+
+

भरतपुर अस्पतालको नर्सिङ कार्यक्रम बाहिर सार्ने चलखेल

सुवास पण्डित सुवास पण्डित
२०८० चैत २२ गते ९:४२

२२ चैत, चितवन । चितवनको भरतपुर अस्पतालका लागि छुट्टाइएको ३० विगाहा ११ कठ्ठा ६ धुर जग्गामध्ये अधिकांश विभिन्न निकायहरुलाई बाँडिएको छ । तर अस्पताल भित्रै चलिरहेको नर्सिङ कार्यक्रमलाई ठाउँ अभाव भएको भन्दै बाहिर सार्ने निर्णय अस्पताल विकास समितिले गरेको छ ।

भरतपुर अस्पतालका मेसु डा. श्रीराम तिवारीले अस्पतालमा स्थान अभाव भएकाले बाहिर भाडामा भवन लिएर नर्सिङ कार्यक्रम चलाउने निर्णय भएको जानकारी दिए । ‘अहिले नर्सिङ कार्यक्रम चलिरहेको ‘बी’ ब्लकको सबैभन्दा माथिल्लो तलालाई अस्पताल प्रयोजनका लागि उपयोग गर्ने र नर्सिङ कार्यक्रम अन्यत्रै भाडामा भवन लिएर चलाउने निर्णय गरिएको छ,’ डा. तिवारीले भने ।

अस्पतालमा बिएसी नर्सिङ (४० कोटा), बिएनएस (२० कोटा) र बिएमएस (२० कोटा) कार्यक्रम चलिरहेका छन् । अस्पतालमा पिसिएल नर्सिङको तेस्रो वर्षको कार्यक्रमका विद्यार्थी पनि छन् । आगामी आर्थिक वर्षदेखि पिसिएलमा नयाँ विद्यार्थी पनि हुन्छन् ।

अस्पतालले भरतपुर–१२ मा ओएसिस मेडिकल कलेजले पहिला चलाउँदै आएको र अहिले बन्द रहेको नर्र्सिङ भवन भाडामा लिने तयारी गरेको छ । अस्पतालले नर्सिङ कार्यक्रम चलाउन मासिक २ लाख रूपैयाँसम्म भाडा तिर्ने गरी सूचना निकाल्ने तयारी भइरहेको अस्पताल स्रोतले बतायो ।

विरोध

आफूसँग भएको जग्गा र भवन प्रयोग नगर्ने तर बाहिर भाडामा भवन लिएर नर्सिङ कार्यक्रम चलाउन खोजेको भन्दै अस्पताल विकास समितिको निर्णयको विरोध सुरु भएको छ ।

अस्पतालको अहिलेको ‘ए’ ब्लकको माथिल्लो तलामा अस्थायी संरचना बनाएर कार्यक्रम चलाउने सम्भावना र विभिन्न विकल्प हुँदाहुँदै बाहिर बाहिर लैजाने निर्णय गरिनु गलत भएको अस्पतालका पूर्वअध्यक्ष विजय सुवेदी बताउँछन् । ‘अस्पतालमा रकमको अभाव छैन, छ भने इच्छाशक्तिको अभाव छ, भित्र चलिरहेको कार्यक्रम बाहिर लैजानु गलत मनासय हो,’ पूर्वअध्यक्ष सुवेदीले भने, ‘जग्गा पनि छ, पैसा पनि छ, विकल्प पनि छ भनेपछि किन भित्र चलिरहेका कार्यक्रम बाहिर लैजाने ?’ नर्सिङ कार्यक्रम अस्पताल परिसर भित्रै सन्चालन हुँदा सेवा प्रवाह सहज हुने र खर्च पनि कम हुने उनको भनाइ छ ।

अस्पतालको जग्गा अरुलाई बाँडेर सक्ने अनि नर्सिङ कार्यक्रम चलाउने ठाउँ भएन भनेर बाहिर भाडामा लैजाने निर्णय गर्नु सरासर गलत भएको अस्पताल विकास समिति कर्मचारी युनियनका अध्यक्ष डा. दीपेन्द्र न्यौपानेले बताए । ‘अस्पताल भित्र सेवा प्रवाहको गुणस्तरसमेत बढाउन महत्वपूर्ण रहेको नर्सिङ कार्यक्रम स्वार्थ समूहको प्रभावमा परेर बाहिर लैजाने निर्णय गरिनु सरासर गलत छ’ उनले भने । डा. न्यौपानेले नर्सिङ कार्यक्रम कुनै पनि हालतमा बाहिर लैजान नदिने बताए ।

अस्पतालका मेसु डा. तिवारीले नर्सिङ कार्यक्रम चलाउनका लागि १०÷११ करोड बजेट आवश्यक पर्ने तर अस्पतालसँग सो रकम नहुँदा समस्या आएको बताए । ‘सकभर त आफ्नै भवन बनाएर चलाउन पाए हुन्थ्यो, तर बजेट छैन, संघीय सरकारले रकम दिँदैन,’ मेसु डा. तिवारीले भने, ‘अस्पतालको आन्तरिक स्रोतबाट अस्पताल विकास समितिका कर्मचारीलाई तलव भत्ता खुवाउने कि भवन बनाउने ?’

