+
+

कोटिभिटी प्रकरणमा ३ सचिवसहित ४० कर्मचारी तानिने*

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २० गते १८:१९

२० चैत, काठमाडौं । सफ्टवेयर निर्माण गर्ने कम्पनी कोटिभिटीको राजस्व चुहावट प्रकरणमा कम्तिमा तीन जना सचिव तानिने निश्चित भएको छ । राजस्व अनुसन्धान विभागले कोटिभिटीको राजस्व चुहावट सम्बन्धी फाइल सोमबार अख्तियारमा बुझाएको छ ।

अख्तियार उच्च स्रोतका अनुसार सरसर्ती हेर्दा भ्याट फिर्ताको निर्णयमा संलग्न भएका तीन जना सचिव भइसकेका छन् । गणेश पाण्डे, दामोदर रेग्मी,  अर्जुनकुमार पोखरेल भ्याट फिर्ताको निर्णयमा संलग्न भएको भेटिएको अख्तियार स्रोतको भनाइ छ ।

तीमध्ये पाण्डे र पोखरेल हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत छन् । रेग्मीले अवकाश पाइसकेका छन् । यी बाहेक बहालवाला सहसचिवहरू शोभाकान्त पौडेल, गजेन्द्रकुमार ठाकुर, झक्कप्रसाद आचार्य, ढुण्डीराज निरौला, दीर्घराज मैनाली लगायत पनि भ्याट फिर्ताको निर्णय प्रक्रियामा संलग्न रहेको आन्तरिक राजस्व विभाग स्रोतले बतायो ।

राजस्व अनुसन्धान विभागले गत आइतबार ५ अर्ब १८ करोड रुपैयाँ राजस्व छलेको अभियोगमा कोटिभिटी नेपाल प्रालिविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको थियो । त्यही फाइलको अनुसन्धानमा राजस्व चुहावटमा कर्मचारीहरूको पनि संलग्न भएको उच्च सरकारी वकीलको कार्यालय पाटनको निष्कर्ष हो ।

अमेरिकाको कोटिभिटी इंक स्वास्थ्य सम्बन्धी तथ्यांक विश्लेषण गर्ने र सफ्टवेयर बनाउने अमेरिकी कम्पनी हो । उसले नेपालमा कोटीभीटी नेपाल प्रालिका नाममा कम्पनी खोलेर सफ्टवेयर निर्यातको काम गर्थ्याे  । २०६२ सालमा स्थापना भएको कम्पनी पटकपटक नाम फेरेर कोटिभीटीको नाममा सञ्चालित छ ।

उसले सफ्टवेयर बनाएर अमेरिकाको कोटिभीटी इंकलाई निर्यात गर्थ्याे । राजस्व अनुसन्धान विभागको दाबीमा, त्यसरी सफ्टवेयर निर्यात गर्दा १३ प्रतिशत भ्याट लिनुपर्नेमा भ्याट छुट दिएर राजस्व चुहावट गरेको हो । त्यसका साथसाथै एक रुपैयाँ पनि भ्याट नबुझाएको कम्पनीलाई कर कट्टाका नाममा भ्याट फिर्ता दिने निर्णय भएको थियो ।

राजस्व अनुसन्धान विभागले कोटिभीटी नेपालमाथि कम्पनीको स्वामित्व हस्तान्तरण गर्दा पूँजीगत लाभकर र भ्याट छलेको आरोपमा ५ अर्ब १८ करोड रुपैयाँ राजस्व चुहावटको मुद्दा उच्च अदालत पाटनमा दर्ता गरेको हो । त्यसमा कोटिभिटीका सञ्चालकहरूले राजस्व चुहावट गरेको विभागको दाबी थियो ।

अनुसन्धानको फाइल हेरेको उच्च सरकारी वकीलको कार्यालय, पाटनले निर्णय प्रक्रियामा संलग्न राजस्व प्रशासनका कर्मचारीहरूमाथि भ्रष्टाचारको आरोपमा अनुसन्धान गर्नुपर्ने देखिएको भन्दै फाइल अख्तियारमा पठाउन राय लेखेको छ ।

उच्च सरकारी वकीलको कार्यालय, पाटनका उपन्यायाधीवक्ता महेश खत्रीले तयार पारेको रायमा भनिएको छ, ‘कर असुल गर्नुपर्नेमा गरेको नदेखिएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ (क) र ७ (ख) आकर्षित हुने देखिएकोले थप अनुसन्धानको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लेखि पठाउने निर्णय समेत गरियो ।’

मूल्य अभिवृद्धि कर(भ्याट) ऐन, २०५२ को दफा ७ मा शून्य दरमा कर लाग्ने वस्तु तथा सेवा सम्बन्धी व्यवस्था छ । त्यसको अनुसूचीमा भएको व्यवस्था अनुसार, नेपालभित्र रहेको व्यक्ति (कम्पनी समेत)ले नेपाल बाहिर कुनै सेवा वा वस्तु आपूर्ति गरे कर लाग्दैन ।

