+
+

सन्दीप प्रकरणले उजागर गरेको समाजको निम्छरो चेतना

एकजना विवादित व्यक्तिका पक्षमा देशका कथित ठूला मानिसहरूले गरेको दीपावली यो समयको सबैभन्दा दुःखद् र निम्छरो दृश्य हो ।

सुशील विके सुशील विके
२०८१ जेठ १४ गते ९:३९

सन्दीप लामिछाने प्रकरणले नेपाली समाजलाई निकै गम्भीर शिक्षा दिएको छ । समाजको निम्छरो चेतनालाई उजागर गरेको छ । हाम्रो संविधान, कानुन, शिक्षा, संस्कार र हाम्रो सोच, विचार र धारणामा भएका संकीर्णतालाई समेत उजागर गरेको छ । बलात्कारको परिभाषा र बुझाइ के हुने ? महिला र पुरुषलाई समान न्याय भनेको के हो र कसरी सुनिश्चित गर्ने ?

के अहिलेको कानुनले महिलालाई अति शक्तिशाली र पुरुषलाई कमजोर पारेर पुरुषको अधिकारमा अंकुश लगाएको हो ? जस्ता प्रश्नको उत्तर खोजेको छ भने पीडकको जयजयकार गर्ने र पीडितलाई हतोत्साही गर्ने प्रवृत्तिले स्खलित भएको समाजको पुनर्संरचनाको आवश्यकता औंल्याउँदै गम्भीर चिन्तन-मनन् गर्न जरूरी देखिएको छ ।

सन्दीपलाई बलात्कारको आरोप लागेयता देखिएको मुख्य पक्ष भनेको केटी गलत हो र सन्दीपलाई फसाइयो । देशलाई चिनाउने राष्ट्रिय खेलाडी भएकाले उनले हरेक कुरामा छुट पाउनुपर्छ । उनले खेल्न पाउनुपर्छ । उनी दोषी वा निर्दोष सावित गर्ने निकाय अदालत भए पनि सामाजिक सञ्जाल मार्फत उनलाई निर्दोष देखाउन गरिएको क्याम्पेनले समाज गलत दिशामा बरालिएको छ ।

मानौं, सन्दीपले विश्वकप खेले, के हुन्छ ? नेपालले विश्वकप नै जिते पनि के हुन्छ ? के यसले नै नेपालको कायापलट हुन्छ ? नेपालका अहिलेका समस्या छु मन्तर हुन्छन् ? हुँदैनन् । खेल एउटा पक्ष हो भने समाज र सभ्यता अर्को पक्ष । यसैले सन्दीपका पक्षमा चर्को बोल्नेले के बुझ्न जरूरी छ भने हामीले भावावेशमा राख्ने धारणा र बहसले अहिले मात्र हैन दीर्घकालसम्म देश र समाजमा गम्भीर प्रभाव पार्न सक्छ । कानुन सबैका लागि बराबर हुन्छ भन्ने मान्यता खण्डित हुन सक्छ । अदालतको फैसलामा प्रभाव पर्छ । युवाहरूलाई जे गरे पनि हुन्छ भन्ने खालको भावना आउन सक्छ । समाज पीडितमैत्री होइन, पीडकमैत्री बन्ने र दण्डहीनता मौलाउन सक्छ । महिलाहरू र त्यसमा पनि छोरीहरूको भावनामा चोट पुग्ने मात्र हैन, उनीहरूको आत्मविश्वास पनि गुम्न सक्छ र अन्ततः झन् असुरक्षित महसुुस गर्न सक्छन् ।

राष्ट्रको जीवनमा कैयौं व्यक्ति आउँछन्, जान्छन् । राजा, महाराजा, कलाकार, खेलाडी, विद्वान्, धनाढ्य आदि । व्यक्ति समाजका लागि गौण हो । तर समाज व्यक्तिका लागि मुख्य हो । समाज कस्तो छ भन्ने विषयले मानव जीवनका धेरै विषय निरुपण गर्दछ । यद्यपि समाज बनाउने व्यक्तिहरूले नै हो ।

