+
+

दशरथ रंगशाला अब राखेप मातहत नै रहन्छ : सदस्य सचिव घिसिङ

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २४ गते २०:३५

२४ चैत, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले दशरथ रंगशालमा खेलकुद प्रतियोगिता गर्न राखेपबाट अनुमति लिनुपर्ने बताएका छन् ।

हालै राखेपले त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको मर्म सम्भार र संरक्षण गर्ने जिम्मा अखिल नेपाल फुटबल संघ एन्फाबाट आफूमा ल्याएको थियो । राखेपले दशरथ रंगशालाको मर्मत सम्भार गरिरहेको छ ।

‘अब एन्फले आफैँले खेल आयोजना गर्दा पनि परिषदसँग स्वीकृति लिनुपर्ने हुन्छ र अरु संघले पनि परिषदसँग स्वीकृति लिनुपर्ने हुन्छ’, शनिबार दशरथ रंगशाला मर्मतको निरीक्षणपछि सदस्य सचिव घिसिङले भने । यसअघि दशरथ रंगशालामा खेलकुद तथा कुनै कार्यक्रम गर्न एन्फाबाट स्वीकृति वा नो अब्जेक्सन लेटर लिएर राखेपले अनुमति दिने गर्थ्यो । तर अब एन्फासँग सम्बन्ध नरहने राखेपको भनाइ छ ।

राखेपले मैदान मर्मतका लागि माउण्ट एभरेष्ट स्पोर्ट्स एण्ड इभेन्ट प्रालिलाई जिम्मा दिएको छ । प्रालिका प्रमुख थमन भुसालका अनुसार अहिले दैनिक १४ देखि २० जनाले काम गरिरहेका छन् । अहिले मैदानमा दुबोलाई असर गर्ने झारहरु निकाल्ने, मलजल गर्ने र लेभलिङको काम भइरहेको छ ।

दशरथ रंगशालमा राखेपकै मातहतमा रहेपनि यसअघि यसको मर्मत सम्भार गर्ने काम एन्फाले नै गर्दै आएको थियो । तर बहराइन विरुद्धको विश्वकप छनोटको खेल दशरथ रंगशालाको बिग्रिएको अवस्थाका कारण नेपालमा खेलाउन नसक्ने अवस्था आएपछि नेपालले होम म्याच पनि बहराइनमै खेलेको थियो ।

यसअघि एन्फाले राम्रोसँग मैदानको व्यवस्थापन गर्न नसकेपछि देशकै प्रतिष्ठासँग जोडिएको खेलकुदको पूर्वाधारको संरक्षण राखेप आफैले गर्न लागेको घिसिङले बताए । ‘यसअघि मैदानको ग्रास एरिया एन्फाले हेर्ने गरेको थियो । करिब ५ जना कर्मचारी रहेछ । उहाँको तर्फबाट गर्नुपर्ने कामहरु ठीक ढंगबाट नभइसकेपछि यो देशको प्रतिष्ठासँग जोडिएको विषय भयो’, उनले राखेपले मैदानको पुरै जिम्मा लिनुको कारणबारे भने ।

अब अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता र घरेलु ठूला प्रतियोगितालाई मुख्य प्राथमिकतामा राखेर दशरथ रंगशालामा खेल खेलाउने सदस्य सचिव घिसिङले जानकारी दिए । उनले भने, ‘हाम्रा लागि ठूला पूर्वाधारमध्ये यो मुख्य पूर्वाधार हो । यो नै कमजोर देखिनु राम्रो होइन र त्यसमा गम्भीरतापूर्वक लागेका छौँ ।’

घिसिङले दशरथ रंगशालामा विगतमा खेलकुदबाहेकका गतिविधि पनि हुने गरेकामा अब त्यस्ता कार्यक्रमलाई अनुमति नदिने बताए । ‘अब ठूला राष्ट्रिय प्रतियोगितालाई प्राथमिकताको हिसाबले राख्ने र अन्तर्राष्ट्रिय खेलका लागि मुख्य रुपमा उपयोग गर्नेछौं’, उनले भने ।

सदस्य सचिव घिसिङले थपे, ‘यो ग्राउण्डमा खेलाउन मिल्ने खेल र ट्रयाकमा खेलाउन मिल्ने सामान्यतय दुई खेल (फुटबल र एथ्लेटिक्स) हो । संसारको अभ्यास हेर्दा मैदान र कभर्डहल मल्टीप्रपोज पनि हुन्छ । तर मैदानको स्ट्यान्डर्ड हेरेर खेल्न मिल्ने खेल खेलाइन्छ र नमिल्ने खेल खेलाइँदैन ।’

यसअघि  दशरथ रंगशालमा फुटबल र एथ्लेटिक्स बाहेक अन्य खेलले पनि प्रशिक्षण गर्ने बिहान मर्निङवाक गर्न समेत दिइन्थ्यो । सदस्य सचिव घिसिङले दशरथ रंगशालमा प्रवेशका लागि निकट भविष्यमा कार्ड स्वाइपको सिस्टम समेत राख्ने योजना रहेको बताए ।

परिषदले एउटा कार्यदल नै बनाए र पूर्वाधार व्यवस्थापन र सञ्चालनको कार्यविधि तयार गरेको छ । त्यसमा आएका विभिन्न सुझाव अनुसार काम गरिने सदस्य सचिव घिसिङले बताए । राखेपकै सदस्य अञ्जन धमलाको नेतृत्वको कार्यदलले राखेपको मातहतमा भएको काठमाडौं उपत्यकाभरिका खेलकुद पूर्वाधारको संरक्षणको जिम्मा राखेप आफैं लिने लिनुपर्ने गरी कार्यविधि बनाएको छ ।

अब राखेपलै नै दशरथ रंगशालाको खेलमैदानको संरक्षण गर्ने र फेरि एन्फालाई फिर्ता नदिने सदस्य सचिव घिसिङले बताए ।  ‘अब राखेप आफैल संरक्षण गर्ने र सञ्चालन गर्ने काम गर्छ । फुटबलकै अन्तर्राष्ट्रिय प्रतियोगिताको लागि स्तर बनाउन भनेर र पहिलाको स्थिति फेरि नदोहोरियोस् भनेर यो परिषदले निर्णय गरेको हो । यो निर्णय फेरि केही समयपछि एन्फालाई दिने भन्ने हुँदैन’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?