+
+

कांग्रेस–रास्वपाबीच बढ्दैछ टकराव

प्रधानमन्त्रीको बोलीबाट असन्तुष्ट कांग्रेसले रवि लामिछानेमाथि अनुसन्धान गर्न संसदीय छानबिन समिति माग गरेको छ । प्रधानमन्त्रीले जवाफ दिंदा असन्तुष्टि व्यक्त गर्ने तर आफूलाई बोल्न स्पष्टीकरण दिन नदिने भन्दै कांग्रेसविरुद्ध लामिछाने खनिएका छन् ।

लिलु डुम्रे लिलु डुम्रे
२०८० चैत ११ गते १९:५९

११ चैत, काठमाडौं । नेपाली कांग्रेससहितको गठबन्धन भंग गराउने प्रमुख पात्रका रुपमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई चित्रित गरिंदै आएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूको पछिल्लो अभिव्यक्ति अनुसार कांग्रेसलाई सरकारबाट बाहिर पुर्‍याउन प्रचण्ड र ओली सरहकै भूमिका रास्वपाले गरेको छ । सत्ता समीकरणको खेलमा सहभागी रास्वपाले प्रधानमन्त्री प्रचण्डलाई सरकारमा आउन इच्छा देखाएपछि नयाँ गठबन्धन बनाउने बाटो सहज भएको हो ।

प्रधानमन्त्री प्रचण्ड र एमालेका शीर्ष नेताहरूले बताए अनुसार गठबन्धनको तयारी ५ महिना अघिदेखि नै भएको हो । त्यसका लागि पृष्ठभूमि बनाउन रास्वपाले साथ दिएको थियो ।

सत्ता समीकरण परिवर्तनको भित्री खेलमा प्रचण्ड र ओली देखिए पनि त्यसका लागि थप वातावरण बनाउने कार्य रास्वपाबाट भएको थियो । यसलाई पुष्टि गर्दै रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेले शनिबार भने, ‘रणनीतिक ढंगले नै संवादलाई अघि बढाएकै हो । २/३ महिनादेखि संवादहरू अघि बढेकै हुन् ।’ गोपनीयता कायम राख्नलाई सत्ता समीकरण परिवर्तनका कार्यबारे पार्टीभित्र सीमित शीर्ष नेतालाई मात्रै जानकारी गराएर संवाद गरिएको वाग्लेले बताए ।

प्रधानमन्त्री प्रचण्डले खासमा पुसअघि नै रास्वपालाई सरकारमा ल्याउन चाहेका थिए । त्यही विषयमा कुरा गर्ने गरी मंसिरको तेस्रो साता रास्वपा सभापति रवि लामिछाने र उपसभापति वाग्लेलाई प्रचण्डले बालुवाटार बोलाए । रास्वपा नेताहरूका अनुसार तत्कालीन समयसम्म प्रधानमन्त्री प्रचण्ड गठबन्धन भत्काउने पक्षमा थिएनन् ।

मन्त्रीहरु हेरफेर गर्ने र रास्वपालाई सरकारमा भित्र्याउने प्रचण्डको चाहना थियो । त्यसका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तयार भएनन् ।

‘मन्त्रीहरू हेरफेर गर्दा कांग्रेसका राम्रो छवि भएका र ऊर्जाशीललाई ल्याउने प्रधानमन्त्रीको मनशाय थियो,’ रास्वपाका शीर्ष तहका एक नेता भन्छन्,‘हाम्रो पार्टीलाई पनि सरकारमा लाने उहाँको चाहना थियो ।’

रास्वपाका नेताहरूलाई प्रधानमन्त्री प्रचण्डले आफ्नो कार्यकाल एक वर्ष पुगेसँगै केही ‘बोल्ड’ निर्णय लिने जानकारी समेत गराएका थिए । कांग्रेस सभापति देउवा तयार नभएपछि मन्त्री हेरफेर र सरकारमा रास्वपाको प्रवेश सम्भव तत्काललाई टर्‍यो । भित्री तयारी भने कायमै थियो । पार्टीका लागि ऐतिहासिक अवसर आउने देखिएपछि सभापति लामिछानेले नयाँ समीकरणका लागि ‘विशेष पहल’ लिएर संवाद प्रक्रिया थालेको स्वर्णिमले जानकारी गराए ।

सत्तामा जान इच्छुक रास्वपालाई प्रवेश गराउन कांग्रेसको सरकारबाट बहिर्गमन उपयुक्त विधि हुनेमा प्रचण्ड, ओली र रविलाई लाग्यो । कांग्रेसलाई हटाएर नयाँ गठबन्धन बनाउन आफूले खेलेको भूमिका बारे रविले शनिबार भने ‘आँट गर्न सक्नुहुन्छ त ? मैले उहाँ (प्रधानमन्त्री)लाई भनेको थिएँ । आँट गर्छु भन्नुभयो ।’

सरकारमा जानुको अन्तर्य पनि रास्वपाले खुलाएको छ । बोल्ने मात्रै तर गर्ने के हो ? भनि जनताबाट प्रश्न उठेपछि सरकारमा गएको वाग्लेको तर्क छ । युवाहरूमा बढ्दो निराशा र अर्थतन्त्रको शिथिलता देखाएर शुभेच्छुकहरूले छिटो सरकारमा जान सद्भाव व्यक्त गरेको उनी बताउँछन् ।

