+
+

पोखराका सडक छेउ र खुला ठाउँमा २ लाख १८ हजार विरुवा रोपिने

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ४ गते १५:०१

४ वैशाख, काठमाडौं । पोखरा महानगरपालिकालाई हरित सहरको रुपमा विकास गर्न सडक छेउ लगायत खुला ठाउँमा २ लाख १८ हजार बोटविरुवा रोप्ने गरी तयारी थालिएको छ । सम्भावित वृक्षरोपण क्षेत्र पहिचान तथा रणनीति तय गर्न वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पसका उपप्राध्यापक डा शेषकान्त भण्डारीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो ।

सोही कार्यदलले महानगरलाई सम्भावित वृक्षरोपण क्षेत्र छनोट गरी २ लाख बोटभन्दा बढी विरुवा रोप्न सुझाएको हो । कार्यदलमा उपप्राध्यापक डा भण्डारीसहित उपप्राध्यापक सुमन भट्टराई र उपप्राध्यापक विकास अधिकारी सदस्य थिए ।

रैथाने प्रजाति, स्थानीय बासिन्दाको रोजाई, सौन्दर्ययता बढाउने प्रजाति, सदाबहार प्रजाति, धार्मिक महत्वका प्रजाति, पोखरा महानगर भित्र राम्रोसँग हुर्किरहेका प्रजाति, हावाहुरीबाट सजिलै नभाँचिने प्रजातिका आधारमा वृक्षरोपण गरिने बिरुवाका प्रजातिहरू छनौट गरिएको कार्यदलले बताएको छ ।

कार्यदलकाे अध्ययन अनुसार महानगर क्षेत्रको ७ सय किमी सडक तथा राजमार्ग, झन्डै ६७ किमी नदी तथा खोला किनार, २९ सार्वजनिक स्थलको १२५ हेक्टर खुला क्षेत्रमा ३८ प्रजातिका विरुवा लगाउन सकिनेछ ।

महानगर क्षेत्रमा पहिचान गरिएको सम्भावित क्षेत्रमा लगाउन सकिने बिरुवाहरूमा वर, पिपल, शमी, पैयुँ, कोइरालो, टाँकी, लालीगुराँस, असारे, आँप, अमला, अशोका, कल्की फूल, राइखन्यु, गुलमोहर, बैंस, लालुपाते, कागज पाते, पालम, धुपी, बाँस, खयर, सिसौ, पाखुरी, राजवृक्ष, रातोपाते, सिना एक्साटाबिलिस, टिकोमा, कपुर, लिची, किम्बु, बेल, अम्बा, निमारो, कदम, रुद्राक्ष, बेडुला, नारेश्वर, जंगली केरा लगायत छन् ।

सार्वजनिक खुला क्षेत्रमा ७३ हजार ३९९ र सडक, नदी तथा खोला किनारमा १ लाख ४४ हजार ६०४ वटा विरुवा रोप्न सकिने सम्भावना रहेको कार्यदलका संयोजक डा.भण्डारीले बताए । सहरी वन व्यवस्थापनमा पूर्वाधारको अभाव, मानवीय अतिक्रमण, जनचेतनाको कमी, कानुनी जटिलता, जनशक्ति अभाव, प्राविधिक उपकरणको अभाव, अन्तर निकाय समन्वयको अभाव र मौजुदा व्यवस्थाहरू कार्यान्वयनको कमजोर अवस्था लगायत चुनौतीहरू रहेको कार्यदलले औंल्याएको छ ।

महानगर क्षेत्रमा सहरी वनको व्यवस्थापन आवश्यक रहेको र खाली तथा खुला स्थानहरूमा वृक्षरोपण गर्नुपर्ने भएकाले विज्ञहरूको कार्यदल बनाई सम्भावित सम्भावनाहरूको पहिचान गर्न लागिएको नगर प्रमुख धनराज आचार्यले बताए ।

हरित सहरको निर्माण केवल हरियालीसँग मात्र नजोडिने भन्दै प्रमुख आचार्यले यो वातावरणीय स्वच्छता प्रति स्थानीय सरकारको प्रतिवद्धता समेत भएको बताए । महानगर क्षेत्रमा २ लाख बढी विरुवा रोप्ने कार्य महत्त्वाकांक्षी भए पनि आफूहरूले योजनाका साथ काम गर्ने उनकाे भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?