+
+

नेपाल भर्सेस बहराइन : प्रतिस्पर्धात्मक खेलको अपेक्षा

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०८० चैत १३ गते १२:३७

१३ चैत, मनामा (बहराइन) । फिफा विश्वकप २०२६ छनोटकाे दोस्रो चरणअन्तर्गत आज नेपाल र बहराइनबीच दोस्रो खेल हुँदैछ । खेल स्थानीय समयअनुसार राति १० बजे (नेपाली समय अनुसार मध्यराति पौने १ बजे) बहराइनको रिफास्थित नेशनल स्टेडियममा सुरू हुनेछ ।

समूह ‘एच’ मा रहेका यी दुई टोली एक सातामा दोस्रो पटक खेल्न लागेका हुन् । यसअघि बिहीबार भएको खेलमा नेपाल बहराइनसँग ५–० ले पराजित भएको थियो । दशरथ रंगशालामा होम म्याच खेल्नुपर्ने नेपालले मैदानको अवस्था खेल्नलायक नभएपछि पहिलो लेगको खेल बहराइनमै आएर खेलेको थियो । पहिलो खेलमा फराकिलो जित निकालेको बहराइन उच्च मनोबलमा छ ।

अगाडिको खेलको नतिजाभन्दा पनि आजको खेलमा केन्द्रित हुने दुवै टिमका प्रशिक्षकले बताएका छन् । नेपालका मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले बहराइनलाई कडा टक्कर दिने बताएका छन् । ‘हामी खेलको लागि तयार छौं । बहराइनी टिममा धेरै अन्तर्राष्ट्रिय खेल खेलिसकेका अनुभवी खेलाडीहरू छन् । तर हामी कडा टक्कर दिनेछौं ।’ एनेसले प्रि–म्याच कन्फेरेन्समा भने ।

पछिल्लो खेलमा घाइते भएका नेपालका फरवार्ड अन्जन विष्ट खेल्न नसक्ने भएको र टिममा केही परिवर्तन हुने उनले बताए । ‘केही खेलाडी परिवर्तन हुन्छन् । पछिल्लो खेलमा अन्जन घाइते भए ।’ अन्जन नहुँदा नयाँ खेलाडीलाई पनि अनुभव बटुल्ने मौका हुने एनेसले बताए ।

यसअघिको खेलमा अन्जन घाइते भएपछि १६औं मिनेटमा मैदान छाडेका थिए । घुँडाको एमसीएलमा चोट लागेको कारण उनले ३ हप्ता जति आराम गर्नुपर्नेछ । यस्तै यसअघिका दुई खेलमा पहेंलो कार्ड पाएका मनीष डाँगी पनि आजको खेलमा हुने छैनन् ।

दुई खेलाडी नहुँदा अन्य युवा खेलाडीको लागि अवसर हुनेछ । त्यसैले पहिलो रोजाइमा दुई परिवर्तन हुने पक्का छ । अघिल्लो खेलमा चार खेलाडीले डेब्यु गरेका थिए ।

नेपाली टिमका कप्तान किरणकुमार लिम्बूले छोटो समय तयारी गर्दै बहराइन आएको बताए । लिम्बूले नेपाली टिमप्रति आफूलाई विश्वास रहेको बताए । पहिलो खेल राम्रो नभए पनि दोस्रो खेलका लागि मानसिक रूपमा तयार भएको उनले बताए । ‘पछिल्लो म्याचमा जस्तो भए पनि हामी अघि बढ्नुपर्छ । यो खेलका लागि हामी मानसिक रुपमा तयार छौँ ।’

कप्तान लिम्बूले बहराइनमा अनुभवी खेलाडी धेरै रहेको र नेपालभन्दा बढी एक्सपोजर रहेको बताए । उनले नेपाली टिममा युवा खेलाडी धेरै रहेको र पछिल्लो खेलमा भन्दा राम्रो प्रदर्शन गर्ने आशा व्यक्त गरे ।

बहराइनका प्रशिक्षक ड्रागन तालाभिकले आजको खेल यसअघिको भन्दा प्रतिस्पर्धात्मक हुने अपेक्षा राखेका छन् । उनले नेपालले यहाँ आएर एक खेल खेलिसकेकाले पहिलो खेलको भन्दा कठिन हुने बताए । ‘पछिल्लो म्याच जस्तो भए पनि अब हुने खेलका लागि हामी तयार छौँ,’ ड्रागनले भने, ‘पहिलो खेलमा के भयो बिर्सिसकेका छौं । प्रतिस्पर्धात्मक खेल हुने अपेक्षा छ ।’

उनले बहराइनले ३ अंक लिने लक्ष्यका साथ नै खेल्ने बताए । ‘खेल कठिन हुनेछ । त्यसैले हाम्रो तयारी राम्रो छ । हामीले अर्को ३ अंक जोड्ने प्रयास गर्ने छौं ।’ आजको खेलको नतिजाले आउने खेलमा सहज हुने पनि उनले बताए ।

समूह ‘एच’मा सबै ३ खेल जितेको यूएई ९ अंकसहित शीर्ष स्थानमा छ । २ जित र १ हारबाट बहराइन ६ अंकसहित दोस्रोमा छ । १ जित र ३ हारको नतिजा निकालेको यमन ३ अंकसहित तेस्रो स्थानमा छ । सबै तीन खेल हारेको नेपाल अंकविहीन हुँदै पुछारमा छ ।

समूहको शीर्ष दुई टोली विश्वकप छनोटको तेस्रो चरणमा पुग्नेछन् । साथै सन् २०२७ मा हुने एसिया कपमा सिधै छनोट हुनेछन् । तेस्रो र चौथो हुनेको विश्वकपको यात्रा समाप्त हुनेछ भने एसिया कपका लागि तेस्रो चरण खेल्न पाउनेछन् । नेपालले ३ खेलमा ११ गोल खाँदा कुनै गोल गर्न सकेको छैन । फिफा वरीयतामा बहराइन ८२औं र नेपाल १७५औं स्थानमा छ । बहराइनले केही समयअघि एसिया कप खेलेको थियो ।

तस्वीर: बहराइन फुटबल संघ

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?