+
+

‘फर्की फर्की’बाट हामीले दर्शकको स्वाद बदल्न खोजेका छौं : अनमोल केसी

सायद मेरो कुनै पनि फिल्म फ्लप नभइदिएको भए मेरो स्वभावमा म खतरा हो, केही मेहनत गर्नुपर्दैन भनेर फुर्किन्थें होला कि । ममा अहमता जाग्थ्यो होला । पुनः मलाई नयाँ दशक सुरुवात गर्न उत्प्रेरणा, ऊर्जा मिलेको छ । मेरो फिल्म पनि फ्लप हुने रैछ है भन्ने रियालिटी चेक मलाई दियो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २८ गते १८:५४

काठमाडौं । अभिनेता अनमोल केसी यति सतर्क र गम्भीर कहिल्यै सुनिएका थिएनन्, जति उनी आगामी फिल्म ‘फर्की फर्की’लाई लिएर गफिंदा सुनिए । ‘होस्टेल’ डेब्यु एक्टरको यो दशौं फिल्म जेठ १० गतेबाट प्रदर्शन तयारीमा छ । नेपाली दर्शकलाई अब भिन्न जनराका फिल्म जरुरी रहेको मत राख्ने अनमोल ‘फर्की फर्की’ले त्यो ब्रेक–थ्रु गर्ने दाबी गर्छन् ।

उनले ‘छड्के २’ को असफलताले आफूलाई ठूलो ज्ञान मिलेको बताए । संख्याभन्दा गुणमा आफू केन्द्रित भएकाले लाइनअप निर्माणको लोभ नरहेको उनी बताउँछन् । यी समग्र आयाममा रहेर अभिनेता अनमोल केसीसँग अनलाइनखबरकर्मी विष्णु शर्माले गरेको कुराकानीको सम्पादित अंश :

पछिल्लो समय तपाईंको फिल्म करिअर उतारचढावपूर्ण ढंगले अघि बढेको छ । यो सन्दर्भमा ‘फर्की फर्की’ले कस्तो अर्थ राख्छ ?

जीवनको सबैभन्दा रमाइलो पक्ष नै त्यही हो जस्तो लाग्छ । मुटुको धड्कन पनि तलमाथि हुन्छ । जुन गति रोकिन्छ, त्यही दिन लाइफ सकिन्छ । म अहिले मेरो दशौं फिल्मको चरणमा छु । जुन दर्शकलाई मेरो पुरानो फिल्म हेरेर वाक्क भइरहेको छ, उहाँहरुलाई नयाँ ‘टाइम लुप थ्योरी’ लिएर आउन लागेका छौं । यस्तो खालको फिल्म प्रायः नेपालमा बनिरहेको हुँदैन । यो फिल्म बनाउनुअघि ठूलो प्रश्नचिन्ह के थियो भने– हाम्रा दर्शकले यो कथामा रुचि राख्नुहुन्छ कि हुँदैन भनेर ।

सान्दर्भिक होला किन नहोला भन्ने प्रश्न थियो । किनकि यो वास्तविकतामा आधारित भन्दा पनि फिक्सनल हो, जुन वास्तविक जीवनमा हुँदै हुँदैन । हामी यो कुरामा अन्योल थियौं । म चाहन्थे– मेरो पाइपलाइनमा पनि यस्तो एउटा फिल्म होस् भन्ने भोक थियो । निर्देशक र निर्माताले यो फिल्म बनाउन राजी हुनुभयो, यसप्रति म उहाँहरुप्रति कृतज्ञ छु । दर्शकलाई साढे दुई मिनेट (ट्रेलर)मा हामीले टाइमलुपको कथा बुझाउनु नै हाम्रो जित हो । यति छोटो अवधिमा बुझाउन सक्यौं भने साढे दुई घण्टामा त बुझाउन सक्छौं ।

यसको कथावस्तुसँग तपाईं कसरी सहमत हुनुभयो ?

