२२ चैत, काठमाडौं । कांग्रेस–माओवादी गठबन्धन तोडेर एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री प्रचण्डसँग गठजोड गर्न पुगे पनि कांग्रेस नेताहरु उनीसँग रिसाए जस्ता देखिंदैनन् । कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा अझै पनि एमालेसँग सहकार्यको सम्भावनाबारे बोलिरहेका छन् ।
राजनीतिक स्थिरता र विकास निर्माणलाई तीव्रता दिनका लागि संसदका ठूला दुई दलबीच सहकार्य आवश्यक छ भन्नेमा शेखर कोइराला, थापा र शर्मा मात्रै होइन, स्वयं संस्थापन पक्षका नेताहरु रमेश लेखक, एनपी साउद लगायत समेत छन् ।
कांग्रेस उच्च सूत्रका अनुसार स्वयं सभापति शेरबहादुर देउवा यति बेला एमाले अध्यक्ष ओलीसँग संवाद जोड्न इच्छुक छन् । विगतमा आफू माओवादी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डसँग गठबन्धनसमा रहेका बेला ओलीले कुराकानी गर्न खोजे पनि गठबन्धनको सहयात्री माओवादी बिच्केला भनेर कुरा नगरेकोमा अघिल्लो महिना उनले पछुतो नै मानेका थिए ।
यसै मेहरोमा कांग्रेस नेता कोइरालाले विराटनगरमा बिहीबार बिहान एमालेसँग सहकार्यको खाँचो औंल्याउन पुगे । एमाले अध्यक्ष ओलीसँग पछिल्ला दिनमा उनको संवाद बाक्लिएको उनीनिकट नेताहरुले बताएका छन् । बालकोट स्रोतले पनि त्यसलाई पुष्टि गरेको छ ।
‘लुकाउनुपर्ने कुरै छैन । २–४ सिट भएका दललाई फकाउँदा फकाउँदा हैरान भयो, अब कांग्रेस–एमाले मिलेर जनताको निराशा चिरौं,’ शेखरलाई उद्धृत गर्दै उनी निकट नेताले भने, ‘समयमै केही गरेनौं भने यो मास फ्रस्ट्रेसन अझै बढ्ने देखिन्छ ।’
स्रोतका अनुसार शेखरले ओलीसँग उठाएको मूल विषय निर्वाचन प्रणालीबारे हो । संविधानमा व्यवस्था गरिएको चुनाव प्रणालीले सधैं अस्थिरतामा लगिरहने खतरा रहेकाले दुई पार्टी बीचमा सहमति जुटाएर संविधान संशोधन गराउन शेखर जोडबल गरिरहेका छन् । कांग्रेससँग ८८ र एमालेसँग ७९ सांसद रहेको संसदमा दुई दलको मिलेमतोले निर्णायक बदलाव ल्याउन सक्छ ।
‘हाम्रा अध्यक्ष यो प्रस्तावमा नकारात्मक हुनुहुन्न । एउटै कन्सर्न के हो भने अहिले संविधान संशोधनका लागि हामी तयार बन्दैगर्दा अरु पनि विषय खुल्ने हुन् र संविधानकै स्थायित्वमा प्रश्न उठ्ला कि ?’, बालकोट स्रोतले भन्यो ।
एमाले र कांग्रेसका बीचमा सम्भावित सहकार्यले सत्ता राजनीतिमै उथलपुथल ल्याउन सक्ने कोणबाट अनुमानहरु चल्न थालेका छन् । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्रिय मुद्दाहरुमा सरकार–प्रतिपक्ष नभनी खुलस्त छलफल हुन सक्ने भए पनि अहिलेको सत्ता गठबन्धनलाई पुनरावलोकन गर्ने कुनै सम्भावना एमालेको तर्फबाट नरहेको बताएका छन् ।
‘कांग्रेससँगको छलफल स्वभाविक हो, आर्थिक मन्दी, अन्तर्राष्ट्रिय सम्बन्धमा विगतमा देखिएको असन्तुलन लगायत विषयमा कांग्रेससँग पनि हाम्रो कुरा हुने नै भयो’, ज्ञवालीले भने, ‘तर पात्रविशेषले गरेका गल्तीका लागि प्रणालीलाई जोडेर छलफल नगर्ने कि भन्नेमा सचेत छौं ।’
