+

पौडी खेल्दा के-के कुरामा ध्यान दिने ?

२०८१ जेठ  १३ गते ११:१८ २०८१ जेठ १३ गते ११:१८
पौडी खेल्दा के-के कुरामा ध्यान दिने ?

गर्मीको मौसममा स्वीमिङ पुलमा गएर पौडिनुको मज्जा नै बेग्लै हुन्छ । पौडी खेल्दा शरीरलाई शीतलता प्रदान गर्नुका साथै मन चंगा भएर शरीर पनि फूर्तिलो हुन्छ । तर पौडी खेल्न जानुअघि र खेल्दा ध्यान दिनुपर्ने कुरा पनि धेरै छन् ।

पौडी खेल्न जानुअघि चिसो पानीले नुहाएर स्वीमिङ पुलभित्र जानु उपयुक्त हुन्छ । यसले छालालाई क्लोरिनबाट हुनसक्ने समस्याबाट केही हदसम्म जोगाउँछ । यसरी स्वीमिङ पुलमा जाँच्नुअघि शरीर भिजाउँदा क्लोरिन पानी छालामा कम सोस्छ । यदि शरीर नभिजाइकन जाँदा छालाले क्लोरिनयुक्त पानी धेरै सोस्न सक्छ । जसले गर्दा छालामा विभिन्न किसिमका समस्या हुनसक्छ ।

स्वीमिङ पुलमा जानुअघि छाला चिल्लो हुने क्रिमको प्रयोग गर्नुपर्छ, पानीलाई छालाभित्र छिर्न रोक्छ । त्यस्तै पानीका साथै छालालाई घामबाट जोगाउन सनब्लक क्रिम लगाउनुपर्छ । यो स्वीमिङ पुल जानुभन्दा १५–२० मिनेटअघि लगाउनुपर्छ । यसले छाला कालो हुनबाट जोगाउँछ ।

सनब्लक क्रिम वाटर पुफ्र अर्थात् वाटर रेजिस्टेन्स भएको ३० प्लस एसपीएफ भएको राम्रो खालको लगाउनुपर्छ । यसलाई स्वीमिङ जानुभन्दा पहिला मात्र नभई स्वीमिङको बीचबीचमा सनब्लक र लोसन लगाइराख्नुपर्छ, यसले शरीरलाई घामबाट छालामा हुने समस्या हुनबाट जोगाउँछ ।

स्वीमिङ गरिसकेपछि वा स्वीमिङ पुलबाट निस्किसकेपछि सफा पानीले शरीर पखाल्नुपर्छ । यसले शरीरमा टाँसिएका क्लोरिन तत्वलाई पखाल्ने काम गर्छ । छालामा नकारात्मक असर हुनबाट जोगाउँछ । स्वीमिङ एकदेखि दुई घण्टा मात्र गर्दा राम्रो हुन्छ ।

त्यस्तै छालालाई घामबाट जोगाउन स्वीमिङ बिहान १० बजे अघि र दिउँसो ४ बजे पछि गर्नु राम्रो हुन्छ । किनकि यस अवधिमा चर्को घाम नहुने भएकाले छालालाई धेरै असर गर्दैन ।

स्वीमिङ गर्दा घाम र क्लोरिनयुक्त पानीका कारण शरीरमा पानीको कमी हुनसक्छ । त्यसैले स्वीमिङ पुल जानुभन्दा आधा घण्टा अगाडि प्रशस्त पानी पिउनुपर्छ । यसले शरीरलाई हाइड्रेट राख्न मद्दत गर्छ । स्वीमिङको बीचबीचमा पनि पानी पिइरहनुपर्छ ।

छालामा चोटपटक लागेको छ वा छालासम्बन्धी कुनै समस्या भएको अवस्थामा स्वीमिङ नगर्नु नै राम्रो हुन्छ । किनकि यसले अरुलाई पनि छालाको रोग सर्न सक्छ ।

स्वीमिङ गर्दा छालाको साथै कपालको पनि ध्यान पुर्‍याउनुपर्छ । त्यसैले स्वीमिङ गर्नुअघि कपालमा कन्डिसनर लगाएर नुहाएर क्याप लगाउनुपर्छ । किनभने स्वीमिङ पुलमा भएको क्लोरिनले कपाल सुक्खा हुने, टुक्रिने र चाया पर्ने हुनसक्छ ।

स्वीमिङ गरिसकेपछि स्याम्पु लगाएर कपाल पनि नुहाउनुपर्छ । क्लोरिनले निम्त्याउनसक्ने जोखिम पनि कम हुनसक्छ ।

यसबाहेक आँखामा असर पुग्न नदिन स्वीमिङ चस्मा अनिवार्य लगाउने, कानभित्र पानी नछिरोस् भनेर इयर प्लग राख्ने र गुप्ताङ्गमा संक्रमण हुन नदिन पौडी खेल्दा लगाएको कपडा तुरुन्तै फेर्नुपर्छ ।

क्लोरिन किन प्रयोग गरिन्छ ?

स्वीमिङ पुलको पानी सफा राख्न क्लोरिन तत्व मिसाइएको हुन्छ । क्लोरिन एक प्रकारको रासायनिक पदार्थ हो । यो मुख्यतया पानी निर्मलीकरण र पानीमा भएको कीटाणु र ब्याक्टेरियालाई नष्ट गर्न प्रयोग गरिन्छ ।

जोखिम

स्वीमिङ गर्दा यी कुरामा ध्यान नदिएमा क्लोरिनको कारण छाला सुक्खा हुने, छाला चिलाउने, छालामा घाउ आउने, छालामा दाद आउने, एलर्जी आउने हुनसक्छ । साथै छाला चिलाउनाले इन्फ्लामेसन अर्थात् सुन्निने समस्या, एक्जिमा (डर्माटाइटिस) अर्थात् छालामा रातोपन आउनेलगायत समस्या हुनसक्छ ।

कसैकसैलाई पहिलैदेखि छालाको रोग भएमा स्वीमिङ गर्दा समस्या झन् बल्झिने जोखिम हुनुका साथै अन्य छालासम्बन्धी संक्रमण हुने खतरा बढ्छ । त्यस्तै पानीमा भएको क्लोरिनले कपाल टुक्रिने, सुक्खा हुने र पातलो हुँदै जाने हुनसक्छ ।

छाला हेरचाह डा. अनुपमा कार्की पौडी
लेखक
डा. अनुपमा कार्की
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय