+
+
पुस्तक समीक्षा :

आर्थिक असमानता र असान्दर्भिक सवाल

आर्थिक समानतामा केन्द्रित हुँदा स्वतन्त्र अर्थतन्त्रको गतिशीलता नै ओझेलमा पर्छ । बढ्दो उत्पादकत्व र आर्थिक वृद्धिले सबैको जीवनस्तरमा ठूलो सुधार ल्याएको छ । आजका विकसित देशका सामान्य नागरिकले हिजोका सभ्रान्तहरूले सपनामा पनि नदेखेको सुविधाभोग गरिरहेका छन् ।

मुराहरि पराजुली मुराहरि पराजुली
२०८० चैत १२ गते १७:३७

जब जब आर्थिक असमानताको चर्चा हुन्छ, म नोबेल पुरस्कार विजेता अर्थशास्त्री मिल्टन फ्रिडम्यानलाई सम्झिन्छु । उनले भनेका थिए, ‘स्वतन्त्रता र समानतामध्ये समानतालाई रोज्ने समाज स्वतन्त्र रहँदैन र  समान पनि बन्दैन । बरू, स्वतन्त्रता रोज्ने समाज भने स्वतन्त्र र समान दुवै बन्ने सम्भावना उच्च हुन्छ ।’

घोर पूँजीवादीको ‘लेबल’ लगाइएका फ्रिडम्यानको यो भनाइ लोकप्रिय छैन । राजनीतिक हिसाबले गलत कित्तामा उभिनुपर्ने यस्तो भनाइ लोकप्रिय हुने कुरा पनि आउदैन । यो समय संसारलाई प्रियतावादी हावाले छोएको छ । के कुरा बोल्दा वा लेख्दा लोकप्रिय भइन्छ त्यसै अनुसार लेख्ने, बोल्ने चलन चलेको छ । आर्थिक समानता यस्तै एउटा लोकप्रिय बन्न सकिने विषय हो । किन नहोस् ? समानता कसलाई मन नपर्ला र ?

राजनीतिक हिसाबले बायाँतर्फका उदारवादीहरू दर्शनशास्त्री जोन रल्सको विचार मन पराउँछन् । आर्थिक समानताको पक्षमा नैतिक आधार प्रस्तुत गर्ने सम्भवतः सबैभन्दा सफल प्राज्ञ हुन् रल्स । उनले ‘अ थ्योरी अफ जस्टिस’ मा एउटा वैचारिक प्रयोग प्रस्ताव गरेका छन् । त्यसमा उनले मानवीय समाज कसरी डिजाइन गर्ने भन्ने सन्दर्भमा ‘ओरिजिनल पोजिसन’ को कुरा उठाएका छन् । यो प्रयोगमा समाजको आधारभूत बनोट कस्तो हुनुपर्छ भनेर तपाईंलाई रोज्न दिइन्छ । त्यो समाज अस्तित्वमा आइसकेपछि त्यहाँ तपाईंको स्थान कहाँ हुन्छ वा स्थिति के हुन्छ, तपाईंलाई थाहा हुँदैन । यसलाई ‘भिएल अफ इग्नोरेन्स’ अथवा अज्ञानताको पर्दा भनिएको छ ।

त्यस अवस्थामा तपाईं जातीय, सामाजिक, लिङ्गीय, आर्थिक, राजनीतिक, धार्मिक लगायत आग्रहबाट मुक्त भएर निष्पक्ष र तर्कसंगत चयन गर्नुहुन्छ । रल्सका अनुसार त्यो चयन समानतामा आधारित समाज हुन्छ । समाजमा सबैभन्दा कमजोर, अभागी, पिछडिएको, निमुखा सदस्यलाई समेत उपयुक्त हुने किसिमको संरचना तपाईंको रोजाइमा पर्छ । यही नै न्यायोचित हुन्छ ।

समानताको पक्षमा रल्सले कहेको यो एउटा कथा हो । रल्सअघि र पछि समानताको महिमागान गर्दै यस्ता थुप्रै कथा भनिएका छन् । कथा भनिएका मात्र छैनन्, त्यो स्वैर कल्पनालाई धर्तीमा उतार्ने भनेर अनेकौं अभियान चलाइएका छन् । त्यसले मानव समाजमा ठूलो खति निम्त्याएको छ ।