शुभेच्छुकको चाहना, खिसिटिउरी गर्नेलाई जवाफ, प्रधानमन्त्रीको इच्छाले सरकारमा पुग्ने बाटो खुलेको रास्वपाका नेता बताउँछन् । ‘मलाई राष्ट्रिय स्वतन्त्र पार्टीको जस्तो उर्जा, विवेक, जोश मलाई चाहियो प्रधानमन्त्रीले भनेपछि तपाई जोखिम मोल्ने हो भने हामी पनि साथ दिन तयार छौं भनेर यो खालको कदम लिइएको हो,’ वाग्ले भन्छन्,‘प्रधानमन्त्रीले मूलुकको सबै भन्दा ठूलो दललाई गलत्याएर चौथो ठूलो दललाई रोज्नुभयो । त्यसका पछाडि केही मक्सद त होला नि ।’

नयाँ सत्ता समीकरण पछि रास्वपाको इच्छा अनुसारका महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाएको छ ।

सदनमा बोल्न नपाएपछि

रास्वपाको शीर्ष स्थानमा पुग्ने नेताहरुमा कांग्रेस पृष्ठभूमिका पनि छन् । उनीहरुको प्रवेशलाई व्याख्या गर्दा कतिपयले रास्वपालाई ‘भाइ कांग्रेस’ रुपमा व्याख्या गर्छन् । लोकतान्त्रिक शक्तिका रुपमा आफूलाई अथ्र्याउने कांग्रेस र रास्वपाको टकराव संसद हुँदै सडकसम्म पुगेको छ । कांग्रेसप्रति तिक्तता बढ्दै गएपछि रास्वपाका नेताहरूले सार्वजनिक कार्यक्रम गरेर उक्त दलप्रति खरो टिप्पणी गरेका छन् ।

सहकारीको रकम अपचलनलाई मुद्दा बनाएर प्रमुख प्रतिपक्ष दल कांग्रेस गृहमन्त्री लामिछानेविरुद्ध संसदमा प्रस्तुत भएको छ । ६ चैतमा प्रधानमन्त्री प्रचण्डले संसदमा कांग्रेसलाई जवाफ दिंदै गृहमन्त्री लामिछाने निर्दोष रहेको सफाइ पेश गरे । प्रधानमन्त्रीको बोलीबाट असन्तुष्ट कांग्रेसले लामिछानेमाथि अनुसन्धान गर्न संसदीय छानबिन समितिको माग गरेको छ ।

प्रधानमन्त्रीले जवाफ दिंदा असन्तुष्टि व्यक्त गर्ने तर आफूलाई बोल्न स्पष्टीकरण दिन नदिने भन्दै कांग्रेसविरुद्ध लामिछाने खनिएका छन् । ४ चैतमा संसदमा महामन्त्री गगन थापाले बोलीविरुद्ध लामिछानेले शनिबार अभिव्यक्ति दिए । थापाको नाम नलिइकन उनीप्रति लामिछानेको बोली छ,‘ तपाईंलाई निर्वाचित गर्ने मान्छेका अगाडि उभिएर म तपाईंसँग बहस गर्न चाहन्छु । सदनमा बोल्न दिनुभएन । बहस गर्न म कहाँ आउँ । यो बहस काठमाडौं क्षेत्र नम्बर ४ मा भए मलाई अझ सजिलो हुन्छ ।’

१० चैत (शनिबार) कालिमाटीमा रास्वपाले राखेको ‘वर्तमान सन्दर्भमा पार्टीको कार्यनीति विषयमा विशेष सम्बोधन’ कांग्रेसप्रति लामिछानेको आक्रोश पोख्न केन्द्रित भएको थियो । कांग्रेसले विना आधार आफूमाथि प्रश्न उठाएको लामिछानेको टिप्पणी छ । आफ्नो विरुद्धमा कसैले उजुरीको नाममा चिर्कटोमा हालेको र प्रहरी कार्यालयको ड्रअरमा रहेको लामिछानेले बताए । कांग्रेसले उठाएका प्रश्नमा तुक नभएको दाबी गर्दैै लामिछाने बहसका लागि तयार रहेको बताउँछन् ।

‘जो, ठाडो उजुरीलाई लिएर सदन नै अवरुद्ध गर्न खोजिरहनुभएको छ । तपाई, कहाँ कहिले, कुन मितिमा कुन स्थानमा मलाई बोलाउनुहुन्छ? सदनमा त मलाई बोल्न दिनुभएको छैन । खुला ठाउँमा म बहस गर्न चाहन्छु,’ कांग्रेसलाई लक्षित गर्दै भने ।

अदालतमा गएको सहकारी मुद्दामा आफूलाई लामिछाने प्रतिवादी बनाएको/नबनाएको हेर्न कांग्रेसलाई चुनौती दिए । राजनीतिक नैतिकता मन्त्री बहाल रहेकै बेला अख्तियारमा बयान दिन जानुपर्ने कांग्रेससँग हुनुपर्ने लामिछानेको तर्क छ ।

कांग्रेसका ‘प्रभावशाली नेता’ भन्दै लामिछानेको प्रहार महामन्त्री थापा लक्षित थियो । थापाले ४ चैतमा संसदमा बोल्ने क्रममा सहकारीको रकम अपचलनमा लामिछाने मुछिएको दाबी पेश गरेका थिए । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा गृहमन्त्री मुछिएको कुरा थापाले उठाएका थिए ।

पोखरा महानगरपालिकाले गरेको अध्ययनले प्रतिवेदन उधृत गर्दै थापाले भनेका थिए, ‘त्यो रिपोर्टको ७८ औं पृष्ठमा के भनिएको छ भने त्यसरी नक्कली खाता खोल्नेमध्ये एउटा नाम हो रवि लामिछाने ।’ एक करोड रुपैयाँ लामिछानेको नाममा गएको तर उनी उक्त सहकारीको सदस्य नभएको प्रतिवेदनमा उल्लेखित विषय थापाले सुनाएका थिए ।

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?