 
																			“र अन्त्यमा सबै किताबहरू साथीहरूका लागि लेखिएका छन्। जब मैले ‘वान हन्ड्रेड इयर्स अफ सोलिट्युड’ लेखिसकें तब समस्या के भयो भने संसारभर मेरा लाखौं पाठक भए, अब मलाई थाहा छैन कि ती लाखौं पाठकमध्ये म कसको लागि लेख्दैछु; यो कुराले सधैं मलाई उदास बनाउँछ र मेरो लेखाइमा बाधा पुर्याइरहन्छ। यस्तो लाग्छ, लाखौं आँखाले मलाई हेरिरहेका छन्, र मलाई थाहा छैन ती आँखाले के सोच्छन्।”
— सन् १९८१ मा पिटर स्टोनले ‘प्यारिस रिभ्यु’को लागि लिएको अन्तर्वार्ताबाट।
१८ मार्च, १९९९ मा गेब्रियल गार्सिया मार्खेजले नयाँ किताब लेख्दैछन् भन्ने कुराले उनका पाठकहरूमाझ एउटा नयाँ तरङ्ग ल्यायो, जसको पहिलो च्याप्टर ‘मिटिङ इन अगस्ट’— जसलाई इडिथ ग्रसमेनले अनुवाद गरेकी थिइन्: उनले मार्खेजका ‘लभ इन द टाइम अफ कोलेरा’ र मार्खेजले आफ्नो जीवनकालमा लेखेको अन्तिम उपन्यास ‘ममोरिज अफ माइ मेलान्कोलिक होर्स’लाई पनि अनुवाद गरेकी छिन्— लाई उनले मड्रिडमा भएको एउटा कार्यक्रममा पढेर सुनाएका थिए।
 सन् २००४ मा मार्खेजलाई ‘डिमेन्सिया’ रोगले सताउन सुरु गरिसकेको थियो,  उनले उक्त किताबको पाँचौं र अन्तिम ड्राफ्ट लेखिभ्याए, तर उनलाई लाग्यो, यो किताब खासै राम्रो भएन र उनले आफ्ना छोराहरूलाई त्यस पाण्डुलिपिलाई फ्याँकिदिन आग्रह गरे– “स्मृति मेरो लेखाइको स्रोत र उपकरण हो, यो विना कुनै अर्थ छैन।”
सन् २००४ मा मार्खेजलाई ‘डिमेन्सिया’ रोगले सताउन सुरु गरिसकेको थियो,  उनले उक्त किताबको पाँचौं र अन्तिम ड्राफ्ट लेखिभ्याए, तर उनलाई लाग्यो, यो किताब खासै राम्रो भएन र उनले आफ्ना छोराहरूलाई त्यस पाण्डुलिपिलाई फ्याँकिदिन आग्रह गरे– “स्मृति मेरो लेखाइको स्रोत र उपकरण हो, यो विना कुनै अर्थ छैन।”
तर उनको निधन भएको १० वर्षपछि उनका छोरा र प्रकाशकले उनलाई ‘विश्वासघात’ गरे। उनीहरूले आफ्नो बुबासँगको सेन्टिमेन्ट जोडे र एउटा ‘बहाना’ बनाए– “… हुनसक्छ उनले आफ्नो याददास गुमाउँदै जाँदा, यो बिर्से कि यो किताब कति राम्रो छ।” (किताबको भूमिकाबाट)
र यसरी सन् २०२४ मा मार्खेजको चहाना विपरित उनको ‘हराएको’ किताब छापियो–
‘अन्टिल अगस्ट’
अनुवादः एनी म्याक्लिन
मार्खेजको नयाँ किताब आउँदैछ रे भन्ने सुनेदेखि, उनका थुप्रै प्रशंसक जस्तै मेरो मनमा पनि छुट्टै उत्साह भरियो, र सन् १९९९ मा प्रकाशित यसको पहिलो च्याप्टरको अंग्रेजी अनुवाद (‘मिटिङ इन अगस्ट’ अनुवादः इडिथ ग्रसमेन) लाई मैले ‘द न्यु योर्कर’को वेबसाइटमा पढें। उनका अन्य किताब र कथाहरू जस्तै पहिलो हरफ र पहिलो च्याप्टरले नै मनमा कौतूहल जगायो।
६ वटा च्याप्टरमा विभाजित ११० पेज लामो यो किताबकी मुख्य पात्र ४६ वर्षीया ‘आना म्याग्देलेना बाख’, जो विवाहित छिन् र उनका दुईजना छोराछोरी छन्। पछिल्लो आठ वर्षदेखि उनी हरेक वर्षको अगस्ट १६ का दिन एउटा नामविहीन क्याराबियन टापुमा जान्छिन्, जहाँ उनको आमाको चिहान छ र उक्त चिहानमा फूल चढाउँछिन्।
हरेक वर्ष उनी यस टापुमा आउँदाको दिनचर्या यही नै हुन्छ तर एक रात उनी बस्ने होटलमा उनको एउटा अपरिचित मान्छेसँग भेट हुन्छ। उनीहरुबीच शारीरिक आत्मीयता बढ्छ र उनीहरूले सम्भोग गर्छन्। उनले आफ्नो श्रीमान् बाहेक पहिलोचोटि कुनै पराइ पुरुषसँग ओछ्यान साटेकी हुन्छिन्। बिहान उठ्दा, उक्त पुरुष उनको कोठामा हुँदैन।
उनले आफूले पढ्दै गरेको किताब– ब्राम स्टोकरको ‘ड्राकुला’ उठाउँछिन्, त्यस किताबको बीचमा २० डलरको नोट हुन्छ, जसले उनको मनमा भयानक त्रासिदीलाई जन्म दिन्छ। उक्त घटनापछि उनको रुटिन बद्लिन्छ– त्यसपछिका हरेक वर्ष उनी त्यस टापुमा आउँदा विभिन्न लोग्नेमान्छेलाई भेट्न थाल्छिन्।