भिन्न जनराको फिल्म गर्ने भोकसँगै एउटा व्यक्तिको जीवनमा विशेष शक्ति (सुपरपावर) भइदिएको भए त्यसले यसलाई कसरी प्रयोग गर्थ्यो भन्ने कथा हो । अहिलेको समयमा सुपरम्यानजस्तै रातो कट्टु लगाएर हैन, यो शक्तिलाई प्रयोग गर्दा त्यो पात्रले लाइफमा के–के गर्छ भन्ने चीजले मलाई आकर्षित गर्‍यो । मानौं, म्याडीजस्तो घमण्डी मान्छे जसको जीवनमा एउटा श्राफ वा वरदान भनौं जसरी आउँछ । मान्छेको जीवनमा हामीले गल्ती होस् वा सुधार, हामी पछाडिको समयमा फर्कन सक्दैनौं ।

मैले एउटै दृश्य तीनदेखि चारपटक गर्ने मौका पाएँ । अभिनयको एउटा विविधता देखाउन पाउँछु भनेर पनि मैले यो फिल्म गरेको हुँ ।

फर्की फर्कीको लक्षित वर्ग कुन हो ? यसले प्रौढ दर्शकदेखि जेन–जी दर्शकलाई कसरी जोड्ला ?

हाम्रो लक्षित दर्शकको समूह भनेको जेन–जी नै हो । उहाँको पनि परिवार र साथी हुन्छ । जुन कुरा उहाँहरुले प्रत्यक्ष वा अप्रत्यक्ष भन्न सकिरहनुभएको छैन । उहाँहरुले भन्न खोज्नुभएको जुन कुरा छ, त्यसलाई म्याडी क्यारेक्टरले प्रतिनिधित्व गर्छ । म्याडीको गल्तीबाट उसको परिवारको उतारचढाव प्रस्तुत हुन्छ । यो चित्रणले उनीहरुको परिवारको पनि मन छुन्छ जस्तो लाग्छ । छोराले बुवालाई यो फिल्म देखाउन लगोस्, उनीहरुले भन्न नसक्या कुरा फिल्मले भन्छ भन्ने चाहिं देखिन्छ ।

समाजका कथा भन्ने फिल्मको बाढी आइरहँदा किन फेन्टासी टाइपका फिल्म जरुरी देख्नुहुन्छ तपाईं ?

जुन जनरामा मान्छेले फिल्म बनाएपनि त्यसले मन चाहिं छुनुपर्‍यो । जनरा नै नचल्ने भन्ने चाहिं हुँदैन । चाहे त्यो सोसल-रियालिज्म होस्, चाहे त्यो फेन्टासी होस्, एक्सन वा हरर होस् । फिल्ममा हामीले उत्कृष्ट काम चाहिं गर्नुपर्छ । दर्शकलाई पनि एउटा टाइपको खाना खाँदाखाँदा वाक्क हुन्छ भनेजस्तो, स्वादमा एउटा परिवर्तन हामीले पस्किन खोजेको हो ।

तपाईंले ‘छड्के २’ को असफलताबाट सिकेको पाठ के हो ?

निश्चय नै, ‘छड्के २’ असफल हुँदा मैले मेरा दर्शकलाई निराश बनाएँ । उहाँहरु दुःखी हुनुभयो । त्यो चीजले मलाई पनि एकदमै दुःखी बनायो । दर्शकले मबाट अपेक्षा गरेको चीज आउन नसकेर नै फेलियर भयो । मेरा अघिल्ला फिल्म जसरी हिट भए, मैले गरेको फिल्म नचल्दाको जिम्मेवारी पनि मैले नै लिनुपर्छ । प्रायः मान्छेले सेलिब्रेसनको मात्र स्टाटस लेख्छ भन्दा फेलियर हुँदा कोही पनि बोल्दैन । निर्देशकलाई मात्र दोष दिने कुरा आउँदैन, मबाट मात्र केही कमजोरी थियो होला । त्यही भएर खण्डन गर्न जरुरी ठानें । १० वर्षको करिअरमा जति पनि हिट फिल्म नदिने ज्ञान मेरो असफलताले दियो ।

