माइतीघरमण्डल । अपराह्न ४ बजे ।
मैले आफ्नो अनुहारमा ब्यान्डेज लगाएँ । मफलरले आफूलाई लुकाएँ । त्यसपछि क्रमशः ब्यान्डेज उतारेर हातमा प्ले कार्ड लिएँ । त्यसमा लेखिएको थियो-म पनि गौशाला-२६ ।
आन्दोलनको यो एक फरक प्रारूप थियो । मलाई के लाग्छ भने, कुनै पनि आन्दोलनलाई रचनात्मक बनाउन सकिए त्यो थप सशक्त बन्छ । आन्दोलन सकियो । म घर फर्किएँ । जसै घर पुगें, मेरो प्रदर्शन माथि भद्दा टिप्पणीहरू आउन सुरु भइसकेको थियो । फेसबुकमा मलाई मेन्सन गरेर यस्तो लेखिएको थियो- ‘बलात्कार के हो ? यो केटीलाई देखाउन जरूरी छ’, ‘तँलाई मार्छु’ ।
यतिबेला मलाई लाग्यो, मेरी आमाले अक्षर पढ्न नजानेको भए हुन्थ्यो । फेसबुक चलाउनै नजानेको भए हुन्थ्यो । दुई वर्षअघि मात्र आमाले फेसबुक चलाउन सुरु गरेकी थिइन् । फेसबुकमा आफ्नै छोरीलाई ‘मार्छु र बलात्कार गर्छु’ भन्ने धम्कीहरू पढ्दा–देख्दा उनलाई कस्तो भयो होला ?
बहिनीहरूले आँशु झारे । ‘घरबाहिर निस्कँदा जे पनि हुनसक्छ’ भनेर आमा डराइन् । माहोल एकदमै नराम्रो भयो ।
मैले फेसबुक डिएक्टिभ गरें । सामाजिक सञ्जाल हेर्नै छाडिदिएँ । उकुसमुकुस भयो । घरबाट बाहिर निस्कन सकिनँ । ‘हिंसा र अत्याचार सहनुहुन्न’ भन्ने म स्वयम् डरले खुम्चिएँ । सायद म छोरी नहुँदी हुँ त यति विघ्न डर र ग्लानि बोकेर बाँच्नुपर्ने थिएन ।
छोरीहरू जन्मिनु भनेकै जित्नु हो
छोरीलाई गर्भमा नै मार्न खोजिरहेका हुन्छन् । आमाबुवालाई छोरी चाहिंदैन । उनीहरू छोरा खोजिरहेका हुन्छन् । त्यसैले कोही छोरीको रूपमा जन्मिन्छन् भने त्यो उनको जित हो । तर, त्यसपछि पनि छोरीहरूले सहज बाँच्न पाउँदैनन् । पाइला–पाइलामा चोट खोप्नुपर्छ, दुव्र्यवहार झेल्नुपर्छ । पटक–पटक लड्नुपर्छ ।
सार्वजनिक यातायातमा नियतवश छुने, धकेल्ने गरिन्छ । राति एक्लै हिंडडुल गर्न सकिंदैन । छोरीको शरीर लिएर जन्मिएपछि खुलस्त वा निर्धक्क बाँच्न पाइँदैन ।
हाम्रो आमाबुवाबाट हामी तीन छोरी जन्मियौं । हाम्रा दाजुभाइ छैनन् । छोरी भएर बाँच्नुपर्दाको अप्ठ्यारो कति छ ? हामीले सुनेको वा देखेको मात्र होइन भोगेका पनि छौं । त्यसैले कुनै पनि छोरीमाथि गरिने हिंसाले हामीलाई बढी दुख्छ । छोरी मात्र पनि होइन, जो दबाइएका छन् उनीहरूको पीडाबोध हामीलाई पनि हुन्छ । चाहे त्यो निर्मला पन्त होस् वा उखु किसान नै । तर, दबाइएका आवाजहरूको आवाज उठाउँदा उल्टै हामीमाथि प्रतिहिंसा हुन्छ । त्यसैले त छोरीहरू आफैंलाई लुकाएर, दबाएर बाँच्नुपर्ने बाध्यता छ ।
म किन बोल्छु ?