असमानता निमिट्यान्न पार्नुपर्छ भन्नेहरूले नै तयार पारेको आँकडा हेर्ने हो भने धनी मुलुक तुलनात्मक रूपमा बढी समान छन् भने दरिद्र मुलुक तुलनात्मक रूपमा बढी असमान छन् ।

समानताको दुहाई दिँदै चलाइएको अभियानले ल्याएको विपत्तिका कारण त्यो कथालाई सबैले पत्याउँदैनन् । तिनै अविश्वासीमध्ये एक हुन्– एमन बटलर । एडम स्मिथ इन्स्टिच्युटका निर्देशक बटलरले आर्थिक समानतालाई दार्शनिक, नैतिक, व्यावहारिक सबै हिसाबले समस्याग्रस्त अवधारणा हो भनेका छन् । दुई वर्षअघि प्रकाशनमा आएको उनको पुस्तक ‘एन इन्ट्रडक्सन टु इकोनोमिक इनइक्वालिटी’ मा ती विषय समेटेर शास्त्रीय उदारवादी दृष्टिकोण प्रस्तुत गरिएको छ ।

यो पुस्तकलाई समृद्धि फाउन्डेसनले नेपालीमा अनुवाद गरी बजार ल्याएको छ । विप्लव प्रतीक यसका अनुवादक हुन् । समतावादीहरूको दबदबा रहेको हाम्रो परिवेशमा असमानता के हो र यो किन हानिकारक छैन भन्ने बुझ्न यो पुस्तक उपयोगी देखिन्छ ।

पुस्तकलाई १७ अध्यायमा विभाजन गरिएको छ । सुरुका अध्यायमा असमानताको बहस, मापन, अन्तर्राष्ट्रिय तुलना लगायत विषय समेटिएको छ भने पछिल्ला अध्यायमा समानता कायम गर्न प्रस्तुत गरिएका नैतिक आधार, नीतिगत उपायहरूको खण्डन गरिएको छ ।

तथ्य र तर्कसहित बटलर आर्थिक असमानता वरिपरि खडा गरिएका भ्रम, मिथ्यांक, नैतिक आधारलाई भत्काउँछन् । र, पाठकलाई गरिब, गतिहीन तर अधिक समान आदिम समाज रोज्ने कि समृद्ध, गतिशील तर कम समान आधुनिक समाज रोज्ने भन्ने छलफलमा निम्त्याउँछन् ।

असमानता निमिट्यान्न पार्नुपर्छ भन्नेहरूले नै तयार पारेको आँकडा हेर्ने हो भने धनी मुलुक तुलनात्मक रूपमा बढी समान छन् भने दरिद्र मुलुक तुलनात्मक रूपमा बढी असमान छन् । यस अवस्थामा हाम्रो प्राथमिकता केमा हुनुपर्छ ? गरिबी निवारण कि असमानता निवारण ?

त्यतिमात्र होइन, पछिल्लो २ सय वर्षमा मानव समाजले भौतिक विकासको क्षेत्रमा निकै प्रगति गरेको छ । खुला अर्थराजनीतिक व्यवस्था अँगालेका मुलुकमा मान्छेका गाँस, बास र कपासजस्ता आधारभूत आवश्यकता पूर्ति भइसकेको छ भन्दा हुन्छ । तै पनि मान्छे सन्तुष्ट नहुन सक्छ । उसलाई आफू पछि परेको लाग्न सक्छ । उसलाई आफ्नो परिवेश असमान लाग्न सक्छ ।

यस किसिमको असन्तुष्टि कसरी मापन गर्न सकिएला ? तपाईं खुसी र उदासीलाई कसरी तौलनु हुन्छ ? समान किसिमको भौतिक सुविधाभोग गरिरहेको अवस्थामा एउटा मान्छे खुसी हुन सक्छ र अर्को उदास । ती दुईलाई (ती दुईको सन्तुष्टिलाई) कसरी समान बनाउन सकिएला ?

यो र यस्तै किसिमका असमानताको भावनाको निवारण असम्भव छ ? त्यसैले बटलर खुला, समृद्ध, गतिशील र विधिमा आधारित अर्थ राजनीतिक व्यवस्था हाम्रो चाहना हुनुपर्ने कुरामा जोड दिन्छन् । उनका अनुसार यस किसिमको समाजमा मान्छे उसले खोजेको–रोजेको सुखानुभूतिको मार्ग पछ्याउँदा धनी हुन सक्छ र गरिब पनि ।

बटलर भन्छन्, ‘असमानताको अर्थ यति धेरै हुन सक्छ कि यसलाई कसरी परिभाषित गर्ने भनेर जान्न गाह्रो हुन्छ । मान्छे धेरै किसिमले असमान छन् । तिनीहरूसँग फरक प्राकृतिक क्षमता हुन्छ, तिनीहरूले विभिन्न छनोट पनि गर्छन्, विभिन्न जोखिम लिन्छन् र भाग्यको खेल पनि हुन्छ । ती सबै कुराको योगले आर्थिक सफलता/असफलता निर्धारण गर्छ ।

मुराहरि पराजुली

आर्थिक असमानताको मापन नै त्रुटिपूर्ण रहेको तर्क बटलर गर्छन् । उनका अनुसार हामी असमानतालाई राम्रोसँग मापन गर्न पनि सक्दैनौं । छ्यासमिसे तथ्यांक, प्रचलित कर, राज्यप्रदत्त अनुदान तथा सहायता, सामाजिक लाभ तथा सेवाहरूको मूल्यांकनमा कठिनाइले असमानता गणना सम्बन्धी प्रचलित विधिहरू नै अविश्वसनीय रहेको दाबी उनले गरेका छन् ।

मान्छेको जीवन चरणमै ध्यान दिने हो भने पनि उही मान्छे आयका हिसाबले बाल्यकाल र वृद्धावस्थामा कम कमाउँछ भने युवाअवस्थामा बढी कमाउँछ । तर, सम्पत्तिको कुरा गर्दा पैतृक सम्पत्तिको अधिकारी बालक र युवा अवस्थामा पर्याप्त आर्जन गरेको व्यक्ति वृद्धावस्थामा धनी हुन सक्छन् । यो पक्षलाई असमानताको गणना गर्दा ख्याल गरिँदैन । पुस्तकको तेस्रो र चौथौ अध्यायमा यस सम्बन्धी विस्तृत चर्चा छ ।

बरु, बटलर असमानताको हिसाब नै किन गर्नुपर्‍यो भनेर यसको औचित्यमाथि नै प्रश्न उठाउँछन् । समाजले बृहत् समानतामा जोड दिनुपर्छ आर्थिक समानतामा मात्र होइन भन्ने आग्रह बटलरको देखिन्छ । वर्तमान विश्वको समस्या गरिबी हुन सक्छ, असमानता होइन । बटलरका अनुसार हामी सबै समान समाजमा बाँच्न चाहन्छौं भन्ने कथन नै गलत हो । आधुनिक मान्छेका महत्त्वाकांक्षा र छनोटले एकअर्कासँग भिन्न बनाइरहन्छ, यसलाई असमान नै भन्नुपर्छ भन्ने छैन ।

सबै व्यक्तिमा उत्तिकै जोखिम वहन गर्ने क्षमता र आत्मोन्नतिको स्रोत र आकांक्षा हुँदैन । धनीहरू सधैं धनी हुन्छन् भन्ने धारणा पनि गलत हो । धनको आयु हुन्छ । धनको उचित सम्वद्र्धन र संरक्षण भएन भने क्षय भएर जान्छ । र, धन सम्वद्र्धन गर्ने कला सबैमा बराबर हुँदैन ।

गरिबी, पारिवारिक विघटन, विभिन्न शारीरिक तथा मानसिक अक्षमता जस्ता सामाजिक समस्यासँग आर्थिक असमानता जोड्नु पनि गलत रहेको बटलर बताउँछन् ।

असमानता प्रतिको चासो औचित्यपूर्ण छैन, यसको अवधारणा अस्पष्ट छ, यसलाई गलत तरिकाले मापन गरिन्छ र समाधानका लागि त्रुटिपूर्ण नीतिहरू तर्जुमा गरिन्छ । आर्थिक समानताका नाममा सिफारिस गरिएका र तर्जुमा गरिएका केही नीतिहरूको उदाहरण बटलरले पुस्तकमा प्रस्तुत गरेका छन् ।

