+
+

संकटा क्लबको महिला फुटबल टिम निर्माण

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०८० चैत २२ गते १३:४७

२२ चैत, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग क्लब संकटाले महिला फुटबल टिम निर्माण गरेको छ ।

शीर्ष लिग खेल्ने योजनासहित क्लबले महिला टिम बनाएको संकटा क्लबका सचिव तथा क्लबको ग्रासरुट एण्ड युथ डेभलपमेन्ट कोअर्डिनेटर आशिषमान सिंहले जानकारी दिए ।

हाल तीन विभागीय टिम त्रिभुवन आर्मी, नेपाल पुलिस र एपीएफ क्लबसँग मात्रै महिला फुटबल टिम छ । संकटा विभागीय बाहेक ए डिभिजन लिग खेल्ने क्लबहरुमध्ये महिला टिम निर्माण गर्ने पहिलो क्लब समेत बनेको छ ।

‘एएफसी क्लब लाइसेन्सको नियममा महिला टिम हुनुपर्ने प्रावधान रहेकोले निर्माण गरेका हौं,’ महिला टिमको संयाेजक समेत रहेका सिंहले भने ‘भविष्यमा एन्फाले गर्ने महिला राष्ट्रिय लिग खेल्ने लक्ष्य समेत छ ।’ यस बाहेक नकआउट फुटबल प्रतियोगिता खेल्ने प्रस्ताव आए त्यसमा पनि सहभागी हुने सिंहले जानकारी दिए ।

महिला टिमको प्रशिक्षण सुरू भएको चार दिन भयो । पुरुष टिमकै प्रशिक्षक रविन्द्र शिलाकारले नै महिला टिमलाई प्रशिक्षण दिइरहेका छन् । उनलाई अजय महर्जनले सघाइरहेका छन् । संकटाको महिला टिममा हाल २५ खेलाडी छन् । उनीहरूले टुँडिखेलमा प्रशिक्षण गरिरहेका छन् ।

‘अहिले राष्ट्रिय टिममा खेलेका खेलाडी छैनन् । तर प्रदेशस्तरमा खेलिसकेका र यु–१३ छनोटका लागि आएका खेलाडीहरू समावेश गरेर टिम तयार पारेका छौं,’ आशिषमान सिंहले भने । लामो समयका लागि महिला टिम निर्माण गरेकाले प्रायोजक पनि खोज्ने सिंहले बताए ।

नेपाल महिला फुटबलको कुनै स्थायी संरचना छैन । कहिले विभागीय टिम र प्रदेशसहितको प्रतियोगिता हुन्छ । कहिले विभागीय र नगरपालिका स्तरका टिम समावेश गरेर प्रतियोगिता हुन्छ । क्लब थोरै भएकाले पनि महिला फुटबलको संरचनामा एकरूपता आउन सकेको छैन ।

केही समयअघि अखिल नेपाल फुटबल संघ एन्फाले ए डिभिजन खेल्ने क्लबहरूले टिम निर्माण गरेमा महिला फुटबलको संरचना परिवर्तन गर्ने विषयमा समेत छलफल गरेको थियो । तर यसमा सबै क्लबले महिला टिम निर्माण गर्न नसक्ने भएपछि एन्फाले राष्ट्रिय महिला लिगमा प्रदेश र तीन विभागीय क्लब मात्र सहभागी गराउने घोषणा गरेको छ ।

राष्ट्रिय लिगको छनोटको रूपमा रहेको पहिलो चरणमा सात प्रदेशले प्रतिस्पर्धा गर्नेछन् । त्यसमा शीर्ष तीन स्थानमा रहने टिम र तीन विभागीय टिम गरी ६ टिम सहभागी राष्ट्रिय महिला लिग आयोजना हुनेछ ।

अन्य ए डिभिजन क्लबले पनि महिला टिम निर्माण गरेमा राम्रो हुने सिंहले बताए । ‘यसमा एन्फा, स्थानीय सरकार लगायतले सहयोग गरे भने सहज हुन्छ,’ सिंहले भने, ‘अहिले हामीले आफ्नै खर्चबाट महिला टोली बनाएका छौं । यसबारे स्थानीय सरकारसँग पनि छलफल गर्छौं ।’

संकटाको हाल पुरुष सिनियर टिमसँगै उमेर समूहका टिम समेत छन् । संकटाले माघमा सम्पन्न एन्फा यु–१६ युथ लिगसमेत खेलेको थियो । यस बाहेक क्लबले ललित स्मृति यु–१८ च्याम्पियनसिपको लागि समेत टिम बनाउने र ग्रासरुटमा यु–१२ टिम समेत रहेको सिंहले जानकारी दिए ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?