समाज विभेद, असमानता, अन्याय, अत्याचार, शोषण–दमन तथा हिंसा, द्वन्द्वले भरिएको प्रतिगामी र यथास्थितिवादी बनाउने कि न्याय, समानता, आत्मसम्मान, विकास, समृद्धि, अग्रगमन, शान्ति र मानवीयताले भरिपूर्ण बनाउने भन्ने आजको प्रमुख विषय हो । उन्नत वा प्रतिगामी जस्तोसुकै समाज बनाए पनि त्यसमा निर्णायक भूमिका व्यक्तिको सोचमा भर पर्छ र त्यो सोच तत्कालीन समाजको चेतनामा भर पर्छ ।

पछिल्लो समयमा महिलामाथि हुने हिंसा, दलितमाथि हुने हिंसा, बलात्कार जस्ता विषयमा आम मानिसका साथै समाजका कथित सचेत नागरिकले विभिन्न माध्यमबाट व्यक्त गर्ने पूर्वाग्रही अभिव्यक्ति र उनीहरूका व्यवहार हेर्दा हाम्रो समाज गम्भीर समस्याको डिलमा पुगेको देखिन्छ । मूलतः पितृसत्ता, वर्ण तथा जात व्यवस्था र बजारमुखी नवउदारवादी पूँजीवादले नेपाली समाजलाई चेतनाहीन, यान्त्रिक र भीडको पछि दौडने बनाएको मान्न सकिन्छ ।

अदालतको फैसला एउटा पक्ष हो । त्यसमा असहमतिका बावजुद स्वीकार गर्नुपर्ने बाध्यता रहन्छ । तर, सामाजिक सञ्जालमा गरिएको दीपावली र गौशालालाई गरिएको गालीले हाम्रो समाज निरन्तर प्रतिगामी बन्दै गएको, हाम्रा मूल्यमान्यता पितृसत्ताको विषाक्त हावाबाट मुक्त हुन नसकेको, महिलालाई एक खेलौना, दासी सम्झने मान्यताबाट मुक्त हुन नसकेको प्रष्ट भएको छ

बलात्कारको आरोपमा थुनामा बसी सफाइ पाएका कलाकार पल शाह हुन् या जिल्ला अदालतले बलात्कारमा दोषी ठहर गरेको र उच्च अदालतबाट सफाइ पाएका खेलाडी सन्दीप लामिछानेका पक्षमा नेपाली समाजमा अभिव्यक्त भएका धारणा यसका प्रमाण हुन् । यसैले वर्तमानमा हामीले बाँचेको समाजको गम्भीर रूपमा समीक्षा गरी आउने पुस्ताका लागि कस्तो समाज हस्तान्तरण गर्ने भन्ने विषयमा यथेष्ट ध्यान दिनुपर्ने देखिन्छ । यहाँ सन्दीप प्रकरणसँगै नेपाली समाजका बारेमा चर्चा गरिनेछ ।

स्टारडम छविको दुरुपयोग

हो, एक समय सन्दीपले क्रिकेट खेलेर देशलाई चिनाउन सहयोग गरे । तर, देशलाई चिनाउने उनी मात्र हैनन्, इतिहासदेखि आजसम्म हजारौंले चिनाएका छन् । उनी नहुँदा देश पहिचानविहीन पनि हुँदैन । उनले खेलकुदका माध्यमबाट देशलाई चिनाउने काम मात्र गरेनन्, व्यक्तिगत रूपमा धन, सम्पत्ति, लोकप्रियता र प्रतिष्ठा पनि आर्जन गरे ।

तर, छोटो समयमा आर्जन गरेको प्रतिष्ठाको भारीलाई थाम्न नसक्दा उनी चुचुरोबाट फेदमा पछारिन पुगे । उनले अब जे जसरी सफाइ पाए पनि विगतको जस्तो प्रतिष्ठा पाउन सम्भव छैन । लोकप्रियता र सम्पत्तिको अहंकारमा गरेका गलत कामले नै उनी अहिलेको अवस्थामा पुगेका हुन् ।

