+
+

काठमाडौं महानगरका सबै पेट्रोल पम्पमा निःशुल्क शौचालय

काठमाडौं महानगरपालिकाले पेट्रोलपम्पलाई एकै किसिमको बनाउँदै आवश्यक मापदण्डमा ल्याउने प्रयास गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ९ गते १८:१७

९ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले पेट्रोलपम्पलाई एकै किसिमको बनाउँदै आवश्यक मापदण्डमा ल्याउने प्रयास गरेको छ । महानगरभित्र रहेका पेट्रोल पम्पहरूमा पहेँलो रङ लगाएर पहिचान सहित सुधारको काम गरिरहेको हो ।

महानगरका अनुसार तत्काल, मध्यकाल र दीर्घकाल गरी तीन चरणमा गरी पेट्रोल पम्पलाई सुधारका काम भइरहेको छ ।

तत्काल सुधार गर्न सकिने कामको अध्ययन गर्न महानगरको संयोजकत्वमा नेपाल आयल निगम, सडक विभाग, नेपाली सेना, नेपाल प्रहरी, उपत्यका ट्राफिक प्रहरी, सडक विभाग, जिल्ला प्रशासन कार्यालय, पेट्रोलियम डिलर्स एसोसिएसनका प्रतिनिधिसहित टोलीले प्रतिवेदन दिएको थियो ।

प्रतिवेदनका सुझावका आधारमा अहिले महानगरले आफ्नो क्षेत्रभित्रका सबै पेट्रोल पम्पको पहिचान गर्न पहेँलो रङको बनाएको छ ।

महानगरका मेयर बालेन्द्र (बालेन) साहका अनुसार पम्पहरूले सबैका लागि सफा शौचालय निःशुल्क उपलब्ध गराइसकेका छन् ।

महानगरले प्रतिवेदनकै आधारमा भाडाका सवारीसाधन चालक तथा सहचालकले आफूखुसी नोजल समाउने र इन्धन भर्ने काममा प्रतिबन्ध लगाएको छ ।

हरियालीदेखि पीपीईसम्म

‘हरियाली नदेखिएको, भएका गमलामा पनि फूल नभएको, अग्नि सुरक्षा उपकरणहरू दुरुस्त नभएको, अग्नि सुरक्षा उपकरण सञ्चालन विधि तथा ती उपकरणको कामबारे शिक्षा र प्रयोग विधि थाहा नपाएको, पम्पका भित्ताहरूमा विभिन्न ब्रान्डका विज्ञापन तथा भित्ते लेखन गरेर कुरूप बनाइएको थियो । पम्पहरूमा पर्याप्त शौचालय र युरिनल थिएनन् । यी अवस्थामा सुधारका काम भइरहेका छन्,’ मेयर बालेनले भनेका छन् ।

इन्धन भर्न बस्ने नोजल ब्वाईले सुरक्षाका लागि खैरो रङको व्यक्तिगत सुरक्षा पोसाक/सामग्री (पीपीई) लगाउने प्रतिबद्धता कार्यान्वयन चरणमा रहेको महानगरले जनाएको छ ।

महानगरका अनुसार  काठमाडौं जिल्लामा करिब १ सय २३ पेट्रोल पम्प छन् । तीमध्ये काठमाडौं महानगर बागमती पेट्रोलियम डिलर्स एसोसिएसनमा दर्ता ५० पम्प छन् ।

अहिले काठमाडौं महानगरभित्रका सबै ५० पेट्रोल पम्पमा २ देखि ६ वटासम्म निःशुल्क शौचालय सर्वसाधारणका लागि खुला गरिएको महानगरले जनाएको छ ।

पम्प सञ्चालनका आधारभूत मापदण्ड

पेट्रोल पम्प चलाउन विभिन्न मापदण्ड आवश्यक पर्छन् । ‘पेट्रोलियम पदार्थ विक्रेता नियमावली २०७५ (प्रथम संशोधनसहित)’ अनुसार काठमाडौं र ललितपुर महानगरभित्र पेट्रोल पम्प सञ्चालन गर्न ७ सय ५० वर्गमिटर वा १ रोपनी ८ आना क्षेत्रफल भएको जग्गा आवश्यक पर्छ । यसमा सडकतर्फको मोहडा कम्तीमा २० मिटर हुनुपर्छ ।

भौतिक पूर्वाधारसहित बिक्रीस्थलको मापदण्ड पूरा भएको हुनुपर्छ । बिक्रीस्थलको भित्र तीनतिर पम्प बिल्टअप लेभलबाट १.२० मिटर अग्लो सिमेन्टको जोडाइमा इँट्टा वा ढुंगाको पर्खाल लगाएको र त्यसमाथि ०.९० मिटर अग्लो चेनलिंक फेन्सिङ्ग लगाएको हुनुपर्छ ।

त्यस्तै रिफ्युलिङ जोन सेड, सतही ढल, रोड सेफ्टी कर्ब स्टोन एजिङ, बफर स्ट्राइप, डिस्पेन्सिङ पम्प जडान लगायत संरचना तथा पूर्वाधार हुनुपर्ने मापदण्ड छ ।

पम्प खुलेको समयमा शौचालय बन्द रहेको पाइए महानगरमा गुनासो टिपाएपछि गुनासो सम्बोधन गर्ने महानगरले जनाएको छ ।

अग्नि सुरक्षा तालिम

काठमाडौं महानगरपालिकाले नेपाली सेनाका पेट्रोल पम्पमा काम गर्ने ३० कर्मचारीका लागि अग्नि सुरक्षा सम्बन्धी तालिम प्रदान गरिसकेको छ । दुई दिन चलेको तालिमको पहिलो दिन सैद्धान्तिक र दोस्रो दिन प्रयोगात्मक सिप सिकाइएको थियो ।

तालिम प्रशिक्षक नगर प्रहरी निरीक्षक किशोरकुमार भट्टराईका अनुसार अग्नि विज्ञान, घरेलु आगो र प्रतिकार्य, फायर इस्टिङग्विसरको चिनारी, यसलाई जडान गर्ने तथा प्रयोग गर्ने विधिबारे सैद्धान्तिक ज्ञान दिइएको थियो ।

यस्तै  तेलजन्य आगो नियन्त्रणमा ब्ल्यांकेट प्रयोग गर्ने तरिका, एलपी ग्यासमा लागेको आगो निभाउने ७ प्रकारका विधि, मिश्रित खालको आगो निभाउने तरिका, विपद्सँग सम्बन्धित प्राविधिक शब्दावलीको प्रयोगात्मक अभ्यास गरिएको थियो ।

आगो सल्किएको माध्यम थाहा पाएपछि मात्र नियन्त्रणमा प्रयोग हुने वस्तु छनोट गर्न सकिने भएकाले आगो केमा लागेको छ, थाहा पाउनुपर्ने भट्टराईको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?