+
+
नियात्रा :

त्रिपुरासित जम्काभेट

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २० गते १८:४१

तीन बजे पुग्यौँ हामी त्रिपुराकोट । सरस्वती र प्रभा पुगिसक्नुभएको रहेछ । त्रिपुराकोटका कर्मचारी सङ्गठनका साथीहरू हाम्रै प्रतीक्षामा हुनुहुँदो रहेछ । सबैसँग परिचय गाँस्यौँ । खादा–चियासहितको अत्यन्त मीठो आत्मीयताका साथ भव्य स्वागत गर्नुभयो उहाँहरूले ।

उतिखेरै त्रिपुराकोट हाम्रो बन्यो ! हामी त्रिपुराकोटका बन्यौँ !

हीराचन्द्र घोराला हामीलाई त्रिपुरासुन्दरीको मन्दिर घुमाउन तम्सिए । हामी झोलाझाम्टा होटलमा थन्क्याएर लाग्यौँ मन्दिरतर्फ । दश–पन्ध्र मिनेटको दम्स्याइलो–दम्स्याइलो उकालोपछि पुग्यौँ कोटगाउँमा, जहाँ डोल्पालीहरूकी आस्थाकी धरोहर बाला त्रिपुरासुन्दरी भगवतीको बास रहेछ ।

यस्तो विकट ठाउँमा अवस्थित मन्दिरको झल्झलाकार स्वरूप देखेर चकित भएँ म । टायल, मार्बल, इँटा, ढुङ्गाका सिँढीहरू, सफासुग्घर प्राङ्गण, स्टिलका रेलिङ… झकिझकाउ रहेछ मन्दिर । ०७२ सालमा भारतले मन्दिर निर्माणका लागि सवा तीन करोड अनुदान दिएको रहेछ ।

मन्दिर वरिपरि टाढाटाढाबाट आउने भक्तजनलाई बसोबास गर्न बनाइएका धर्मशाला, बाबाजीहरूले धुनी जगाउने मठहरू देखिए । मन्दिरका मूल पुजारीलाई भने भेट्न पाइएन ।

त्रिपुरासुन्दरीको मन्दिर कोटगाउँको टुप्पोमा रहेछ । यहाँबाट पूर्वपट्टि भेरी नदी, त्रिपुराकोट बेँसीको फाँट, बजार, पश्चिममा छलगाड र छलगाउँ, उत्तरमा कागमारा हिमाल र दक्षिणमा मुकुटेश्वर हिमाल छर्लङ्ग देखिए । आफैँ अग्लो ठाउँमा बसेर भक्तजनहरूको रेखदेख गर्दिरहिछिन् त्रिपुरा ।

साँझ पर्न-पर्न लागेको समय, परिसरमा गाडिएका अग्लाअग्ला लिङ्गाहरूमा फरफराइरहेका विशाल ध्वजाहरू, सफासुग्घर परिसर अनि वरिपरिको मनोहर प्रकृति; मन बडो आनन्दित भइरह्यो ।

बाला त्रिपुरासुन्दरीको मन्दिरभित्र देवीको मूर्ति थिएन, प्राचीन शिला राखिएको थियो । भक्तजन तिनै शिलालाई आदिशक्ति पीठ मानेर दर्शन गर्दा रहेछन् । भक्तजनले चढाएका मूर्तिहरू भने मन्दिरमै स्थापना गरिएका रहेछन् ।

‘परिवारमा कसैलाई रोगव्याधि लाग्यो या केही सङ्कट आइपर्‍यो भने हामी यही मन्दिरमा आउँछौँ र माताको शरणमा पर्छौं । माताले हाम्रो पुकार सुनिदिनुहुन्छ । माताकै काखमा बासस्थान छ यसैले आजसम्म कुनै अनिष्ट भोग्नुपरेको छैन’ हीराचन्द्रले सुनाए ।

त्रिपुरासुन्दरी डोल्पालीहरूकी राजरानी नै रहिछिन् । यौटी सजीव देवीका रूपमा मान्दारहेछन् डोल्पालीहरू त्रिपुरालाई ।

रञ्जु दाहाल

खप्तडबाबा यहीँ सिद्धि प्राप्त गरेर खप्तड गएका रहेछन् । स्वामी प्रपन्नाचार्य पनि यहाँ आएर केही समय बसेका थिए अरे ! शाहवंशीय राजाहरू वर्षमा एक पटक बाला त्रिपुरा-सुन्दरीको दर्शन गर्न आउँथे रे ! राजा वीरेन्द्रको वंशनाश हुनुपूर्व बाला त्रिपुरासुन्दरीको मूल लिङ्गो भाँचिएको थियो रे ! यहाँका लिङ्गाहरू भाँचिए भने देशमा कुनै अनिष्ट हुन्छ भन्ने जनविश्वास रहेछ ।

मैले माताको चरणमा दण्डवत् गरेँ र पुकार पनि गरेँ- ‘यी परिश्रमी, स्वाभिमानी निश्छल डोल्पालीहरूकी यसै गरी सधैँ आस्थाकी शिखर बनिरहनू माता !’

यही पावन तीर्थस्थलमै रहेछ- दुनैमा भेट भएका विष्णु न्यौपानेको घर । मन्दिरबाट फर्किदै गर्दा उनीसँग उनकै आँगनमा टुप्लुक्क भेट भयो । उनको ‘चिया पिएर जाने’ आग्रहले खुशी थपिदियो । खुशी हुनुको कारण एकातिर चियाको तलतल, अर्कोतिर डोल्पालीहरूसँगको सामीप्य । न्यौपानेको आँगनमा गोलघेरा बनाएर बस्यौँ हामी । विष्णुको छेवैमा बसेर म भलाकुसारी गर्न थालेँ । बाला त्रिपुरासुन्दरीका बारेमा उनले सुनाएका धार्मिक, ऐतिहासिक पृष्ठभूमि र किंवदन्ती ज्यादै रोचक थिए ।

१११४ तिर अहिले यो मन्दिर भएको ठाउँमा यौटा धान कुट्ने ओखल थियो अरे । त्यो समयमा यो गाउँमा काजी विष्टहरूको बाहुल्य थियो । गाउँले विष्टहरू त्यही ओखलमा धान कुटाउन जान्थे । त्यो ओखलमा धान कुटाउँदा एक किसिमको चमत्कार हुने गथ्र्यो । कहिले दुई पाथी धान कुट्दा दुई माना चामल हुन्थ्यो । कहिलेचाहिँ दुई पाथी धानको पाँच पाथी चामल हुन्थ्यो ।

के कारण यस्तो भैरहेको छ ? बुझ्नका लागि काजी विष्टहरूले त्यो ठाउँमा खनेर हेर्ने योजना बनाएछन् । विष्टहरू दिनभरि खन्थे र रातमा विश्रामको लागि घर जान्थे । भोलिपल्ट बिहान हात–हतियार बोकेर आउँदा त हिजो खनेको ठाउँ खन्दै नखनेजस्तो हुन्थ्यो ! यो देखेर दिनरात विश्राम नलिईकन खन्ने योजना लिएर त्यसै गर्न थालेछन् । यो क्रम निकै दिनसम्म चलेछ ।

खन्दै जाँदा विष्टहरूले यौटा तामाको कुँडेमा भकभकी उम्लिरहेको घिउ र छेवैमा बलिरहेको घिउको बत्ती भेटेछन् । खन्ने क्रममा त्यहाँबाट नौ वटा पुतली निस्किएछन् । जसमध्ये यौटा पुतलीलाई खन्ने औजार बाउसोले लागेछ । उक्त घाइते पुतली उत्तिखेरै शिलामा परिणत भइछन् ।अरू नौ वटामा तीन वटा पुतली विष्टहरूले समात्न सफल भएछन् । ती समातिएका पुतली पनि उत्तिखेरै शिलामा परिणत भएछन् । तिनै चार पुतलीका शिलालाई विष्टहरूले सानु मन्दिर बनाएर राखेर पूजाआजा गर्न थालेछन् ।

चार पुतलीका शिलालाई चार देवी मानिँदो रहेछ–

१) बाला  २) त्रिपुरा  ३) सुन्दरी  ४) भगवती

यी चार देवीहरूका शिला स्थापना गरेर त्यही समयदेखि मन्दिर स्थापना भएको रहेछ ।

बाँकी पाँच पुतलीमा यौटी नेपालगन्ज पुगिछन् । नेपालगन्जकी बागेश्वरी देवी तिनै हुन् रे ! त्यसैगरी अर्की बाजुरा पुगिछन्, ती बडिमालिकाको नामले प्रसिद्ध छिन् । अर्की  जुम्लाकी सिँजा कणिकासुन्दरी, अर्की सल्यानकी भगवती र अर्की अर्घाखाँचीकी भगवती हुन् रे !

मन्दिरको आसपासमा मूलतः न्यौपानेहरूकै बसोबास रहेछ । न्यौपानेहरू यहाँ बसोबास गर्न थाल्नुको कथा पनि बडो रोचक लाग्यो ।

त्रिपुरासुन्दरी मन्दिर स्थापना भएपछि त्यस मन्दिरमा काजी विष्टहरूले नै पूजाआजा गर्न थालेछन् । एक रात पुजारीलाई सपनामा देवीले “मेरो पूजाअर्चना गर्न मूल पुजारी ब्राह्मण नै राखिदेऊ” भनिछन् । विष्टहरू ब्राह्मण पुजारी खोज्न थालेछन् । त्यसै समयमा मुक्तिनाथ दर्शनार्थ हिँडेका जुम्लाका एक ब्राह्मण मुकुन्द न्यौपाने संयोगले बास बस्न त्रिपुरासुन्दरीमै आइपुगेछन् । विष्टहरूले मानमनितोका साथ उनलाई बास दिएछन् र मूल पुजारी बसिदिन आग्रहसमेत गरेछन् ।

‘पहिले मुक्तिनाथ दर्शन गरेर आउँछु अनि सोचौँला’ भन्दै ती ब्राह्मण त्यहाँबाट उम्किएछन् । फर्किदा अर्कै बाटो फर्कूंला भनेर सोच्दासोच्दै पनि उनी घुमीफिरी बास बस्न फेरि त्रिपुरासुन्दरीमै आइपुगेछन् ।

भोलिपल्ट बिहान जुम्लातर्फ लाग्न खोज्दा पूरै अन्धकारले ढाकेछ बाटो नै नदेखिने गरी ! पश्चिम फर्किन्छन्, पूरै अन्धकार हुन्छ ! पूर्व मन्दिरतर्फ फर्किन्छन्, झलमल्ल उज्यालो देखिन्छ !

देवीले ‘यतै बसेर मेरो सेवा गर्’ भनेकी हुन् भन्ने बुझेर न्यौपानेले बिन्ती बिसाएछन्, ‘माता मलाई अहिले जान दिनूस् ! मेरो घर–व्यवहार मिलाएर म हजुरको शरणमा आउनेछु ।’

यति भनेपछि उनको बाटो खुलेछ ।

केही समयपछि उनी फर्किएर आएछन् र त्रिपुरासुन्दरीको पूजा–अर्चनामा लागेछन् । त्यहाँदेखि मन्दिरको मूल पुजारी न्यौपाने नै हुने चलन चलेको रहेछ । उनै न्यौपानेका सन्तति रहेछन् विष्णु पनि ।

त्रिपुरासुन्दरीको मन्दिरको दक्षिणपूर्वका चार अग्लाअग्ला लिङ्गामध्ये यौटा विक्रम शाहीको नाममा स्थापना गरिएको रहेछ । सेतो ध्वजा भएको उक्त लिङ्गोको ध्वजा विजयादशमी र चैते अष्टमीको दिन फेरिने गरिँदो रहेछ । सोही दिन उक्त लिङ्गोमा सेतो भेडा बली दिने चलन उहिलेदेखि चलिरहेकै रहेछ ।

दशैँको नवरात्रिमा यहाँ भव्य मेला लाग्ने रहेछ । पूजा–आजाका लागि टाढाटाढादेखि भक्तजन आउने रहेछन् । राँगा, बोका र कुखुराको बलि चढाउन आउनेको घुइँचो पनि उत्तिकै हुन्छ अरे ।

ईशाको सत्रौँ शताब्दीतिरका राजा विक्रम शाहीको राज्य पूर्वमा मुक्तिनाथदेखि पश्चिममा जुम्लासम्म फैलिएको थियो रे । उनले राज्यबिस्तार गरेका यी ठाउँहरूमा रहेका गुम्बा वा मठमन्दिरहरूमा शाहीको सम्झनास्वरूप यौटा हातको यौटा औँलो देखाएको र अर्को हातमा पात्र (भाँडो) मा अन्न लिएको तस्वीर वा मूर्ति राखिने गरिन्थ्यो रे ।

जनकल्याणकारी त्यागी ती राजाको यो मूर्तिले उनको चाहना प्रस्ट सङ्केत गर्दो रहेछ— ‘मेरा सम्पूर्ण प्रजाको पेटमा प्रत्येक दिन अन्न पुगोस् !’

शाहीको दरबार यहीँ माथि मुकुटेश्वर हिमालभन्दा तल देखिने थुम्कोमा थियो अरे ! भैरवी गङ्गा (ठूली भेरी), ताम्रवणि गङ्गा (छल गाड) र सुन्दरी गङ््गा (गल्ली गाड) को त्रिवेणीमा दिनहुँ स्नान गरेर त्रिपुरासुन्दरीको दर्शन नगरी उनी फलाहार गर्दैन थिए रे ।

शाहीका अति विश्वासिला अङ्गरक्षक रहेछन् सगुनी वीरे दमाई । विक्रमका सौतेनी भाइ मुकुन्दले राज्य हडप्ने उद्देश्यले दमाईलाई त्रिपुरासुन्दरीको मन्दिरनजिकै खड्ग प्रहार गरी काटेछन् । तिनैको स्मृतिमा मन्दिरनजिकै वीरथान स्थापना गरिएको रहेछ, जुन अहिले पनि देख्न पाइयो ।

आफ्नो दाहिने हात देवीकै अगाडि मारिएपछि ‘अब म बाँच्नुको कुनै अर्थ छैन । शत्रुको हातबाट मारिनुभन्दा तिम्रै चरणमा देहत्याग गर्छु ।’ भन्दै विक्रमले खड्गले आफ्नै छातीमा प्रहार गरी आत्मदाह गरेछन् ।

यो मन्दिरको आसपासका गाउँमा बसोबास गर्ने सबै जातजातिका मानिसलाई फरकफरक कार्य–विभाजन गरिदिएर सबैले भगवतीको सेवा गर्न पाउने परम्परा चलिआएको रहेछ । मन्दिरको मुख्य पुजारी न्यौपाने, फुलारा वा फूलपाती भित्र्याउने काम विष्टहरूको, राँगा–बोका बलि दिनका लागि किनेर ल्याउने काम कुलालले गर्दा रहेछन् । बलि दिने काम कठायतको हुँदो रहेछ । नवरात्रिका नवै दिन बाजा बजाउने काम दमाईले गर्दा रहेछन् । ध्वजाका लागि लिङ्गो काट्ने र गाड्ने काम सार्कीको हुने रहेछ । निशान वा भगवतीको प्रतीक बोक्ने कामचाहिँ शाहीको भागमा पर्दो रहेछ ।

दशैँको नवरात्रिमा यहाँ आउने दर्शनार्थी वा भक्तजनलाई खान र बस्नको व्यवस्थासमेत गरिँदो रहेछ । बाला त्रिपुरासुन्दरी विकास अक्षयकोषले मन्दिर निर्माण र व्यवस्थापनमा उल्लेख्य भूमिका निर्वाह गरिरहेको प्रस्ट देखियो ।

आजको हाम्रो बास त्रिपुराकोटमै तय थियो । हीराचन्द्रले घरमा फोन गरेर मार्सी चामलको भात पकाउने आदेश दिइसकेका थिए । चिया आउन बाँकी छँदै डोल्पाली माटोमा अङ्कुराएर फलेका तात्ताता उसिनेका आलुको डङ्गुर भत्काउन थाल्यौँ हामी ।

डोल्पाली माटोमै जन्मी, हुर्किएका, यही माटोलाई मलजल गर्दै डोल्पालीहरूकै सेवामा समर्पित, डोल्पासँग रगतको नाता भएका, बाल्यावस्था त्रिपुराकोटमा, पढाइ काठमाडौँमा पूरा गरी कर्मथलो आफ्नै जन्मभूमिको अर्को पाटो माथिल्लो डोल्पालाई बनाएका, डोल्पाका व्यक्तित्व विष्णु न्यौपाने साथमै हुनुको अतिरिक्त सुविधा हामीसित थियो ।

समयले जति पर्खिदिन्थ्यो, म त्यत्ति दङ्ग थिएँ । हुन त हतारो पनि त के नै थियो र ! सिङ्गो रात लमतन्न थियो हाम्रो अगाडि ।

विष्णुजी डोल्पाको सिङ्गो पुस्तक । म डोल्पा पढ्न चाहने पाठक । पुगेन त ?

बस ! पहिलो पृष्ठ पल्टाउने उत्कण्ठा जाहेर गरेँ । त्यसपछिका पाना उनैले पल्टाइदिए, ‘डोल्पा यो गोलाद्र्धकै यौटा विचित्रको पाटो हो । डोल्पामा नेपालकै अन्य जिल्लासँग मेल नखाने छुट्टै चालचलन, रीतिरिवाज र संस्कृति छन् । यहाँ बसोबास गर्ने मानिसहरूको रीतिथिति भिन्न छ । ऊऽऽ त्यो पारि देखिएको छलगाउँ हो । ऊ त्यहाँ लुङ्दर फरफराइरहेको देख्नुभो नि ! त्यो छलका बुडाल मस्टोको बासस्थान हो ।’ उनी धाराप्रवाह बोल्दै गए ।

डोल्पालीहरू धामीझाँक्रीमा धेरै विश्वास गर्दा रहेछन् । यहाँका अस्पताल खाली हुन्छन्, बिरामीहरूको लाइन धामीकहाँ हुन्छ अरे !

डोल्पालीहरू मस्टो देवतालाई कूलदेवताका रूपमा मान्दा रहेछन् । मस्टो देवता पनि ठाउँअनुसार फरक–फरक हुँदा रहेछन्— छल मस्टो, बुडाल मस्टो, गल्ली मस्टो आदि । डोल्पालीहरूको घरघरमा गाडिने लिङ्गो तिनै मस्टो देवताको नाममा गाडिएका हुँदा रहेछन् । लिङ्गो विधि–विधानअनुसार प्रत्येक वर्ष फेरिने गरिँदो रहेछ । डोल्पाको कूल जनसङ््ख्यामा बीस प्रतिशत त धामीझाँक्री नै रहेछन् ।

छलका बुडाल मस्टो मस्टोमध्यकै शक्तिशाली मानिदा रहेछन् । डोल्पालीहरू छल मस्टोलाई जिउँदो देवता मान्दा रहेछन् । बिरामी पर्दामात्र हैन, मुद्दा–मामिलाको फैसला, परीक्षाको नतिजा आदिमा पनि डोल्पालीहरू छल मस्टोको दर्शन गर्न आउँदा रहेछन् ।

‘छलका बुडाल मस्टोको अगाडि नि ! तपाईं गएर बसिदिनुभयो भनेमात्र पुग्यो ! तपाईंको मनका कुरा, तपाईंले अगाडि गर्नुभएका काम, भविष्यमा गर्ने काम सबैसबै देवताले बताइदिनुहुन्छ; फरकै पर्दैन !’ विष्णुले थपे ।

भविष्यवाणीका लागि गल्ली मस्टो शक्तिशाली मस्टो रहेछन् । मन्दिरमा पूजा गर्ने क्रममा वा मन्दिरको भौतिक संरचना मर्मत, निर्माणको क्रममा केही भूलचुक हुन गयो भने गल्ली मस्टोले सचेतना दिने र उहाँको आज्ञाविना कुनै कदम नचालिने गरेको विष्णुले सुनाए ।

अहिलेका युवा, त्यसमा पनि शिक्षित पुस्ताका विष्णु र हीराचन्द्रमा समेत निहित धामी–झाँक्रीप्रतिको विश्वास देखेर म त छक्कै परेँ ! मलाई डोल्पाका अन्य मानिस झारफुक र धामीझाँक्रीमा कति धेरै विश्वास राख्दा हुन् भनेर अन्दाज लगाउन कुनै गाह्रो भएन ।

माथिल्लो डोल्पामा कार्यरत विष्णु हिजोमात्र यता आएका रहेछन् । दशैँ मनाउन घर आएपछि एकै चोटि वैशाख लागेपछि मात्रै माथि चढ्नुपर्ने रहेछ । असोजदेखि वैशाखसम्म माथिल्लो डोल्पाका कार्यालय, विद्यालयहरू बन्द हुँदा रहेछन् ।

गफैगफमा उनी जन्मथलो छाडेर कर्मथलोको वर्णनतिर फर्किन थाले, ‘दुनैका उत्तर र पूर्व भेगमा रहेका गाउँहरू– शहरतारा, गुम्बातारा, तिप्लातिर चैती पर्व मनाउँछन् । यो पर्व एक महिनासम्म चल्छ । यो समयमा गाउँलेहरू घरका वा खेतबारीका कुनै काम गर्दैनन् । कुचोसम्म पनि लगाउँदैनन् । मीठामीठा परिकार पकाउने, गाउँलेहरू जम्मा हुने, छ्याङ खाने गर्छन् । चैती पर्व चैतमा नमनाएर मध्य हिउँद वा हिउँ पर्ने समय पुसमा मनाइन्छ ।’

त्यतातिरको विवाह–परम्परा पनि छुट्टै रहेछ । गाउँका युवायुवतीहरू नाचगान गर्न, छ्याङ खान, रमाइलो गर्न रातको समयमा भेला हुँदा रहेछन् । यसका लागि उमेर पुगेका छोराछोरीलाई आमाबुबाले पनि कुनै छेकबार गर्दा रहेनछन् । रमाइलो–रमाइलोमै युवायुवतीले आफ्नो लागि उपयुक्त वर–वधू छान्दा रहेछन् र रात सँगै बिताउँदा रहेछन् । पछि दुई परिवारले धुमधामका साथ उनीहरूको बिहे गरिदिँदा रहेछन् । यस्तो परम्परालाई ‘छोट्टी बस्ने’ भनिँदो रहेछ । मैले घटराज भट्टराईको ‘डोल्पाकी छोट्टी’ सम्झिएँ ।

विष्णुबाट ‘म मेरै देशको रीतिथिति सुन्दै छु’ जस्तो लाग्दै लागेन । यस्तो लाग्यो— पश्चिमाहरूले ‘लिभिङ टुगेदर’ को संस्कार हाम्रै देशबाट सिकेका त हैनन् ?

विष्णुले मलाई माथिल्लो डोल्पाका भिजेर, साल्दाङ, धो गाउँतिर पु¥याउन थाले, ‘माथिल्लो डोल्पातिर नि ! सबैभन्दा नजिकको र आत्मीय मित–मितिनीको सम्बन्धलाई मानिन्छ । घरमा मित पाहुना आउनुलाई उनीहरू शुभ मान्छन् । मितलाई सम्पूर्ण सुविधा दिएर खुशी पार्नु देवतालाई खुशी पार्नु हो भन्ने उनीहरूको ठम्याइ हुन्छ । मितलाई खुशी पार्ने क्रममा उनीहरू यतिसम्म सुविधा दिन्छन् कि— आफ्नी पत्नीसमेत मितलाई सुम्पिदिन्छन् । आजकल भने तलतिरका टाठाबाठाले माथिल्लो डोल्पालीहरूको त्यो सोझो र निश्छलपनको गलत फाइदा उठाउने गरेका

छन् ।’

उनले थपे, ‘डोल्पामा बहुपति प्रथा पनि अझै छँदै छ । यौटा परिवारका पाँच–छ भाइले यौटै केटीसित बिहे गर्छन् र घरजम चलाउँछन् ।’

मलाई लाग्यो– कतै महाभारतका पात्रहरू पाँच पाण्डव र द्रौपदीलाई डोल्पाबाट झारेर हस्तिनापुर पु¥याएको त हैन ? आखिर हामीले अचम्म मानिरहेको त्यस्तै संस्कृति डोल्पामा अझै रहेछ त !

