+
+

आइतबार सेयर बजारमा उत्साह मौद्रिक नीति समीक्षाको प्रभाव हो ?

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ६ गते १९:३९

६ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई सेयर तथा अन्य धितोपत्रमा लगानी बिक्रीका लागि सहज नीति बनाइदिँदा सेयर बजारमा उत्साह देखिएको छ ।

चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत बैंकहरूले सेयरसहितका अन्य क्षेत्रमा गरेको लगानीबाट बाहिरिन सहज नीति बनेको छ ।

बैंक तथा वित्तीय संस्थाहरूले १ वर्ष अवधि व्यतित भइसकेको लगानीबाट एक आर्थिक वर्षमा प्राथमिक पूँजीको २० प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्था समीक्षामा गरिएको छ ।

नयाँ व्यवस्थाले चाहेका बेला बैंकहरूले पर्याप्त रकमको सेयर तथा अन्य लगानी बिक्री गर्न सक्ने छन् । यस अघिसम्म १ वर्ष व्यतित भइसकेको लगानीबाट प्राथमिक पूँजीको १ प्रतिशत मात्रै बेच्न पाइने व्यवस्था थियो ।

यो व्यवस्थालाई लिएर सेयर बजारमा दुई किसिमका बुझाइ रहेका छन । एकपक्षले अब बैंकहरूले ठूलो मात्रामा सेयर बेचेर बाहिरिन्छन्, उनीहरूलाई धेरै सेयर बेच्नका लागि बाटो खुल्यो भनिरहेका छन् । अर्को पक्षले बैंकहरूलाई सेयर बिक्रीका लागि सहज भइसकेपछि अब खरिद बढाउँछन् भनिरहेका छन् ।

नयाँ व्यवस्थापछि खुलेको पहिलो दिनको बजार २.६३ प्रतिशत (४५.६९ अंक) बढ्यो भने कारोबार पनि उल्लेख्य ५ अर्ब २५ करोडको भयो । पहिलो दिनको बजारलाई हेर्दा लगानीकर्तामा उत्साह देखिन्छ ।

आजको बजारले आपूर्तिभन्दा माग बढेको देखाउँछ । यद्यपि पहिलो एक दिनको बजारलाई हेरेर मात्रै विश्लेषण गर्न हतार हुनेछ । बैंकहरूले पहिले सेयरमा गरेको लगानी न्यून रहेकाले नयाँ व्यवस्थापछि आपूर्ति नभई माग नै बढ्ने सेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष ताराप्रसाद फुल्लेलले बताए ।

‘जुनसुकै लगानीमा इन्ट्री र इक्जिट महत्वपूर्ण हुन्छ, इन्ट्रीमा यसअघि पनि कुनै समस्या थिएन, अहिले पनि छैन, इक्जिटमा भएको समस्या समाधान हुनुले प्रोत्साहन नै गर्छ,’ उनले भने । बैंकहरूले पहिले किनेको सेयर केही महँगो पनि रहेकाले एभरेजिङ गर्न पनि नयाँ व्यवस्थाले सहज गरिदिएको उनले बताए ।

‘यही व्यवस्थाका कारण आइतबारको बजारले सकारात्मक संकेत देखाएको छ, बैंकहरूले अहिले नै लगानी नबढाए पनि सर्वसाधारणमा सकारात्मक भाव विकास भएको छ ।’

सेयर बजार र वित्त क्षेत्रका जानकार अनलराज भट्टराई राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई लगानीबाट बाहिरिन गरेको सहजताले अहिले नै आपूर्ति आउँछ भनेर डराउनुपर्ने अवस्था नरहेको बताए । यो व्यवस्थाले बैंकहरूलाई सेयर खरिद र बिक्री दुवैका लागि सहजता दिएको र यसले बजारलाई चलायमान बनाउन मद्दत पुग्ने उल्लेख गरे ।

‘यो व्यवस्थापछि पूँजी पर्याप्त रहेका बैंकहरूले घटेको मौका पारेर सेयरमा थप लगानी गर्न सक्ने भए,’ भट्टराईले भने, ‘पूँजी असहज रहेका बैंकहरूले पर्याप्त सेयर बेचेर तरल पूँजी जुटाउन सक्ने भए ।’

