+
+

उपेन्द्र यादव र अशोकले नसक्ने भन्दै लावतीले बनाए पहिचानवादी मोर्चा

कुमार लिङ्देनहरु समेटिएनन्, डकेन्द्र थेगिमलाई थाहा छैन

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २७ गते २०:४३

२७ वैशाख, काठमाडौं । उपेन्द्र यादवसँग आठ वर्षअघि अशोक राई मिलेसँगै मधेश र जनजाति आन्दोलन आपसमा जोडिएको चर्चा हुँदै आएको थियो ।

तीन दिनअघि यादव नेतृत्वको जसपा नेपालबाट फुटेर राईले जसपा बनाएपछि फेरि मधेशी र पहाडी जनजाति समूहहरु आ–आफ्नो बाटो लागेको चर्चा भएको छ ।

यद्यपि विगतमा राईको संघीय समाजवादी पार्टी हुँदै समेटिएका रकम चेम्जोङ लगायत केही नेता भने यादवको साथमै छन् । र विगतमा उपेन्द्र यादवसँग रहेका प्रदीप यादवसहितका केही मधेशी नेता पनि राईको पार्टीमा आएका छन् ।

तर विगतमा लिम्बुवान राष्ट्रिय मोर्चा, लिम्बुवान पार्टी हुँदै जसपामा जोडिएका अर्का नेता खगेन्द्र माखिमले चाहिँ बिहीबारै यादव नेतृत्वको जसपा नेपाल परित्यागको घोषणा गरे । उनी अमेरिकामा पढाउँदै आएका प्रा. डा महेन्द्र लावतीले नेतृत्व गरेको पहिचानवादी मोर्चामा माखिम सामेल भएका छन् ।

बिहीबार काठमाडौंमा एक पत्रकार सम्मेलन गरेर लावतीको नेतृत्वमा पहिचानवादी मोर्चा घोषणा गरिएको छ । उक्त मोर्चामा लावती संयोजक छन् भने अरु पदहरु खुलाइएको छैन ।

माखिमले पार्टी विभाजन आत्मघाती भएको ठहर गर्दै पार्टीभन्दा बाहिरको बृहत् मोर्चामार्फत् मूल लक्ष्यतर्फ अघि बढ्ने घोषणा गरे ।

लावतीले मधेशी जनअधिकार फोरम हुँदै पहाडी पार्टीसँग विगतमा जसपा बनाएका यादव, अनि एमाले, संघीय समाजवादी फोरम हुँदै जसपामा पुगेका राई दुवैबाट अब पहिचान आन्दोलनको नेतृत्व कठिनप्राय रहेको दाबी गरे ।

उनले यसबीचमा भएका कोशी नामकरण विरोधी आन्दोलन, उपचुनाव आदिमा जुर्मुराएका पहिचान पक्षधरलाई जसपा लगायत पहिचान पक्षधर भनिने दलहरुले नेतृत्व दिन असमर्थ रहेको पनि आरोप लगाए ।

‘आन्दोलनमा पनि सडकमा देखिनुभएन, चुनावमा पनि कतै प्रचारमा जानुभएन’, लावतीले यादव, राई, राजेन्द्र श्रेष्ठको नाम लिँदै भने, ‘स्वतन्त्र नागरिकहरुले समेत आन्दोलनमा भाग लिँदा यसकै नारा दिने शक्ति अघि नसरेपछि हामीले पहल लिएका हौं ।’

अमेरिका बसाइ छोट्याएर अब नेपाल आउने आफ्नो योजना पनि उनले सुनाए । पञ्चायतका गृहमन्त्री तथा राप्रपाका तत्कालीन एक वरिष्ठ नेता स्व. पद्मसुन्दर लावतीका जेठा छोरा महेन्द्र पहिचान र अधिकारको मुद्दामा विचार व्यक्त गर्दै आइरहेका एक अगुवा हुन् ।

लावती नेतृत्वमा गठित मोर्चाले पहिलो चरणमा पहिचान माग्ने समूह र राजनीतिक पक्षसँग मोर्चाबन्दी गर्ने जानकारी दिएको छ । प्रदेश १ को नामलाई कोशी नामांकन गरिएको भन्दै असन्तुष्ट पक्षलाई समेत यसमा जोड्ने बताइएको छ ।

भर्खरै इलाम २ को आम चुनावमा छोटो र असंगठित प्रयासका बाबजुद ११ हजारभन्दा ठूलो मत तान्न सफल भएको भन्दै अब त्यसको सिकाइका आधारमा ०८४ को चुनावी तयारी थाल्ने मोर्चाको दाबी छ ।

‘अहिले पहिलो चरणमा हामी पहिचानवादी पक्ष र विभिन्न दलमा असन्तुष्ट रहेका पहिचानवादी साथीहरुलाई जोड्छौं’, संयोजक लावतीले अनलाइनखबरसँग भने, ‘इलामको उपचुनावले संगठन, स्रोत र जनशक्ति चाहिने रहेछ भन्ने प्रष्ट देखायो । हामी त्यसका लागि समेत योजना बनाउँछौं ।’

इलाम २ को उपचुनावबाट उत्प्रेरित हुँदै मोर्चा गठन गरेको लावतीले बताए पनि स्वयं उक्त उपचुनावमा पहिचानवादी पक्षका साझा उम्मेदवार बनेका डकेन्द्र थेगिम भने अनभिज्ञ देखिएका छन् ।

इलामका मतदातालाई धन्यवाद दिने क्रममा फाकफोकथुममा घरदैलो गरिरहेका थेगिमले टेलिफोनमा सुनाए अनुसार उनीसँग बिहीबार घोषित मोर्चाका लागि सोधपुछ भएन । उनले आफू यस मोर्चाबारे धारणा बनाउने अवस्थामा नरहेको सुनाए ।

‘मसँग सल्लाह लिनुभएको त छैन, तर पनि नकारात्मक वा विरोध छैन’, पहिचानवादी मोर्चा घोषणाबारे थेगिमले भने, ‘सकारात्मक नै हुनुपर्छ होला । राम्रै कुरा होला । मूख्य कुरा कोशी नाम खारेज आन्दोलनसँग जोडिनुपर्छ भन्ने लाग्छ ।’

विगतमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत लिम्बुवान पार्टी र समूहमा रहेका कुमार लिङ्देन, सञ्जुहाङ पालुङ्वा पक्षधरहरु यस मोर्चामा समेटिएका छैनन् ।

प्रदेश १ पुन नामकरण संयुक्त संघर्ष समितिमार्फत आन्दोलन गरिरहेका किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम एक्तेन, मुक्कुमलुङ तिम्बुङपोखरी संघर्ष समितिका अभियन्तालगायत भने जोडिएका छन् ।

लावतीले जसपा विभाजन नयाँ परिघटना भएकाले पहिलो चरणमा मोर्चा घोषणा गरिएको र बाँँकीलाई विस्तारै मिलाउँदै जाने बताए ।

लावतीले यही मोर्चालाई विकास गर्दै राजनीतिक पार्टी निर्माणसम्म पुर्‍याउन सकिने सम्भावनाबारे थोरै संकेत गरे ।

‘विगतमा पार्टीमा रहेकाहरु मोर्चामा रहन पनि सक्नुहुन्छ, नरहन पनि’, उनले भने, ‘हाम्रो उद्देश्यचाहिँ जुनसुकै समूहमा रहेकाहरुलाई पनि पहिचानको विचारसँग एक गराउँदै मोर्चामा राख्ने कोसिस सहित अघि बढौं भन्ने हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?