+
+
ब्लग :

आमा नहुनेहरूका लागि

हामी सन्तान सधैं शोक मनाउने कामबाट माथि उठ्न चाहन्छौं । आमाको त्याग र संघर्ष सम्झेर आफूमा लागू गर्न चाहन्छौं । हामी हरक्षण र दिन सम्झन्छौं तर सम्झनालाई गिजोलेर हर माहोलमा आँसु मिलाउन चाहन्नाैं ।

वसन्ती बास्तोला वसन्ती बास्तोला
२०८१ वैशाख २६ गते १४:४४

आमा आफ्नो सन्तानको खुशी चाहन्छिन् जिउँदो हुँदा होस् या मृत्युपछि । मृत्यु पछि समेत उनलाई आफ्ना सन्तानले आफू विना के गर्लान् भन्ने लाग्छ । यिनै आमाको बारे कुरा गरौं आज ।

जब मातातीर्थ औंसी आउँछ अनि सामाजिक सञ्जाल पूरै आमामय हुन्छ । तर हामी आमाले के चाहन्छिन् र चाहन्थिन् भन्ने कुरा सोच्दैनौं । बस् भावनामा बगेर सामाजिक सञ्जालमा कोही आमासँग खुशी साटेर उपहार दिएका तस्वीर राख्छन् अनि नहुने केहीले विरह पोखेर लेख्छन्, केही चुप बस्छन् । खुशी पोखेका तस्वीर देख्दा खुशी लाग्छ ।

दुःखी स्टाटस देख्दा दुःख लाग्नु स्वाभाविक हो । सामाजिक सञ्जालले अहिले थाहा नपाए पनि हुने धेरै कुरा बारे सूचना दिन्छ र मानिसलाई दुःखी बनाउँछ । यहाँ आज म कुरा गर्न चाहन्छु, आमा नहुनेहरूकोे लागि ।

यदि तपाईंको आमा हुनुहुन्न भने तपाईं जति कराएर रोए पनि उहाँ फर्केर आउनुहुँदैन । कहिलेकाहीं आफ्ना भावना पोख्नु त ठिकै हो तर धेरै पोख्नुभयो भने तपाईंका शुभचिन्तकलाई पनि नराम्रो लाग्छ । हाम्रो दायित्व पनि हो धेरैलाई दुःखी नबनाउनु । हाम्रो जीवनमा दुःख, सुख, अभाव भइरहन्छन् नै । कसको भागमा कति पर्छ भन्ने मात्र हो ।

हामीले आफ्ना अभिभावक गुमाउनु नै पर्छ ढिलो र चाँडो मात्र हो । आफ्ना आमा–बुवाको सय वर्षमा मृत्यु हुँदा पनि पीडा र अभाव त हुन्छ नै । तर अभाव र पीडा कसरी कम गर्ने भन्ने हो ।

हामी मृत्यु भएका आफन्तको सम्झनामा आफूलाई सधैं दुःखी बनाउँछौं । अभाव र पीडा दबाएर खुशी हुने बाटो खोज्नुपर्छ भन्ने मलाई लाग्छ । यसमा सबै सहमत हुनैपर्छ भन्ने होइन तर हामीले यसमा बहस चलाउनुपर्छ भन्ने लागेर म यो लेख लेख्दैछु ।

कुरा मेरै आमाबाट शुरू गरौं । तीन वर्ष अगाडि उहाँको ५४ वर्षको उमेरमा क्यान्सरको कारण मृत्यु भयो । केही समय अस्पताल धाएपछि हामीलाई एक वर्षभित्र आमाको मृत्यु हुँदैछ भन्ने थाहा पायौं । यो कुरा म, मेरो श्रीमान् र बहिनीलाई मात्र जानकारी थियो । बुवा, आमा, आफन्तलाई त हामीले कहिल्यै भनेनौं भने भाइहरूलाई पनि धेरै पछि मात्र भन्याैं ।

हर पटक भन्न खोज्दा कहिले उनीहरूलाई चिन्ता होला, कहिले काममा छन् त कहिले उनीहरूको जन्मदिन या खुशीको क्षण खराब नगराैं भन्ने मनसायले बहिनीले अहिले नभनाैं भनिरही ।

हामीलाई थाहा थियो आमाको मृत्यु पक्का हो तर पनि हर पटक हर अस्पतालमा हामी डाक्टरसँग सोधिरहन्थ्याैं र उति नै पीडा महसुस गरिरहन्थ्यौं र पनि अस्पतालबाट फर्केपछि अनुहारमा हाँसो लेपन गरेर सब ठिक छ भन्थ्यौं । एक वर्षमा बहिनी कहिले रोइ ? म कहिले रोएँ र भाइहरू कहिले रोए ? एकअर्कोलाई थाहा भएन र हामी सँगै रोएनाैं । यसले हामी सबै आफूलाई सम्हालिरहेका छौं भन्ने कुराले थप विचलित बनाएन र एकअर्काको पीडा देख्नु परेन ।

बहिनी अझ यसमा सचेत थिई । एक वर्षसम्म राति हस्पिटल ऊ नै बसी । हर रात आमाको चिन्ता हुन्थ्यो, ‘म मरे भनें यसले एक्लै के गर्ली ?’ एकदिन राति २ बजे बहिनीले फोन गरी र भनी ‘दिदी तातोपानी लिएर हस्पिटल आउनु ल, ममी तातोपानी पिउने रे !’