आफूलाई जहाँ दुख्छ, त्यहाँ आवाज उठाइन्छ । म बितेको एक दशकदेखि नै यसरी विभिन्न हिंसा र अत्याचार विरुद्ध आवाज उठाइरहेकी छु । यसमा मलाई मेरो श्रीमान् र घरपरिवारले पनि साथ–सहयोग गरिरहेका छन् ।
कुनै पनि प्रदर्शन (आन्दोलन)को ध्येय सम्बन्धित निकायको ध्यानाकर्षण गराउने हो । त्यसैले यस्ता प्रदर्शनहरूमा आर्ट (कला) मिसाइदिंदा त्यो बढी हेरिन, सुनिन र विस्तारित हुन सक्छ । मैले यही कुरा मनन् गरेर पर्फमेन्स आर्ट गर्दै आएकी छु, विभिन्न अभियानमा ।
पर्फमेन्स आर्ट भनेको सम्बन्धित मुद्दामाथि सांकेतिक रूपमा कला प्रदर्शन गर्नु हो । मेरो श्रीमान् चित्रकला र रंगमञ्चसँग सम्बन्धित भएकाले पनि मलाई यस्तो गर्न बल अनि हौसला मिलेको छ । हामीलाई जुन कुरा चित्त बुझ्दैन, जुन कुरामा आवाज एकबद्ध गर्नुपर्छ भन्ने लाग्छ त्यसमा कहिले कविता भनेर वा कहिले सडक नाटक गरेर वा कहिले विभिन्न कला प्रदर्शन गरेर आफूलाई व्यक्त गर्छौं । यो एक कलात्मक प्रदर्शन हो ।
हामी आफ्नो चेतना, विवेक र सामथ्र्यलाई बन्धक बनाउन चाहँदैनौं । त्यसैले दबाइएका आवाजहरूको आवाज बन्ने यत्न गर्छौं । यो हाम्रो अधिकार मात्र होइन, दायित्व पनि हो । तर, हाम्रो समाजको ठूलो हिस्सालाई यस्तो पच्दैन । उनीहरू यसमा गाली गर्छन् । भद्दा टिप्पणी गर्छन् । मजाक गर्छन् । खिसी गर्छन् ।
एउटा भनाइ छ, ‘आलोचनाबाट बच्ने उपाय हो– केही नबोल्नु, केही नगर्नु, केही नबन्नु ।’ तर मेरो ब्रह्मले भन्छ, ‘भीडले के भन्छ होइन सत्य के हो भन्ने कुरा मुख्य हो ।’
म डलरे होइन
म पटक–पटक अन्याय–अत्याचार विरुद्ध सडकमा उत्रिएकी छु । यसमा कुनै रहर वा लोभ हुँदैन । जब कुनै कुराले आफूलाई पीडाबोध हुन्छ, त्यसमा बोल्नुपर्छ भन्ने लाग्छ । तर, यसरी आवाज उठाउन सडकमा उत्रिंदा मान्छेहरूले ‘यिनीहरू डलरे’ भन्छन् ।
यो ‘डलरे’ भन्ने भाष्य कहाँबाट कसरी निर्माण भयो ? मलाई थाहा छैन । तर म जति पनि विरोध प्रदर्शनमा सहभागी भएकी छु, त्यसमा मैले एक पैसाको अपेक्षा गरेको वा लिएको छैन । बरु हामी आफैं खल्तीबाट पैसा जम्मा गरेर पर्फमेन्स आर्टका लागि चाहिने सरसामान जुटाउँछौं ।
हरेक कुरामा अन्धाधुन्द आक्षेप लगाउन सजिलो छ । तर, जसले भोगेको छ, उसलाई यसको पीडाबोध कस्तो हुन्छ भन्ने कुरा थाहा छ ।
कुराकानीमा आधारित
प्रतिक्रिया 4