सायद मेरो कुनैपनि फिल्म फ्लप नभइदिएको भए मेरो स्वभावमा म खतरा हो, केही मेहनत गर्नुपर्दैन भनेर फुर्किन्थें होला कि । ममा अहमता जाग्थ्यो होला । पुनः मलाई नयाँ दशक सुरुवात गर्न उत्प्रेरणा, ऊर्जा मिलेको छ । मेरो फिल्म पनि फ्लप हुने रैछ है भन्ने रियालिटी चेक मलाई दियो । त्यो कारणले आउने दशकमा अभिनेताको रुपमा मलाई प्रगति गर्न उत्प्रेरणा भयो ।

यो घटनापछि तपाईंको अभिनय क्राफ्टमा कुनै परिवर्तन आएको देख्नुभएको छ ?

निश्चय नै । दर्शकले मबाट के खोजिरहेको छ त भन्नेमा म स्पष्ट भएँ । कलाकारको रुपमा मेरो संघर्ष अझै पुगेको छैन, मेहनत गर्नुपर्ने रहेछ भन्नेमा मेरो आँखा खुल्यो ।

तपाईंले बीचमा एक्सन, ग्याङस्टर फिल्ममा काम गर्नुभयो । लभस्टोरी फिल्म हिट रहे । के अब तपाईं रोमान्टिक र लभस्टोरी फिल्ममा फर्कनुपर्छ भन्ने मुडमा हुनुहुन्छ ?

होस्टेल, जेरी, ड्रिम्स, गाजलु गरिसकेपछि अभिनेताको रुपमा मलाई पनि दिक्दार हुन्छ, कति एउटै टाइपको फिल्ममा काम गरौं भनेर । त्यसपछि कृ र क्याप्टेन गरेँ । दर्शकले मलाई लभस्टोरीमा धेरै रुचाउनुभएको छ । त्यसपछि ‘ए मेरो हजुर’का ३ र ४ श्रृंखला गरें । फेरि मोनोटोनस हुन थालेपछि ब्रेक गरेर ‘छड्के’ गरें । ‘छड्के’ गरिसकेपछि फेरि दर्शकले ममा रुचाइरहेको चीज के हो भन्नेमा गरिराख्या छु । कलाकारको रुपमा एउटा बिन्दुमा यस्तो अनुभूति आफूलाई पनि आउने रहेछ र दर्शकलाई पनि ।

यसो गरिरहँदा फेलियर भने पुनः दर्शकले मलाई केमा मनपराउनुहुन्छ भन्नेमा फर्किन्छु । अहिले दया दाइ (दयाहाङ राई)लाई दर्शकले जे चीजमा मनपराउनुभएको छ, उहाँ त्यसमै अडिग भएर काम गर्नुभएको छ । ‘छक्कापञ्जा’लाई दर्शकले केमा रुचाउनुभएको छ, उहाँहरु त्यही चीजमा अडिग हुनुहुन्छ । मोनोटोनस र भोकलाई ब्रेक गर्न चुनौती पनि म लिन्छु ।

भविष्यमा तपाईंलाई कस्ता जनरामा काम गर्न मन छ ?

मलाई थ्रिलरदेखि सामाजिक कथाका फिल्ममा पनि काम गर्न मन छ । एकपटक सबैखालका फिल्ममा कम्तीमा नतिजाको आशा नगरी प्रयास गर्न मन छ । आर्ट हाउस पनि मेरो रुचि हो । पहिलाको समयमा लभस्टोरी चल्थ्यो भने बीचमा एक्सन चल्न थाल्यो । त्यसपछि कमेडी चल्न थाल्यो, अहिले रियालिज्म चलिरहेको छ भने फेसन परिवर्तन भएजस्तै दर्शकको रुचि बदलिंदै जान्छ । हामी समयअनुसार चल्नुपर्छ । त्यो टाइममा धेरै माग जे हुन्छ, त्यहीअनुसार चल्ने योजना छ ।

स्टारडम’ भन्ने शब्दप्रति तपाईंलाई विश्वास लाग्छ ?