म धेरै डराएँ ला ममी बित्नुभयो कि ? किन तातोपानी भनी बितेको भए ? हस्पिटलमै त थियो तातोपानी । म पानी तताएर हस्पिटल पुगें । भित्र पुगेपछि थाहा भयो आमाले आत्तिएर बोलाइदे भन्नुभयो अनि हजुर आत्तिनुहोला भनेर तातोपानी भनें । बहिनी म हतास नहोउँ भनेर सचेत थिई ।

हामी अस्पताल आएर जो रुन्थे उनीहरूलाई घर फिर्ता गरिदिन्थ्यौं । कोरोनाको बेला औषधि नपाउने, पाए पनि एक हप्ताको मात्र पाउने र पुर्‍याउनको लागि पोखरा जाने पास नपाउनु कम पीडादायी थिएन । आमाको मृत्यु हुँदैछ भन्ने कुराले भन्दा बढी उहाँको दुखाइको पीडाले हामीलाई डिप्रेसनसम्म भएको थियो भन्ने लाग्छ ।

जब आमाको मृत्यु भयो बहिनी रुन थाली । मैले नरो भनेपछि एक मिनेटमा रुन छाडी र आमाको मृत्यु संस्कारको काम गर्न थाली । दाइहरू आएर रोए । आफन्त रोए तर मैले नरुन भनें । यसको मतलब हामीलाई पीडा थिएन भन्ने हैन ।

म रोनाधोना गरेर हर माहोल सधैं खराब बनाउने पक्षमा थिइनँ । धेरै पीडा हुँदा लाग्थ्यो हाम्रो हातमा यी कुरा थिएनन् । हामीले बचाउन सबै प्रयास गरेका थियौं । हामीभन्दा बच्चैमा आमा गुमाएका मानिस पनि त छन् । ममा अब मेरो परिवारको लागि आमा म नै हो भन्ने भान परेको थियो ।

यदि सानैमा आमा गुमाउनुभएको छ भने सोच्नु मेरो भागमा थिएन कि ? अब मेरो भागमा जे छ म भएको कुरामा रमाउँछु भन्ने सोच्नु । तपाईंलाई आमा जस्तै माया गर्ने आफन्त सम्झनु । आमाको योगदान सम्झनु र यो धर्तीमा आएर अनुभव गर्न पाएका कुरा सम्झनु ।

उहाँको जस्तो आवाज, छाला र धेरै कुरा आमाको ममा आए जस्तो लाग्थ्यो । किरिया बसेको बेला आमालाई र हामीलाई माया गर्ने आमा जस्ता मानिस भेट्न आउँदा रुन मन लाग्थ्यो तर हामी सबैलाई देखाएर रुँदैनथ्यौं । अब हामीले मृत्युलाई स्वीकार गर्नुपर्छ भन्ने लाग्थ्यो ।

आमाको मृत्यु भएको एक वर्षमा जब बहिनीको विवाह हुँदैथियो । आमाको याद नआउने कुरा त हुँदै भएन तर बहिनी दुःखी नहोस् भनेर म धेरै सचेत थिएँ । बुकुवा लगाउने बेला आफन्तहरू रोएर माहोल यसरी खराब भयो कि हामीले विवाह उत्सव मनाउँदैछाै‌ं कि मृत्युको शोक ? मैले सोचेर भनें पनि, जो–जो रुनुहुन्छ उहाँहरू घर जानू ।

आमा भइदिएको भए ? धेरैले यसै भन्ने । भइदिएको भए ? त्यो हामीलाई लागेको थिएन होला ? तर मृत्यु भएको व्यक्तिको नाममा हर दिन शोकसभा गरेर हामीले फिर्ता ल्याउन सक्छौं त ?

