 
																			१० वैशाख, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका कम्युनिष्ट पार्टीहरु पटक–पटक विभाजन हुनुको कारण खोज्नुपर्ने बताएकी छन् ।
सोमबार नेकपा एमालेले नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७५ वर्ष पुगेको अवसरमा आयोजना गरेको कार्यक्रममा उनले पूर्वराष्ट्रपति भण्डारीले कम्युनिष्ट पार्टी विभाजनको समीक्षा गर्नुपर्ने बताएकी हुन् ।
‘नेपाली कम्युनिष्ट आन्दोलनमा पटक–पटक देखिने गरेको फुट र विभाजन र साच्चै सिद्धान्त, विचार र राजनीतिक कारणले भएको हो कि पदीय आकांक्षा, अवसरवाद र भड्काव हाबी हुँदा भएको हो भन्नेजस्ता विषयमा समीक्षा गरी ठोस निष्कर्ष निकाल्न सकिएन भने भविष्यमा थप सफलता हासिल गर्न कठिनाइ हुन्छ’, उनले भनिन् ।
पूर्वराष्ट्रपति भण्डारीले राजनीतिक दलहरुले लिएको नीति र विचारमा विचलन आएको हो कि भन्ने आशंका पनि गरिन् ।
‘साँच्चै भन्ने हो भने लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ तुल्याउन लागेका के वामपन्थी, के गैरवामपन्थी, सबै राजनीतिक दलहरुले आफ्नो पार्टीले लिएको नीति तथा आदर्शमा विचलन आएको छ, छैन बेलाबेलामा समीक्षा गर्दै अगाडि बढ्नुपर्दछ’, उनले भनिन् ।
उनले राष्ट्रका महत्वपूर्ण विषयमा सबै राजनीतिक दलहरुले साझा दृष्टिकोण बनाउनुपर्ने पनि बताइन् । छिमेकी मुलुकहरु भारत र चीनसँगको सम्बन्धलाई थप सुदृढ बनाएर विकासका निम्ति साझेदारी गर्नुपर्ने पूर्वराष्ट्रपति भण्डारीको सुझाव छ ।
‘यी दुई मुलुकसँगको हाम्रो सम्बन्धलाई थप सुदृढ तुल्याएर पारस्परिक लाभलाई मध्यनजर गर्दै विकासका निम्ति साझेदारी गर्नुपर्छ’, उनले भनिन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4