उनले विगतमा देशका लागि जति खेले वर्तमानमा त्योभन्दा बढी घात देश र समाजलाई गरेका छन् । देशको महत्वपूर्ण खेलाडी जस्तो व्यक्ति रोल मोडल बनेर आम युवालाई सकारात्मक मोटिभेसन गर्नुपर्नेमा उनी ठीक उल्टो दिशामा गए । अनुशासनको दायरामा बस्नुपर्ने खेलाडी क्लोज क्याम्पबाट मनपरी बाहिर गएर होटलमा केटीसित रात बिताउने कुरा कुन खेलाडी र सेलिब्रेटीका लागि सुहाउँछ ?

सन्दीप स्वयंले स्वीकार गरेको होटलमा सँगै रात बिताएको तथ्य उनका समर्थकले केटीलाई गाली गरेर मेटिंदैन । आफ्नो लोकप्रियताको दुरुपयोग गरेर उनले जे हर्कत गरे त्यसबाट उन्मुक्ति पाउन फेरि इमोसनल ब्ल्याकमेल गरेर सफाइ पाए पनि सधैं यस्तो नहुन सक्छ ।

अदालतको फैसला आफ्नो ठाउँमा छ । जिल्लाले उनलाई दोषी ठहर्‍यायो । उच्चले सफाइ दियो । सर्वोच्चले के गर्छ, भविष्यले बताउला । तर, उनले सफाइ पाएपछि नेपाली समाजमा देखिएको दृश्य भने आम नेपालीको शिर निहुर्‍याउने खालको छ । अहिलेसम्मका तथ्य र तर्कले गौशाला २६ पीडित भएकोमा कुनै शंका छैन । तर, पितृसत्ताको दोषी चश्मा लगाएका मानिसहरूले गौशालालाई अनेक लाञ्छना लगाएर चरित्रहीन र अनुशासनहीन केटीका रूपमा प्रस्तुत गरेका छन् भने सन्दीपलाई राष्ट्रिय हिरो र गहनाको पगरी गुताएका छन् ।

एक व्यक्तिले विभिन्न गलत तथ्य र तर्कको सहाराले सफाइ पाउँदा अनि पीडितलाई लाञ्छना लगाउँदा पीडित र सिंगो महिला समुदायमा कस्तो असर पर्ला भन्नेमा मानिसहरूले कहिल्यै सोचेनन् । मानिसहरूको यस्तो चेतना र प्रवृत्तिले समाजलाई कता लैजाला र युवाहरूलाई कस्तो प्रभाव पार्ला अहिलेको चिन्ताको विषय हो ।
सामाजिक सञ्जालबाट क्षणभरमा अति प्रभावित हुने मानिसहरूलाई सचेत व्यक्तिले बोल्ने कुराको अर्थ हुन्छ भन्ने कुरा बुझ्न नसकेपछि भन्नै पर्ने हुन्छ— ‘हाम्रो सामाजिक अन्तरक्रियामा कतै न कतै खोट छ ।’

सामाजिक सञ्जालका प्रतिक्रियाको विश्लेषण

अनुशासन महिलाले मात्र मान्नुपर्ने तर पुरुषले छाडा साँढेले जस्तै मनपरी गर्न मिल्ने भाष्य निर्माण गर्ने कुचेष्टा गरिएको छ । यसले नेपाली समाजको चेतनाको स्तर निम्छरो, प्रतिगामी, यथास्थितिवादी र पितृसत्ताले थिलथिलो भएको देखियो । यसबाट मुक्ति पाउन ठूलै संघर्ष गर्न आवश्यक देखिन्छ

जिल्ला अदालतले दोषी प्रमाणित गरिसकेका सन्दीपलाई उच्च अदालतले सफाइ दिएपछि सामाजिक सञ्जालमा देखिएको दीपावली र गौशाला २६ माथि गरिएको नकारात्मक टिप्पणीले मनमा घोचेपछि मैले सामाजिक सञ्जालमा प्रेषित सामग्रीको स्क्रिन सट गरी सामान्य विश्लेषण गरेको छु । यसमा १०४ प्रतिक्रिया समावेश छन् । कतिपय व्यक्तिले दोहोर्‍याएका छन् । केही विज्ञप्ति छन् । केही विरोध कार्यक्रमका निम्ता र कार्यक्रम पछिका पोष्ट छन् । जसका केही तथ्यहरू यस प्रकार छन् ।

१०४ मध्ये ३२ जना महिला र ७२ जना पुरुषहरूले प्रतिक्रिया दिएका छन् । १०४ मध्ये ६६ जनाले सामाजिक सञ्जालमा सन्दीपको विरोध गरेको पाइयो । विरोध गर्ने ६६ जना मध्ये ३० जना महिला र ३६ पुरुष रहेका छन् । ३० जना महिलाले प्रतिक्रिया दिएकोमा ४ जनाले सन्दीपलाई बधाई दिंदै खुसी व्यक्त गरेको देखिन्छ भने २८ जनाले विरोध गरेको देखिन्छ । मूलतः उनीहरूले सामाजिक सञ्जालमा सन्दीप समर्थकले दीपावली गरेकोमा विरोध गरेको र अदालतको फैसलामा असहमति जनाएको देखिन्छ ।

सामाजिक सञ्जालमा प्रतिक्रिया दिने ७२ जना पुरुषमध्ये ३६ जनाले अदालतको फैसलाप्रति असहमति प्रकट गर्दै सामाजिक सञ्जालमा सन्दीपका पक्षमा गरिएको ट्रोलप्रति विरोध समेत गरेका थिए । ३६ जनाले सन्दीपले सफाइ पाएकोमा खुसियाली मनाउँदै उनलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय हिरो भन्दै प्रशंसा गरेका थिए ।

पूर्व अर्थमन्त्री, माओवादी नेता तथा वर्तमान सांसद जनार्दन शर्माले सन्दीपलाई बधाई दिंदै न्यायालयलाई धन्यवाद दिएका छन् । यसैगरी पूर्व उपसभामुख तथा माओवादी नेता पूर्णकुमारी सुवेदीले न्याय मरेको छैन भन्दै सन्दीपको फोटो राखेर बधाई दिएकी छन् ।

राप्रपाका प्रवक्ता तथा सांसद ज्ञानेन्द्र शाहीले लामिछानेको मात्र विजय नभई नेपालको विजय भएको भन्दै बधाई दिएका छन् । चर्चित डाक्टर ओममूर्ति अनिलले सन्दीपको फोटो सहित मिसन वल्र्डकप भनेका छन् ।

यसरी सन्दीपलाई बधाई दिनेमा सरकारी कर्मचारी, जनप्रतिनिधि, अन्य पार्टीका नेता, पत्रकार, बुद्धिजीवी, लेक्चर, नागरिक समाजका अगुवा समेत छन् । यसरी एकजना विवादित व्यक्तिका पक्षमा देशका कथित ठूला मानिसहरूले गरेको दीपावली यो समयको सबैभन्दा दुःखद् र निम्छरो दृश्य हो ।

जिल्ला अदालतले दोषी सावित गरेको, निकै विवादित र संवेदनशील विषयमा समाजका कथित सचेत र ठूला भनिएका मानिसहरूको पूर्वाग्रही सस्तो टिप्पणी र समर्थनले समाजमा पितृसत्ता कुन तहसम्म रहेछ भन्ने प्रष्ट देखिन्छ । विवादित पात्रको तस्बिर सहितको बधाई र हिरो घोषणा गर्ने कामले अशिक्षित, चेतना कमजोर भएका, ठीक-बेठीक छुट्याउन कठिन हुने र भीडको पछिलाग्ने मानिसलाई गलत प्रभाव पार्न सक्छ भन्ने सामान्य हेक्का समेत राख्न नसक्ने कथित ठूलाबडाले फैसला मन परे पनि वा नपरे पनि मौन बस्न सक्थे ।

तर, टिप्पणीको डरलाग्दो हतारो देख्दा प्रश्न उठ्छ, यी व्यक्तिहरू आफ्ना घरमा आमा, दिदीबहिनी, भाउजु–बुहारी, श्रीमतीका अगाडि कसरी प्रस्तुत हुन्छन् होला र यदि गौशालालाई जस्तै दुर्घटना आफ्नो परिवारमा भएमा के गर्छन् होला ?

गौशालाको दुःख नबुझ्ने नेपाली समाज

एउटा गरिब परिवारमा जन्मेर संघर्ष गर्दै पढ्दै गरेकी गौशालाको जीवनमा असह्य चोट लागेको छ । साहस जुटाएर चोटसँग लड्दै गरेकी उनीमाथि अहिले अदालतको फैसलाले जति पीडा दिएको छ त्योभन्दा बढी पीडा समाजले दिएको छ ।

महिलाले मात्र पालना गर्नुपर्ने पितृसत्ताको अनुशासनको नियम तोडेको आरोपमा उनीमाथि गालीगलौज गरिएको देखिन्छ । वास्तवमा उनीमाथि के बितिरहेको होला भन्ने कोणबाट नेपाली समाजले कहिल्यै पनि सोच्न नसकेको, नचाहेको देखियो ।

प्रगतिशील र उन्नत; कानुनी राज्य र पीडितमैत्री समाज निर्माण गर्ने र भावी पुस्तालाई समेत सत्यका पक्षमा निडर भएर उभिन उत्प्रेरित गर्ने गरी हाम्रो बहस र चिन्तन-मनन हुनुपर्दछ ताकि स्खलित समाजको पुनर्संरचना हुनसकोस्

नेपालखबरसँग कुरा गर्दै उनले भनेकी छन्- ‘गौशाला को हो र किन लुकाएको भन्नेहरूका बीचमा गएर ठूलो स्वरले चिच्याएर भन्न मन छ, मै हो गौशाला २६, मै हो अपराधको विरुद्धमा बोल्ने किशोरी, मै हो पैसा र पावरको बलमा अन्यायको उत्सव मनाउनेहरूलाई कारबाही हुनुपर्छ भन्ने मान्छे ।’ पटक पटक ज्यानको धम्की व्यहोरेकी उनले एक दिन पुरानै परिचयमा फर्कने र सर्वोच्चबाट न्याय पाउने आशा गरेकी छन् ।

यसैगरी अनलाइनखबरसँग कुरा गर्दै गौशालाले आफ्नो तरिकाले बाँच्न पाउने स्थिति पनि नभएको भन्दै न्याय प्रणालीमाथि प्रश्न गरेकी छन् । उनले थप प्रश्न गरेकी छन्– ‘जसले हिंसा विरुद्ध आवाज उठायो ऊ नै सबैतिरबाट दोषी करार हुँदा भोलि अरू पीडितले कसरी फेरि आवाज उठाउने ? मलाई दिइएका मानसिक तनावका कारण पटक-पटक अस्पतालसम्म पुग्नु परेको चाहिं किन कसैले नदेख्ने ?’ पीडितलाई यसरी निरुत्साहित पारेपछि पीडकहरू हौसिने खतरा बढ्छ । यसैले ध्यान दिनुपर्ने मुख्य विषय नै यही हो ।

