+

१७ कुरा, जुन किराना पसल वा मार्टले खानेकुरा बेच्दा ध्यान दिनैपर्छ  

२०८० चैत  १९ गते १४:०६ २०८० चैत १९ गते १४:०६
१७ कुरा, जुन किराना पसल वा मार्टले खानेकुरा बेच्दा ध्यान दिनैपर्छ  

हामीले खरिद गर्ने दैनिक उपभोग्य खानेकुराले कतै हाम्रो स्वस्थ्यलाई सोझै खराब पो बनाइरहेको छ कि ? यसमा संशय मात्र होइन चनाखो पनि हुनुपर्छ । स्वस्थ्यवर्द्धक, स्वच्छ, ताजा खानेकुरा खानु पाउने हाम्रो अधिकार हो ।

किनभने हामीले जे जति खानेकुरा खान्छौं, त्यसबाट हामी आफ्नो शरीरलाई आवश्यक पोषक तत्व परिपूर्ति गरिरहेका हुन्छौं ।

खाद्यवस्तु भनेको मानिसले आफ्नो शरीरको पोषक तत्वको मागलाई पूरा गर्न सेवन गर्ने वस्तु हो । मानव उपभोगको लागि तयार गरिएका खाद्य पदार्थहरुले उपभोक्तालाई सन्तुष्टि दिन्छ, कुनै प्रकारको प्रतिकूल असर गर्दैन भन्ने मान्यताको सुनिश्चितता हुनु नै ‘खाद्य स्वच्छता’ हो ।

संक्रमित खाद्यवस्तुको सेवनबाट २०० भन्दा बढी प्रकारका रोगको जोखिम हुन्छ । जसमा सामान्य झाडापखालादेखि क्यान्सर जस्ता प्राणघातक रोग पर्न जान्छ । खाद्यवस्तुलाई स्वच्छ अवस्थामा मानिसको थालीसम्म पुर्‍याउन कच्चा पदार्थ उत्पादन हुने स्थान (खेत-गोठ)देखि खाद्यवस्तु सेवन हुने स्थान (थाली) सम्मको सम्पूर्ण श्रृंखलाबद्ध चरणमा विशेष ध्यान पुर्‍याउन आवश्यक छ । खाद्यवस्तुको बिक्रेता यस शृंखलाको महत्वपूर्ण अंगको रुपमा रहेको छ, विशेषगरी प्रशोधित प्याकिङ गरिएका खाद्यवस्तु उपभोक्तासम्म पुर्‍याउने मुख्य काम भनेको किराना पसल, मार्ट र डिपार्टमेन्ट स्टोरबाट हुने गर्छ ।

खाद्य किराना पसल, मार्ट र डिपार्टमेन्ट स्टोरले मुख्यगरी निम्न कुरामा ध्यान पुर्‍याउन आवश्यक छ ।

– पसलको समस्त सरसफाइमा ध्यान दिने, खाद्य सामग्री राख्ने र्‍याक तथा सम्पूर्ण पसलको नियमित सरसफाइ गर्ने । पसल वरपरको वातावरण सफा र दुर्गन्ध रहित बनाउने । पसलमा कीरा, मुसा तथा अन्य जीवहरुको प्रवेश रोक्न आवश्यक व्यवस्था मिलाउने ।

पसलभित्र मुसाको नियन्त्रणका लागि रसायन वा विषादीको प्रयोग नगर्ने । मुसाको लागि पासो तथा ग्लु प्याड आदि प्रयोग गर्न सकिन्छ ।

– प्रमाणित र लेबल विवरण पूर्ण भएको खाद्यवस्तुको मात्र बिक्री वितरण गर्ने । लेबलमा खाद्यवस्तुको नाम, समिश्रण, तौल, उत्पादन, प्याकिङ मिति, उपभोग्य मिति, उत्पादकको नाम र ठेगाना, खाद्य अनुज्ञापत्र नम्बर, मूल्य आदिको जानकारी हुनुपर्छ ।

लेबल बिनाको खाद्यवस्तु बिक्री वितरण गर्नु हुँदैन र यस्ता खाद्यवस्तुको गुणस्तरको सम्पूर्ण जिम्मेवारी विक्रेता स्वयंले लिनुपर्ने हुन्छ । लेबलिङ प्रयोजनका लागि खाद्य पदार्थको सीधा सम्पर्कमा आउने गरी मसीले लेखिएको कागज प्रयोग गरिएको भए त्यस्तो खाद्य वस्तुको बिक्री नगर्ने, मसीमा हानिकारक रसायन हुन्छ ।

– खाद्यवस्तुको प्रकार अनुसार उचित तापक्रम र वातावरणमा भण्डारण गर्ने । खाद्यवस्तुलाई तीनको चारित्रिक गुणअनुसार फरक-फरक तरिकाले राख्नुपर्छ । चाँडै नबिग्रिने किसिमको खाद्यवस्तु जस्तै क्यानमा प्याक भएका खाद्यवस्तु, बिस्कुट, चाउचाउ, दालमोठ, पिठो, मसला आदिलाई साधारण कोठाको तापक्रममा राख्न सकिन्छ भने पानीको मात्रा बढी हुने र छोटो प्रयोग अवधि भएका खाद्यवस्तु जस्तै केक, अण्डा, प्याक गरिएका लच्छा पराठा, पिज्जा,  दूध, पनिर, बटर, चीज, विभिन्न तरकारी सागपात आदिलाई चिसो तापक्रममा  शून्य डिग्री सेल्सियसमा राख्नुपर्छ । प्रयोग अवधि लामो भएका फ्रोजन खाद्यवस्तु जस्तै प्याकिङ मासु, माछा, म:म, बेकन, फ्रोजन तरकारी आदिलाई माइनस १८ डिग्री भन्दामुनिको तापक्रममा भण्डारण गर्नुपर्छ ।

– घामबाट जोगाउने । खाद्य पदार्थ विशेषगरी चिल्लो तथा तेलको मात्रा बढी भएको वस्तु जस्तै तेल, घिउ, आलु, चिप्स, बिस्कुट, दालमोठ आदिलाई घामको किरणबाट टाढा राख्ने । घामको किरणले त्यस्ता खाद्य वस्तुमा अस्वाभाविक गन्धको विकास हुन्छ । बियर र आयोडिनयुक्त नुनलाई पनि घामबाट जोगाउनुपर्छ ।

– सबै खाद्यवस्तु विशेषगरी खाद्यान्न जस्तै चामल, मैदा, दाल आदिलाई राख्दा प्रत्यक्ष भुईं तथा भित्तासँग सम्पर्कमा आउने गरी नराख्ने । यस प्रायोजनको लागि काठको वा प्लास्टिकको क्रेट प्रयोग गर्न सकिन्छ । यसो गर्नाले खाद्यान्न तोकिएको समयसम्म सुरक्षित रहन्छ ।

– सडेगलेका, कीरा, ढुसी परेको खाद्यान्न, दलहन आदिको बिक्री वितरण नगर्ने । ढुसीमा माइकोटक्सिन नामक विष हुन्छ, जसले गम्भीर स्वास्थ समस्या निम्त्याउन सक्छ । ढुसीजन्य अन्न दानाको रुपमा चौपायालाई समेत दिनु हुँदैन ।

– कर्मचारीको व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्छ । सरुवा रोग तथा छालासम्बन्धी बिरामीलाई खाद्यवस्तुको बिक्री वितरण कार्यमा नलगाउने । पसलमा काम गर्ने कर्मचारीले आफ्नो व्यक्तिगत सरसफाइमा ध्यान पुर्‍याउनुपर्छ । शौचालय आदिकव राम्रो व्यवस्था हुनु आवश्यक छ ।

