+
+

सकियो तेश्रो इलाम साहित्य महोत्सव

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १९ गते १९:००

१९ चैत, काठमाडौं । ‘पर्यटनका लागि साहित्य’ नाराका साथ सञ्चालन भएको तेश्रो इलाम साहित्य महोत्सव सम्पन्न भएको छ । इलाम नगर साहित्य कला सङ्गीत प्रतिष्ठान र इलाम साहित्य समाजको संयुक्त आयोजनामा चैत १६ र १७ गते महोत्सव आयोजना गरिएको हो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले उद्घाटन गरेको महोत्सवको पहिलो दिन पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले ‘नेपालको संरचनात्मक संकट र दिगो समाधानको बाटो’ शीर्षकमा आफ्नो विचार प्रस्तुत गरेका थिए ।

महोत्सवको पहिलो दिन बच्चु हिमांशुले सहजीकरण गरेको ‘संघीयता : यस्तै वा कस्तो’ सत्रमा नवीना लामा, मिलन पाण्डे र डिल्लीराम सुवेदीले बहस गरेका थिए । हेमन यात्रीले सहजीकरण गरेको ‘कवितामा के छ ?’ सत्रमा सोझो गाउँले, सुन्दर कुरूप र सुमिनाले बहस गरेका थिए ।

राजिन पनेरुले सहजीकरण गरेको ‘मिथकदेखि मिथकसम्म’ सत्रमा डा.अरुण गुप्तो र धनप्रसाद सुवेदी, वियोगीले सहजीकरण गरेको ‘सीमा, साहित्य र संस्कृति’ सत्रमा डा.कविता लामा, गणेश खनियाँ र दीपक लुङ्गेली मगरले बहस गरेका थिएभने ‘पोइट्री इन मुभमेन्ट’मा कवि राजा पुनियानीले प्रस्तुति दिएका थिए ।

प्रजु पन्तले सहजीकरण गरेको ‘बदलिँदो विश्व : फेरिँदो स्थानीयतह सत्रमा धर्मेन्द्र नेम्बाङ, रोहेज खतिवडा र रञ्जित तामाङले छलफल गरेका थिए । सुनिता तामाङले सहजीकरण गरेको ‘चारखोलको रंगमञ्च’ सत्रमा सुरेश पोर्तेल र चेतन आङ्थुपोले बहस गरेका थिए ।

‘नेपाल-२०३० : समुन्नतिका लक्ष्य, चुनौती र इलाम सन्दर्भ’ शीर्षकमा अर्थविद तथा राजनीतिज्ञ डा.स्वर्णिम वाग्लेले मन्तव्य दिएका थिए । पहिलो दिन ‘कविताको स्वर’ सत्रमा गद्य कवितावाचन रहेको थियोभने ‘छन्द सुगन्ध’ सत्रमा कवितावाचन पनि आयोजना भएको थियो । वाचन भएका कविताहरुमा डा.तुलसी गौतमले टिप्पणी गरेका थिए ।

महोत्सवको दोश्रो दिन लुना खतिवडाले सहजीकरण गरेको ‘संरक्षण र पर्यापर्यटनका कुरा’ सत्रमा दीपेन्द्र कर्ण र डा.अस्मिता बिष्टबीच बहस भएको थियो । सुमन लिङ्देनले सहजीकरण गरेको ‘मातृभाषाको सकस’ सत्रमा सुरेश किरण, चन्द्रकिशोर र गौरी तमुले बहस गरेका थिए ।

प्रा.अभि सुवेदीसँग ‘उमेरको कथा’ शीर्षकमा दीपक सापकोटाले कुराकानी गर्दा सुरज सुवेदीले सहजीकरण गरेको ‘सिनेमा : कस्तो मौलिकता’ सत्रमा केकी अधिकारी र मीन भामले बहस गरेका थिए ।

राजकुमार बानियाँले सहजीकरण गरेको ‘आख्यान : अन्तिम पात र नयाँ पालुवा’ सत्रमा मा नारायण ढकाल र बसन्त बस्नेतबीच बहस भएको थियोभने उदय अधिकारीले सहजीकरण गरेको ‘अक्षर मोह : अक्षर यात्रा’ सत्रमा शैलेन्द्र अधिकारी, शंकर तिवारी र टीका आत्रेयबीच छलफल भउको थियो।

राजा पुनियानीले सहजीकरण गरेको ‘प्रतिरोधी साहित्य’ सत्रमा प्रणय शंकर (दार्जिलिङ), विक्रम हथवार (कर्नाटक) र रुमी लश्कर बोरा (आसाम)बीच बहस भएको थियो ।

टीकाराम यात्रीले सहजीकरण ‘कस्तो राजनीति’ शीर्षकको अन्तिम सत्रमा डा.सीके राउत, प्रदीप ज्ञवाली र विश्वप्रकाश शर्माले बहस गरेका थिए । गजल साँझसँगै महोत्सव समापन भएको थियो ।

इलाममा पठन संस्कृतिको विकास गर्न,साहित्य मार्फत पर्यटनलाई टेवा दिन, रैथाने ज्ञानलाई प्रसार गर्न महोत्सव गरिएको संयोजक प्रकाश थाम्सुहाङले बताए । महोत्सवको अन्तिम दिन दसजना चित्रकारहरुले महोत्सवको दौरान बनाएको रातो पाण्डा (हाब्रे) संरक्षणमा आधारित चित्रकलाको प्रदर्शनी पनि राखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?