शेखर पक्ष, अनि एमाले दुवै स्रोतले दुई नेताको कुराकानीलाई राजनीतिक मुद्दामात्रैको कलेवर दिन खोजे पनि प्रचण्डकै विकल्प खोज्न एमाले र कांग्रेस तयार भइरहेको अर्थमा राजनीतिक वृत्तमा व्याख्या गर्न खोजिएको छ । एमाले–माओवादीको नयाँ गठबन्धन निर्माण भएसँगै प्रादेशिक सरकार अदलबदलमा आइपरेको प्रतिकुलता साम्य पार्न स्वयं माओवादी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डलाई हम्मे परेको थियो ।
बुधबार बिहान बालुवाटारमा दुई अध्यक्ष अर्थात् ओली र प्रचण्ड बसेर प्रादेशिक किचलो टुंग्याउने, अनि १५ वैशाखको उपचुनावमा मिलेर उम्मेदवारी घोषणा गर्ने सहमति गरे पनि इलाम २ कै सहजता बझाङमा छैन । बझाङको प्रदेश उपचुनावमा एमालेसँगै माओवादीले पनि आफ्नो उम्मेदवारी घोषणा गरेको छ । मनोनयन दर्ता र फिर्तासम्म त्यही अवस्था रहन्छ कि फेरिन्छ भन्नेमा संशय व्याप्त छ । कांग्रेसले यसै सम्भावित परिस्थितिसमेतमा आफू खेल्ने ठाउँ हेरिरहेको छ ।
कोइरालाले विराटनगरमा बोल्दै संविधान बनाउन कांग्रेस र एमाले नै चाहिएकाले स्थिरता र विकासका लागि पनि फेरि यी दल मिल्नपर्ने मत राखेका थिए । उनले अहिलेको एमाले माओवादी गठबन्धनबाट आर्थिक विकास र जनतामा आशा जागरण सम्भव नभएकाले विकल्पमा जानुपर्ने बताएसँगै राष्ट्रिय राजनीति तरंगित बनेको छ ।
बुधबार संसदमा बोल्ने क्रममा कांग्रेस महामन्त्री शर्माले एमालेका नेता गोकुल बाँस्कोटाको, अनि दुई साताअघि रमेश लेखकले शेरबहादुर तामाङको प्रसंग उठाउँदै एमालेको प्रशंसामात्रै गरेनन् । दुबैले मन्त्री भएका बेला आरोप लाग्दा राजीनामा दिएको भन्दै प्रशंसा पाएका थिए । यो विषयलाई सत्ता साझेदारलाई पनि झस्काएको छ । लेखकले र शर्माले र माओवादीबाट पालैपालो धोका पाएकाहरु अर्थात कांग्रेस र एमाले साथै मिलेर आए के होला भनी परिकल्पनासमेत गर्न लगाएका थिए ।
गठबन्धन बदलिएलगत्तै २३ फागुनमा कांग्रेस महामन्त्री थापाले भनेका थिए, ‘हाम्रा निम्ति पनि अब सबै खालका विकल्पहरु जायज भएका छन् । संसदमा कसैको पनि बहुमत नपुगेको, कुनै एउटा दलले मात्रै बहुमत पुर्याउन नसकेको यो परिस्थितिमा कांग्रेस पार्टीले के गर्नुपर्छ, के के गर्न सक्छ, के–के गर्न हुन्छ भन्नेतर्फ हामीहरु सचेत छौं । जे गर्नुपर्ने हो त्यो कुराहरु गर्छौं ।’ उनले एमालेसँगको सम्भावित सहकार्यबारे यो संकेत दिएका थिए ।
थापा आफैं पनि ओलीसँग छलफलमा रहेको बुझिएको छ । प्रतिपक्षी कित्तामा पुगेसँगै एमाले र कांग्रेस मिल्न नेताहरुले ओलीसमक्ष विभिन्न च्यानलबाट कुरा लगिरहेका छन् । शेखरका निजी सचिव दिनेश थपलियाले यसको पुष्टि गर्दै कुराकानी हुनु स्वभाविक भएको बताए ।
‘ओलीजीसँग विभिन्न तरिकाबाट र च्यानलबाट कुरा भइहाल्छन्, भइरहेकै छन्’ थपलियाले भने, ‘शेखरदाइले ओलीजीसँग दुई ठूला दल नमिलीकन जनतामा आशा जागृत हुँदैन भनेर भन्दै आउनुभएको कुरा नै मूल रुपमा राख्नुभएको छ ।’
एमाले उपमहासचिव ज्ञवाली कांग्रेसको प्रस्ताव अहिलेको राजनीतिक परिस्थितिप्रतिको साँचो चिन्ताका रुपमा आएको पनि हुनसक्ने, तर त्यसलाई स्पष्ट पार्ने काम उसैको भएको बताउँछन् । उनले अहिले गठबन्धन यही रुपमा जारी राख्न आफ्नो दल प्रतिबद्ध रहेको बताए ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4