– क्यानमा प्याक गरिएका खाद्यवस्तु बिक्री वितरण गर्दा ध्यान पुर्‍याउनुपर्छ । टिन वा आल्मुनियमको बट्टामा क्यानिङ गरिएका, प्लास्टिकको बोतल वा ट्रेटाप्याकमा प्याक गरिएका तरल खाद्य वस्तुको भित्री अवस्था प्राय: थाहा नहुने हुँदा विशेष ध्यान पुर्‍याउनुपर्छ । खाद्यवस्तु भएको क्यान, ट्रेटाप्याक, बोतल अस्वाभाविक रुपमा फुलेको भए त्यस्ता खाद्यवस्तुलाई बिक्री गर्नु हुँदैन । अन्य प्याकिङ गरिएका खाद्यवस्तुको पनि सिलको अवस्था चेकजाँच गरेर मात्र बिक्री गर्नुपर्छ ।

– प्रतिबन्धित खेसरीको बिक्री वितरण गर्नु हुँदैन । नेपाल सरकारद्वारा प्रतिबन्धित खेसरीको दालको बिक्री वितरण तथा सेवन नगर्ने, यसको नियमित सेवनले प्राणघातक रोग लाग्न सक्छ ।

– खाद्यवस्तुलाई गोदाममा सड्न र बिग्रिन नदिन विभिन्न उपाय अपनाउनुपर्छ । जुन सामान गोदाममा पहिले राखिएको हो, त्यसलाई नै पहिले बिक्री गर्नुपर्छ । त्यसो हुँदा सामान एक्सपायर भएर जाने जोखिम कम हुन्छ । गोदाममा कीटको नियन्त्रणको विधि अवलम्बन गर्नुपर्छ ।

यसैगरी ओसिलो ठाउँमा खाद्यवस्तु भण्डारण गर्नुहुँदैन । ओसिलो ठाउँमा ढुसी आउने, पीठो भए डल्लो पर्ने हुन्छ ।

– शाकाहारी र मांसाहारी खाद्यवस्तुलाई एकै ठाउँमा राख्नु हुँदैन ।

– खाद्य र अखाद्य वस्तु सँगै राख्नुहुँदैन । खाद्यवस्तुलाई अखाद्य वस्तु जस्तै साबुन, सर्फ, फिनेल, मल, मट्टीटेल, ट्वाइलेट क्लिनर, अगरबत्ती सँगसँगै राखेर बिक्री वितरण गर्नुहुँदैन ।

– म्याद सकिएका खाद्यवस्तु राख्न छुट्टै एक्सपाइरी जोन बनाउनुपर्छ । दैनिक रुपमा खाद्यवस्तुको उपभोग्य मिति चेकजाँच गर्ने र मिति समाप्त भएका खाद्यवस्तु छुट्याउने गर्नुपर्छ ।

– खाने कुरा तयार गर्ने प्रयोजनको लागि अखाद्य रंग जस्तै जादु रंग, पत्ती रंग, चम्पाई रंगको बिक्री वितरण गर्नु हुँदैन । प्रमाणित उद्योगबाट उत्पादित खाद्य रंगको मात्र बिक्री र प्रयोग गर्नुपर्छ ।

– अण्डा बिक्री गर्ने पसलले अण्डाको खोलको बाहिरी सतहमा कुखुराको सुली नलागेको सफा अण्डा बिक्री गर्नुपर्छ । सुलीमा हानिकारक कीटाणु ब्याक्टेरिया हुन्छ ।

– क्षणिक लाभको लागि खाद्यवस्तुमा मिसावट गर्ने कार्य तत्काल बन्द गर्नुपर्छ । गुणस्तरहीन र अस्वाभाविक रुपमा कम मूल्य भएको खाद्यवस्तु बिक्री वितरण नगर्ने त्यस्तो खाद्यवस्तु मिसावटयुक्त, न्यून गुणस्तरीय हुने सम्भावना धेरै हुन्छ । जस्तै शुद्ध मह भन्दै बाटोमा डुलाइने मह किन्नु हुँदैन ।

(लिम्बू खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा कार्यरत खाद्य अनुसन्धान अधिकृत हुन् ।) 

खाद्यवस्तु बिक्रेता
लेखक
विक्रम लिम्बू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय