+
+

निकिता पौडेल आबद्ध साई स्वागत सहकारीमा महानगरको छापा

सफ्टवेयर सहित कागजात जफत

सहकारी संस्थाकी निवर्तमान उपाध्यक्ष निकिता पौडेल जमानी बसेर ऋण दिइएको मान्छे नै भागेको तथा बचतकर्ताले सञ्चालक समितिबाट रकम हिनामिना गरेको भन्दै बचत फिर्ता दिन बचतकर्ताले महानगरमा उजुरी दिएका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २१ गते १८:३८

२१ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेल निर्वतमान उपाध्यक्ष रहेको साई स्वागत बचत तथा ऋण सहकारीमा छापा मारेको छ ।

महानगरपालिकाको सहकारी विभागले लामो समयदेखि बचतकर्ताको उजुरीका आधारमा ‘रेकी’ गरिरहेको सहकारीमा बुधबार विभागका कर्मचारी, महानगर प्रहरी सहित टोलीले छापा मारेको हो ।

महानगरको अनुगमन टोलीका एक सदस्यका अनुसार बिजुलीबजारमा रहेको सहकारी कार्यालयबाट पछिल्लो साधारणसभाको उपस्थिति निर्णय सहित माइन्युट, सहकारीबाट ऋण लिने ऋणीको विवरण, बचतकर्ताको विवरण ल्याएको छ ।

यस्तै धेरै ऋण लैजाने ऋणी, सञ्चालक समितिका सदस्यहरूको विवरण पनि टोलीले ल्याएको छ । सहकारीको सफ्टवेयर सिस्टम पनि महानगरको टोलीले ल्याएको हो ।

महानगरपालिका अनुसार धेरै उजुरी आएका ४० सहकारीमध्ये साई स्वागत बचत तथा ऋण सहकारी पनि एक हो ।

महानगर सहकारी विभागमा उपाध्यक्ष पौडेल जमानी बसेर ऋण दिएको मान्छे नै भागेको भन्दै उजुरी आएको थियो ।

विभागका अनुसार बचतकर्ताले सञ्चालक समितिबाट रकम हिनामिना गरेको भन्दै बचत फिर्ता दिन महानगरमा उजुरी दिएका थिए ।

यसरी सञ्चालक समितिका तत्कालीन उपाध्यक्ष पौडेल र अर्का एकले ७० लाख रुपैयाँ सहकारीबाट निकालेको बचतकर्ताको आरोप थियो । तर, उक्त रकम सहकारीलाई फिर्ता गरिसकेको अनुगमन समितिलाई सहकारी व्यवस्थापकले जानकारी दिएका थिए ।

सहकारीले नयाँ सञ्चालक समिति चयन गरेको भएपनि संस्थाको पूर्वअध्यक्ष भरतजंगम र उपाध्यक्षमा गृहमन्त्री पत्नी निकिता पौडेल छन् । सोही सहकारी दुई वटा समूह छ ।

भरत जंगमभन्दा बाहेकको समूहले अर्को सहकारीलाई संस्थासँग मर्जर गरेको देखिएको महानगरले जनाएको छ । सोही समूहले पूर्वअध्यक्ष भरत जंगमको हस्ताक्षर किर्ते गरेर अन्तर सहकारी सापटी लिएको तर त्यो रकम सहकारीमा दाखिला नभई बाहिर नै कारोबार भएको जस्ता प्रमाण फेला परेको स्रोतको दाबी छ ।

चार्टर्ड एकाउन्टेन्ट सहितको टोलीले ८० वटा सूचकमा आधारित रहेर महानगरका ४० वटा सहकारीको अनुगमन गरेको छ । ४० वटा सहकारीमध्ये साई स्वागत बचत तथा ऋण सहकारी पनि एक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?