+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

चितवनमा चल्न सकेन प्याराग्लाइडिङ

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २४ गते ९:३६

२४ वैशाख, चितवन । चितवनमा अघिल्लो वर्ष वैशाख १ गतेदेखि सञ्चालनमा आएको प्याराग्लाइडिङ बन्द भएको छ ।

भरतपुर महानगरपालिका-२९ चौकीडाँडा र कविलासबाट व्यावसायिक उडान सुरु गरिएको प्याराग्लाइडिङ विभिन्न कारणले चल्न नसकेर बन्द भएको हो ।

भरतपुर महानगरपालिकाले भरतपुर भ्रमण वर्ष सन् २०२४ मनाइरहेका बेला साहासिक पर्यटनको नयाँ प्याकेजका रुपमा आएको प्याराग्लाइडिङ गत वर्ष फागुनको अन्तिम सातादेखि पूर्ण रुपमा बन्द भएको छ ।

प्याराग्लाइडिङको गत वर्ष वैशाख १८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका थिए ।

हिमालयन फन्टियर्स प्याराग्लाइडिङ कम्पनीले सञ्चालन गरेको प्याराग्लाइडिङ उडान गर्ने पर्यटकहरुको अभाव, पूर्वाधारको समस्या तथा अन्य आन्तरिक कारणले हाल सञ्चालन गर्न नसकिएको कम्पनीका एक प्रतिनिधिले जानकारी दिए ।

उनका अनुसार प्याराग्लाइडिङको प्रचारप्रसार गर्ने तथा प्याराग्लाइडिङप्रति उत्साह जगाउने काम गर्न नसक्दा थप घाटा हुने देखेर प्याराग्लाइडिङ बन्द गरिएको हो । ‘चल्नुपर्ने सिजनमा नै चलाउन सकिएन, अब त बर्खा लाग्ने बेला भैसकेको छ,’ कम्पनीका एक सञ्चालक भने, ‘अब दशैंतिहार केही नयाँ योजनाका साथ सुरु गर्न सके मात्रै चल्न सक्ला ।’

सफारी पर्यटनको रुपमा परिचित चितवनमा साहासिक पर्यटनको रुपमा भित्रिएको प्याराग्लाइडिङको महत्व जिल्लाका होटल तथा पर्यटन व्यवसायीहरुलाई बुझाउन नसकिएको उनको भनाइ छ ।

चौकीडाँडासम्म पुग्ने सडक पनि असहज हुँदा पर्यटकहरुलाई लैजान मुस्किल हुँदै आएको कम्पनीले जनाएको छ । ‘व्यवसायीहरुले लगानी त गरे, तर पूर्वाधार बनाउने काम त पालिकाले गरिदिनुपर्ने हो, काम पनि निकै ढिला भयो, त्यसको असर पनि परेको छ,’ कम्पनीका एक सञ्चालकले भने, ‘आशा जगाउने गरी काम गर्दा त्यसले सबैलाई फाइदा हुन्छ ।’

चितवनमा प्याराग्लाइडिङ सञ्चालन गर्न अनुमति पाउने यो नै पहिलो कम्पनी हो । हिमालयन फन्टियर्स कम्पनीले प्याराग्लाइडिङ र रिसोर्टका लागि चौकीडाँडामा ५ बिगाहा जग्गासमेत लिइसकेको छ ।

मुग्लिन-नारायणगढ सडकखण्डको भोर्लेबाट ९ किलोमिटर उत्तर र जुगेडीबाट ५ किलोमिटर उत्तर हिँडेपछि चौकीडाँडा पुगिन्छ ।

चौकीडाँडा १२ सय मिटरको उचाइमा छ भने कविलास ५८० मिटरको उचाइमा छ । त्यहाँ जाने सडकहरु राम्रा छैनन् । प्याराग्लाइडिङ उडेर तनहुँको देवघाट गाउँपालिका-५ मा रहेको त्रिशूली नदीको किनारमा अवतरण हुँदै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?