दुई वर्ष पहिले मैले रेस्टुरेन्ट खोलें र छोरीको जन्मदिन त्यहीं मनाउन आफन्त सबै बोलाएँ । आएकाले भने, ‘आमा भएको भए कति खुशी हुनुहुन्थ्यो ।’ फेरि माहोल दुःखी बन्यो । म चाहन्नथें हर माहोल निरास र शोकसभा होस् । पार्टी सकेर धेरै पछि साथीहरू भेटें । फोटो देखेर उनीहरू पनि फेरि त्यही भन्छन् । हामी सन्तान सधैं शोक मनाउने कामबाट माथि उठ्न चाहन्छौं । हामी आमाको त्याग र संघर्ष सम्झेर आफूमा लागू गर्न चाहन्छौं । हामी हरक्षण र दिन सम्झन्छौं तर सम्झनालाई गिजोलेर हर माहोलमा आँसु मिलाउन चाहन्नाैं ।

हामीले आमाको दुःख, पीडा र सन्तानको लागि जीवनभर गोप्य राखेका कुरा समेत मृत्युपछि थाहा पाएका थियौं । छिमेकीलाई थाहा भएको कुरा समेत आफ्ना सन्तानलाई नभन्न भन्नुभएको रहेछ । छिमेकी र केही आफन्तले समेत यो धर्म निभाए । यो थाहा पाएर हुने पीडा कति होला ? तर हामी पीडालाई बढाउन चाहन्नाैं । हामीलाई लाग्यो आमाले सकेको हाम्रो लागि सबै गर्नुभयो । हामीले पनि गर्‍यौं ।

आमालाई चित्त दुखाएका घटना नभएका होइनन् तर ती जानेर थिएनन् । यसका बावजुद पनि आमा सधैं भन्नुहुन्थ्यो मेरा छोराछोरीले कसैको केही बिगारेका छैनन् म यसैमा खुशी छु ।

बिरामी पर्दा भेट्न आउने मानिसलाई एक दिन आमाले भन्नुभयो, ‘सानो छोराले एक दिन एक छिमेकीलाई लौरोले थोरै हान्यो तर उसलाई छिमेकीले कुनै केटीको नाम लिएर जिस्काएका थिए । बिचरा सानो थियो, उसको गल्ती पनि त थिएन ।’

हामी छोराछोरी भेट हुँदा छलफल गर्छाैं। आमाले यति धेरै पीडा र रहस्यहरू किन लुकाउनुभयो होला ? कसरी सक्नुभयो होला ? हाम्रो लागि होला । हामी निष्कर्षमा पुग्छौं तर रुँदैनौं । जब सामाजिक सञ्जालमा धेरैले पीडा पोख्छन् अनि मलाई लाग्छ यति दुःखी नभए हुने । मानिस किन यति निरास बनेका होलान् ?

जब मेरो आमाको मृत्युको खबरले एक छिमेकी दाइले धेरै पीडा पोख्नुभयो । मैले सोचें उहाँको बुवा सानैमा बित्नुभयो, आमाले छोडेर जानुभयो । मेरोभन्दा कैयौं पीडा उहाँसँग छ किन मेरो आमाको मृत्युमा दुःखी हुनुभएको होला ?

म सम्झन्छु मेरी फुपू ४/५ वर्षका छोराछोरी छोडेर बित्नुभयो दुर्घटनामा परेर । मेरी साथी बच्चा जन्माउनासाथ बिती । कतिका जवान छोराछोरीको मृत्यु भएको छ । हामीलाई जहिले जे कुरा पनि गुमाउनुपर्ने हुनसक्छ । हामी त्यसको लागि तयार रहनुपर्छ ।

जन्म र मृत्यु सत्य हो । कसैलाई चाँडै गुमाउनुपर्छ । जसले गुमाएका छन् उनीहरूलाई पटक/पटक गुमाएको कुरा सम्झाएर दुःखी बनाउने काम त गर्दै नगर्नु । यदि तपाईं पनि आफ्नो आमा गुमाएर सधैं दुःखी हुनुहुन्छ भने आमालाई मन लागेको काम गरिदिनू । उहाँलाई मन पर्ने खाना, कपडा दान दिनू । आफूभन्दा सानैमा आमा गुमाएकालाई सम्झनु ।

यदि सानैमा आमा गुमाउनुभएको छ भने सोच्नु मेरो भागमा थिएन कि ? अब मेरो भागमा जे छ म भएको कुरामा रमाउँछु भन्ने सोच्नु । तपाईंलाई आमा जस्तै माया गर्ने आफन्त सम्झनु । आमाको योगदान सम्झनु र यो धर्तीमा आएर अनुभव गर्न पाएका कुरा सम्झनु ।

मर्नु त हामीलाई पनि एक दिन छँदैछ । फरक यति हो हामी नफर्कने खुशी खोजेर दुःखी भएर मर्छौं कि भएको कुरामा खुशी भएर र खुशी हुने सम्भावनाको पहिचान गरेर मर्छाैं । जिन्दगी कटाउनु त छँदैछ । खुशीको र आशाको सम्भावना खोजाैं । तपाईंको आमा पनि आफ्ना सन्तानको लागि यही चाहनुहुन्छ, हैन त ? आमालाई खुशी राख्नुहोस् ।

सबैलाई मातातीर्थ औंसीको धेरै–धेरै शुभकामना !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?