उनी भन्छन्, ‘समान वेतनको कुरा प्रशंसनीय सुनिन्छ, तर तपाईंले फरक किसिमको काम, उक्त काम गर्ने समय र वेतनजीवीको पारिवारका सदस्य संख्यालाई समेत समावेश गर्नुभयो भने समानता पक्षधरले खोजेको न्याय अझै भेटिँदैन । कुनै काममा तलब कम भए पनि आनन्द र आत्मसन्तुष्टि प्रदान गर्ने किसिमको हुन्छ जसलाई बजार मूल्यमा व्यक्त गर्न सकिँदैन ।

असमानता उन्मुलन गरेर सामाजिक समस्या अन्त्य गर्ने प्रयास गर्नु भनेको कानुन खारेज गरेर अपराध अन्त्य गरेजस्तै हो ।

भिन्न व्यक्तिको भिन्न क्षमता, मनोवृत्ति, क्रियाकलाप र मूल्य मान्यताको लामो शृङ्खलाबाट निर्धारण हुने नतिजामा आर्थिक समानता मात्र कायम गर्न खोज्नु असम्भव हो । बरु, तिनै कुरालाई ध्यानमा राख्दै समान अवसर सिर्जना गर्न प्रयासरत रहनु तर्कसंगत हुन्छ । हाम्रै छरछिमेकमा विभिन्न परिवारले आफ्ना छोराछोरीलाई प्रदान गर्ने अवसर फरक हुन्छ । यी अवसरले तिनीहरूको प्रगतिलाई प्रभाव पार्छ । तै पनि तिनीहरूको सफलतामा त्यही अवसर, कडा परिश्रम, जन्मजात लिएर आएको प्रतिभा, व्यक्तिगत उत्प्रेरणा वा भाग्यमध्ये कुनले बढी भूमिका खेल्यो भनेर मापन गर्न असम्भव हुन्छ ।

त्यसैले समानतका नाममा पुनर्वितरणमा जोड दिनु विरोधाभास हो । यसको अर्थ कसैले ठानेको समानताका नाममा मानिसलाई असमान व्यवहार गर्नु हो । किनकि, असमानताको परिभाषा र त्यसका आधारमा गरिने निर्णय मनोगत हुन्छ, वस्तुगत हुँदैन ।

यस्ता व्यक्तिपरक र मनोगत प्रमाणका आधारमा समाजलाई समान बनाउने अभियानको नेतृत्व कुनै राजनीतिकर्मी वा सरकारी अधिकारीलाई दिनु वा त्यस्तो निर्णयलाई वास्तविकतामा ल्याउने आवश्यक शक्ति र विवेक सुम्पिनु सिंगो समाजकै लागि ठूलो खतरा हो ।

त्यसो गर्दा मतदाताले वारेस बनाएर पठाएको सरकार नै मालिक बन्ने जोखिम वर्तमान आधुनिक लोकतन्त्रमा नहोला । तर, मनसुवा सही नै भएको सरकारले पनि गरिबको नाममा स्रोतहरू प्रायः मध्यमवर्गमा खन्याउँछ । यो सरकारी संयन्त्रमा अन्तर्निहित कमजोरी हो ।

बटलर सामूहिकतावादी मानसिकताको पनि आलोचना गर्छन् । उनका अनुसार समानताको एजेन्डा अनिवार्य रूपमा सामूहिकतावादी हो । यसमा स्वतन्त्र व्यक्तिलाई काल्पनिक समतामूलक समाजको अधिनस्थ हुन बाध्य पारिन्छ ।

इतिहासदेखि वर्तमानसम्मका अधिकांश समाज असमान छन् र तिनलाई समान बनाउन गरिएको व्यावहारिक प्रयासहरू असफल भएका छन् । धनसम्पत्ति, आय, सामाजिक दर्जा, राजनीतिक शक्तिमा रहेको विविधता स्वीकार्य बनाइयो भने यसले आविष्कार, नवप्रवर्तन, लगानी, उत्पादकता र उद्यमलाई प्रोत्साहन गर्ने विचार बटलरले व्यक्त गरेका छन् ।

