+
+

‘खेत बाँझै छ, भारतबाट चामल किनेर खानुपर्छ’

छिमेकी भारतमा हाम्रो जति जग्गा भएका नातेदारको जीवनस्तर नै फरक छ । अनाज बेचेरै उनीहरूले छोरा–नातिलाई बोर्डिङ स्कुलमा पढाएका छन् । मोटरसाइकल, कार चढेका छन् । तर, हाम्रो अवस्था नाजुक छ । कमाउनकै लागि खाडी मुलुक जानुपर्ने बाध्यता छ ।

तुलसीराम शुक्ला, कृषक, जानकी गाउँपालिका–३ बाँके तुलसीराम शुक्ला, कृषक, जानकी गाउँपालिका–३ बाँके
२०८१ वैशाख ७ गते २०:१८

डुडुवा नहरको सुरुवात हाम्रो बाजेको पाला अर्थात् २०१७ सालदेखि भएको हो । हाम्रा हजुरबाजे र बुवाहरूले डुडुवा खोलाको पानी ल्याएर खेतबारीमा बाह्रैमास खेती गर्ने चाहना गर्नुभएको थियो । तर अहिलेसम्म पनि हामीले सुक्खा र खडेरीको मार खेप्नु परिरहेको छ ।

डुडुवा नहर बनाएर सिंचाइ सुविधा मिलाइदिनु भनेर हामीले नेताहरूलाई भन्न लागेको ५०/६० वर्ष हुन लाग्यो । तर नहर निर्माण अहिले पनि अधुरै छ । बाँके जिल्ला त्यसमा पनि हाम्रो जानकी, नेपालगञ्ज र डुडुवा क्षेत्र धेरै गर्मी हुने ठाउँ हो । अन्य ठाउँको तुलनामा यहाँ आकाशे पानी पनि कमै मात्रामा पर्छ ।

खेती गर्नका लागि जल, मल र बीउ चाहिन्छ । हामीसँग मुख्य कुरा जल अर्थात् सिंचाइ नै छैन । सिंचाइ नहुँदा उत्पादनमा धेरै नै फरक पर्छ । सिंचाइ नभएकै कारण हामीले मुस्किलले दुई बाली खेती गरिरहेका छौं । जग्गा जमिन भए पनि यहाँका किसानको खेतीपातीमा मन छैन । बाध्यताले आफ्नो परिवारलाई खान पुग्नेसम्मको अन्न जोहो गर्न हामी खेती गर्दै आएका छौं ।

खेतीमा अन्य काममा भन्दा मिहिनेत धेरै पर्छ । मिहिनेत गरेर खेती गरे पनि उब्जनी हुन्छ भन्ने कुनै ठेगान हुँदैन । आकाशबाट समयमा पानी परेन भने सुक्खा र खडेरी हुन्छ । सुक्खा र खडेरी पर्‍यो भने खेती गर्दा लागेको मिहिनेत त्यत्तिकै खेर जान्छ ।

नेताहरूले नेपाल कृषि प्रधान देश हो भन्दै आएका छन् । कृषि प्रधान देशमा किसानलाई कुनै सुविधा छैन । ५०/६० वर्षसम्म एउटा नहर बनाएर सिंचाइको सुविधा दिन नसक्ने नालायक सरकार छ । २०५८/५९ सालसम्म डुडुवा नहरबाट वर्षात्मा पानी आउँथ्यो । जिल्ला विकास समितिले नहर सफाइ र सामान्य मर्मतसम्भारका लागि केही बजेट पनि दिन्थ्यो ।

माओेवादीका कारण संकटकाल लागेपछि नहर सरसफाइ र मर्मतसम्भार हुन छाड्यो । वर्षात्का बेला आउने पानी पनि बन्द भयो । सिक्टाको पानी डुडुवा नहरमा खसालेर किसानको खेतबारीमा पुर्‍याउने भनेर डुडुवाको बाँध पनि भत्काइयो ।

विस्तारै हामी भारतबाट खाद्यान्नका बोरा किनेर ल्याएर खानुपर्ने अवस्थामा पुग्यौं । पैसा तिरेर भारतबाट एक/दुई बोरा खाद्यान्न ल्याउँदा पनि भन्सार र सीमावर्ती क्षेत्रमा बस्ने प्रहरीले दुःख दिन्छ । यस्तो अवस्था हाम्रा नेताहरूकै कारणले उत्पन्न भएको हो ।

