+
+

आधुनिक विश्व नियालिरहेको नयाँ पुस्ता

नयाँ पुस्ताले विगतका शासकले देश विकासमा गरेका गल्तीबाट पाठ सिक्दै विश्व विकासको वेगलाई पक्रिएर देशको नेतृत्वको लगाम पक्रिनुपर्ने हो तर मौजुदा नयाँ पुस्ता कलुषित राजनीतिक प्रवृत्तिको फेरो समातेर पितृ नेताहरूसँगै सत्ता वरिपरि ताते गरिरहेको छ।

डा. ध्रुव बी. खड्का डा. ध्रुव बी. खड्का
२०८० चैत २९ गते १२:२८

नेपालको पछिल्लो पुस्ता जुनसुकै पारिवारिक पृष्ठभूमिको किन नहोस् मुख्यतः आर्थिक सुनिश्चितताको लागि देश बाहिर भरपर्दो ओत खोजिरहेको छ। आजका दिनमा प्राकृतिक स्रोत साधनको सदुपयोगले गल्फिएको नयाँ आर्थिक कल्पवृक्ष नेपाली समाजको ठूलो तप्काको जीवन धान्ने बाफिलो आर्थिक छहारी भएको छ। कसैलाई विज्ञान-प्रविधिको विकासको मलजलले मजबुत जरा सहित झांगिएको बहुआयामिक कल्पवृक्षले भरपर्दो आर्थिक ओत तथा समाउने हाँगो दिएको छ। नेपाली समाजको सदियौंदेखिको लाहुरे विरासत विश्वव्यापी हुँदै गइरहेको अवस्था आजको तितो यथार्थ हो।

कोही युवाहरू औजारविहीन हात र खाली खुट्टामा मरुभूमिको तातो हावा लिंदै आर्थिक शितलता खोज्दैछौं त कोही नेपालमा बोलिने १३१ थरीका राष्ट्रिय भाषाहरूलाई इतिहासमा थन्काउँदै विश्व साम्राज्य बनाएको अंग्रेजी भाषाका अलावा आफ्नै भूमिमा आर्थिक साम्राज्यको इमारत खडा गरेका देशहरूका हान्गुल, निहोन, हिब्रु, मान्डरिन जस्ता अनेकौं भाषाहरूमा श्रमका गीतको सुगारटान गर्न विवश छौं। यही विवशतालाई पछ्याउँदै, सन् २०२१ को तथ्यांक अनुसार २ करोड ९० लाख जनसङ्ख्यामा लगभग ८ प्रतिशत नेपाली देश बाहिर छन्।

त्यसो त विश्वव्यापीकरणसँगै आप्रवासको माहोल नेपालमा मात्र होइन विश्वमा नै बढिरहेको छ। विश्व आप्रवासको रिपोर्ट अनुसार नेपालको कुल जनसंख्याको १० गुणा बढी लगभग ३० करोड मानिसहरू आप्रवासमा छन्। जुन विश्व जनसंख्याको लगभग ४ प्रतिशत हो।

आजका दिनमा विप्रेषण अर्थतन्त्रमा, ठूलो विप्रेषणको स्रोत शीर्ष तीन देशमा युएसए, युएई र साउदी अरब हुन् भने एशियाका ठूलो ढुकुटी भएका भारत र चीन उच्च विप्रेषण भित्र्याउनेमा पर्छन्। नेपालको सन्दर्भमा भने जीडीपीको लगभग २५ प्रतिशत विप्रेषणले धानेको छ। जुन विश्वको सातौं उच्च निर्भरता हो। हरेक वर्ष लाखको सङ्ख्यामा विद्यार्थी भिसामा जानेहरूको नयाँ उभारले देशको श्रम मात्र होइन शिक्षा क्षेत्रलाई पनि चुनौती थपिदिएको छ।

विप्रेषणले तत्कालको लागि देशको भकारीमा अन्न थपिएर अनिकाल टरे तापनि हामीले आफ्नो भूमिमा रोप्नुपर्ने बालीको बीउहरू बेचेर पाउरोटी खाइरहेका छौं। यो परनिर्भरताले देशको आफ्नै आर्थिक जग निर्माणमा कमजोर भएको छ। जीवन दैनिकीकै लागि हामीले विदेशिनुपर्ने स्थिति दशकौंदेखि चलिरहनु देशका शासकको नालायकी नै हो।