सबैजना आर्थिक रूपमा समान हुनुपर्छ भन्ने मुद्दा नै होइन, बरु सबैले मर्यादित जीवनयापन गर्न पाउनुपर्छ भन्ने हो ।

सम्पत्ति भनेको अरूबाट खोसिएको चीज होइन (यस्तो काम अपराधी र सरकारले मात्र गर्न सक्छ) बरु यस्तो चीज हो जुन विभिन्न व्यक्तिबीच दैनिक रूपमा स्वैच्छिक लेनदेनबाट सिर्जना हुन्छ ।

त्यसैले जोड दिनुपर्ने विषय समानता नभई गरिबी निवारण हो । बटलरका अनुसार गरिबको अवस्था सुधार्न वास्तविक सामाजिक समस्या सम्बोधन गर्नुपर्छ । सरकारी स्कुल सुधार, स्वास्थ्य सेवा प्रवद्र्धन, आर्थिक अपचलन नियन्त्रण, राजनीतिक शक्तिको दुरूपयोग रोक्ने लगायत मुद्दामा ध्यान केन्द्रित गर्नुपर्छ ।

‘असमानता उन्मुलन गरेर सामाजिक समस्या अन्त्य गर्ने प्रयास गर्नु भनेको कानुन खारेज गरेर अपराध अन्त्य गरेजस्तै हो,’ बटलर भन्छन् ।

सामाजिक समस्यालाई समानताले सच्याउँछ भन्ने आशा गर्नुको सट्टा तिनलाई प्रत्यक्ष सम्बोधन गर्नुपर्ने जिकिर बटलरले गरेका छन् । सरकारी विद्यालयको सुधारमा गरिने खर्चले विद्यार्थीको गतिशीलता बढाउँछ । त्यही रकम पुनर्वितरणका कार्यक्रममा खर्चिंदा नतिजा शून्य हुन्छ ।

आर्थिक समानतामा केन्द्रित हुँदा स्वतन्त्र अर्थतन्त्रको गतिशीलता नै ओझेलमा पर्छ । बढ्दो उत्पादकत्व र आर्थिक वृद्धिले सबैको जीवनस्तरमा ठूलो सुधार ल्याएको छ । आजका विकसित देशका सामान्य नागरिकले हिजोका सभ्रान्तहरूले सपनामा पनि नदेखेको सुविधाभोग गरिरहेका छन् ।

सन् १८३६ मा उतिबेला संसारकै सबैभन्दा धनी नाथन मेयर रोथचाइल्डको दाँतको संक्रमणबाट मृत्यु भएको उदाहरण दिँदै बटलर भन्छन्, ‘अहिले हामी त्यस किसिमको रोगलाई सामान्य एन्टिबायोटिकले निको पार्छौं, मान्छे मात्रै होइन पशुलाई पनि ठिक पार्छौं ।’

पुस्तकको अन्त्यमा बटलरले एउटा प्रस्ताव गरेका छन्– यदि तपाईंले एउटा बटन थिच्न सक्नुहुन्छ जसले संसारको सबैभन्दा गरिबलाई दुई गुणा धनी बनाउँछ र विश्वको सबैभन्दा धनीलाई तीन गुणा धनी बनाउँछ भने तपाईं त्यो बटन थिच्नुहुन्छ कि हुन्न ?

उनी भन्छन्, ‘तर, वास्तविक संसारमा हामीले यस किसिमको छनोट गर्ने मौका पाउँदैनौं ।’ बरु, वास्तविक संसारमा हामी के देख्न सक्छौं भन्दा आर्थिक रूपमा सम्पन्न मुलुकहरू धेरै किसिमले अधिक समान छन् । गरिब मुलुकहरू अधिक असमान छन् । असमानतामा जोड दिइयो भने वास्तविक मुद्दाबाट हाम्रो ध्यान हट्छ । सबैजना आर्थिक रूपमा समान हुनुपर्छ भन्ने मुद्दा नै होइन, बरु सबैले मर्यादित जीवनयापन गर्न पाउनुपर्छ भन्ने हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?