मेरो निम्ति मार्खेज र ‘सोलिट्युड’ कहिल्यै पनि फरक विषय भएर आएनन्। उनका अन्य किताबहरूमा झैं यो किताबको मुख्य पात्रले पनि एक्लोपन/एकान्तबासको भारी बोकेकी छिन्। यस किताबको अन्तिमतिर एउटा लोग्नेमान्छेले ‘आना’लाई भन्छ– ‘तिमी जस्तो स्वास्नीमान्छे एक्लै हुनुहुन्न।’ जसको उत्तरमा उनी भन्छिन्– ‘मेरो उमेरका हरेक स्वास्नीमान्छे एक्लो नै हुन्छन्’।
यो किताब पढिरहँदा मलाई उनकै किताब ‘लभ इन द टाइम अफ कोलेरा’, ‘ममोरिज अफ माइ मेलान्कोलिक होर्स’ र ‘अफ लभ यान्ड अदर डिमोन्स’को याद आइरह्यो। यी किताबहरूको कथावस्तु बेग्लै भए पनि, यसका विचार वा विषयवस्तु एउटै अंकुशेमा आएर जोडिन्छन्ः एक्लोपना र स्मृतिको पुनरावृत्ति। यस किताबमा एउटै कथा दोहोरिरहेको छ, तर हाम्रा यादहरू झैं हरेकचोटिको सम्झना फरक भएर प्रस्तुत भएको छ।
“यदि कोही लेखक आफ्नो पाण्डुलिपि नष्ट गर्न चाहन्छ भने उसले आफ्नो कामलाई सीधै अँगेनोमा फ्याँक्छ। जब काफ्काले आफ्नो प्रिय साथी म्याक्स ब्रोडलाई आफूले लेखेका पाण्डुलिपिहरूलाई जलाइदिनु भने मलाई लाग्छ त्यतिबेला उनलाई थाहा थियो कि उनको साथीले त्यसो गर्दैन र म्याक्सलाई पनि यो थाहा थियो कि उनले त्यो गर्दैनन् भन्ने कुरा काफ्कालाई थाहा छ।”
— होर्गे लुइ बोर्खेस (सन् १९६६ मा ‘द प्यारिस रिभ्यु’मा लिइएको अन्तर्वार्ताबाट)
हुनत यी दुई कुरा फरक परिस्थितिमा जन्मिएका हुन्, तर जसरी काफ्काले आफ्ना किताबहरूलाई नष्ट गरिदेउ भनेका थिए, हुनसक्छ त्यसरी नै मार्खेजले पनि यो किताब छाप्न चाहेका थिएनन्। भन्छन् नि, मृत्युले प्रतिरोध गर्दैन।
खैर, यसका बाबजुद यो किताब छापियो, यो किताब उपन्यासभन्दा पनि ६ वटा स–साना कथाहरू बोकेको लघु-उपन्यास हो। यो मार्खेजको उत्कृष्ट किताब होइन, कतैकतै लाग्छ मार्खेज आफैं आफ्नो किताब लेख्ने नक्कल गरिरहेका छन्। यो किताब पढिरहँदा छुट्टै आनन्द त आउँछ तर कतिपय वाक्य संरचनाहरू क्लिसे र रिपिटेटेड भए जस्तो महसुस पनि हुन्छ। केही कुरा अधुरो हो कि, अपुरो छ कि जस्तो पनि लाग्छ, जसले मार्खेजले यो किताब किन छाप्न चाहेनन् भन्ने कुराको बोध गराइरहन्छ।
यो किताब ‘नो वान राइट्स टु कोलनल’ जस्तो मास्टरपिस लघु-उपन्यास पनि होइन, तर यसमा मार्खेजको गन्ध छ, मार्खेजको विस्तृत, दृश्यात्मक र काव्यात्मक लेखाइको म ठूलो प्रशंसक हुँ, यो किताबमा पनि यसको वजन छ।
यो किताबमा मार्खेजको जादुयी यथार्थवादको झलक त्यस्तो नदेखिए पनि यसले प्रेम या वासनाको रहस्यलाई मिहिन ढङ्गले प्रस्तुत गरेको छ, यो ‘आना’को मिडिल-लाइफ क्राइसिसको कथा हो, उदासीको कथा हो, यो पश्चातापको कथा हो, यो स्वतन्त्रताको कथा हो। मलाई मार्खेजका कथाहरू कहिल्यै पनि ‘म्याजिकल’ लागेनन्, बरु ती मेरो मगजमा जीवन्त रूपमा वर्णन गरिएका बिम्बात्मक कविता बनेर बसेका छन्।
प्रिय ग्याबो,
तिम्रा छोराहरूको ‘विश्वासघात’को पाण्डुलिपिमा मेरा औंलाहरूले पनि पाना पल्टाए। यो हिसाबले म पनि तिम्रो दोषी-पाठक हुँ। सायद तिमीले यो किताब कुनै साथीको लागि लेखेका थियौ न कि कुनै पाठकका लागि। दुर्भाग्य, हामी साथी भएनौं ! ‘प्रेम गर्न सधैं केही न केही बाँकी रहन्छ’ (वान हन्ड्रेड इयर्स अफ सोलिट्युड)। मैले तिम्रो अन्तिम साखलाई प्रेम नगरिरहन सकिनँ। अलबिदा !
 
                









 
                     
                                     
                                 
 
 
 
 
 
 
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4