प्राकृतिक तथा मानव स्रोत–साधनको प्रचुरताको बाबजुद सदियौंदेखिको मलिलो भूमिमा हामीले किन बहुआयामिक कल्पवृक्षहरू उमार्न र हुर्काउन सकेनौं? यो यक्ष प्रश्नको उत्तर २०१७ देखि २०६२ सालसम्म लोकतन्त्रको लागि लडेको पुरानो पुस्ताले मात्र होइन, २०६२/६३ को पूर्ण लोकतन्त्र पछि हुर्किएको पुस्ताले पनि दिनुपर्ने समय आइसकेको छ। नयाँ पुस्ताले विगतका शासकले देश विकासमा गरेका गल्तीबाट पाठ सिक्दै विश्व विकासको वेगलाई पक्रिएर देशको नेतृत्वको लगाम पक्रिनुपर्ने हो तर मौजुदा नयाँ पुस्ता कलुषित राजनीतिक प्रवृतिको फेरो समातेर पितृ नेताहरूसँगै सत्ता वरिपरि ताते गरिरहेको छ।

विश्व विकास प्रवाहमा नेपाल कहाँ चुक्यो?

इतिहासमा सयौं कोणका फेहरिस्तहरू छन्। पृथ्वीनारायण शाहले सन् १७४३ तिर २० वर्षको उमेरमा सत्ता सम्हाले। २८० वर्षअघि विश्व साम्राज्यवादको माहोल बुझेर राज्य एकीकरणको महाभियान चलाए। आधुनिक नेपालको एकीकृत भूगोल स्थापनाको दूरदर्शी चेतले विश्व साम्राज्यवादको पञ्जाबाट तत्कालीन शासकले देशको मानचित्र सुरक्षित गर्ने चुनौतीपूर्ण काम गरे।

तर त्यसयताका शासकहरू आधुनिक विकासको विश्व म्याराथुनमा देशलाई गतिशील बनाउन चुके। दरबार र भारदारको सत्ता द्वन्द्वको अल्झनबाट १०४ वर्षको राणाकालमा कालो सुरूङमा छिर्दा देश नजरबन्दमा पर्‍यो। विश्व राजनीतिले नागरिक स्वतन्त्रता र विकासको आधुनिक युगको रकेट यात्रा गरिरहँदा, एक शताब्दीको कालो कोठरीबाट भर्खरै मात्र निस्केर नागरिक नेतृत्वले बाहिरी विश्व नियाल्न नपाउँदै हाम्रो देश लगभग ६ दशक किस्ताबन्दी लोकतन्त्रको उल्झनमा पर्‍यो । पटक-पटक अवसरै अवसर पाउँदा पनि सदुपयोग गर्न नेतृत्व चुक्दा देश भीख माग्नेको स्थितिबाट माथि उठ्नै सकेन।

नेपाल चुकेको पहिलो कालखण्ड हो राणाकाल। जुन कालखण्डमा पश्चिमी साम्राज्यवादको सिको र सहकार्य गर्दै सम्राट मैजी (सन् १८६८-१९१२) ४४ वर्ष नेतृत्व गरेर जापानलाई आधुनिक देश मात्र होइन विश्व शक्तिको रूपमा स्थापित गरेका थिए। त्यो बेला नेपालमा विश्वको सम्राट बेलायतसँग घनिष्ट सम्बन्ध भएका र सघन सहकार्य गरेका शक्तिशाली प्रधानमन्त्री जंगबहादुर राणाले सन् १८४६ देखि १८७७ सम्म ३१ वर्ष एकलौटी शासन गरेका थिए।

अब त झन् सूचना-प्रविधिको साम्राज्यबाट देश मात्र होइन नागरिकको सोच माथि नै दूर नियन्त्रण स्थापित गर्ने मोडमा विश्व आइपुगेको छ। जहाँ हामी स्वतः सामेल र समाहित हुँदै आएका छौं। तर हाम्रो जमिन भने निकै फरक छ

