+
+

कोशीका ७ तरकारी बजारको मूल्यसूची सरकारी प्रणालीमा

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १४ गते १९:५६

१४ चैत, विराटनगर । कोशीको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले मुख्य तरकारी बजारहरुको मूल्यसूची सार्वजनिक गर्न थालेको छ ।

मन्त्रालयले वेबसाइट र मोबाइल एपबाट हरेक दिन कृषि उपजको बजारमूल्य सार्वजनिक गर्नेछ । बुधबार कृषि मूल्य सूचना प्रणालीको उद्घाटन कोशी प्रदेशका उद्योग कृषि तथा सहकारी मन्त्री रामकुमार खत्रीले गरे ।

कृषि क्षेत्रको सवलीकरण र व्यवसायीकरणसँगै कृषक, व्यवसायी तथा उपभोक्ताको सहजताका लागि सूचना प्रणाली सञ्चालनमा ल्याइएको मन्त्रालयमा प्रवक्ता पशुपति पोखरेलले जानकारी दिए ।

प्रणालीमा धरान, बिर्तामोड र इनरुवाको कृषि बजार व्यवस्थापन समिति, गाईघाटको सगरमाथा कृषि थोक बजार, दुहबीको कृषि तथा पशुपन्छी बजार, दमकको नयाँ सब्जी बजार र धनकुटाको जाल्पादेवी कृषि उपज संकलन केन्द्र जोडिएका छन् । मन्त्रालयले हरेक दिन ती बजारको मूल्यसूची अपडेट गर्नेछ ।

विराटनगरको ठूलो गुद्री बजारको भने मूल्य सूचना प्रणाली समावेश छैन । बजार अव्यवस्थित रहेको र व्यवस्थापन समिति नभएका कारण गुद्रीबजार प्रणालीमा समावेश नभएको प्रवक्ता पोखरेलको भनाइ छ ।

बुटवल, पोखरा र काठमाडौंका कृषि थोक बजारको मूल्यसूची पनि मन्त्रालयले वेबसाइटमा राखेको छ ।

प्रणालीमा जोडिएका बजारको कृषि उपजको मूल्य विहान ७ देखि ११ बजेभित्र अद्यावधिक हुनेछ । बजारको मुल्यसूची संकलनका लागि हरेक बजारमा तथ्याङ्क संकलक तोकिएका छन् ।

मूल्य सूचना प्रणालीमा सार्वजनिक गर्नुभन्दा अघि सम्बन्धित बजारले मुल्य पूनः प्रमाणीकरण गर्ने भएका कारण वेबसाइटमा रहेको र बजार मुल्यमा फरक नपर्ने प्रवक्ता पोखरेलको भनाइ छ ।

किसान र बजारका साथै कृषि क्षेत्रमा अनुसन्धान गर्न चाहनेलाई सूचना प्रणाली प्रभावकारी हुने प्रवक्ता पोखरेलले जानकारी दिए ।

सूचना प्रणालीले मूल्यको जानकारीसँगै उत्पादकलाई व्यापारी र ग्राहकसँग सिधै जोड्न सक्ने उनले बताए । कृषि मन्त्रालयका सचिव डा. लेखराज दाहालले सूचना प्रणालीलाई थप विकास गर्दै लैजाने बताए ।

प्रणालीको उद्घाटन गर्दै कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री रामकुमार खत्रीले कृषिलाई व्यवस्थित बनाउन आवश्यक रहेको बताए । कृषिमा उन्नति गरेर मात्रै अर्थतन्त्रलाई बलियो बनाउन सकिने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?