+
+

यूएई : मुलपानीमा आँसु, मस्कटमा मुस्कान

भुपेन्द्र जि.सी. भुपेन्द्र जि.सी.
२०८१ वैशाख ७ गते २२:१६

७ वैशाख, काठमाडौं । पछिल्लो समय नेपाल र यूएईबीचको प्रतिस्पर्धालाई एसोसिएट क्रिकेटमा निकै चाखपूर्वक हेरिन्छ । एसियाका दुई टोलीबीचको भिडन्तलाई एसोसिएट एल–क्लासिको समेत भन्न थालिएको छ ।

एकले अर्कालाई हराएर विश्वकपमा स्थान बनाएका कारण पनि नेपाल र यूएईको खेलमा त्यो स्तरको प्रतिस्पर्धा हुन्थ्यो भने खेलाडीहरूमा पनि बदलाभाव देखिन्थ्यो ।

गत नोभेम्बरमा आईसीसी टी–२० विश्वकप एसिया क्वालिफायर फाइनलमा त्यही भएको थियो ।

नेपालको भएको प्रतियोगिताको पहिलो सेमिफाइनलमा नेपाल र यूएईबीच प्रतिस्पर्धा भएको थियो । नेपालले समूह चरणमा ओमानसँग हारेपछि समूह बी को विजेता यूएईसँग सेमिफाइनल खेल्न मुलपानी क्रिकेट मैदान पुगेको थियो ।

टस जितेर पहिला ब्याटिङ रोजेको यूएईलाई कप्तान मोहम्मद वासिमले उत्कृष्ट सुरुवात दिलाउँदा १६ बलमा ३ चौका र २ छक्कासहित २६ रन जोडेका थिए । उनी सोमपाल कामीको बलमा ठूलो सट खेल्ने धुनमा करण केसीबाट क्याच हुँदा यूएई ३.४ ओभरमा ३०–२ को अवस्थामा थियो । तर मध्यक्रमका ब्याटरले राम्रो गर्न नसकेपछि यूएईले २० ओभरमा ९ विकेट गुमाउँदै १३४ रन बनाएको थियो ।

उक्त लक्ष्य नेपालले १७.१ ओभरमा पूरा गर्दै १० वर्षपछि विश्वकपमा स्थान बनायो । विश्वकपमा खेल्ने पक्का भएको खुसीमा नेपाली खेलाडीहरूले मुलपानी मैदान ढोगे ।

विश्वकपमा पुग्न असफल भएकोमा यूएईका खेलाडीहरुले भने आफूलाई सम्हाल्न सकेनन् । मैदानमै भावुक बने । ड्रेसिङ रुममा धेरै खेलाडी रोएर बसेका थिए ।

मैदान छाडेर हिंड्ने बेलासम्म यूएईका खेलाडीले आँसु रोकिएका थिएनन् । आयन खान र वृत्य अरविन्द होटल फर्किने त्रलममा रुँदै बस चडेका भिडियो सामाजिक सञ्जालमा भाइरल नै भयो ।

त्यसअघि एसीसी प्रिमियर कपको फाइनलमा पनि नेपालसँग यूएईलाई नै ७ विकेटले पराजित हराएको थियो । त्यही जितका कारण नेपालले एसिया कप खेल्न पायो । त्यसको केही महिना अगाडि मात्र आईसीसी विश्वकप लिग २ मा पनि यूएईले ३१० रन बनाएर पनि नेपालमाथि जित निकाल्न सकेको थिएन ।

शुक्रबार ओमानको मस्कटस्थित अल अरमेत क्रिकेट मैदान–१ मा एसीसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा यूएईले नेपाललाई ६ विकेटले हराउँदै फाइनलमा स्थान बनायो ।

मस्कट पुनः नेपाललाई अभागी ग्राउण्ड सावित भयो । सन् २०२२ मा आईसीसी टी–२० विश्वकप छनोट ए को सेमिफाइनलमा नेपाललाई ६८ रनले हराउँदै यूएईले विश्वकप खेलेको थियो ।

यूएईले उत्कृष्ट बलिङ गरेपछि नेपाल २० ओभरमा ९ विकेट गुमाउँदै ११९ रन बनाएको थियो । यूएईले १७.२ ओभरमा ४ विकेट गुमाउँदै फाइनलमा स्थान बनायो ।

अब आइतबार ओमानलाई हराउन सके यूएईले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने अवसर पाउने छ ।

एसिया कपमा पुग्न सकोस् वा नसकोस्, तर पछिल्लो एक वर्षमा लगातार आफ्नो सफलतामा बाधक बनेको नेपाललाई हराउँदा यूएईको खुसी नै अलग थियो ।

इनिङको पहिलो बलमै जुनैद सिद्दिकले कुशल भुर्तेललाई आउट गर्दा होस् वा दीपेन्द्रलाई आयनले एलबीडब्लू आउट गर्दा यूएईका खेलाडीको सेलेब्रेसन छुट्टै थियो ।

‘पछिल्लो वर्षहरुमा हामीले नेपालसँग तीन–चार खेल हारेका थियौं । पछिल्लो एक वर्ष हामीले कडा मिहिनेत गरेका छौं । नेपाललाई हराउनु एकदमै राम्रो कुरा हो । किनभने पछिल्लो एक वर्षमा नेपालले धेरै राम्रो क्रिकेट खेलेको छ’, खेलपछि यूएईका स्टार अलराउन्डर आयन खानले हाम्रो खेलकुदसँग भने ।

उनले नेपाली खेलाडी र समर्थकको पनि तारिफ गरेका छन् । ‘दीपेन्द्र, करण, सोमपाल, दुई ओपनर आसिफ र कुशल, अनि कप्तान रोहित राम्रो खेलाडी हुन्’ उनले अगाडि भने, नेपालको समर्थकहरु पनि धन्यवाद । किनभने हामीलाई पनि समर्थन गरे ।’

लेखकको बारेमा
भुपेन्द्र जि.सी.

जिसी अनलाइनखबरको खेलकुद ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?