जापानी राजाले समयको गतिलाई पक्रेर आर्थिक जग र भौगोलिक सीमाहरू बढाइरहँदा नेपाली शासक भने एक सय वर्षको कालो समयमा देशको चारकिल्ला संरक्षण मात्रमा सीमित भए। आधुनिक विकासको स्वर्णिम समयको चेत भने मोजमस्तीमा बन्धकी राखे। सम्राट मैजीको आधुनिक जगमा खडा भएको एशियाको आर्थिक साम्राज्य यति बलियो बन्यो कि सन् १९४५ को विध्वंसकारी अमेरिकी एटम बमले बनाएको हजारौंको अग्नि चिहानबाट खरानी टकटक्याउँदै एकाध दशकमा विज्ञान-प्रविधिको अभूतपूर्व विकासको दरिलो जगमा विश्वव्यापी आर्थिक साम्राज्य स्थापित गर्‍यो।

युद्धको चिहानबाट उदाएको अर्को देश कोरिया पनि नेपाली शासकको लागि प्रेरणा बन्न सकेन। आजको दिनमा लाखको संख्यामा नेपालीहरूको रोजीरोटीको गन्तव्य बनेको एशियाको अर्को समृद्ध देश दक्षिण कोरिया। यो देश तीस लाख मानिसको चिहान बनेको कोरिया युद्धको सन् १९५३ मा समाप्तिसँगै चरम आर्थिक संकट र राजनीतिक अस्थिरताको भुमरीमा फसिरहँदा नेपालमा २००७ सालको क्रान्तिपछि लोकतन्त्रको बहाली भइसकेको थियो।

राजनीतिक खिचातानीका क्रममा कोरियाका तत्कालीन सेनाप्रमुख चुंग ही पार्कले सन् १९६१ मा सैन्य कु मार्फत देशको सत्ता हातमा लिएर १८ वर्ष शासन गर्दा आधुनिक कोरियाको दरिलो जग बसाल्दै आर्थिक उन्नतिको राजमार्ग बनाए। नेपालको इतिहासमा त्यो कालखण्डमा राजा महेन्द्रले राजनीतिक कु मार्फत स्थापित पञ्चायती शासन थियो। महेन्द्र स्वयंले १७ वर्ष (सन् १९५५ देखि १९७२) सम्म प्रत्यक्ष शासन गरेका थिए।

लगभग उही समयखण्डमा उही प्रकृतिका कोरियन शासक चुंग ही पार्कले युद्धको चिहानले खण्डहर भएको देशमा यावत् चुनौतीलाई पन्छाउँदै समृद्धिको महल बनाउँदै गर्दा हाम्रा तत्कालीन शासकले तुलनात्मक रूपमा अनुकूल समयको सदुपयोग गर्दै आर्थिक उन्नतिका दह्रो र भरपर्दो जग गाड्न सकेनन्। राजा महेन्द्रले ठोस जग बसाउने प्रयास गरेका थिए तर उनको समृद्धिको ब्लुप्रिन्ट बोकेको गाडी बेथितिको भारले थिचिएर आधुनिक विकासको लोकमार्गमा गुड्नै सकेन।

अर्को उल्लेखनीय तथ्य नेपालको पंचायतकालमै अर्को दृष्टान्त सिंगापुरले देखायो। महेन्द्रकालको सुरुवाती समय (सन् १९५९) देखि सिंगापुरको सत्ता सम्हालेका ली क्वानले आफ्नो तीसवर्षे शासनकाल (सन् १९९०) अर्थात् हाम्रो पूरा पंचायत सत्ताको समयावधिमा खोरिया जस्तो भूगोलमा रणनीतिक चातुर्यका साथ आधुनिक सिंगापुरको निर्माण गर्न सफल भएका थिए।

पहिलो विश्वले मंगल ग्रहमा पानी खोज्दै बस्ती बसाल्ने योजना बनाउँदैछ। हामी भने देशको राजधानीको पुरिएको नदी खोज्न र किनारको बस्ती/सडक व्यवस्थित गर्न सकिरहेका छैनौं

नेपालमा भने विश्व शीतयुद्धको फाइदा उठाउँदै आधुनिक विकासको जग बसाल्नुपर्ने त्यो स्वर्ण समय अपहरित लोकतन्त्रको प्राप्तिको आन्तरिक संघर्षमा बितायो। जहानियाँ शासनबाट खोसिएको राज्य सत्ता २००७ देखि २०४६ सालको समयमा आन्तरिक राजनीतिको कुवाभित्र लुकामारी गर्दै खेर गयो। २०४६ सालपछि पनि आन्तरिक राजनीति यति अस्थिर र विकृत भयो कि प्रजातन्त्र बहाली भएको एकाध वर्ष नबित्दै देश युद्धमा फस्यो।

