+
+

कस्तो जहाजमा आए कतारी अमिर ?

चार इन्जिन भएको यो जहाज लामो दुरीको उडानमा प्रयोग हुने गर्छ । यो एकतर्फी १६ हजार ६६८ किलोमिटर उड्न सक्छ । एयरबसले उत्पादन गर्ने यो जहाजको मूल्य अहिले २६ करोड १० लाख अमेरिकी डलर (साढे ३४ अर्ब रुपैयाँ) बराबर पर्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ११ गते १९:३७

११ वैशाख, काठमाडौं । कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुईदिने राजकीय भ्रमणकाे सिलसिलामा नेपाल आएका छन् ।

मंगलबार दिउँसो उनी निजी जहाज ‘ए३४०–५००’ बाट काठमाडौं आएका हुन् । उनको यो जहाजको कलसाइन ‘आमिरी–६’ हो ।

यो जहाज कस्तो खालको हो र यसका विशेषता के छन् भन्ने चासो स्वाभाविक मानिन्छ । कतारी अमिर थानीले चढ्ने यो जहाज युरोपेली जहाज निर्माता कम्पनी एयरबसले उत्पादन गरेको हो ।

थानीले यो जहाज आफ्ना अधिकांश औपचारिक भ्रमणका बेला प्रयोग गर्ने गर्छन् । यो जहाजको मोडेल ‘ए३४०–५००’ सिरिजको हो । यस्तो जहाजलाई यात्रुवाहक बनाउँदा यसमा ३१३ सिट क्षमता हुने गर्छ ।

चार इन्जिन भएको यो जहाज लामो दुरीको उडानमा प्रयोग हुने गर्छ । यसले एकतर्फी ९ हजार नटिकल माइल उडान गर्न सक्छ । यो भनेको एकतर्फी १६ हजार ६६८ किलोमिटर उड्न सक्छ । यति दूरी भनेको बेलायतको लन्डनबाट पश्चिम अस्ट्रेलियाको पर्थसम्म ‘ननस्टप’ उडान गर्नु हो ।

एयरबसले उत्पादन गर्ने यो जहाजको मूल्य अहिले २६ करोड १० लाख अमेरिकी डलर (साढे ३४ अर्ब रुपैयाँ) बराबर पर्छ ।

यसमा ‘रोल्स रोयर ट्रेन्ट ५५३ टर्बोफ्यान’ सिरिजका चारथान इन्जिन जडित छ । यसको अधिकतम गति ८८० किलोमिटर प्रतिघण्टा रहेको छ ।

यो जहाज ४१ हजार ४५० फिट उचाइसम्म उड्ने गर्छ । यसले प्रतिमिनेट ५ हजार ७०० फिटका दरले उचाइ लिंदै उड्न सक्छ ।

एयरबसले यस्तो सिरिजको जहाज पहिलो पटक सन् २००२ फेब्रुअरी ११ मा सफल परीक्षण उडान गरेको थियो । त्यसपछि यसको सोही वर्ष डिसेम्बर ३ मा प्रमाणीकरण भएको थियो । यस्तो जहाज उडाउने पहिलो वायुसेवा कम्पनी क्यानडाको सरकारी वायुसेवा एयर क्यानडा हो ।

कतारको सरकारी वायुसेवा कम्पनी कतार एयरवेजसँग हाल चारथान यस्ता जहाज सञ्चालनमा छन् ।

अमिरको जहाज त्रिभुवन विमानस्थलको २ नम्बर बेमा, के छन् सुविधा ?

कतारका अमिर थानीले ल्याएको निजी जहाज ए३४०–५०० हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित पार्किङ बे नम्बर २ मा राखिएको छ ।

यो बे सामान्यतया अतिविशिष्ट व्यक्ति (भीभीआईपी) जहाज राख्न प्रयोग गरिन्छ । सामान्य अवस्थामा समेत यो पार्किङमा राखिने जहाजलाई अन्य बेको तुलनामा बढी पार्किङ शुल्क तिर्नुपर्छ ।

कूटनीतिक नियोगका जहाजलाई भने शुल्क लिने गरिंदैन । विमानस्थल स्रोतका अनुसार पार्किङ बे नम्बर २ मा सुरक्षा निकायको पूर्ण निगरानी हुन्छ । अन्य बेको तुलनामा यो फराकिलो समेत छ । सोही कारण भीभीआईपी पाहुनाका जहाज यसै बेमा राख्ने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?