपालिका–२२ शंखमुलमा एक पुरुष बेहोस अवस्थामा भेटिएका थिए ।

शरीरका विभिन्न भागमा चोट लागेको अवस्थामा भेटिएका उनको उपचारका क्रममा मृत्यु भएको थियो । मृतक ललितपुर इमाडोल घर भएका र नेपाल कमर्स क्याम्पसमा पढाउने ३३ वर्षीय धर्मराज विष्ट भएको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरुका अनुसार पक्राउ परेकी सोभिता थापा नेपाल कमर्स क्याम्पसमा स्नातक तहको विद्यार्थी थिइन् । त्यसै क्रममा उनको अध्यापक विष्टसँग चिनजान भएको थियो ।

क्याम्पसमा थापालाई विष्टले जिस्क्याएपछि विवाद सिर्जना भएको थियो । थापाले यो कुरा आफ्ना भाइ विनोदलाई भनेको र विनोदले मिल्ने साथीहरु रञ्जन खड्का र राजीव पाण्डेलाई उक्त कुरा बताएर विष्टको हत्या योजना बनाएको पाइएको अपराध अनुसन्धान कार्यालयका डीएसपी सुरक्षा केसी बताउँछिन् ।

हत्या योजना अनुसार प्राध्यापक विष्टलाई शंखमुलमा बोलाएर रडले हानेर गम्भीर घाइते बनाएको खुलेको थियो ।

सोभिताका भाइ विनोद थापा २०७१ पुस ३ गते लागु औषध मुद्दामा पक्राउ परेका थिए । उनी पक्राउ परेपछि अध्यापक विष्ट हत्यामा समेत संलग्न रहेको खुलेपछि कर्तव्य ज्यानको कसुरमा जेल सजाय काटेर २०७९ असोज ३ गते रिहा भएको पाइएको छ ।

त्यस्तै अर्का प्रतिवादी भक्तपुर लोकन्थलीका राजीव पाण्डे २०६९ वैशाख २१ गते पक्राउ परेर २०७६ जेठ १५ गते डिल्लीबजार कारागारबाट रिहा भएको पाइएको छ ।

प्राध्यापक विष्ट हत्या प्रकरणमा १६ वर्षपछि योजनाकार सोभिता पक्राउ परे पनि अझै दुई जना फरार रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?