यही समयको सेरोफेरोमा हाम्रा नेताहरूले पछिल्लो समय दृष्टान्त दिने गरेको मलेसियाको विकासका सफल आर्किटेक्चर महाथिर मोहमदले २४ वर्ष नेतृत्व गरेर २०६० सालमा विकसित मलेशिया नयाँ पुस्तालाई हस्तान्तरण गरेका थिए। दुखद संयोग, मलेशियामा मेडिकल डाक्टरले देशको नेतृत्व गरेर आर्थिक निर्माण गरिरहँदा, नेपालका विख्यात विद्वान तथा पेशाले आर्किटेक्चर डा. बाबुराम भट्टराई लगायतको नेतृत्वले भूमिगत जनसरकार गठन गरी पूर्ण लोकतन्त्रको बिगुल फुक्दै विध्वंसको महाभियान चलाइरहेको थियो।

नेपाली नागरिकको दुर्भाग्य यस्तो भयो कि देशमा थरी–थरीको शासन प्रणाली त आयो तर आजका दिनसम्म जापानका-मैजी, कोरियाका-पार्क, सिंगापुरका-ली तथा मलेसियाका-महाथिर जस्तो समयको गति र चुनौतीलाई सामना गर्दै आधुनिक देश निर्माणको नेतृत्व गर्न सक्ने ल्याकत भएको योग्य भूमिपुत्रहरू निस्किएनन्।

अहिले हामी कहाँ छौं ?

माथि उल्लिखित विभिन्न देशहरूले आधुनिक विकासको जग हालिरहँदा हाम्रो देशले किमतीवाला दिनहरू कुवाभित्र लेफ्ट-राइट गर्दै खेर फाल्यो। दोस्रो विश्व युद्धको अन्त्यसँगै विश्व राजनीति, आर्थिक विकासको महाअभियान माहोलमा क्षेत्रीय गठबन्धनको साझेदार र गैर-सरकारी सहयोगको संजालको युगमा प्रवेश गर्‍यो तर नेतृत्वले अवसरलाई सदुपयोग गर्न सकेन।

विज्ञानको भाषामा भन्दा देशको राजनीतिक नीति र नेतृत्वको बलले आधुनिक आर्थिक दूरी पार गरेन। जसले कार्य परिणाम शून्य प्रायः बनायो। देशको कुनै खास सामर्थ्य विकास हुन सकेन। यसले देश जीवनमा दुई कमजोरी प्रतिविम्बित गर्छ। पहिलो, राजनीति, सुशासन तथा आर्थिक नीति परिपूरक नहुनु। दोस्रो, देशले आर्थिक उडानलाई गतिशील बनाउन देशको नेतृत्वको दूरदृष्टि गुरुत्वबल कमजोर हुनु। मुख्यतः देशले समृद्धिमा उडानका बाधाहरूको जमिनी समाधानका रेसाहरू केलाउन सक्ने रचनात्मक नेतृत्वको खडेरी परेको छ।

अबका दिनमा आधुनिक विश्व नजिकबाट बुझेको नयाँ पुस्ताले यावत् चुनौतीलाई चिरेर सबै सम्भावनाहरूलाई देशको जमिनमा स्थापित गर्ने अभियानको नेतृत्व गर्ने बेला आएको छ

नेपालको प्रगति मापनका अन्तर्राष्ट्रिय सूचकहरूमा दशकौंदेखि भुमरीमा फसेको देख्न सकिन्छ। नेताहरूले अक्सर वि.सं. २००७ देखिको होस् या पंचायत काल र २०४७ सालयताको देशको शिक्षा, स्वास्थ्य, यातायात संजाल, आर्थिक तथा सामाजिक क्षेत्रका तथ्यको तुलना गर्दै प्रगतिका सूचकांकहरूको सुधार भएको दाबी गरेको पाइन्छ। हिजोभन्दा देश विकासका हरेक सूचकांकहरूमा प्रगति भएको सत्य हो तर यो प्रगति राज्यको भन्दा पनि विकास समयको वहाब र नागरिकको निजी प्रयासबाट भएको हो।

अहिले हुँदै गरेको प्रगतिको तथ्यांकको वृद्धि एक स्वस्थ बालकको उमेरजन्य हुर्काइ जस्तो मात्रै हो। देशको नीति र नेतृत्वले ल्याएको विकास भनेको माथि उल्लेख गरिएका मलेसिया, सिंगापुर, कोरिया र जापान जस्ता देशहरूको कुनै एक कालखण्डमा जस्तो हुनुपर्छ। जहाँ आफ्नै दरिलो आधार सहित ज्यामितीय अनुपातको आर्थिक वृद्धिसँगै देश जीवनका हरेक सूचकांकहरूले छोटो समयमा विश्व गुणस्तरको उचाइमा छलाङ मार्छन्।

हाम्रो देशमा भने वि.सं. १९०३, २००७, २०१७, २०४७ र २०६३ मा भएका मुख्य राजनीतिक घटनापछि उदाएका तत्कालीन नेतृत्वले आफ्नो कार्यकालमा विश्व विकासको प्रवाहलाई समेट्ने कुनै उल्लेख्य काम गरेनन्, जसले देशको आर्थिक विकासमा छलाङ हान्न सकेको होस्।

जतिसुकै तथ्यांक खेलाएर विगत र वर्तमानको तुलना गरे पनि आजको जमिनी सत्य भनेको नेपाल दक्षिणएशियाको सबैभन्दा गरिब र विश्वको १९६ देशहरूमा १७औं गरिब देश हो। प्रतिव्यक्ति आय, बाँच्ने आयु, साक्षरता, आधुनिक सुविधामा आम पहुँच बढे पनि त्यसमा राज्यको नेतृत्वमा खडे बाबाभन्दा अलिकति बढी ठूलो भूमिका मात्रै छ।

दशकौंदेखि विकसित देश तथा गैर-सरकारी संस्थाहरूले दिएको आर्थिक सहयोग र अनुदानको सही ठाउँमा सही तरिकाले सदुपयोग भएको हुन्थ्यो भने अहिले बामे सरिरहेका मानव संसाधनका परिसूचकहरूले भ्यागुते फड्को मारिरहेका हुन्थे। तर आजका दिनसम्म पनि देशको ढुकुटी लाहुरे विरासतले निरन्तर भरिरहेको छ। देशको जीडीपीको एक चौथाइ विप्रेषणले ओगटेको छ। यसलाई घटाउने हुटहुटी सहितको ठोस योजना देखिंदैन।

देशको शिक्षा, सुशासन तथा आर्थिक गतिविधिहरूको चुस्तता दयालाग्दो छ। ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई)ले वार्षिक निकाल्ने १८० देशहरू सूचीकृत भएको सुशासनको इन्डेक्समा पछिल्लो रिपोर्ट (२०२३) मा ३५/१०० अंकसहित ११०औं स्थानमा रहेको छ। जबकि सन् २०१२ मा २७/१०० अंक पाएको थियो। दशकौंदेखिको भ्रष्टाचारको रातो बत्ती नियन्त्रणको ठोस पहल हुनसकेको छैन।

दुःखको कुरा इतिहासमा तत्कालीन शासकले विश्व विकासको गतिमा देशलाई हिंडाउन चुके जस्तै गणतन्त्र नेपालको नेतृत्वहरू पनि पुरानै गल्ती दोहोर्‍याउँदै छन्। अरुले गरेका विकास र समृद्धि कर्महरूका पाठक मात्र भएका छौं। देशको माटोसँग जोडिएको शैक्षिक नीति, विज्ञान तथा सूचना-प्रविधिसँग जोडिएको जनशक्ति, पर्यटन र औद्योगीकरणको जगमा उभिएको आर्थिक सबलता बनाउन चुकिरहेका छन्। नयाँ पुस्ताले असफल नेतृत्वको इतिहास दोहोर्‍याउने बाटोमा हिंडे देश पुन: अर्को भड्खालोमा पर्ने निश्चित छ।

आधुनिक विश्व नियालिरहेको नयाँ पुस्ता

नयाँ पुस्ताले आधुनिक विश्वको गतिशील समय नजिकबाट बुझेको मात्र होइन अनुभूति नै गरेको छ। नव युवाहरूले सूचना-प्रविधिले खुल्ला गरेको अथाह ज्ञानको सदुपयोग गर्दै सफ्टवेयरको क्षेत्रमा अभूतपूर्व सफलता हासिल गरिरहेका छन्। सूचना-प्रविधिको साम्राज्यले हाम्रो मस्तिष्कको कृत्रिम तथा भावनात्मक इन्जिनियरिङ गरेर आफू अनुकूल प्रयोग गरिरहेको छ।