कतिपय बैंकलाई यतिबेला तरल पूँजीको समस्या रहेको तर कतिपयलाई बढी भएकाले बैंकको अवस्थाअनुसार पूँजी व्यवस्थापन गर्न मद्दत पुग्ने उनको भनाइ छ । यसले धितोपत्र बजारलाई खास ठूलो असर नपार्ने उनको भनाइ छ ।

उनको भनाइअनुसार पूँजी पर्याप्त रहेका बैंकहरूलाई घटेको बेला बजारमा लगानी एउटा राम्रो अवसर पनि हो । यसअघि बिक्रीका लागि गरिएको असहज व्यवस्थाले बैंकहरूले पर्याप्त मात्रामा बजारमा लगानी गर्न सकेका थिएनन् ।

२०७८ जेठ ११ गते राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन जारी गरी उनीहरूको लगानी सम्बन्धमा व्यवस्था परिमार्जन गरेपछि बैंकहरूले धेरै सेयर बिक्री गरिसकेका थिए । सो व्यवस्थामा भनिएको थियो ‘सर्वसाधारणमा सेयर बिक्री गरी धितोपत्र विनिमय बजारमा सूचीकृत भइसकेको संगठित संस्थाको सेयर तथा डिबेञ्चरमा एक वर्षभन्दा बढी अवधिको लागि मात्र लगानी गर्न पाइनेछ ।’ सो व्यवस्थाले बैंक वित्तीय संस्थालाई छोटो अवधिमा सेयर कारोबार गरिरहन निषेध गर्‍यो ।

त्यस्तै अर्को व्यवस्था पनि गरियो ‘खरिद गरेको एक वर्ष व्यतित भएका लगानी मध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पूँजीको १ प्रतिशत रकमसम्मको लगानी मात्र बिक्री गर्न सक्नेछन् । तर, यसअघि (१० जेठ २०७८ सम्म) लगानी गरेका सेयर २०७९ असार मसान्तभित्र बिक्री गर्न यस व्यवस्थाले बाधा पुगेको मानिने छैन ।’

बेच्नका लागि सीमा नै लगाइसकेपछि बैंकहरूले भएको सेयर पनि २०७९ असार मसान्तसम्म बिक्री गरे । सो निर्देशन जारी भएका बेला समग्र बजारले बियरिस ट्रेन्ड समाउँदै थियो, नेप्से २२५० आसपास थियो । त्यसयता कहिलै पनि नेप्से सो अंकमा पुगेकै छैन । त्यसकारण बैंकहरूले खरिद गरेको सेयर केही कम्पनीबाहेक अहिलेको मूल्यभन्दा धेरै सस्तो छैन । ‘बैंकहरूले यो अवस्थामा घाटामा सेयर बेचेर बाहिरिनेभन्दा पनि एभरेजिङ गरेर प्रतिइकाइ लागत घटाउनतिर लाग्न सक्छन्’ फुल्लेलले भने ।

खरिद गर्न बैंकहरूलाई नभन्ने तर बेच्नका लागि प्राथमिक पूँजीको ३० प्रतिशत दिइनुले आपूर्ति मात्रै आउँछ भन्नेहरू पनि छन् । खरिद भइसकेपछि मात्रै नाफा लिएर सेयर बिक्री हुने हो । खरिद गर्नका लागि पहिले नै स्पष्ट व्यवस्था छ, सो व्यवस्थालाई संकुचन गरिएकै छैन । कुल प्राथमिक पूँजीको ३० प्रतिशतसम्म सेयर, डिवेन्चर, सामुहिक लगानी कोषजस्ता धितोपत्रहरूमा लगानी गर्न सक्ने व्यवस्था छँदैछ । चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूको कुल प्राथमिक पूँजी ७ खर्ब १६ अर्ब रुपैयाँ बराबर छ ।

‘लगानीबाट बाहिरिनका लागि सहज व्यवस्था भयो, यसले सेयरमा मात्रै होइन, अरु क्षेत्रमा पनि लगानी गर्न प्रोत्साहन गर्छ’ एक बैंकका सीईओले भने ‘तर लगानी कुन कुन क्षेत्रमा गर्छन्, कहिले गर्छन् वा गर्दैनन् भन्ने विषय बैंकका आफ्ना रणनीतिमा भर पर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?