उनले भरतपुर जस्तो केन्द्रीय अस्पतालमा चालु वर्षमा उपकरण लगायतका शीर्षकमा जम्मा पुँजीगत खर्च ७ करोड मात्रै आएको बताए । महानगरपालिका, प्रदेश सरकार, संघीय सरकारबाट बजेट ल्याउन नसकिएको डा. तिवारीको बुझाइ छ । अस्पताल विकास समितिले लगानी गरे पनि बिरामीबाट रकम उठाउन नसकिने र विभिन्न छुटहरुका कारणले पनि समस्या परेको डा. तिवारी बताउँछन् ।

जबकी भरतपुर अस्पतालले केही कठ्ठा जग्गामा बनेको अस्थायी टिनको संरचनाको भाडा मासिक २ लाख तिरेर नर्सिङ कार्यक्रम चलाउन खोजिरहेको छ ।

जग्गा बाँड्ने अस्पताल

भरतपुर अस्पतालसँग जोडिएको ९ बिघा जग्गा पुरानो मेडिकल कलेजले प्रयोग गर्दै आएको छ । पुरानो मेडिकल कलेजलाई भरतपुर अस्पतालले प्रतिबिघा एक लाख रुपैयाँमा मात्रै जग्गा भाडामा दिएको छ ।

निकै सस्तो भाडा पुरानो मेडिकल कलेजले तिरे पनि अस्पतालको जग्गा उपभोग गरेका अन्य निकायले भाडा तिर्दैनन् । अधिकांशले सरकारी अस्पतालको जग्गा आफूखुसी भोगचलन गरिरहेका छन् । कतिपय राज्यकै निकायबाट त, कतिपय अस्पताल विकास समितिमा आउने विभिन्न अध्यक्षहरूका स्वार्थका कारणले अस्पतालको जग्गा बाँडिएको देखिन्छ ।

३० बिघा ११ कठ्ठा ६ धुर जमिन भरतपुर अस्पतालको नाममा छ । तर अस्पतालले करिव जम्मा १० बिगाहा मात्रै जमिन उपयोग गर्न पाएको छ । बाँकी जमिन अन्य निकायहरुले प्रयोग गर्दै आएका छन् ।

तत्कालीन राप्ती दुन विकास कार्यक्रम अन्तर्गत जग्गा वितरण गर्ने आयोगका टोली संयोजक कृष्ण बम मल्लले भरतपुर अस्पतालको लागि झण्डै ३१ विगाहा जग्गा छुट्याएका थिए । अस्पतालले निर्माण गरेको गुरुयोजनाको नापजाँच गर्दा करिब २९ विघा जमिन मात्रै देखिएको थियो । यसको अर्थ झण्डै डेढ विगाहा जग्गा अतिक्रमणको मारमा परेको देखिन्छ ।

भरतपुर अस्पतालको सबैभन्दा बढी जग्गा भाडा नतिरी लिनेमा स्कुल अफ हेल्थ साइन्स छ । स्कुल अफ हेल्थ साइन्सले अस्पतालालाई न त भाडा नै तिर्ने गरेको छ न त अस्पतालको शैक्षिक कार्यक्रम सञ्चालनका लागि सहयोग गरेको छ । अस्पतालको ६ विगाहा १९ कठ्ठा १० धुर जग्गा सित्तैमा सिटिइभिटीले प्रयोग गर्दै आएको छ ।

यस्तै भरतपुर आँखा अस्पतालले ३ विघा १७ कठ्ठा १० धुर जमिन भाडा नतिर्ने गरी उपभोग गर्दै आएको छ ।

रक्त सञ्चार केन्द्रले २ कठ्ठा १० धुर जमिन भाडा नतिर्ने गरी भोगचलन गरेको छ । स्वास्थ्य कार्यालय चितवनले १० कठ्ठा १० धुर जमिन अस्पतालको भाडा नतिर्ने गरी प्रयोग गरेको छ ।

साझा औषधि पसलले १ कठ्ठा १० धुर जमिन भाडा तिर्ने गरी लिएको छ ।

भरतपुर अस्पतालको जग्गामा धेरैले आँखा गाड्ने गरेका छन् । अस्पतालका अध्यक्ष भएर आउने कतिपय व्यक्ति र मेडिकल सुपरिटेण्डेन्टले अस्पताल बिकास समितिको बोर्ड बैठकबाट पनि विभिन्न सामाजिक संघसंस्थाका नाममा जग्गा बाँड्ने गरेका छन् ।

अस्पतालको जग्गामा थालेसेमिया सोसाइटी, रोटरी क्लब, बिभिन्न बैंकहरु, चिकित्सक संघ, नर्सिङ संघ, ब्लड बैंक, चितवन स्पाइनल इन्जुरी सेन्टर, क्षयरोग निवारण संस्था लगायतका दर्जन भन्दा बढी संघसंस्थाले अस्पतालको जग्गा माग गर्दै आएका छन् ।

सित्तैमा अस्पतालको जग्गा उपयोग गर्न पनि पाइने, भाडा पनि तिर्न नपर्ने र एकपटक लिएपछि सधैंका लागि कब्जा गर्न पाइने भएकाले अस्पतालसँग जग्गा माग गर्नेको ओइरो लाग्ने गरेको छ ।

पुरानो मेडिकल कलेज अघिल्तिर भएको नहरको जग्गा समेत भरतपुर अस्पतालको नाममा छ । तर नहर पुरेर सो क्षेत्रमा अहिले सडक बनाइएको छ । अब सो जग्गा सधैंका लागि अस्पतालको स्वामित्वबाट गुम्ने खतरा छ ।

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?