तर त्यसका लागि नेपाल बाहिरको कम्पनीले नेपालमा व्यवसायिक प्रतिनिधि नराखेको हुनुपर्छ भन्ने शर्त छ । यही आधारमा कोटिभिटी नेपालले नेपालबाट अमेरिकामा सफ्टवेयर बनाएर निर्यात गर्दा भ्याट तिरेको थिएन ।

राजस्व अनुसन्धान विभागको दाबी भने फरक छ । अमेरिकाको कोटिभिटी इंकले आफ्नो शतप्रतिशत लगानीमा नेपालमा कोटिभिटी नेपाल प्रालि खोलेको हो । नेपालको कम्पनीले अमेरिकी कोटिभिटी इंक बाहेक अरूसँग कुनै व्यवसायिक कारोबार गर्दैन । त्यसैले नेपालमा भएको कम्पनीलाई अमेरिकी कम्पनीको प्रतिनिधि मान्नुपर्ने र त्यस्तो अवस्थामा १३ प्रतिशत भ्याट लाग्ने विभागको दाबी हो ।

राजस्व प्रशासनका कर्मचारीहरूले एकातिर कोटिभिटी नेपाललाई विदेश पठाउने सफ्टवेयरमा भ्याट छुट दिएका थिए । अर्कोतर्फ कोटिभिटीले नेपालमा तिरेको भ्याट पनि राजस्व प्रशासनका कर्मचारीहरूले फिर्ता दिएका थिए । विभागको दाबीमा, २०६२/६३ देखि चालु आर्थिक वर्षसम्म २० वर्षको अवधिमा ५१ करोड ३४ लाख रुपैयाँ भ्याट फिर्ता भएको हो ।

सुरूमा काठमाडौंको आन्तरिक राजस्व कार्यालय-३ ले कोटिभिटीको कर हेर्ने गरेको थियो । २०७४ सालमा मध्यमस्तरीय करदाता कार्यालय स्थापनापछि उसको कारोबार हेरेको थियो । करिब २० वर्षको कर निर्धारण प्रक्रियामा अनुसन्धान गरेको राजस्व अनुसन्धान विभागले कर अधिकृतहरू अर्जुन भट्टराई र शम्भु मरासिनीले भने उनीहरूलाई भ्याट निर्धारण गर्नुपर्ने राय दिएका थिए । कर अधिकृत हेमन्त न्यौपानेले पनि भ्याट फिर्ता दिन अस्वीकार गरेको अनुसन्धानका क्रममा खुलेको छ ।

कोटिभिटीमाथि एन्सेलको खरिदबिक्रीमा जस्तै पूँजीगत लाभकर छलेको आरोप समेत छ । जसमा भने राजस्व प्रशासनका कर्मचारीहरूको ‘बदनियतपूर्ण भूमिका’ नदेखिएको राजस्व अनुसन्धान विभाग सम्बद्ध स्रोतले बतायो । अनुसन्धान अघि बढेपछि राजस्व अनुसन्धान विभागका अधिकारीहरूले आन्तरिक राजस्व विभागका कर्मचारीहरूलाई कर परिक्षणको काम अघि बढाउन भनेका थिए, तर विभागबाट प्रक्रिया अघि बढेन ।

सुरूमा अर्कै नाममा कम्पनी खोलेको कोटिभिटीले पटकपटक नाम परिवर्तन गरेको छ । सन् २०१६ मा ८२० मिलियन अमेरिकी डलरमा कम्पनी बिक्री हुँदा पूँजीगत लाभकर छलेको विभागको दाबी छ । अनुसन्धान अघि बढाएपछि उसले ‘इन्फिनिट कम्प्युटर सर्भिसेज’ भनी कम्पनीको नाम फेरेको छ । सञ्चालकहरू भने उही छन् । साथै पुरानो कम्पनी कोटिभिटी खारेजीको प्रक्रियामा गएको छ ।

उच्च सरकारी वकीलको कार्यालय पाटनले अमेरिकामा स्थापना भएको मूल कम्पनीका लागि कारोबार गर्ने व्यवसायिक प्रतिनिधित्व भएको सहायक कम्पनीले गरेको कारोबारमा भ्याट लाग्ने राय लेखेको छ । शून्य दरमा कर लाग्ने (कर नलाग्ने) प्रावधान आकर्षित नहुने अवस्थामा समेत कर नलाग्ने अर्थ लगाइ कर असुल नभएको भन्दै उसले भ्रष्टाचारमा अनुसन्धान हुनुपर्ने भनेको हो ।

उपन्यायाधीवक्ता महेश खत्रीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ (क) (ख) आकर्षित हुने भनेका छन् । उक्त दफामा राजस्व असुल नगर्ने वा घटी असुल गर्नेहरूलाई भ्रष्टाचारको सजाय भइ दोब्बर जरिवाना हुने व्यवस्था छ । उनले रायमा लेखेका छन्, ‘थप अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लेखि पठाउने निर्णय समेत गरियो ।’

(*गजेन्द्र ठाकुरको पद सहसचिव हुनुपर्नेमा अवकाशप्राप्त सचिव भनी उल्लेख भएकाले सच्याइएको छ–सं.)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?