+
+

टुंगिए उपचुनावका प्रतिस्पर्धी

सइन्द्र राई सइन्द्र राई
२०८० चैत २२ गते २०:२५

२२ चैत, काठमाडौं । प्रतिनिधि सभाको सबभन्दा ठूलो दल नेपाली कांग्रेसले उम्मेदवार टुंग्याएसँगै आगामी १५ वैशाखमा हुने उपनिर्वाचनका प्रतिस्पर्धीको टुंगो लागेको छ ।

सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको संसदीय बोर्डको बैठकबाट कांग्रेसले इलाम–२ मा डम्बरबहादुर खड्का र बझाङ (क) मा अभिषेक सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । इलामबाट गत ७ चैत र बझाङबाट ५ चैतमा आकांक्षीहरूको नाम सिफारिस भएको थियो ।

बझाङको उम्मेदवार चयन गर्न कांग्रेसमा समस्या थिएन । गत वर्ष ५ असारमा सडक दुर्घटना परी ज्यान गुमाएका सांसद पृथ्वीबहादुर सिंहकै छोरा अभिषेकलाई उम्मेदवार बनाउन कांग्रेस केन्द्रीय नेतृत्व सहमत थियो । तर इलाम–२ को उम्मेदवार टुंगो लगाउन कांग्रेसले लगातार चार दिन बैठक राख्नु पर्‍यो ।

अन्ततः सभापति देउवा निकट खड्काले नै टिकट पाएका छन् । खड्काले उपनिर्वाचनमा प्रतिस्पर्धा गर्नुपर्ने उम्मेदवारहरू यसअघि नै तय भइसकेका छन् । नेकपा एमालेबाट सुहाङ नेम्वाङ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मिलन लिम्बु, एकीकृत समाजवादीबाट जीतबहादुर राई र पहिचान पक्षधरहरूका तर्फबाट डकेन्द्रसिं थेगिम स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रने घोषणा गरिसकेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बिहीबार चुनावी सभा गरेर लक्ष्मी गुरुङलाई उम्मेदवार घोषणा गरेको छ । अध्यक्ष राजेन्द्र लिङदेन सहित नेताहरुले चुनावी सभालाई सम्बोधन गरेका छन् । जनमत पार्टीका अध्यक्ष सिके राउत आफै इलाम पुगेर प्रेमकुमार थाम्सुहाङ (प्रेमदीप) लाई उम्मेदवार तय गरेका थिए ।

शनिबार मनोनयनको कार्यतालिका रहेकाले बाँकी साना दल र स्वतन्त्र उम्मेदवारहरुको टुंगो लाग्नेछ । तर विगतको राजनीतिक शक्ति सन्तुलनका आधारमा मुख्य प्रतिस्पर्धी भने टुंगो लागेको छ ।

दलहरूले उपनिर्वाचनको उम्मेदवार चयन गर्दा संगठनात्मक पकड, मतदाता रुझान, युवा र पहिचान जस्ता आधार मानेको देखिन्छ ।

एमालेः सहानुभूति र युवा

एमालेका तत्कालीन उपाध्यक्ष एवं संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको निधन भएपछि उपनिर्वाचन हुन लागेको यो क्षेत्रको बलियो शक्ति पनि एमाले नै हो । २०४८ साल यताको आमनिर्वाचनमा यो क्षेत्रबाट कांग्रेसले एकपटक मात्रै जितेको छ ।

कांग्रेसका प्रभावशाली नेता कुलबहादुर गुरुङले २०५१ सालको मध्यावधि जितेका थिए । २०४८ सालमा एमालेबाट जितेका मणिकुमार लिम्बुलाई हराएर गुरुङले मध्यावधि जितेपछि कांग्रेसले सधैं हार्दै आएको छ ।

ठीक विपरीत २०५६ सालको चुनावपछि सुवास नेम्वाङले यो क्षेत्रबाट कहिल्यै हारेनन् । पार्टी विभाजनको चोट, प्रतिनिधिसभा विघटन गर्ने कमजोर राजनीतिक एजेण्डा अनि पाँच दलीय गठबन्धनविरुद्ध एमालेले भाग लिएको गत वर्षको चुनावमा समेत नेम्वाङले जितेका थिए ।

पाँच दलीय गठबन्धनबाट साझा उम्मेदवार बनेका कांग्रेसका डम्बरबहादुर खड्काविरुद्ध ११४ मतको झिनो अन्तर नेम्वाङले निकालेका थिए । ३० हजार २० मत ल्याएर पाँचौं पटक लगातार चुनाव जितेका नेम्वाङको गत २६ भदौमा हृदयघातबाट निधन भयो ।

