+
+
रिपोर्ट :

उपचुनावमा कांग्रेसले तनहुँको गल्ती नदोहोर्‍याउने

तनहुँ-२ को उपचुनावका बेला पोहोर गरेका गल्तीबाट सिक्दै इलाम र बझाङका लागि रणनीति बनाएको बताउँछन्, कांग्रेस नेताहरू ।

लिलु डुम्रे लिलु डुम्रे
२०८० चैत २५ गते १८:३९

२५ चैत, काठमाडौं । उपचुनावका लागि उम्मेदवारी दर्तासँगै नेपाली कांग्रेस जितको रणनीति बनाउन लागेको छ । महामन्त्री विश्वप्रकाश शर्मालाई इलाम–२, पूर्वमन्त्री एनपी साउदलाई बझाङ प्रदेश सभा (१) का लागि चुनाव परिचालनको संयोजक तोकिएको छ । दुई क्षेत्रको निर्वाचनमा केन्द्रीय तहमा समन्वय सचिवालय गठन गरिएको छ ।

केन्द्रीय सचिवालय नेतृत्वको जिम्मेवारी केन्द्रीय सदस्य नानु बाँस्तोलालाई दिइएको छ । ‘अहिले धेरै नबोलौं । सही ढंगले अघि बढेर परिणाम हासिल गर्नेछौं’, महामन्त्री शर्माले अनलाइनखबरसँग भने ।

चुनावी परिणाम कांग्रेसको पक्षमा पार्नका लागि कांग्रेसले पार्टी पङ्ति एकढिक्का बनाउने रणनीति बनाएको छ । पार्टीभित्रका समूहलाई एकत्व गर्ने गरी निर्वाचनमा परिचालन हुने नेताहरूले दाबी गरेका छन् । केन्द्र, प्रदेश र इलाममा पार्टी पङ्ति एकढिक्का रहेको महामन्त्री शर्माले दाबी गरे ।

पार्टीभित्र विवाद नरहेको सन्देश दिने गरी शनिबार दुई पक्षका नेताहरू उम्मेदवारी दर्ताका क्रममा इलाम पुगेका थिए । डम्बर खड्काको उम्मेदवारी दर्ताका लागि सभापति शेरबहादुर देउवा निकट सहमहामन्त्री भीष्म आङ्देम्बे गए ।

अर्कोतर्फ, नेता शेखर कोइराला समूहका सहमहामन्त्री बद्री पाण्डे सहभागी भए । उम्मेदवारी दर्तामा संस्थापन निकटका नेता मीन विश्वकर्मा पनि उपस्थित भएका थिए । दुई पक्षका नेताहरू इलाम पुग्नुको अर्थ पार्टीभित्र खड्काको पक्षमा विवाद नरहेको सन्देश प्रवाह गर्नु थियो ।

इलाम–२ मा उम्मेदवारको आकांक्षी रहेका सबैलाई चुनावी मैदानमा सक्रियतापूर्वक उतार्ने नेताहरूको दाबी छ । उक्त क्षेत्रबाट सात जनाको नाम सिफारिस भएको थियो । आकांक्षीमा भेषराज आचार्य बाहेक सबै सम्बन्धित क्षेत्रमा पुगिसकेको कांग्रेसले जनाएको छ ।

टिकट प्राप्त गर्न नसकेका आकांक्षीहरूलाई असन्तुष्टि हटाउन पटक–पटक शीर्ष तहका नेताहरूले संवाद गरेको नेताहरूले बताएका छन् । ‘२८ गतेदेखि टिकटको अपेक्षा गरेका, उनीहरूका समर्थकहरू सबै मैदानमा जिम्मेवारी लिएर खटिने छन्’, शीर्ष तहका एक नेताले भने । टिकटका आकांक्षी भेषराज आचार्यले चुनावी प्रचारका लागि निर्वाचन क्षेत्रमा जाने बताए । उनले अनलाइनखबरसँग भने, ‘म भनेर नै कांग्रेसमा लागेका धेरै साथीहरू छन् । पार्टी संगठनको बल पुर्‍याउन गइहाल्छु नि !’