डोल्पामा यौटा अचम्मको चलन पनि जीवितै रहेछ । पति घरबाट बाहिर परदेशमा भएको बखत यदि पत्नी परपुरुषबाट गर्भवती भइन् भने खर्चको जिम्मेवारी परपुरुषले नै लिनुपर्दो रहेछ । गर्भवती बनाउने उक्त पुरुषले सुत्केरी खर्च, बच्चा र सुत्केरीका स्याहार–सुसारका सम्पूर्ण सरजाम, घ्यु, चामल इत्यादि खाद्यान्नको व्यवस्था गर्नुपर्ने रहेछ । के–के र कति–कति दिने भन्ने कुरा गर्भवती नारी र समाज बसेर निर्णय गर्दो रहेछ । त्यति भर्पाइ गरिसकेपछि उनको पति उक्त बच्चाको बाउ बन्न तयार हुँदा रहेछन् । यस्तो घटनामा नारीलाई लाञ्छित गर्ने, दोषी घोषित गरिने वा इज्जत–बेइज्जतजस्ता कुराको कुनै गुन्जाइस नहुँदो रहेछ ।

म डोल्पोमै बसेर डोल्पो पढिरहेकी थिएँ । यो नाममात्रले पुग्ने वा पुग्यो भन्नमात्र सुहाउन डोहोडोहो अर्थात् पुगेस–पुगेस अध्ययनले मभित्र झन्झन् यात्राको भोक जगाइरहेको थियो । त्यसमाथि माथिल्लो डोल्पो घुम्ने रहर यति तीव्र बन्दै गयो कि त्यतैबाट उक्लिऊँझैँ पो भयो !

आफूलाई जतिसक्दो छिटो फर्काउनु छ गाँसको व्यवस्थापनतर्फ ! फिर्नु छ आफ्नै बाध्यतातिर ! मनमा हुटहुटी लगाउँदै चलेको आँधीले भने टिकिखान दिएन बा !

त्रिपुरासुन्दरीमा साँझको आरती सुरु भयो । मन्दिरमा बजेको घण्टीको धून र खच्चडहरूको घाँटीको घण्टीको धून उस्तै लागे, त्यस्तै सुमधुर ! त्यस्तै आनन्दप्रद ! माताको मन्दिरतर्फ फर्किएर याचना गरेँ, ‘माता ! म तिम्रो डोल्पोको भक्त भएँ ! तिम्रा डोल्पोवासी मनहरूसँग ढुकढुकी साट्न चाहन्छु । मलाई छिट्टै बोलाऊ है !’

रात झमक्कै परिसकेको थियो । डोल्पोको दश दिने भ्रमणमा म सबैभन्दा बढी निस्ताएकी थिएँ— दही–दूधसँग । त्यसको सङ्केत गरेकीमात्र के थिएँ, हीराचन्द्र दहीदूधको खोजीमा गाउँ पसिसकेछन् !

ओहो ! कस्तो आत्मीयता ! कति प्यारो सत्कार ! भर्खरै भेटिएका डोल्पालीहरू जन्मजन्मान्तरदेखिका चिरपरिचितजस्ता बनिदिए । कति पवित्र हावा, पानी र मन यहाँको ! छलकपटरहित, नाफा र घाटाको लेखाजोखारहित ! सिर्फ मानवीय सम्बन्ध ! सम्बन्धमध्येकै उच्च सम्बन्ध ! सुखद सम्बन्ध !!

विष्णु न्यौपानेसँग बिदा माग्दै गर्दा ज्ञानको यौटा विशाल सङ्ग्रहालयबाट बाहिरिँदै छु जस्तो आभास भयो ।

पवित्र तीर्थस्थलमै बसेर हामीले भोलिको जीपयात्रा र पर्सिको हवाईजहाजको यात्रायुक्त फिर्ती योजना बनायौँ । त्यही काठमाडौँ खाल्डोतिरको यात्रायोजना, जहाँको एक घण्टीको प्रतीक्षा गर्दागर्दै मेरो डोल्पायात्रा सकियो ।

एऽऽ एऽऽ ! हैन है ! यसपालिको यात्रामात्रै सकिएको हो ! ‘घुमीफिरी रुम्जाटार !’ दिन आउँछ नि हगि फेरि जानलाई !

‘यो घामले झुल्किनु, डुब्नुपर्छ

यो यामले फेरि वसन्त छर्छ

घुम्दै छ संसार, न मान्छ झर्को

जन्मिन्छ यौटा अनि जान्छ अर्को ।’

रञ्जु दाहालको हालै प्रकाशित यात्रा निबन्ध ‘डोहोडोहो डोल्पो’ बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?