सुवासको निधन भएपछि रिक्त स्थानमा उनकै कान्छो छोरा सुहाङलाई एमालेले उम्मेदवार बनाएको छ । गत ११ भदौमा उम्मेदवार टुंगो लगाउँदै गर्दा एमालेले सुवास नेम्वाङप्रतिको सहानुभूति, पार्टीको संगठनात्मक अवस्था, युवाप्रति मतदाताको रुझान र इलामको समुदायगत अवस्था लगायत आधार मानेको थियो ।

गत वर्षको आमचुनावमा पार्टीगत (समानुपातिक तर्फ) मतमा एमाले सबभन्दा अगाडि छ । एमालेले २६ हजार ५६३ मत पाउँदा दोस्रोमा रहेको कांग्रेसले २२ हजार ३३ मत ल्याएको थियो । तेस्रोमा माओवादी केन्द्रले मत (५ हजार १५३ मत) र चौथोमा रास्वपाले ४ हजार ६८६ मत पाएको थियो । अरु दलहरूको उल्लेख्य मत छैन ।

माओवादीको समर्थन समेत पाएकाले एमालेका सुहाङ अब बलिया बन्न गएका छन् । जिल्ला कमिटीबाट एकल उम्मेदवार सिफारिस भएका धीरेन्द्र शर्मालाई रोकेर माओवादीले सुहाङलाई समर्थन गर्ने निर्णय गरेको छ । शर्माले २०७४ को आमचुनावमा इलाम–२ (ख) बाट वाम गठबन्धनका तर्फबाट प्रदेशसभा सदस्य जितेका थिए ।

कांग्रेसः निकटको मत र अनुभव

एमालेले उम्मेदवार टुंग्याएको १२ दिनपछि कांग्रेसले डम्बरबहादुर खड्कालाई उम्मेदवार बनाउनुमा प्रमुख आधार निकट विगतकै प्रतिस्पर्धालाई मुख्य आधार बनाएको छ ।

कांग्रेसले लगातार चुनाव हार्ने गरेको यो क्षेत्रमा खड्काले गत वर्षको चुनावमा नेम्वाङलाई कडा चुनौती दिएका थिए । यसपटक पार्टी मत जोगाउँदा खड्काले चुनाव जित्ने आकलन कांग्रेस नेताहरुको छ ।

३५ वर्ष नकटेकालाई प्रमुख प्रतिस्पर्धी दलहरुले उम्मेदवार बनाउँदा कांग्रेसले ५० वर्षका खड्कालाई उम्मेदवार बनाउनुमा अनुभव र संगठनको पडकलाई अर्को आधार मानेका छन् ।

२०७८ को जिल्ला अधिवेशनमा खड्काले भेषराज आचार्यलाई हराएर जिल्ला सभापति जितेका थिए । पार्टी संस्थापन प्यानलमा उभिएर जिल्ला सभापति जितेपछि प्रतिनिधिसभाको टिकट पनि हात पारेका थिए ।

कांग्रेसका एक नेताका अनुसार गत वर्ष चुनावमा टिकट पाउँदा देउवाले नै यो क्षेत्र आफ्नो कोटामा राखेका थिए । ‘यो क्षेत्रको टिकट मेरो भागमा परेको हो, उपनिर्वाचनमा डम्बरलाई अवसर दिनुपर्छ भन्ने शेरबहादुर देउवाको तर्कलाई अरु नेताले काट्न सकेनन्’, ती नेता भन्छन् ।

तीन दशक लामो राजनीतिक अनुभव रहेका खड्का २०७४ को चुनावमा भने प्रदेशसभा सदस्यको उम्मेदवार थिए । इलाम–२ (क) बाट कांग्रेसको उम्मेदवार बनेका खड्कालाई एमालेका राम रानाले हराएका थिए ।

२०५१ मा तरुण दलको जिल्ला सभापति, २०५८ मा तरुण दलको केन्द्रीय सदस्य, २०६४ मा केन्द्रीय उपाध्यक्ष हुँदै पार्टी राजनीतिमा आएका खड्का २०६७ मा जिल्ला कोषाध्यक्ष र २०७८ मा जिल्ला सभापति बनेका थिए ।

निर्माण व्यावसायी समेत रहेका खड्कासँग लामै राजनीतिक र चुनावी अनुभव लिइसकेकाले पनि टिकट दिइएको नेताहरु बताउँछन् । यसबाहेक उनी खयआर्य समुदायबाट एक्लो उम्मेदवार हुनु सकारात्मक पक्ष हो ।