केन्द्रीय तहका सीमित नेताहरूलाई निर्वाचन प्रचारको क्रममा क्षेत्रमा पठाउने रणनीति कांग्रेसले बनाएको छ । शीर्ष तहबाट २६ चैतमा नेता शेखर कोइराला र उपसभापति धनराज गुरुङ इलाम–२ जाँदैछन् । महामन्त्री गगन थापा २८ चैतमा इलाम पुग्नेछन् । उनीहरू २ देखि ३ दिनसम्म चुनावी अभियानमा सहभागी हुनेछन् ।

दुई क्षेत्रका निर्वाचन परिचालन संयोजकले पहिलो बैठक शनिबार राखेका थिए । कोशी र सुदूरपश्चिमका केन्द्रीय तहका नेताहरू, भ्रातृ संस्थाका अध्यक्ष, निर्वाचन हुने क्षेत्रका वरपरका जिल्लाका सम्पर्क समिति लगायतसँग शनिबार र आइतबार छलफल भएको छ ।

छलफलमा महामन्त्री शर्मा सहित नेताहरू एनपी साउद, दिलेन्द्र बडु, पुष्पा भुसाल, सरिता प्रसाई, उमेशजंग रायमाझी, नानु बाँस्तोला, गोविन्दबहादुर शाह, दिलमान पाख्रिन लगायत सहभागी थिए । दुवै स्थानको निर्वाचन जित्ने गरी सिंगो पार्टी लागेको केन्द्रीय सदस्य नानु बाँस्तोलाले बताइन् । ‘दुई ठाउँमा नै चुनाव जित्छौं । दुवै ठाउँबाट सिफारिस भएकाहरूसँग पटक–पटक छलफल गरेर उहाँहरूले टिकट पाउनुभएको छ’, बाँस्तोलाले भनिन् ।

केन्द्रीय तहका सीमित नेताहरूलाई निर्वाचन प्रचारको क्रममा क्षेत्रमा पठाउने रणनीति कांग्रेसले बनाएको छ । शीर्ष तहबाट २६ चैतमा नेता शेखर कोइराला र उपसभापति धनराज गुरुङ इलाम–२ जाँदैछन् । महामन्त्री गगन थापा २८ चैतमा इलाम पुग्नेछन् । उनीहरू २ देखि ३ दिनसम्म चुनावी अभियानमा सहभागी हुनेछन् ।

‘उहाँहरू गएको बेला आन्तरिक भेला र रणनीतिक कुराहरू हुन्छन्’, कांग्रेस इलामका नेता भन्छन् । प्रचारप्रसारका लागि सुरुका दिनहरूमा भेटघाटलाई प्राथमिकता दिने कांग्रेसले जनाएको छ । वैशाख ६ मा महामन्त्री थापा र शर्मा सहभागी हुने सभाको आयोजना गर्ने तयारी गरिएको छ । सभा कुन स्थानमा गर्ने भन्नेबारे भने तय भइसकेको छैन ।

यसपटकको उपनिर्वाचनमा कांग्रेसले ‘फिल्ड माइन्युट’ गर्दैछ । कुन व्यक्ति कहाँबाट खटिंदैछ, किन पुग्दैछ भनी पार्टीले टिपोट राख्ने भएको छ । कांग्रेस शीर्ष नेताका अनुसार बाहिरबाट कोही पनि क्षेत्रमा जाँदा केन्द्रीय सचिवालयको अनुमति नलिइकन जान पाइने छैन । ‘भ्रातृ संस्थाले निर्वाचन प्रचारमा कसैलाई खटाउनुअघि केन्द्रीय सचिवालयलाई जानकारी गराउनुपर्दछ’, उनले भने ।

तनहुँ–२ को उप–निर्वाचनबाट शिक्षा लिएर नयाँ रणनीति अंगीकार गरिएको नेताहरूको दाबी छ । तनहुँमा भएको उपनिर्वाचनमा पार्टी सभापति शेरबहादुर देउवा, अधिकांश शीर्ष नेता र केन्द्रीय सदस्य, भ्रातृ संस्थाका नेता तथा कार्यकर्ताको ताँती लागेको थियो ।

निर्वाचन क्षेत्रमा नेता, कार्यकर्ता भरेर मात्रै निर्वाचन जित्न नसकिने विश्लेषण गरेको कांग्रेसले नयाँ रणनीति बनाएको हो । ‘नेताहरूको लर्को लगाउने काम यसपटक हुँदैन । तनहुँको गल्ती इलाममा दोहोरिन्न’, शनिबारको बैठकमा सहभागी नेताले भने ।

शनिबार भएको छलफलमा महामन्त्री शर्माले तनहुँको जस्तो नेताहरूको भीड इलाममा नहुने बताएका थिए । शनिबारको छलफलमा सहभागी एक नेता भन्छन्, ‘कांग्रेस जिताउने भावनाले ताँती लगाएर तनहुँमा नेता, कार्यकर्ता गए । तर, व्यक्तिहरू गए अनुसारको प्रतिफल पाउन सकिएन । इलाममा त्यस्तो भीड गराउँदैनौं ।’ कसलाई कहाँ पठाउने केन्द्रीय सचिवालयले तोके अनुसार पार्टी नेताहरू परिचालन हुने र भ्रातृ संस्थाले आफूखुसी निर्वाचनमा परिचालन हुन नपाउने कांग्रेसले जनाएको छ ।

चुनावमा छुद्र गाली गरेर मत नमाग्ने बारेमा कांग्रेसभित्र छलफल भएको छ । कसैलाई गाली नगरी सकारात्मक परिणाम ल्याउनलाई सकारात्मक अभियान चलाउने कांग्रेसले जनाएको छ । शनिबारको बैठकमा महामन्त्री शर्माले भनेका थिए, ‘तथ्यमा आधारित रहेर अरू पार्टीको आलोचना गरौं । कसैलाई गाली गरेर मत माग्ने होइन ।’

उपनिर्वाचममा कांग्रेसले चुनावी गठबन्धन नेपालका लागि अनुपयुक्त रहेको सन्देश प्रवाह गर्ने भएको छ । चुनावी गठबन्धन गरेर सरकार पनि पाँच वर्ष चलाउने भनी गरिएको वाचा माओवादीले तोडेको विषयलाई कांग्रेसले जोडतोडका साथ उठाउने भएको छ ।

शनिबारको बैठकमा शर्माले गठबन्धन गर्नु गलत भएको तथ्य नयाँ सत्ता समीकरणले देखाएकाले कांग्रेसको चुनावी मुद्दामा उक्त विषयले प्राथमिकता पाउने बताएका थिए । ‘मत ट्रान्सफर गर्ने पद्धतिले मतदाताको विवेकको हत्या हुने रहेछ ।

‘जनतालाई त्यसो भनेर भोट माग्यौं तर गठबन्धन कायम राख्न सकेनौं’, महामन्त्री शर्माको बोली उद्धृत गर्दै सहभागी एक नेताले बताए । गठबन्धन किन भत्कियो ? कसको कारणले भत्कियो ? मतदाताकहाँ जाँदा यो कुरालाई महत्व दिएर कांग्रेसले उठाउने भएको छ ।

इलाम र बझाङको निर्वाचनमा परिचालन हुने गरी केन्द्रीय सचिवालयका केही केन्द्रीय सदस्यलाई जिम्मेवारी समेत दिने भएको छ । सामाजिक सञ्जाललाई प्रचारको प्रभावकारी माध्यम ठहर गर्दै त्यसका लागि दक्ष युवाहरू खटाउने कांग्रेसले जनाएको छ ।

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?