अब त झन् सूचना-प्रविधिको साम्राज्यबाट देश मात्र होइन नागरिकको सोच माथि नै दूर नियन्त्रण स्थापित गर्ने मोडमा विश्व आइपुगेको छ। जहाँ हामी स्वतः सामेल र समाहित हुँदै आएका छौं। तर हाम्रो जमिन भने निकै फरक छ।

पहिलो विश्वले मंगल ग्रहमा पानी खोज्दै बस्ती बसाल्ने योजना बनाउँदैछ। हामी भने देशको राजधानीको पुरिएको नदी खोज्न र किनारको बस्ती/सडक व्यवस्थित गर्न सकिरहेका छैनौं।

सय वर्ष अघि विश्व माहोल नबुझेर पछिपरेको नेपाल अहिले पनि किंकर्तव्यविमूढ नै छ। हामी युवाहरूलाई बेचेर सुनको थालमा प्वाल परी कुशासनका मतियारहरूलाई बोकी लेफ्ट-राइट गरिरहेका छौं। प्रकृति स्रोत–साधनको धनी देश भीरको चिन्डो जस्तो भएको छ। युएन, युएनडीपी, विश्व बैंक जस्ता अन्तर्राष्ट्रिय संस्थाहरूमा दीक्षित संसार बुझेका विज्ञहरू समाधान केन्द्रित साधक भन्दा विकास अर्थशास्त्रका सूचना तथा तथ्यांकका प्रवक्ता भएका छन्। राज्य संयन्त्रले देशको जमिनी समस्या नियालेर समाधान निकाल्ने ल्याकत बनाउन सकेको देखिंदैन।

देशको नेतृत्व सत्ता केन्द्रित राजनीतिमा भुलिरहँदा, भूमण्डलीकरणले दिएको विश्व विकास र पहुँचलाई नजिकबाट बुझेको नयाँ पुस्ता अधीर बनेको स्थिति छ। अरुले पुस्तौं कडा मिहिनेत गरेर हुर्काइदिएको बहुआयामिक कल्पवृक्षको बनिबनाउ संसारमा समाहित हुन चाहने बाध्यात्मक र खहरे मनोविज्ञानले उर्वर भूमि सदुपयोग विना नै बन्जर हुने सम्भावना छ। पूर्ण लोकतन्त्र त आयो तर राजतन्त्र र राणाकालमा गडेको वंश र परिवारवादले अहिलेका राजनीतिक दलमा निरन्तरता पाएको छ। यो कु-तन्त्रको निरन्तरताको क्रमभंगता अहिलेको प्रमुख चुनौती हो।

योग्यता, क्षमता र दक्षताको आधारमा देशका विभिन्न क्षेत्रहरूमा अवसरको सुनिश्चितता हुनसकेको छैन। २१औं शताब्दीको मेरिट चेत हाम्रो जमिनमा स्थापित गर्न राज्य सचेत देखिंदैन। नयाँ पुस्ता राज्यले सृजना गरेको यस्ता समस्याहरूबाट वाक्कदिक्क भएको छ। पहिलो विश्वको श्रम बजारका हरेक क्षेत्रमा सहज पहुँच बनाउन सक्छ।

पहिलो विश्वको त्यो माहोल बुझेको पुस्ताको सक्रिय हस्तक्षेपबाट नै आफ्नो जमिनमा ती अवसरहरूको सृजना सम्भव छ। विगतमा नयाँ-पुराना शासकहरूले अन्तर्राष्ट्रिय माहोल बुझेर आफ्नै माटोमा सम्भावनाहरूको बिरुवा हुर्काउन असफल भएकै हो। अबका दिनमा आधुनिक विश्व नजिकबाट बुझेको नयाँ पुस्ताले यावत् चुनौतीलाई चिरेर सबै सम्भावनाहरूलाई देशको जमिनमा स्थापित गर्ने अभियानको नेतृत्व गर्ने बेला आएको छ।

(खड्का भौतिक विज्ञानका अनुसन्धानकर्ता हुन्।)

लेखकको बारेमा
डा. ध्रुव बी. खड्का

लेखक जापानको राष्ट्रिय अनुसन्धान संस्थानमा स्टाफ वैज्ञानिकको रूपमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?