हो, समाजले मानवीयताका हिसाबले पनि गौशालाका दुःखलाई सुन्न र बुझ्न सक्नुपर्ने हो । उनको न्यायका पक्षमा लाग्नुपर्ने हो । तर, समाज ठीक उल्टो यात्रामा छ । बलात्कारको आरोप लागेका पल शाह कथित हिरो बनेर सानका साथ देशव्यापी हिंडिरहेको हेर्न विवश हामी कथित अन्तर्राष्ट्रिय हिरो सन्दीपलाई पनि हेर्न अभिशप्त हुँदैछौं । यसरी गल्ती गर्नेहरू छाती फुलाएर समाजमा हिंड्ने र पीडितहरू पीडा सहेर गाली खाँदै बस्नुपर्ने कुराले हामीले बाँचेको दुःखान्त समयको उजागर गर्छ ।

समयले अहिले गम्भीर प्रश्न गरेको छ, हामीले कस्तो समाज बनाउन खोजेका हौ ? युवाहरूलाई दिन खोजेको सन्देश के हो ? सबै पुरुषहरू कस्तो हुनुपर्ने हो ? समाजमा न्याय, अमनचयन कस्तो हुनुपर्ने हो ? महिलालाई हेर्ने दृष्टिकोण कस्तो हुनुपर्ने हो ? यस्ता प्रवृत्तिको पक्षपोषण गर्ने हामीलाई संसारमा कस्तो नजरले हेर्लान् ? ५१ प्रतिशत महिलाको मनस्थितिमा यस्ता घटनाले कस्तो प्रभाव पार्ला ?

अन्त्यमा, अदालतको फैसला एउटा पक्ष हो । त्यसमा असहमतिका बावजुद स्वीकार गर्नुपर्ने बाध्यता रहन्छ । तर, सामाजिक सञ्जालमा गरिएको दीपावली र गौशालालाई गरिएको गालीले हाम्रो समाज निरन्तर प्रतिगामी बन्दै गएको, हाम्रा मूल्यमान्यता पितृसत्ताको विषाक्त हावाबाट मुक्त हुन नसकेको, महिलालाई एक खेलौना, दासी सम्झने मान्यताबाट मुक्त हुन नसकेको प्रष्ट भएको छ ।

अनुशासन महिलाले मात्र मान्नुपर्ने तर पुरुषले छाडा साँढेले जस्तै मनपरी गर्न मिल्ने भाष्य निर्माण गर्ने कुचेष्टा गरिएको छ । यसले नेपाली समाजको चेतनाको स्तर निम्छरो, प्रतिगामी, यथास्थितिवादी र पितृसत्ताले थिलथिलो भएको देखियो । यसबाट मुक्ति पाउन ठूलै संघर्ष गर्न आवश्यक देखिन्छ ।

बलात्कारलाई कसरी बुझ्ने र व्याख्या गर्ने भन्ने विषयमा पनि गम्भीर बहस गर्नुपर्ने देखियो । अहिलेको संवैधानिक तथा कानुनी प्रावधानले पुरुषलाई साँच्चिकै अन्याय भएको हो भने पर्याप्त अध्ययन गरेर संशोधन गर्न सकिन्छ । तर, महिलाका पक्षमा मात्र कानुन भयो भन्ने भनाइ सहित पीडित महिलालाई थप पीडा दिने र पीडकलाई हिरो बनाउने कुरा कदापि स्वीकार गर्न सकिन्न ।

यस्ता प्रकरणमा चासो राख्ने कथित ठूलाबडा र सरोकारवालाले ध्यान दिउन्-तत्कालको अवस्था, नाता, भूगोल, लिंग, शक्ति वा लोकप्रियता हेरेर भावावेशमा आफ्ना धारणा तयार गर्ने वा निर्णय गर्ने कुरा कदापि उचित र न्यायोचित हुन सक्दैन ।

देश-विदेशको अनुभव सहित प्रगतिशील र उन्नत; कानुनी राज्य र पीडितमैत्री समाज निर्माण गर्ने र भावी पुस्तालाई समेत सत्यका पक्षमा निडर भएर उभिन उत्प्रेरित गर्ने गरी हाम्रो बहस र चिन्तन-मनन हुनुपर्दछ ताकि स्खलित समाजको पुनर्संरचना हुनसकोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?