रास्वपाः रैथाने युवा र जनजाति

टिकट वितरणको आधार तयार पार्न अरू दलले जत्तिकै मेहनत रास्वपाले पनि गरेको छ । पार्टी गठनको छोटो अवधिमै अप्रत्यासित मत पाएर राष्ट्रिय राजनीतिमा उदाएका रास्वपाले इलाम–२ को उपनिर्वाचनलाई जनतामा पार्टीको आकर्षण नघटेको पुष्टि गर्न खोजेको छ ।

माओवादी पृष्ठभूमिका मिलन लिम्बुलाई फकाएर आफ्नो उम्मेदवार बनाउनुको पछाडि रास्वपाले इलाममा पुगेर गरेको सर्वेक्षण थियो । एक पदाधिकारीका अनुसार, पार्टीले नै परिचालन गरेको टीमले गरेको सर्वेक्षणले इलाममा चुनाव जित्न जनजाति र युवा चाहिने निष्कर्ष आएको थियो ।

त्यही सर्वेक्षणलाई आधार मानेर रास्वपाले गत १७ चैतमा सभाको आयोजना गरी मिलन लिम्बुलाई उम्मेदवार घोषणा गरेको छ । उम्मेदवार घोषणा गर्न सरकारका उपप्रधान एवं गृहमन्त्री रहेका सभापति रवि लामिछाने सहित शीर्ष नेताहरु इलाम पुगेका थिए ।

जबकी गत वर्षको चुनावमा भने रास्वपाबाट प्रकाश सापकोटा उम्मेदवार थिए, र १३८० मत मात्र ल्याउँदा जमानत जोगाउन सकेका थिएनन् । तर यसपटक सापकोटा नदिएर लिम्बु युवाको खोजी गर्नुमा पत्रकार पृष्ठभूमि भएकाले मिलनको आक्रामक प्रचारसँगै जातीय पृष्ठभूमि समेत हेरियो ।

यद्यपि इलाममा लिम्बु समुदायको जनसंख्या दोस्रोमा छ । २ लाख ७९ हजार ५३४ जनसंख्या रहेको इलाममा राईको बाहुल्य छ । जनगणना–२०७८ अनुसार, इलाममा ६८ हजार ३३९ जना अर्थात् २४.४४ प्रतिशत जनसंख्या राई छन् । दोस्रोमा रहेको लिम्बुको जनसंख्या ४५ हजार ७ (१६.१० प्रतिशत) छ ।

तेस्रोमा क्षेत्री ३८,८५६ (१३.९० प्रतिशत), चौथोमा बाहुन ३५ हजार ५६९ (१२.७२ प्रतिशत), पाँचौमा तामाङ १९ हजार ७४६ (७.०६ प्रतिशत) र छैटौंमा मगरको जनसंख्या १४ हजार ५५१ (५.२० प्रतिशत) छ । यी बाहेक दलित सहित अरु अन्य समुदायको जनसंख्या ५७ हजार ४६६ छ ।

रास्वपाले लिम्बुलाई नै टिकट दिनुको अर्को कारण भने यो क्षेत्रबाट अहिलेसम्म खसआर्यले प्रतिनिधि सभाको चुनाव नजित्नु पनि देखिन्छ । सभापति लामिछानेको आकर्षण र स्थानीय मनोविज्ञानका आधारमा चुनाव जित्न नीति अन्तर्गत लिम्बुलाई उम्मेदवार बनाएको छ ।

पहिचान पक्षधरः सामाजिक अभियन्ता र एजेण्डा

गत वर्षको चुनावीको नतिजा, इलामको सामाजिक बनोट र कोशी प्रदेशमा चलिरहेको आन्दोलनलाई समेत आधार मान्ने हो भने डकेन्द्रसिं थेगिम पनि प्रतिस्पर्धी उम्मेदवार बन्ने देखिन्छ ।

थेगिमलाई जनता समाजवादी पार्टी (जसपा) सहित ४१ वटा राजनीतिक तथा सामाजिक संस्थाहरुले साझा उम्मेदवार बनाएको छ । प्रदेशको नाम कोशी राख्ने निर्णयप्रति असन्तुष्टि जनाएर गत वर्षदेखि आन्दोलित यी संस्थाहरूले डकेन्द्रसिंहलाई उम्मेदवार बनाउनुमा उनी उक्त क्षेत्रमा चिनिएको अनुहार हुनु हो ।

२२ वर्ष शिक्षण र १० वर्ष स्रोत व्यक्ति रहेका डकेन्द्रसिंह २०५८ सालदेखि लगातार सामाजिक तथा धार्मिक अभियानमा जोडिएका थिए । शिक्षक रहँदादेखि नै एमालेसँगको निकटता रहेकाले पनि उनलाई साझा उम्मेदवारका रुपमा अगाडि बढाउन पहिचान पक्षधर तयार भए ।

थेगिम २०६० चैतदेखि किरात धर्म तथा साहित्य उत्थान संघको केन्द्रीय समिति र महागुरु फाल्गुनन्द स्मृति प्रतिष्ठानको अध्यक्षबाट थिए । उनले बुधबार मात्रै दुवै पदबाट राजीनामा घोषणा गरे ।

यो क्षेत्रको धार्मिक मत र पहिचान पक्षधरका अभियान्ताहरूको स्वीकारोक्ति रहेकाले उनलाई उम्मेदवार बनाइएको छ । धरानका मेयर हर्क साम्पाङलाई प्रमुख वक्ता बनाएर थेगिमले बुधबार उम्मेदवारी घोषणा गरे ।

उनको उम्मेदवारीलाई आधार मानिने अर्को आधार भनेको इलामको धार्मिक अवस्थिति हो । किनकि जातिगत सँगै धार्मिक रुपले पनि इलाम मिश्रित बसोबास रहेको जिल्ला हो ।

देशभर ८१.३ प्रतिशत हिन्दूको जनसंख्या हुँदा इलाममा ४४.१९ प्रतिशत (एक २३ हजार ५३३ जना) मात्र हिन्दू छन् । किराँत धर्म मान्नेहरु ३६.२० प्रतिशत (एक लाख १ हजार १९२ जना) छन् भने बौद्ध धर्म मान्नेहरु १६.६८ प्रतिशत (४४ हजार ६२७ जना) छन् ।

धार्मिक मत पाउन हरेकजसो चुनावमा उम्मेदवारहरूबीच प्रतिस्पर्धा चल्नेगर्छ । यो उपनिर्वाचनमा मत बढाउन रवि लामिछानेदेखि सिके राउतसम्म किराँत धर्मालम्बीहरूले माङसेवुङ भनेर पुज्ने लारुम्बा पुगिसक्नुले यो क्षेत्रको चुनावी आँकलनमा बल पुग्छ भने थेगिमको उम्मेदवारीको आधार अनुमान लगाउन सकिन्छ ।

अन्यः जनजाति युवा र अनुभवी

एकीकृत समाजवादी, राप्रपा, जनमत लगायतले उम्मेदवार टुंग्याउँदा पनि युवा र पहिचानको एजेण्डालाई ध्यान दिएका छन् । एकीकृत समाजवादीले यसअघि जनप्रतिनिधि पृष्ठभूमिका जीतबहादुर राईलाई टिकट दिनुमा उनको स्थानीय पकडलाई आधार मानेको छ । राई समुदायबाट एक्लो उम्मेदवार रहेका उनी एमालेमा हुँदा जिल्ला तहका नेता थिए ।

एमालेकै तर्फबाट उम्मेदवार बनेर २०७४ को स्थानीय चुनावमा माइगोजमाइ गाउँपालिकाको अध्यक्ष जितेका राई अहिले एकीकृत समाजवादीमा छन् । तिनै राईलाई उम्मेदवार बनाउँदा आकर्षण मत ल्याउन सकिने अनुमान एकीकृत समाजवादीले गरेको छ ।

राप्रपाले लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउनुमा युवा जनजातिलाई आधार मानेको छ । संगठनात्मक उपस्थिति कमजोर रहेको राप्रपाले युवा उम्मेदवार मतदाताको रोजाइमा रहेकाले गुरुङलाई टिकट दिएको छ ।

आफ्नो उपस्थिति पहाडी क्षेत्रमा बढाउने अभियानमा जुटेका जनमत पार्टीले यो उपनिर्वाचनमा उम्मेदवारी तय गर्दा पहिचानको एजेण्डालाई प्राथमिकतामा राखेको छ । पहिलेबाटै सामाजिक अभियानमा जोडिदै आएका प्रेमकुमार थाम्सुहाङलाई टिकट दिएर जनमत पार्टीले पहिचानको एजेण्डा प्राथमिकतामा राखेको छ ।

लेखकको बारेमा
सइन्द्र राई

विशेष संवाददाता राई राजनीतिक ब्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?