२०७३ सालतिर फेरि डुडुवा नहर बन्दैछ भन्ने खबर सुनेपछि किसानहरूमा उत्साह आयो । म पनि तीन/चार पल्ट नेपालगञ्जस्थित सिक्टा सिंचाइको अफिसमा पुगेर नहर निर्माणका बारेमा बुझेको पनि थिएँ । साउदी सरकारको सहयोगमा नहर बन्दैछ भन्ने सुनेका थियौं । डुडुवा नहर जल उपभोक्ता समितिको बैठक बसेर नहर निर्माणमा सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका थियौं ।

हाम्रो दुर्भाग्य भनौं कि के भनौं ठेकेदारको बदमासीका कारण कामले गति लिएन । समयमा काम नगर्ने भनेर बदनाम भएको पप्पु कन्स्ट्रक्सनले ठेक्का लिएको रहेछ । ठेक्का अनुसार काम भएन । काम नगरेर उल्टै आयोजना विरुद्ध मुद्दा हालेको र त्यो मुद्दा फैसला नभएका कारण नयाँ ठेक्का पनि गर्न आयोजनाले सकेको छैन भन्ने सुनेको छु ।

सिंचाइ भएको भए धान, गहुँ, मकै, तोरी, मसुरो जस्ता बालीको खेती हुन्थ्यो । कमाउनका लागि देश छोडेर खाडी मुलुक पुग्नै पर्दैनथ्यो । भारतमा हाम्रो जति जग्गा–जमिन भएका नातेदारहरूको जीवनस्तर नै फरक छ । खेती गरेर अनाज बेचेरै छोरा–नातिलाई बोर्डिङ स्कुलमा पढाएका छन् । ती छोरा नातिको मोटरसाइकल, कार चढ्ने रहर पूरा भइरहेको छ । तर हाम्रो अवस्था दिनदिनै नाजुक बन्दै गएको छ ।

खेतबारीसम्म पानी ल्याउन बाजेको पालामा बनाएको डुडुवा नहरको दुरवस्था देख्दा दुःख लाग्छ । सुक्खा र खडेरीले खेतबारी बाँझो राखेर भारतबाट दाल, चामल र तरकारी किनेर खानुपर्ने अवस्था हुँदा कसको मन न दुख्ला र ! तर बाध्यता नै यस्तै छ ।

डडुवा नहर बन्ला र सिंचाइ सुविधा होला भन्ने आशा अब त मरिसक्यो । सिक्टा नहरको बाँध र मूल नहर निर्माण भएको पनि पाँच वर्ष बितिसक्यो । तर डुडुवा शाखा नहर निर्माण नहुँदा राप्ती नदीबाट डुडुवा शाखा नहरसम्म पुर्‍याइएको पानी ठूलो मात्रामा त्यतिकै खेर गइरहेको छ ।

नहरको किनारामा खेतबारी हुने केही किसानहरूले मोटरबाट त्यो पानी तानेर खेती गर्दै आएका छन् । अब सरकारले सबै बाधा, अवरोध हटाएर तत्कालै डुडुवा नहरलाई उच्च प्राथमिकतामा राखेर निर्माण सुरु गर्नुपर्छ । सिंचाइ सुविधा भएको भए अहिले हामी तीन बाली खेती गथ्र्यौं ।

सिंचाइको व्यवस्था, समयमै रासायनिक मल र उन्नत जातको बीउको प्रबन्ध हुने हो भने कृषि उपजहरूको उत्पादन बढाउन सकिन्थ्यो । उब्जनी बढाएर खेतीबाटै अहिलेको तुलनामा आम्दानी दोब्बर वृद्धि गर्न सकिन्थ्यो । उब्जनी वृद्धि हुनासाथ किसानको अनुहारमा खुसियाली फर्किन्थ्यो । त्यो भएन ।

(डुडुवा जल उपभोक्ता समितिका सदस्य समेत रहेका कृषक तुलसीराम शुक्लासँग पत्रकार कृष्ण अधिकारीले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?