फुटबलको उदाहरण लिऊँ । पछिल्लो विश्वकपमा स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोलाई सब्स्टिच्युटमा राखिदिएर पोर्चुगलले जित्छ भनेर सोच्नु मूर्खता नै थियो । एउटा एक्टर उसको स्टारडमले भन्दा पनि निर्देशकले कसरी प्रस्तुत गर्छ र टिम कसरी लागिपरेको छ भन्ने कुरामा निर्भर हुन्छ । शाहरुख खान ‘पठान’ र ‘जवान’मा जस्तो देखिए र विमल भन्ने पानको विज्ञापनमा देखिनु त फरक छ नि । त्यो भनेको निर्देशकले प्रस्तुत गर्ने चीज हो ।

यसबारेमा म के भन्छु भने डेफिनेट्ली, कन्टेन्ट इज द किङ (निश्चय नै कथावस्तु प्रमुख कुरा हो) । कतिपय अवस्थामा कन्टेन्ट राम्रो भएर मात्र हुँदैन । कतिवटा सुपरहिट किताबहरुको फिल्म बन्दाखेरि पनि फिल्म राम्रो नचलेको पनि उदाहरण छ । कन्टेन्टसँगै मेकर र सबैजनाको समान मेहनत मिसिएमा क्वालिटी फिल्म बनाऊँ भन्ने लक्ष्य मिल्यो भनेर राम्रो फिल्म बन्छ ।

अहिले प्रायः एकजना कलाकारको पछाडि एक वर्षलाई पुग्ने फिल्मको लाइनअप देखिन्छ । तर तपाईंसँग त्यो लामो लाइनअप देखिदैन, किन ?

सुरुदेखि नै कहिल्यै पनि क्वान्टिटीमा गइनँ । विवेकले भ्याएसम्म सकभर क्वालिटीमा जान मन लाग्छ । दर्शक हरेक वर्ष परिवर्तन भइरहेका हुन्छन् । उहाँहरुको टेस्टदेखि लिएर हरेक कुरा । यदि यस्तो हो भने मैले अहिले नै चार वर्षको पाइपलाइन बनाएर काम गर्न मलाई डर लाग्छ । यो फिल्मको नतिजा आएपछि मात्र मलाई अघि बढ्न मन लाग्छ ।

फिल्ममा सम्झौता गर्नुअघि तपाईंको पूर्वसर्त के हुने गर्छ ?

फिल्म छायांकनमा जानुअघि मलाई कम्तीमा पूर्ण स्क्रिप्ट चाहिन्छ । नेपालमा चलेको चलन एक्टर साइन गरेर बल्ल स्क्रिप्ट लेख्न थालिन्छ । त्यो गर्दा म धेरैबार फसें पनि । धेरैबार सोचेजस्तो स्क्रिप्ट बन्दा पनि बनेन । म फिल्म टेबलमै बन्छ भन्नेमा विश्वास गर्छु । टेबल वर्क भइसकेपछि हामी एकै सातामा फ्लोरमा जाँदा पनि फरक पर्दैन । राम्रो गृहकार्य जरुरी देखिन्छ । यो उद्योगमा दुश्मनी र प्रतिस्पर्धा भन्दा पनि दर्शकमाझ जानुअघि इन्डस्ट्रीभित्रै रिलिज होस् । जसले गर्दा धेरै कुरामा सुधार गर्न सकिन्छ ।

फोटो : चन्द्रबहादुर आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?